अयोध्याको अर्को मस्जिद बनाउन सरकारलाई सर्वोच्चको आदेश
नयाँदिल्ली । भारतको सर्वोच्च अदालतले अयोध्याको अर्को ठाउँमा मस्जिद बनाउनका लागि व्यवस्था गर्न सरकारलाई शनिबार आदेश दिएको छ । नयाँ र उपयुक्त अर्को ठाउँमा पाँच एकर्ड जमिन छुट्याएर मस्जिदका लागि वैकल्पिक व्यवस्था गर्न अदालतले शनिबार आदेश दिएको हो । हिन्दु महासभाका अधिवक्ता विष्णुशंकर जैनले भने, “मुस्लिम समुदायका लागि मस्जिद बनाउन सर्वोच्च अदालतले पाँच एकर्ड क्षेत्रफलको वैैकल्पिक जमिनको व्यवस्था गर्न आदेश दिएको छ ।” सर्वोच्च अदालतका प्रधान न्यायाधिश रन्जन गोगोइले फैसला सुनाउदै उपयुक्त ठाउँमा मस्जिद बनाउने व्यवस्था गर्न सरकारलाई आदेश दिएको हो । मन्दिर निर्माणका लागि छुट्टै कोषको व्यवस्था गर्न पनि अदालतले आदेश दिएको छ । कोष स्थापनाको काम केन्द्रीय सरकारले तीनदेखि चार महिना भित्रमा गरिसक्नु पर्ने आदेशमा उल्लेख छ । अदालतले उपयुक्त ठाउँमा मस्जिद बनाउनका लागि पाँच एकर्ड खुल्ला जमिन सुन्नी वाक्फ बोर्डलाई हस्तान्तरण गर्न पनि आदेश दिएको छ । प्रधानन्यायाधिश गोगोईको नेतृत्वमा रहेको पाँच सदस्यीय संवैधानिक इजलासले लामो समयदेखि प्रतिपक्षित यो विषयमा सर्वसम्मत फैसला गरेको हो । इजलाशमा एस ए बोब्डे, डि वाई चन्द्रचुड, अशोक भुषण र एस अब्दुल नजिर गरी चार जना न्यायाधिश रहनु भएको बताइएको छ । सन् १९९२ मा मस्जिद भत्काइएको एक दशकपछि यसअघि सन् २००२ मा उक्त विवाद इलाहाबाद उच्च न्यायालमा दर्ता भएको थियो । इलाहाबाद अदालतले सेप्टेम्बर २०१० मा फैसला गर्दै विवादित २।७७ एकड जमिनलाई बराबर तीन भागमा बाँड्न आदेश दिएको थियो । अदालतले उक्त जग्गाको तीन भागको एक भाग मुस्लिम समुदाय, अर्को भाग हिन्दू समुदाय र अर्को चाहिँ निर्मोही अखडालाई दिनुपर्ने आदेश जारी गरेको थियो । तर अहिले सर्वोच्च अदालतले भने त्यस फैसलालाई पुनरावलोकन गर्दै विवादित ठाउँमा मन्दिर बनाउनु पर्ने र मस्जिदका लागि छुट्टै ठाउँको व्यवस्था गर्नु पर्ने फैसला गरेको हो । अयोध्याको राम मन्दिर र बाबरी मस्जिद विवादबारे ४० दिनसम्म गरिएको सुनुवाई १६ अक्टोबरका दिन मात्रै पुरा भएको थियो । फैसला हुने भएपछि उत्तर प्रदेश राज्यमा हजारौँ प्रहरी र अर्ध सैनिक दस्ताहरू शुक्रबारदेखि नै परिचालन गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रवार राती नै शान्तिका लागि अपिल गर्दै सबैले फैसला स्वीकार गर्न आग्रहसहित ट्विट गरेका थिए । उनले फैसला जे सुकै भएपनि‘ त्यसलाई कसैले हारजितको रुपमा लिन नहुनेमा जोड दिए । हिन्दुहरुका भगवान मानिने मर्यादा पुरुषोत्तम रामको जन्मस्थल अयोध्यास्थित राममन्दिर र बाबरीका बारेमा भएको फैसलाको भारतका विभिन्न राजनीतिक दल, नेता, विभिन्न संघ संस्थालगायतले स्वागत गर्दै शान्तिका लागि आह्वान गरेका छन् । अयोध्याको रामजानकी मन्दिर र बाबरी मस्जिद सम्वन्धी विवाद १६औँ शताब्दीदेखिको रहेकाले यस फैसलालाई ऐतिहासिक फैसला मानिएको छ । रासस/एएनआई
सोमालियामा विस्थापितका लागि सहयोगको याचना
मोगादिसु । सोमालियामा गत अक्टोबर महिनाभर आएको बाढीबाट विस्थापित करिब तीन लाख नागरिकको सहयोगका लागि आवश्यक सहयोग गर्न सरकारले आह्वान गरेको छ । शरणार्थी सम्बन्धि राष्ट्रसंघीय निकायले गत अक्टोबरमा आएको बाढीका कारण विस्थापित हुनेहरुका लागि सहयोग गर्न गत हप्ता नै आग्रह गरेको थियो । सोमालियाका अरु शहरहरु र त्यसमा पनि सबैभन्दा बढी बियानी भन्ने ठाउँका नागरिक बाढीको चपेटामा परेका छन् । उनीहरु अस्थायी टहरामा बस्दै आएका छन् । भारी मात्रामा परेको वर्षाका कारण स्थानीय सियाली नदीमा आएको बाढीबाट ठूलो मात्रामा नागरिक विस्थापित हुन पुगेका बताइएको छ । सोमालियामा यस वर्ष बाढी मात्र नभएर खडेरी र आन्तरिक द्धन्द्धका कारण पनि ठूलो संख्याका नागरिक विस्थापित हुन पुगेका छन् ।सोमालियाका विभिन्न भूभागमा आन्तरिक द्धन्द्ध, खडेरी तथा पछिल्लो महिनाको बाढीमा परी ५ लाख ७५ हजार नागरिक विस्थापित भएका बताइएको छ । राष्ट्रसंघीय शरणार्थीसम्बन्धी एजेन्सी, युएनएचसिआरका अधिकारीहरुका अनुसार यस वर्षमात्र सोमालियामा विस्थापित मानिसको संख्या ५ लाख ७५ हजार रहेको बताइएको छ । अक्टोबर महिनाको वर्षाका कारण आएको बाढीबाट विस्थापित नागरिकको अवस्था निकै नाजुक रहेकोले सहयोगका लागि राष्टसंघीय एजेन्सी र सोमालियाली सरकारले आग्रह गरेको हो । रासस/सिन्ह्वा
आगामी हप्ता अमेरिका र दक्षिण कोरियाका रक्षामन्त्रीबीच वार्ता
साेल । संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाका रक्षामन्त्रीहरुबीच आगामी हप्ता दक्षिण कोरियाको राजधानी सोलमा वार्ता हुने भएको छ । दक्षिण कोरियाको रक्षा मन्त्रालयले शुक्रबार प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिएकाे छ । दक्षिण कोरियाका रक्षामन्त्री जोङ क्योङ डु र अमेरिकी रक्षामन्त्री मार्क एस्परबीच हुने सो वार्ता वार्षिक रक्षामन्त्रीस्तरीय द्धिपक्षीय वार्ता हो । आगामी शुक्रबार हुन लागेको सो वार्ता दुई देशबीचको ५१ औँ सुरक्षा परामर्श बैठक पनि रहेको दक्षिण कोरियाको रक्षा मन्त्रालयले जानकारी दिएको छ । उक्त वार्ताका क्रममा यी दुई देशबीचमा आपसी सुरक्षा सम्बन्ध मामिलाका विषयमा कुराकानी हुने बताइएको छ । यसका साथै कोरियाली प्रायद्धीपमा जारी सुरक्षाको अवस्था, उत्तर कोरिया एवम् अन्य क्षेत्रीय शुरक्षाका विविध विषयमा कुराकानी हुनेछ । संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीचको उच्चस्तरीय वार्ता दुई पटकसम्म भएको छ । आगामी दिनमा पनि यी दुई देशबीचका वार्ताको सम्भावना रहेकाे जनाएका छन् । यस अवस्थामा दक्षिण कोरिया र अमेरिकाका रक्षामन्त्रीहरुको वार्ता हुन लागेकोले यसलाई महत्वपूर्ण विषयका रुपमा पनि लिइएको छ । रासस /सिन्ह्वा