अमेरिकाको निष्कर्षः अफगान युद्ध पराजयको संघारमा

वासिङ्टन । अफगानिस्तान सरकारले पछिल्ला महिनाहरुमा देशव्यापी नियन्त्रण गुमाउँदै गएको र ठूलो संख्यामा स्थानीय सुरक्षाकर्मीको मृत्यु भएको एक अमेरिकी सरकारी संस्थाको पछिल्लो अध्ययनले देखाएको छ । संस्थाको अध्ययनमा तालिबान विरुद्धको सङ्घर्षमा खासै कुनै प्रगति नभएको ठहर गरिएको छ । अफगानिस्तानको पछिल्लो सुरक्षा सङ्कटको विश्लेषणमा प्रहरी र सैनिक टुकडीले अभूतपूर्व चुनौती भोग्नु परेको पाइएको छ । अमेरिकी नेतृत्वमा १७ वर्षअघि भएको सैनिक हस्तक्षेपपछि पनि तालिबानको प्रभाव र बर्चश्व कम हुनुको साटो बढ्दै गएको छ । अफगानिस्तानमा तैनाथ अमेरिकी नेतृत्वको नेटो अभियानले उपलब्ध गराएको विवरणमा पछिल्लो चार महिनामा अफगान सरकारले ४०७ वटा जिल्लामध्ये २२६ वटामा मात्र नियन्त्रण वा प्रभाव कायम राख्न सफल भएको उल्लेख छ । अर्थात् कूल भूभागको करिब ५५ प्रतिशतमा काबुलको नियन्त्रण वा प्रभाव छ । अफगानिस्तानको पुनर्निर्माणका लागि अमेरिकी नियोग (सिगार) का अनुसार अघिल्लो चार महिने समयावधिभन्दा पछिल्ला चार महिनामा शून्य दशमलब ७ प्रतिशतले सरकारी नियन्त्रण गुमेको छ । नोभेम्बर २०१५ मा जिल्लाहरुको वस्तुस्थितिको अध्ययन गर्न थालेयता यो सबैभन्दा कमजोर अवस्था हो । सिगारका अनुसार बाँकी जिल्लामध्ये ४९ वटा (१२ प्रतिशत) मा विद्रोहीको पूर्ण नियन्त्रण वा प्रभाव छ । अरु एकसय ३२ वटा जिल्लामा भने काबुल सरकार र तालिबान वा अन्य विद्रोहीमध्ये कसको नियन्त्रण छ भन्न कठिन रहेको छ । जनसंख्याका आधारमा काबुलको नियन्त्रण ६५.२ प्रतिशतमा छ, र यो गत वर्षकै हाराहारीमा रहेको छ । अमेरिकी सैनिक जनरल जोन निकोल्सनले नोभेम्बर २०१७ मा अफगान सुरक्षाफौजले आगामी दुई वर्षभित्र कूल जनसंख्याको ८० प्रतिशतमा नियन्त्रण राख्न सक्ने बताएका थिए । अफगान मामिलाका विज्ञ बिल रोज्जियोले जनरल जोनले दाबी गरेझैं परिस्थितिमा सुधार नआएको बताए। उनले भने, “अफगान सुरक्षाफौजले कुनै नाटकीय सफलता प्राप्त नगर्दासम्म र सुरक्षा व्यवस्थामा सुधार ल्याउन अमेरिकाले पुनः प्रतिबद्धता व्यक्त नगर्दासम्म कुनै ठोस सफलता हासिल हुने सम्भावना देखिन्न ।” सुरक्षा व्यवस्थामा रहेको कमजोरीको रुपमा आन्तरिक आक्रमणलाई पनि लिन सकिन्छ । कान्दाहारमा यही महिना उच्चस्तरीय सुरक्षा बैठकमै सुरक्षागार्डले चलाएको गोली लागेर कान्दाहारका प्रहरी प्रमुख जनरल अब्दुल रजिकको हत्या भयो । उक्त हमलामा अरु दुई जनाको हत्या हुनुका साथै केही सैनिक अधिकारीहरु घाइते भएका थिए । उक्त बैठकमा अफगानिस्तानका लागि अमेरिकी तथा नेटो कमान्डर जनरल स्कट मिलर पनि सहभागी थिए । जनरल स्कट भाग्यले बाँचे तर अमेरिकी ब्रिगेडियर जनरल जेफ्री स्माइली समेतका १३ जना घाइते भए । तालिबानले मिलर र रजिकलाई आक्रमणको निशाना बनाएको बताएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक वर्षभन्दा पहिले अफगान योजनामा परिवर्तन ल्याउने घोषणा गरेका थिए । उनले अफगानिस्तानको सुरक्षा व्यवस्था अफगान फौजलाई हस्तान्तरण गर्ने र अमेरिकी सेनाले अफगान फौजलाई तालिम एवं परामर्श सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए । काबुलले अनुरोध गरेपनि अफगान सुरक्षाफौजले भोगेको क्षतिको विवरण उपलब्ध गराउन वासिङ्टनले अस्वीकार गरेको छ । सिगारको प्रतिवेदनमा हरेक वर्ष पाँच हजारभन्दा बढी अफगानी फौजका जवानको मृत्यु हुने गरेको छ । पछिल्लो प्रतिवेदनमा सिगारले नेटो रिसोल्यूट सपोर्टको भनाइ उद्धृत गर्दै पछिल्ला दिनमा क्षति अझ बढी भएको जनाएको छ । “यसैवर्षको मे देखि अक्टोबर १, २०१८ को अवधिमा अफगान फौजको सबैभन्दा बढी क्षति भएको छ,” सिगारको भनाइ छ । अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले यसैसाता अगष्ट र सेप्टेम्बरमा मात्र एक हजारभन्दा बढी अफगानी फौजका युवाको मृत्यु भएको बताएका छन । सिगारले पछिल्ला चार महिनामा अफगान सुरक्षाफौजले कुनै प्रगति नै नगरेको जनाएको छ । अमेरिकाले पछिल्ला दिनमा अफगानको शान्तिका लागि तालिबानसँग वार्ताको पहल गर्नुका साथै तालिबानलाई भइरहेको पाकिस्तानी सहयोग रोक्न पाकिस्तानमाथि आर्थिक कटौती समेतका दबाबमूलक अभियान सञ्चालन गरिरहेको छ ।

सोनीको आम्दानी दोब्बरले बढ्यो, छ महिनामै साढे ३ अर्ब अमेरिकी डलर नाफा

टोकियो । विद्युतीय उपकरणको विश्वविख्यात निर्माता सोनी कम्पनीले गत वर्षको तुलनामा छ महिनाको अवधिमा आफ्नो नाफा दोब्बरले वृद्धि भएको घोषणा गरेको छ । गत अप्रिलदेखि सेप्टेम्बरको अवधिका छ महिनामा कम्पनीको खुद नाफा ३ अर्ब ५० करोड अमेरिकी डलर (३९९ अर्ब येन) पुगेको कम्पनीले जनाएको छ । यो नाफा गत वर्षको तुलनामा ८८ प्रतिशतले बढी हो । सञ्चालन नाफा पनि २० प्रतिशतले वृद्धि भई ४३४ अर्ब येन पुगेको छ भने बिक्रीमा सुधार आई करिब ४० खर्ब येन भएको छ । यो गत वर्षको तुलनामा ५.५ प्रतिशत बढी हो । रासस/एएफपी

विश्वका ११२ देशसँग नेपालको व्यापार घाटा, सबैभन्दा धेरै भारत र चीनसँग

काठमाडौं । विश्वका ११२ देशसँग नेपालको व्यापार घाटा रहेको तथ्याङ्क सार्वजनिक भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पछिल्लो तीन महीनाको विवरणमा विश्वका १४० देशमध्ये २८ देशसँग मात्रै नेपालको व्यापार नाफामा रहेको छ भने ११२ देशसँग घाटा रहेको छ । नेपालको सबैभन्दा धेरै व्यापार घाटा छिमेकी देश भारत र चीनसँग नै रहेको छ । पछिल्लो तीन महीनाको विवरणअनुसार भारतसँग दुई खर्ब २२ अर्ब ९५ करोड ९२ लाख पाँच हजार रुपैयाँ बराबरको व्यापार घाटा छ । भारतबाट मात्रै दुई खर्ब ३६ अर्ब १२ करोड ३४ लाख १९ हजार रुपैयाँ बराबरको माल वस्तु आयात भएको छ । नेपालबाट भारततर्फ भने १३ अर्ब १६ करोड ४२ लाख १४ हजार रुपैयाँ बराबरको वस्तु मात्रै निर्यात भएको छ । व्यापार घाटाको दोस्रो स्थानमा रहेको चीनबाट पछिल्लो तीन महीनामा ५३ अर्ब ११ करोड ५६ लाख ८५ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ । सो अवधिमा नेपालबाट रु ५६ करोड ४० लाख बराबरको माल वस्तु मात्रै निर्यात भएको छ । नेपाल र चीनबीचको व्यापार घाटा रु ५२ अर्ब ५५ करोड १५ लाख ८९ हजार रहेको छ । नेपालको तेस्रो व्यापार घाटा युरोपेली देश फ्रान्ससँग रहेको छ । रु १४ अर्ब २६ करोड ५३ लाख बराबरको माल वस्तु सो देशबाट आयात भएको छ भने नेपालबाट रु ३५ करोड २२ लाख ८८ हजार बराबरको सामान मात्रै निर्यात हुँदा व्यापार घाटा रु १३ अर्ब ९१ करोड ३० लाख १३ हजार हुन पुगेको छ । यस्तै युनाइटेड अरब इमिरेट्स (युएइ)सँगको व्यापार घाटा चौथो स्थानमा रहेको छ । उक्त देशबाट रु सात अर्ब ९० करोड ८३ लाख ८५ हजार बराबरको सामान आयात भएकामा नेपालबाट रु तीन करोड ७५ लाख ४७ हजार बराबरको सामान मात्रै निर्यात भएको छ । सो देशसँग नेपालको व्यापार घाटा रु सात अर्ब ८७ करोड ८३ लाख ८० हजार बराबर छ । नेपालको व्यापार घाटा रहेका देशमा थाइल्याण्ड, स्वीट्जरल्याण्ड, इन्डोनेशिया, क्यानडा, मलेसिया, अर्जेन्टिना, युक्रेन, साउदी अरब, दक्षिण अफ्रिका, इटाली, भियतनाम, दक्षिण कोरिया, अष्टे«लिया, तुर्केमेनिस्तान, चीनको ताइवान, जापान, सिङ्गापुर, हङ्कङलगायत ११२ देश रहेका छन् । अल्वानियाबाट रु एक लाख १४ हजार बराबरको माल सामान आयात भएको छ भने नेपालबाट सो देशमा कुनै पनि माल वस्तु निर्यात हुन सकेको छैन । रुवाण्डाबाट रु एक लाख २२ हजार बराबरको मालसामान आयात भएकामा नेपालबाट रु दुई लाख २० हजार बराबरको निर्यात भएको छ । संयुक्त राज्य अमेरिकासँग भने नेपालको व्यापारमा फाइदा रहेको विभागको पछिल्लो विवरणमा उल्लेख छ । अमेरिकामा रु तीन अर्ब १९ करोड ७८ लाख ५९ हजार बराबरको व्यापार भएको छ । सो देशबाट नेपालमा रु दुई अर्ब ५२ करोड ९५ लाख ३५ हजार बराबरको समान आयात भएकामा रु ६६ करोड ८३ लाख बराबरको नाफा रहेको छ । नेपालको व्यापारमा नाफा रहेका देशमा नर्वे, फिनल्याण्ड, अष्ट्रिया, माल्दिभ्स, मोरक्को, इस्टोनिया, अफगानिस्तान, लेवनान, एल साल्भाडोर, उरुग्वे, साइप्रस लगायतका देश छन् । पछिल्लो तीन महीनामा रु तीन खर्ब ४९ अर्ब ८४ करोड २३ लाख २८ हजार बराबरको व्यापार घाटा हुन पुगेको छ । कूल रु तीन खर्ब ७३ अर्ब ५८ करोड ७२ लाख ५८ हजार बराबरको माल वस्तु आयात हुँदा रु २३ अर्ब ७४ करोड ४९ लाख ३० हजार बराबरको मात्रै निर्यात हुन सकेको छ । रासस