एसिसी पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा सिङ्गापुर विजयी

काठमाडौं । मलेसियामा मंगलबारदेखि शुरु भएको एसिसी यू–१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा सिङ्गापुर विजयी भएको छ । सिङ्गापुरले चीनलाई आठ विकेटले पराजित गरेको हो । उद्घाटन खेलमा टस हारेर ब्याटिङ गरेको चीनले २३ ओभरमा सबै विकेट गुमाउँदै २८ रन मात्र बनायो । सिङ्गापुरले २९ रनको विजयी लक्ष्य ६ दशमलव ५ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो । सिङ्गापुरका लागि साई हर्ष बेनुगोपालले अविजित १५ रन र विनित चेतेस मेहताले ११ रन बनाए । बलिङतर्फ चीनका टियान सेन कुनले दुई विकेट लिए । यसअघि ब्याटिङ गर्ने क्रममा चीनका सात ब्याट्सम्यान शून्य रनमा आउट भए । वेई गुइलीले सर्वाधिक ७ रन बनाए । चीनलाई न्यून स्कोरमा समेट्ने क्रममा सिङ्गापुरका विनित चितेस मेहताले सात विकेट लिए । सात राष्ट्र सहभागी प्रतियोगिताको समूह ‘ए’मा नेपालसहित चीन र सिङ्गापुर छन् भने समूह ‘बी’मा आयोजक मलेसियासँगै, भूटान, हङकङ र थाइल्याण्ड छन् । प्रतियोगिताको विजेताले श्रीलङ्कामा आयोजना हुने यू–१९ एशिया कप खेल्नेछ । रासस

सस्तो मूल्यमा चिया बेच्नु पर्दा पश्चिम बंगालको चिया उद्योग संकटमा

सिलिगुडी । भारतको उत्तरी बंगाल क्षेत्रमा चिया खेतीमा आर्थिक संकट देखा परेको छ । भारतमै चियाको मूल्यमा गिरावट आएपछि चिया बगानमा संकट देखिएको हो । भारतमा कूल उत्पादित चियामध्ये उत्तरी बंगाल क्षेत्रले करिब ३५ प्रतिशत हिस्सा ओगटेको छ । अहिले उत्पादन लागतभन्दा सस्तो मूल्यमा चिया बेच्नु परेको यहाँका उद्योगहरुले जनाएका छन् । चिया बगानमा कार्यरत एक जना व्यवस्थापक प्रेमकुमार शर्माले चियाको मूल्य प्रतिकेजी भारु २० मा आइपुगेको छ र यसको प्रमुख कारण नै माग र आपूर्तिको असन्तुलन हो भन्दै हाल मागभन्दा आपूर्ति बढी रहेको बताए । उनले सरकारले तत्कालै चियाको न्यूनतम मूल्य तोक्नुपर्ने बताए । भारतीय टी एसोसिएसनका सचिव सुमित घोषले पनि यस्तै धारणा राखे । उनले भने– चियाको उत्पादन लागत बिक्री मूल्यभन्दा बढी भइसकेको छ । उत्तरी बंगाल क्षेत्रमा करिब पाँच लाख मजदूर प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा चियामा आश्रित छन् । भारतीय चिया बोर्डले यस समस्याको समाधानका लागि तत्कालै चियाको न्यूनतम मूल्य तोक्नु पर्दछ । सन् २००३ मा भारतमा करिब ८७ करोड ८० लाख केजी चिया उत्पादन भएको थियो । तर सन् २०१८ मा चिया उत्पादनमा व्यापक वृद्धि भई एक अर्ब ३३ करोड ८० लाख केजी पुगिसकेको छ । करिब ५२ प्रतिशतले चिया उत्पादन बढेकै कारण बजारमा चियाको मूल्य घट्न थालेको घोषले बताए । रासस/एएनआई

नक्कली लाइसेन्स भए पाँच वर्ष गाडी चलाउन प्रतिबन्ध

हनोई । भियतनामले नक्कली सवारी चालक अनुमतिपत्र बनाए वा परीक्षा अनुत्तीर्ण भई सवारी चलाएको पाइए पाँच वर्ष सवारी साधन चलाउन प्रतिबन्ध गर्नेगरी नयाँ नियम लागू गरेको छ । स्थानीय संचारमाध्यमका अनुसार नयाँ नियम आगामी सेप्टेम्बरदेखि लागू हुनेछ । भियतनाम सडक विभाग तथा गृह मन्त्रालयले नक्कली सवारी चालक प्रमाणपत्र बिक्री गर्ने गिरोहलाई पक्राउ गर्न देशव्यापी अभियान सञ्चालन गरिने जनाएको छ । सवारी चालक अनुमतिपत्र लिनेक्रममा गरिने परीक्षा प्रणालीलाई थप व्यवस्थित गरिनेछ । भियतनाममा नक्कली लाइसेन्स र स्वास्थ्य परीक्षण प्रमाणपत्र अनलाइनबाटै बिक्री गर्नेक्रम बढेको छ । लाइसेन्स लिनेक्रममा हाल ४५० वटा प्रश्नको साटो ६०० वटा प्रश्न सोध्ने नयाँ नियम बनाइएपछि नक्कली लाइसेन्स लिनेक्रम ह्वात्तै बढेको अध्ययनले देखाएको छ । यसै वर्षको पहिलो पाँच महिनामा भियतनाममा ६ हजार ७७९ वटा सवारी दुर्घटना भएका छन्, जसका कारण तीन हजार १२८ जनाको मृत्यु हुनुका साथै दुई हजारभन्दा बढी घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ । रासस/सिन्ह्वा