चीनभन्दा ठूलो ‘दुश्मन’ फेडका प्रमुख पावेल, राजिनामा दिए रोक्दिनँ – राष्ट्रपति ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैंक (फेड)का प्रमुख जेरोम पावेलले राजिनामा दिए आफूले नरोक्ने बताएका छन् । अमेरिकी अर्थव्यवस्थाका सम्बन्धमा ट्रम्पका नीतिको आलोचना गरेसँगै प्रमुख पावेललाई राजिनामा दिन राष्ट्रपति ट्रम्पले सुझाव दिइएका छन् । फ्रान्समा आयोजना हुने सात प्रमुख औद्योगिक राष्ट्रहरुको बैठक (जी७) मा भाग लिन त्यसतर्फ प्रस्थान गर्नुअघि पावेलका बारेमा सोधिएको एक प्रश्नमा राष्ट्रपति ट्रम्पले भने, “उनले राजिनामा दिए, मैले रोक्ने छैन ।” राष्ट्रपति ट्रम्पले शुक्रबार नै एक कार्यक्रममा चीनभन्दा ठूलो “दुश्मन” पावेल रहेको बताए । हाल चीनसँग राष्ट्रपति ट्रम्पले व्यापार युद्ध नै छाेड्डेका छन् । फेड प्रमुख पावेलले राष्ट्रपतिको भावना विपरीत पटकपटक व्याजदर कटौती गरेको र आफ्ना अर्थनीतिलाई खुलेर समर्थन नगरेको राष्ट्रपति ट्रम्पले आरोप लगाउँदै आएका छन् । यद्यपि राष्ट्रपति ट्रम्पले नै पावेललाई केन्द्रीय बैंकको प्रमुखमा सन् २०१८ मा नियुक्त गरेका थिए । रासस /एएफपी

इबोलाबाट कंगोमा एक हजार ९६५ जनाको मृत्यु

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले प्राणघातक इबोला रोगका कारण अफ्रिकी मुलुक कंगोमा एक हजार ९६५ जनाको मृत्यु भएको जनाएको छ । संगठनले पछिल्ला १० सातामा इबोलाको संक्रमण स्थिर रहेको पनि स्पष्ट गरेको छ । डब्लुएचओका स्वास्थ्य कार्यक्रमका कार्यकारी निर्देशक डा.माइक रायनले मध्य जुनसम्म झण्डै ८० जना नयाँ रोगी फेला परेको जनाए । उनले पछिल्ला दुई तीन सातादेखि नयाँ संक्रमित बिरामीको संख्या घट्दै गएको भन्दै यो प्रवृत्तिमा निरन्तर कमी आउने अपेक्षा गरिएको बताए । डब्लुएचओले यस रोगसँग जुध्न ६७० जनाभन्दा बढी कर्मचारी कंगोमा खटाएको छ । रोगको निगरानी र खोपका कारण यो रोग तिब्र गतिमा अहिले फैलिन नपाएको डाक्टरको भनाई छ । कंगोमा यो रोग सबैभन्दा बढी घातक मानिएको छ । पछिल्लो समय कंगोको उत्तरी शहर मम्बासामा यो रोग देखिएकाले सबैलाई चिन्तित बनाएको डब्लुएचओले जनाएको छ । रासस/सिन्ह्वा

अल्जेरियाका पूर्वमन्त्रीमाथि भ्रष्टाचारको आरोप, थुनामा राख्न आदेश

अल्जियर्स । अल्जेरियाको सर्वोच्च अदालतले पूर्व कानुन मन्त्री तयिब लोउलाई भ्रष्टाचार र शक्तिको दुरुपयोगको आरोपमा थुनामा राख्न बिहीबार आदेश दिएको छ । सरकारी अभियोजनकर्ताका अनुसार पूर्वमन्त्री लोउमाथि शक्तिको दुरुपयोग, न्यायमा अबरोध, सरकारी कागजात तोडमरोड तथा पक्षपातमा संलग्न रहेको आरोप लागेको छ । अदालतको आदेशलगत्तै पूर्वमन्त्री लोउलाई गिरफ्तार गरिएको छ । गत अगस्ट ८ मा सर्वोच्च अदालतले लोउमाथि प्रारम्भिक सुनुवाई गरेको थियो । लोउको पासपोर्ट जफत गर्नुका साथै देश छाड्न प्रतिबन्ध लगाइएको छ । लोउ अल्जेरियाका पूर्व राष्ट्रपति अब्देलाजिज बाउतेफ्लीकाको शासनकालमा सन् २०१३ देखि २०१९ सम्म अल्जेरियाका निकै प्रभावशाली कानुन मन्त्री थिए । दुईजना पूर्व प्रधानमन्त्री अब्देलमलिक सेल्लाल र अहमद ओयाहिया समेतका धेरै जना वरिष्ट सरकारी अधिकारीहरुलाई पनि पदको दुरुपयोग तथा भ्रष्टाचारको आरोपमा पक्राउ गरी जेलमा राखिएको छ । गत फेब्रुअरी २२ देखि अल्जेरियामा जारी जनप्रदर्शनबाट राष्ट्रपति बोतेफ्लीकाको शासन ढलेको थियो । प्रदर्शनकारीहरुले मुलुकमा सुशासन कमजोर बनेको, भ्रष्टाचार बढेको तथा प्रहरी दमन बढेको भन्दै दोषीमाथि कारबाही गर्न निरन्तर माग गरी प्रदर्शन गरेका थिए । रासस÷सिन्ह्वा