अवैध रूपमा बसोबास गर्ने पर्यटकको सङ्ख्या बढ्दै
चिप्लेढुंगा । पोखरामा अवैध रुपमा बसोबास गर्ने पर्यटकको सङ्ख्या बढेको छ । पर्यटक प्रहरी कार्यालय लेकसाइडको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५/७६ मा अवैध रुपमा बसोबास गर्ने पर्यटकको सङ्ख्या २२ रहेको छ । त्यसमा रुसका धेरै छन् भने अन्यमा लेवनान, फ्रान्स, टर्की, केन्या, पोल्याण्ड, बेलायत, यमन, चीन, नेदरल्याण्डस्का नागरिक छन् । उनीहरुलाई लेकसाइड आसपासका क्षेत्रबाट पक्राउ गरिएको हो । आव २०७४/७५ मा अवैध बस्ने पर्यटकको सङ्ख्या ६ जना रहेको थियो । पर्यटक प्रहरी प्रमुख भगवती तिमिल्सिनाका अनुसार पछिल्लो समय विदेशी पर्यटकमा निगरानी बढाएको कारणले सङ्ख्या बढेकोे उनको भनाइ छ । “पहिला कहीबाट आएको सूचनालाई आधार मानिन्थ्यो, अहिले हामी आफैँले विशेष चासोसाथ निगरानी बढाएपछि पक्राउ पर्ने बढेको हो”, तिमिल्सिनाले भने । फिलिपिन्सका नागरिक अल्बर्टले १९ वर्षदेखि कास्कीको ठूलाखेतमा कुखुरापालन व्यवसाय गर्दै आएको भेटिएको छ भने नेदरल्याण्ड्सका रुवेन १० वर्षदेखि लेकसाइडकै एक होटलमा गैरकानूनी रुपमा काम गर्दै आएको भेटिएको उनको भनाइ छ । पक्राउ पर्ने अधिकांशको राहदानी र प्रवेशाज्ञा छैन । पक्राउ परेका विदेशीलाई अध्यागमन कार्यालय पोखरामार्फत विभागमा पठाइएको छ । अवैध बसोबास गर्ने अधिकांश नागरिक शहर भित्रका होटलभन्दा बाहिर अपार्टमेन्ट र हामेस्टेमा बस्ने गरेको होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली बताउँछन् । “हामीले अधिकांश पर्यटकको राहदानीको फोटोकपी र प्रवेशाज्ञा हेर्ने गर्छौै तर अवैध बस्नेहरु आर्थिक रुपमा कमजोर रहेका पर्यटक हुन्छन् । उनीहरु शहरभन्दा अलि टाढा सुरक्षित स्थान खोजेर बस्ने गर्छन् ।” पराजुलीले अब हरेक होटलमा राहदानीसँगै प्रवेशाज्ञा पनि निगरानी गर्न आवश्यक रहेको बताए । त्यसैगरी, गैरकानूनी रुपमा ड्रोन क्यामेरा प्रयोग गर्ने विदेशी नागरिकलाई पर्यटक प्रहरीले पक्राउ गरेको छ । आव २०७५ /७६ मा तीन त्यस्ता नागरिक पक्राउ परेका छन् । त्यसअघि २०७४÷७५ मा ११ विदेशी नागरिकलाई पक्राउ गरिएको थियो । पक्राउ परेकालाई नागरिक उड्डयन कार्यालय पोखरामा बुझाइएको तिमिल्सिनाले जानकारी दिएका छन् । रासस
चीनको कार बिक्री दर घट्यो, विद्युतीय उर्जाबाट चल्नेको बिक्री भने बढ्दो
बेइजिङ । चीनमा कार बिक्री दरमा गत बर्षको जुनको तुलनामा यस बर्ष ४.३ प्रतिशतले कमी आएको चिनियाँ कार निर्माण कम्पनी संघले सोमबार बताएको छ । “यस बर्षको जुलाईमा १० लाख ८८ हजार कार विक्री भएको र यो गत बर्षको तुलनामा ४.३ प्रतिशतले कमी हो । कार बिक्रीदर यस बर्षको जुनको तुलनामा जुलाईमा ५.३ प्रतिशत अङ्कले कमी आएकोे छ,” संघका महासचिव चेन सिहुआले बताए । “सन् २०१९ को पहिलो सात महिनामा चीनमा जम्मा एक करोड ४१ लाख ३२ हजार कार विक्री भएको छ,” चेनले भने । यो गत बर्षको सोही समयको विक्रीको तुलनामा ११.४ प्रतिशतले कमी हो । चीनले जनवरीदेखि जुलाईसम्ममा एक करोड ३९ लाख ३३ हजार कारको निर्माण गरेको थियो । अघिल्लो बर्षको सोही अवधिको तुलनामा यस बर्ष कार निर्माणमा १३.५ प्रतिशतले कमी आएको छ । विद्युतीय उर्जाबाट चल्ने कारको विक्रीमा पनि गत बर्षको तुलनामा यस बर्षको शुरूका सात महिनामा उल्लेख्य वृद्धि भएको चेनले बताए । विद्युतीय उर्जाबाट चल्ने सवारी साधनको यस बर्षको उत्पादनमा ४०.९ प्रतिशतले वृद्धि हुँदा चीनमा छ लाख ९९ हजार विद्युतीय सवारी उत्पादन भएको छ । रासस÷सिन्ह्वा
दक्षिण कोरियाले जापानलाई आफ्नो निर्यात साझेदारी सूचीबाट हटायो
काठमाडौं। दक्षिण कोरियाले जापानलाई आफ्नो विश्वसनीय निर्यात साझेदारहरूको ह्वाइटलिस्टबाट हटाउने निर्णय गरेको छ। दक्षिण कोरियाली व्यापार, उद्योग र ऊर्जा मन्त्री सुंग युन-मोले सोमबार एक पत्रकार सम्मेलन मार्फत जापानलाई हटाउने बताएका हुन् । टोकियोले यस महिनाको शुरूमा दक्षिण कोरियालाई विश्वसनीय निर्यात साझेदारबाट हटाएको थियो । यसका साथै दक्षिण कोरियाले जापानले गरेको निर्यात प्रतिबन्धको बारेमा विश्व व्यापार संगठनलाई गुनासो पेश गर्ने भएको छ ।