कोरोना भाइरसका कारण चीनमा १०६ को मृत्यु, चार हजारभन्दा बढी सङ्क्रमित
बेइजिङ । चीनमा नोबल कोरोना भाइरसका कारण सोमाबार रातीसम्म मृत्यु हुनेको सङ्ख्या १सय ६ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । चीनको करिब ३० ओटा प्रान्तमा झण्डै चार हजार ५ सय १५ जना सङ्क्रमित भएका चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ । सङ्क्रमितमध्ये ९ सय ७६ जनाको अवस्था गम्भीर रहेको आयोगले जनाएको छ । गत २४ घण्टा यता ७ सय ६९ जना नागरिकमा यो भाइरसको सङ्क्रमण देखिएको छ । त्यसैगरी तीन हजार ८ सय ६ जनालाई पनि यसको सङ्क्रमणको आशङ्का गरिएको आयोगले जनाएको छ । सोमबार मात्र १ हजार ७७१ मा सो भाइरस भएको पुष्टि भएको र अरु २ हजार ७७ जना नयाँ संदिग्ध घटना पाइएको समाचारमा जनाइएको छ । सोमबार मात्र करिब ६० जना कोरोना भाइरसबाट निको भएर अस्पतालबाट घर फर्किएका पनि उक्त समाचारमा जनाइएको छ । यसअघि पनि यस रोगबाट निको भएका १ हजार भन्दा बढी घर फर्किएका थिए । यी सबैलाई विशेष निगरानीमा राखिएको छ । उक्त सङ्क्रमणको उत्पत्ति भएको उहान क्षेत्रमा सरकारले बढी निगरानी राखिरहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । सङ्क्रमणको प्रकोप चीनका कम्तीमा ३० प्रान्तमा फैलिएको छ भने कम्तीमा १८ शहरमा निकै डरलाग्दो तरिकाले फैलिएकाले ती सहरहरूमा यातायातका साधन सञ्चालन गर्न प्रतिबन्ध लगाइएको छ । ती क्षेत्रमा विभिन्न किसिमले सतर्कता अपनाइएको चीन सरकारले जनाएको छ । सरकारले देशभर हुने उडान, रेल सेवा र अन्य सवारीका साधनहरूको आवतजावतमा निगरानी बढाएको र उच्च सतर्कताका अपनाउन आह्वान गरेको छ । मानिसको बढी आवतजावत हुने विमानस्थल, बसपार्क, रेल स्टेशनलगायतमा स्वास्थ्य जाँचको प्रबन्ध मिलाइएको छ भने जङ्गली जनावर र पशु ओसारपसार तथा उपभोगमा कडाई गर्न निर्देशन दिइएको छ । सङ्क्रमणले अमेरिका, जापान, दक्षिण कोरिया, ताइवान, हङकङ, मकाउ र थाइल्याण्डमा छोइसकेको बताइन्छ । कोरोना भाइरस युरोपमा पनि फैलिन थालेको छ । फ्रान्समा तीन जनामा कोरोना भाइरस देखिएको पुष्टि भएको छ । यस सङ्क्रमणबाट मृत्युको घटना चीनमा मात्रै भएको छ भने त्रास सङ्क्रमित हुनेहरू अन्य देशमा पनि भएकाले विश्वभरी नै त्रास फैलिएको छ । चिनियाँ अधिकारीले कोरोना भाइरस मानिसबाट मानिसमा सरेको पुष्टि गरिसकेका छन् । यो भाइरस सङ्क्रमण भएपछि खासगरी श्वासप्रश्वाससम्बन्धी समस्या देखिने चिकित्सकहरूको भनाई छ । उनीहरूका अनुसार ज्वरो आउने, खोकी लाग्ने र सास फेर्न गाह्रो हुने यस सङ्क्रमणपछिका लक्षण हुन् । यस भाइरसको सङ्क्रमणपछि शरीरमा अक्सिजनको मात्रा कम हुँदै जाने पनि अर्काे एक समस्या हो । यसैबीच, संयुक्तराज्य अमेरिकाले मध्यचीनमा घातक भाइरसको केन्द्रमा फसेका अमेरिकी कर्मचारी र नागरिकलाई उद्धार गर्न विशेष विमान सेवा शुरु गर्न लागेको जनाएको छ । रासस
सुडानी सरकार र प्रतिपक्षीबीच शान्ति सम्झौताको खाकामा हस्ताक्षर
खार्तुम । लामो समयदेखि द्वन्द्वको चपेटामा परेको सुडानमा सरकारी पक्ष र विपक्षीले शुक्रबार शान्ति सम्झौताको खाकामा हस्ताक्षर गरेका छन् । सरकार र विपक्षी दल सुडान पिपल्स लिबरेसन मुभ्मेन्ट (एसपिएलएम) दक्षिणी क्षेत्रले शान्ति सम्झौताको खाकामा हस्ताक्षर गरेका हुन् । हस्ताक्षर कार्यक्रम दक्षिणी सुडानको राजधानीस्थित राष्ट्रपतिको कार्यालय जुबामा भएको थियो । दुवै पक्षलाई सहमतिमा पुर्याउनका लागि राष्ट्रपतिले मध्यस्तकर्ताको भूमिका खेलेको बताइएको छ । सम्झौतामा सुरक्षा र शासन प्रणालीका विषयहरु समावेश गरिएको सरकारी पक्षले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ । सरकारको तर्फबाट सम्झौतापत्रमा हस्ताक्षर गरेका सुडानी स्वायत्त परिषद्का उपाध्यक्ष मोहम्मद हम्दान डाक्लुले भने, “हस्ताक्षरित सम्झौताबाट सरोकारवालाहरुका बीचमा बलियो साझेदारी र लगाब देखिएको छ,” । यस्तै सम्झौतामा हस्ताक्षर गरेको अर्को पक्षका रुपमा रहेको एसपिएलएम दक्षिणी क्षेत्रले ब्लु नाईल क्षेत्रमा सशस्त्र विद्रोहीको नेतृत्व गरेको छ । त्यस समूह दक्षिण सुडानको सीमा क्षेत्रमा सन् २०११ देखि सक्रिय रहेको छ। रासस/सिन्ह्वा
कोरोना भाइरसको संक्रमण रोक्न चीन सरकारले लगायाे सार्वजनिक यातायातमा प्रतिबन्ध
बेइजिङ । कोरोना भाइरसको सङ्क्रमणका कारण चीन सरकारले शुक्रबार यहाँका थप शहरहरुमा पनि यात्रा प्रतिबन्ध लगाइएको घोषणा गरेको छ । सो भाइरसको कारण मृत्यु हुनेको सङ्ख्या २६ पुगेपछि शुक्रबार नौ ओटा शहरमा यातायातलगायतका सेवा र आवतजावत पनि बन्द गर्ने निर्णय सरकारले गरेको चिनियाँ राजधानी बेइजिङबाट प्राप्त समाचारमा जनाइएको छ । शुक्रबार बिहानसम्म यस भाइरसका कारण प्रभावित भएका भनिएका चीनका नौ ओटा शहरहरुमा सार्वजनिक यातायातको आवतजावत रोक्नुका साथै मानिसहरुका अत्यावश्यक बाहेकका सेवाहरु पनि रोकेको छ । अधिकारीहरुले यहाँका ३ करोड २० लाख व्यक्ति प्रभावित भएको चिनियाँ स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् । हुबेई प्रान्तमा जिङ्गजोउ अधिकारीहरुका अनुसार शहरबाट छुट्ने सबै रेल सेवाहरु शुक्रबार बिहानबाट बन्द भएका छन् । त्यसैगरी सार्वजनिक बस, यातायातका अन्य साधनहरु, पर्यटन बस, डुङ्गा आदिलाई अस्थायी रूपमा सञ्चालन पनि रोकिने बताइएको छ । यसरी सार्वजनिक सवारीमा लगाइएको यस किसीमको प्रतिबन्धबाट करिब ३ करोड २० लाख व्यक्ति पनि प्रभावित भएका प्राप्त समाचारमा जनाइएको छ । कोरोना भाइरस सङ्क्रमणको सबैभन्दा बढी प्रभावित मानिएको क्षेत्र चीनको हुबेई हो । हुबेई प्रान्तको वुहान सहरमा यसको बढी प्रभाव देखिएको र त्यहीँबाट नै यसको उत्पत्ति भएकोले पशुबजारमा पनि कडा नियम गरिएको छ । वुहान शहरका हाल ८ सय ३० व्यक्ति यस भाइरसबाट सङ्क्रमित भएका राष्ट्रिय स्वास्थ्य विभागले जनाइएको छ । चीनका विभिन्न २५ प्रान्तमा यो भाइरसको सङ्क्रमण फैलिएको छ । तर बढी प्रभावित भएका भनिएका हुबेइ प्रान्तका नौ ओटा शहरमा यस्तो किसीमको प्रतिबन्धको घोषणा गरिएको बताइएको छ । ती शहरका स्थानीय प्रशासनले जङ्गली जनावर र पशु बजारका क्षेत्रमा कडाई गर्न निर्देशन दिइएको हो । यस भाइरसबाट हुबेई प्रान्तमा नै बढी व्यक्तिको ज्यान गएको छ । यस भाइरसबाट मृत्यु हुनेमध्ये धेरै ४८ देखि ८९ वर्ष उमेरका व्यक्ति रहेका पनि जनाइएको छ । यो सङ्क्रमणको संख्यामा करिब पाँच हजार ९ सय जनालाई उपचारार्थ भर्ना गरिएको थियो । यी मध्ये १ सय ७७ व्यक्तिको अवस्था गम्भीर रहेको जनाइएको छ । यद्यपी यसबाट निको भएर करिब एक हजार जना व्यक्ति अस्पतालबाट घर पनि फर्किएका छन् । चीनको वुहानको जनसङ्ख्या भन्डै एक करोड रहेको छ । त्यसैले उक्त सङ्क्रमणको उत्पत्ति भएको सो क्षेत्रमा सरकारले बढी निगरानी राखिरहेको पनि बताइएको छ । गत बुधबार प्राप्त एक समाचारमा अमेरिकाको सियाटलमा एक जना व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भएको अमेरिकी अधिकारीले जनाएका छन् । चीनको हुबेइबाट केही दिनअघि अमेरिका फर्किएका एकजना अमेरिकी नागरिकमा यसको सङ्क्रमण भेटिएको हो । त्यसैगरी जापानको राजधानी टोकियोमा पनि एक जना व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएको अधिकारीले जनाएका छन् । दक्षिण कोरिया, ताइवान, हङकङ, मकाउ र थाइल्याण्डमा पनि यस सङ्क्रमणका एक–एक जना भेटिएका छन् । चीनका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार यस प्रकोपबाट अहिलेसम्ममा २६ जनाको ज्यान गएको बताएका छन् ।रासस