सामाजिक सञ्जालबाट हिंसात्मक दृश्य देखाइए जेल, पारित भयो कानून

क्यानबेरा । अस्ट्रेलियाको संसदले बिहीबार न्यूजील्यान्ड गोलीकाण्डको झैं सामाजिक सञ्जालमा वास्तविक हिंसात्मक घटनाहरु राखिए त्यस्ता सामाजिक सञ्जालका सञ्चालकलाई पक्राउ गरी जेलमा राख्न सकिने कानून पारित गरेको छ । लोकतान्त्रिक मुलुक अस्ट्रेलियामै अनलाइन सञ्चारका बारेमा कठोर कानुन पारित गरिएको भन्दै यसको आलोचना पनि हुन थालेको छ । आलोचकहरुले नयाँ कानुनका कारण अस्ट्रेलियामा मिडियामा सेन्सरसीप बढ्ने र लगानी पनि घट्ने दाबी गरेका छन् । न्यूजील्यान्डको क्राइस्टचर्चमा गत मार्च १५ मा मुस्लिम समुदायको मस्जिदमा भएको गोलीकाण्डको भिडियो फेसबुक लगायतका सामाजिक सञ्जालबाट प्रत्यक्ष प्रशारण गरिएपछि अस्ट्रेलिया सरकारले नयाँ कठोर विधेयक संसदमा प्रस्तुत गरेको थियो । उक्त भिडियोमा एकजना अस्ट्रेलियाली बन्दुकधारीले आफूले लगाएको हेल्मेटमा क्यामरा जडान गरी आफूले गरेको नरसंहार फेसबुकबाट प्रत्यक्ष प्रशारण गरेका थिए । आगामी मे महिनामा संसदको निर्वाचन हुने भएकाले पनि हतारमा नयाँ विधेयक संसदबाट पारित गरिएको हो । “कुनै पनि व्यक्तिले आफ्ना हिंसात्मक गतिविधि र प्रपोगान्डा सामग्री फैल्याउन अनलाइन माध्यमको प्रयोग गर्न नपाउन् भनेर यो विधेयक ल्याउनु परेको हो । गलत कार्यका लागि कुनै पनि किसिमका अनलाइन माध्यमलाई हतियारका रुपमा प्रयोग गर्न पाइन्न,” अस्ट्रेलियाका महान्यायाधीवक्ता क्रिस्टियन पोर्टरले बताए । विपक्षी लेबर पार्टीका प्रवक्ता मार्क ड्रेफसले विधेयकमा केही संदेह रहेपनि विधेयकमा सहमति जनाइएको बताउनुभयो । यदि आगामी निर्वाचनमा लेबर पार्टी विजयी भएमा विधेयकमा देखिएका कतिपय विवादास्पद कुरालाई सच्याइने उनले स्पष्ट पारे । नयाँ विधेयकमा सामाजिक सञ्जालका अनलाइन माध्यमहरुले कुनै पनि “विभत्स हिंसात्मक सामग्री” तत्काल नहटाएमा त्यसलाई फौजदारी अभियोगमा कारबाही गरिने व्यवस्था गरिएको छ । विधेयकमा दोषी ठहरिएका व्यक्तिलाई तीन वर्षको जेल सजायका साथै ७५ लाख अमेरिकी डलर वा त्यस्ता अनलाइन वा सामाजिक सञ्जालको वार्षिका कारोबारको १० प्रतिशतमध्ये जुन बढी हुन्छ त्यति क्षतिपूर्ति तिर्नु पर्नेछ । विभत्स हिंसात्मक सामग्रीभित्र आतङ्कवाद, हत्या, हत्याको योजना, यातना, बलात्कार र अपहरणलाई समेटिएको छ । साथै विश्वका जुनसुकै स्थानबाट सञ्चालित अनलाइन माध्यमले अस्ट्रेलियामा हुने विभत्स हिंसात्मक अपराधको प्रशारण गरेमा अस्ट्रेलियाली संघीय प्रहरीलाई जानकारी गराउनु पर्नेछ । तर अस्ट्रेलिया प्रहरीलाई त्यस्ता हिंसात्मक विवरण जानकारी नगराउने सामाजिक सञ्जालका प्लेटफर्ममाथि पनि करिब ६ लाख अमेरिकी डलर क्षतिपूर्ति भराइनेछ । रासस/एपी

कच्चा तेलको उत्पादन घट्यो, विश्व बजारमा तेलको मूल्यवृद्धि

टोकियो । विश्व बजारमा कच्चा तेलको मूल्य सोमबार थप बृद्धि भएको छ । विश्व अर्थतन्त्रमा मन्दी आउने त्रासका कारण पनि तेलको आपूर्तिमा कटौती भएपछि तेलको मूल्यवृद्धि भएको हो । जुन महिनामा ब्रेन्ट कच्चा तेलको मूल्यमा शून्य दशमलब ५ प्रतिशत अर्थात ३४ सेन्टले बृद्धि भई प्रति ब्यारेल ६७.९२ अमेरिकी डलर कायम भएको छ । यो मूल्यवृद्धि पहिलो चौमासिकमा २७ प्रतिशत हो । अमेरिकी वेस्ट टेक्सास इन्टरमेडियट (डब्लुटीआई)मा शून्य दशमलब ५ प्रतिशत वृद्धि भई प्रति ब्यारेल ६०.४४ डलर भएको छ । जनवरीदेखि मार्च महिनाको अवधिमा कच्चा तेलको मूल्यमा ३२ प्रतिशत वृद्धि भएको हो । इरान र भेनेजुएलामाथि अमेरिकी प्रतिबन्ध तथा ओपेक र अरु मुख्य तेल उत्पादक राष्ट्रहरुले गरेको आपूर्ति कटौतीले पनि यस वर्ष तेलको मूल्यवृद्धि भएको छ । यी प्रतिबन्ध र आपूर्ति कटौतीले विश्व अर्थतन्त्रको वृद्धि र अमेरिका–चीन व्यापार युद्धजस्ता जल्दाबल्दा विषयलाई समेत ओझेलमा पारेका छन् । अमेरिकी उप अर्थमन्त्री सिगेल माल्डेल्करले सिंगापुरमा शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै संयुक्तराज्य अमेरिकाले इरानमाथि थप दबाब सिर्जना गर्ने बताए । अमेरिकी अधिकारीहरु मलेसिया, सिंगापुर र अरु मुलुकहरु गैरकानुनी इरानी तेलको कारोबार तथा प्रतिबन्ध छल्न इरानीहरुले अपनाउन सक्ने विधिका बारेमा पूर्ण जानकार रहेका छन्, मन्त्री माल्डेल्करले भने । अमेरिकाले तेलको व्यापार गर्ने कम्पनी र रिफाइनरीहरुलाई भेनेजुएलासँग सम्झौताहरु कम गर्दै लैजान आग्रह गरेको छ । त्यसो नगरिए त्यस्ता व्यापारिक फर्ममाथि अमेरिकाले प्रतिबन्ध लगाउने चेतावनी दिइसकेको छ । ओपेक र यसका गठबन्धन मुलुकहरु जस्तै रुसबीचको सम्झौतामा प्रतिदिन करिब १२ लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने उल्लेख छ । यो सम्झौता गत जनवरी १ बाट कार्यान्वयनमा आएकाले पनि तेलको मूल्यमा क्रमिक रुपमा वृद्धि हुन थालेको छ । अमेरिकी तेल उत्पादन पनि मध्य फेब्रुअरीदेखि स्थिर छ । अमेरिकी सरकारको शुक्रबार प्रकाशित एक प्रतिवेदनमा विश्वकै ठूलो तेल उत्पादक राष्ट्र अमेरिकाको तेल उत्पादन जनवरी महिनामा प्रतिदिन १ करोड १९ लाख ब्यारेल रहेको देखाइएको छ । रासस/एपी

चिनियाँ कारखानाको उत्पादन मार्चमा बढ्यो, सरकारले के के गर्यो प्रयत्न ?

बेइजिङ । संयुक्तराज्य अमेरिकासँगको व्यापार तनाबका कारण केही महिनादेखि समस्यामा परेको चिनियाँ कारखानाको उत्पादन क्षमता सरकारको विशेष प्रयत्नका कारण मार्च महिनामा सुधार भएको छ । चिनियाँ तथ्याँक ब्यूरोले आइतबार सार्वजनिक गरेको विवरणमा चीनको मासिक खरिद सूचक ५०.५ रहेको देखाइएको छ । गत फेब्रुअरीको तुलनामा यो १.३ विन्दुले वृद्धि भएको हो । गत महिना यो सूचक ५० थियो । गत वर्ष चीनको निर्यात घट्नुका साथै चिनियाँ उपभोक्ता मागमा समेत कमी आएका कारण कारखानाको उत्पादन न्यून भएको थियो । निर्यात, रोजगारी र नयाँ मागमा भने सुधार आएको तथ्याँक ब्यूरोले जनाएको छ । अमेरिकी राष्ट्रपतिका कारण सिर्जित समस्यासँग जुध्न चीन सरकारले ऋण लगानीमा रहेका नियन्त्रणहरुलाई खुकुलो पार्नुका साथै सरकारी खर्चमा वृद्धि गरेको थियो । तर अधिकारीहरुले भारी ऋणवृद्धि हुन नदिन विस्तारै सरकारी नियन्त्रण अपनाएका थिए । सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीले पनि नयाँ नयाँ रोजगारी सिर्जना गर्ने र अर्थतन्त्रमा प्रभावशाली भूमिका बढाउने कार्यमा सघाउने प्रतिबद्धता जनाएको थियो । निजी क्षेत्रका प्रक्षेपकहरुले पनि आर्थिक वृद्धि सामान्य हुने बताउँदै आएका थिए । चिनियाँ नेताहरुले अर्थतन्त्रमा सामान्य वृद्धि हुने बताउँदै तर अघिल्लो दशकको दुई अङ्कको वृद्धिजस्तो अवस्था आउन नसक्ने बताएका थिए । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक चीनको गत वर्षको आर्थिक वृद्धि तीन दशककै न्यून विन्दु अर्थात् ६.६ प्रतिशतमा आइपुगेको थियो । अमेरिकासँगको जारी व्यापार तनाव कारण सरकारले यस वर्षका लागि ६ देखि ६.५ प्रतिशत मात्र आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । सन् २०१९ को पहिलो दुई महिनामा चीनको निकासी अघिल्लो वर्षको तुलनामा ४.६ प्रतिशतले घटेको छ । संयुक्तराज्य अमेरिका र चीनका व्यापार वार्ताकारहरुले गत साता बेइजिङमा दुई देशबीच जारी व्यापार तनावका बारेमा वार्ता गरेका छन् । निकै रचनात्मक भनिएको उक्त वार्तामा पनि सहमति छैन । दुबै पक्ष अर्को साता अमेरिकाको वासिङ्टनमा भेट्न र वार्तालाई निरन्तरता दिन सहमत भएका छन् । रासस/एपी