बेलायती बैंक एचएसबीसीले चार हजार रोजगारीका अवसर कटौति गर्ने
लण्डन, बेलायत । बेलायती बैंक एचएसबीसीले चार हजार रोजगारीका अवसरलाई कटौति गर्ने सोमबार सार्वजनिक एक घोषणामा उल्लेख छ । एचएसबीसीका प्रमुख कार्यकारी अधिकृत जोन फ्लिन्टले बैंकलाई नयाँ आर्थिक सङ्कटबाट जोगाउन बैंकले आफ्नो सेवाका लागि उपलब्ध गराउँदै आएका चार हजार जागिरका अवसरलाई घटाउने बताएका छन् । “हामीले बैंकलाई पुनः संरचना गर्ने उद्देश्यले हाम्रो सम्पूर्ण श्रमशक्तिको दुई प्रतिशत अर्थात् चार हजार पदलाई हटाउन लागेका छौँ,” बैँकका प्रमुख आर्थिक अधिकृत एवेन स्टेभेनले बताए । उनले रोजगारी कटौति अन्तर्गत बैंकले उच्च पदलाई व्यवस्थापन गर्न लागेको पनि बताए । बेलायतले यूरोपेली यूनियन (इयू)बाट बाहिरिने तयारी गरिरहेका समय बैँकले उक्त निर्णय गरेको छ । रासस÷एएफपी
अमेरिकाको ओहायोमा फेरि गोली चल्यो, ९ जनाको मृत्यु
वासिङ्टन । अमेरिकाको ओहायो राज्यस्थित डेटनमा आइतबार बिहानीपख भएको गोलीकान्डमा कम्तीमा नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले गोली चलाउने व्यक्तिको मृत्यु भएको बताएको छ । गोलीकान्डमा अरु १६ जना घाइते भएका र उनीहरुलाई स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ । यस घटनाको विस्तृत विवरण आउन बाँकी छ । अमेरिकाको टेक्सासमा शनिबार भएको अर्को गोलीकान्डमा कम्तीमा २० जनाको मृत्यु भएको थियो । रासस/एएफपी
जापान एयरलाइन्सको नाफा ३२ प्रतिशत घट्यो, अमेरिका-चीनबीचको व्यापार युद्धको असर
टोकियो । जापानको राष्ट्रिय ध्वजाबाहक जापान एयरलाइन्सको पहिलो त्रैमासिकको खूद नाफा करिब ३२ प्रतिशतले घटेको छ । इन्धनको मूल्य वृद्धि र अमेरिका-चीनबीचको व्यापार युद्धपछि कार्गो ढुवानीमा आएको मन्दीका कारण नाफा घटेको जापान एयरलाइन्सले जनाएको छ । अप्रिल-जुन महिनाको अवधिमा जापान एयरलाइन्सको नाफामा कमी आई १२ अर्ब येन (जापानी मुद्रा) भएको छ । अघिल्लो वर्ष करिब १८ अर्ब खूद नाफा थियो । तर बिक्रीमा भने ४ प्रतिशत सुधार आएर तीन खर्ब ५५ अर्ब येन भएको छ । अमेरिका र इरानबीचको बढ्दो तनाबले इन्धनको मूल्यमा निरन्तर वृद्धि भइरहेको छ, एयरलाइन्सले जारी गरेको विवरणमा उल्लेख छ । विज्ञप्तिमा कम्पनीको नाफा निरन्तर खस्किएको र तत्काल सुधार हुने सम्भावना कमै रहेको जनाइएको छ । अन्तर्राष्ट्रिय कार्गो व्यवसायको आयमा पनि ३।३ प्रतिशतले कमी आएको छ । खासगरी अमेरिका–चीन बीचको व्यापार अवरोधले कार्गो व्यवसायमा अन्यौल बढेको हो । रासस÷एएफपी