सुडानमा मूल्यवृद्धिको विरोध, १९ जनाको मृत्यु

खार्तुम । सुडानमा खाद्य र इन्धनको चर्को मूल्यवृद्धि भएको विरोधमा भएको प्रदर्शनका क्रममा दङ्गा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दुई प्रहरी सहित १९ जनाको मृत्यु भएको छ । सुडान सरकारका अनुसार प्रदर्शनका क्रममा दुई सय १९ जना सर्वसाधारण घाइते भएका छन् । सुडानका सञ्चार मन्त्री एवम् सरकारका प्रवक्ता बुसारा गुम्मा आरोले प्रदर्शन नियन्त्रण गर्ने क्रममा एक सय ८७ जना सशस्त्र प्रहरी घाइते भएको जानकारी दिए । उत्तर अफ्रिकी राष्ट्र सुडानमा मूल्यवृद्धिको विरोधमा गत सातादेखि नै प्रदर्शन भइरहेका छन् । गत साता सुडानको राजधानी सहर खार्तुममा प्रदर्शनकारीले नेसनल कङ्ग्रेस पार्टी (एनसीपी)को मुख्यालयमा आगजनी गरेपछि कफ्र्यु समेत लगाइएको थियो । प्रदर्शनकारीले राष्ट्रपति ओमार अल–बासिरको राजीनामा मागेका छन् । सुडान सरकारले पाउरोटीको मूल्यमा वृद्धि गरी एक सुडानी पाउन्डबाट तीन पाउन्ड बनाएको छ । साथै, इन्धनको मूल्यमा पनि दोब्बर वृद्धि गरिएको छ । उक्त मूल्यवृद्धिले आमजनतालाई असर पारेको भन्दै सरकार विरुद्ध राष्ट्रव्यापी प्रदर्शन भइरहेका छन् । रासस/एएनआई

रक्तदानमा चरम लापरवाही, गर्भवती महिलामा एचआइभी !

मादुरी, तामिलनाडु । उपचारका लागि अस्पताल भर्ना भएकी एक गर्भवती महिलालाई यहाँको एक अस्पतालमा एचआइभी पोजेटिभ भएको रगत दिइएपछि उनी पनि सङ्क्रमित भएकी छिन् । तामिलनाडु राज्यका प्रदेश स्वास्थ्यसचिव जे राधाकृष्णले गर्भवती महिलालाई एचआइभी पोजेटिभ भएका व्यक्तिले रगत दिएको थाहा भएको बताए । पहिलेदेखि नै एचआइभी पोजेटिभ भएका ती व्यक्तिले अस्पतालका कर्मचारीलाई समेत खबर नगरी रक्तदान गरेको श्री राधाकृष्णले जानकारी दिए । उक्त व्यक्तिले जानाजान रक्तदान गरेको हो वा होइन भन्ने अनुसन्धान पनि भइरहेको अस्पताल प्रशासनले जनाएको छ । उनले दुर्भाग्यबस ती व्यक्तिमा एआइभी पोजेटिभ भएको जानकारी अस्पताललाई नभएको बताए । उक्त घटनामा प्रमुख जिम्मेवार देखिएका प्रयोगशालाका प्राविधिक र परामर्शदातालाई अवकाश दिइएको छ । पीडित महिलाका श्रीमानले गर्भमा रहेको बच्चामा एचआइभी सङ्क्रमित हुन नदिन सबै उपाय अपनाउन अस्पताल प्रशासनसँग आग्रह गरेका छन् । रासस÷एएनआई

सबैभन्दा लामो ‘रेल–रोड ब्रिज’ उद्घाटन, भारतले भन्यो–सीमाना सुरक्षाको आधार भो

बोगिविल, भारत । भारतले मङ्गलबार उत्तरपूर्वी राज्य आसाममा रहेको सबैभन्दा लामो ‘रेल–रोड ब्रिज’ को उद्घाटन गरेको छ । पुलको सञ्चालनले भारतको चीनसँगको संवेदनशील मानिएको सीमानामा सुरक्षालाई प्रत्याभूत गर्न नयाँ बाटो खुलेको भारतीय अधिकारीले जनाएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रम्हपुत्र नदीमा बनाइएको ४.९ किलोमिटर लामो बोगिविल पुलको एक भब्य समारोहबीच उद्घाटन गरे । पुल निर्माण गर्न करिब दुई दशक लागेको र निर्माण खर्च ८० करोड अमेरिकी डलर खर्च लागेको भारतीय अधिकारीले बताएका छन् । दिब्रुगढ शहर नजिकै बनाइएको उक्त पुलका कारण चीनसँग नाका रहेको अरुणाञ्चल प्रदेशमा सुरक्षाका लागि सैन्य गतिविधिलाई पुर्याउन सहज हुनेछ । भारतले चीनसँग १९६२ को युद्धमा सैनालाई सहज तैनाथ गर्न नसक्दा अरूणाञ्चल प्रदेशको केही भूमि गुमाएको बुझाई भारतीय पक्षको रहेको छ । पुलले ६० टन बराबरको वजन धान्नसक्ने दावी गरिएको छ जसका कारण युद्धका लागि आवश्यक लडाकू जेटलाई पुलमा नै अवतरण गर्न सकिनेछ । भारतले रणनीतिक सुरक्षाका लागि महत्व राख्ने ९.१ किलोमिटर लामो अर्को एउटा पुलको पनि सन् २०१७ मा निर्माण सम्पन्न गरेको थियो । रासस÷एएफपी