मोदीले शुरु गरे ‘म पनि चौकीदार’ अभियान, यो चुनावमा पनि पुरानै ‘फण्डा’
नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनता पार्टी (बिजेपी)को “म पनि चौकीदार” अभियानको शनिबार सुरुवात गरेका छन् । सबै भारतीय नागरिक कसरी चौकीदार हुन् भन्ने बारेमा तयार पारिएको भिडियो ट्वीटरमा सार्वजनिक गरेर उनले अभियानको सुरुवात गरेका हुन् । “तपाईका चौकीदारहरु देशभरि सेवा गरिरहेका छन्, म एक्लो छैन । हरेक व्यक्ति जो भ्रष्टाचार, गलत काम, सामाजिक विकृतिका विरुद्धमा लड्छन्, ती सबै चौकीदार हुन्,” उनले भनेका छन् । प्रधानमन्त्री मोदीले देशको प्रगतिका लागि कडा मिहनेत गर्नेहरुलाई पनि चौकीदारको संज्ञा दिँदै आज भारतका सबै नागरिकले म पनि चौकीदार हुँ भन्ने गरेको बताए । अघिल्लो पटक सन् २०१४ मा भएको निर्वाचनमा आफू चौकीदार बन्न चाहेको बताउनु भएका मोदीले अहिले फेरि त्यही चौकीदारको विषयलाई अभियानको रुपमा सुरु गरेका हुन् । चौकीदारले पैसा र सम्पत्तिको सुरक्षा गरे झैं आफूले देशको संरक्षण गर्न चाहेको उनको भनाई छ । काँग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले “चौकीदार चोर भयो” भन्ने टिप्पणी गरेपछि बिजेपीले त्यसको सर्वेक्षण गर्दा धेरै मान्छे चौकीदारको पक्षमा देखिएकाले “म पनि चौकीदार” अभियान उनले सुरु गरेका हुन् । सर्वेक्षणले चौकीदारलाई होच्याइएकामा धेरै जना रिसाएको पनि देखाएको अधिकारीहरुले जनाएका छन् । यसअघिको निर्वाचनमा प्रधानमन्त्री मोदीलाई “चियावाला” को रुपमा पनि यसैगरी प्रचार गरिएको थियो । त्यो पनि सकारात्मक र प्रभावकारी भएको थियो । भारतमा यही मार्च ३१ देखि निर्वाचन हुन लागेकाले निर्वाचनको दिन नजिकिदै जादा प्रचार प्रसार पनि तिव्र हुन थालेको छ । रासस/एएनआई
व्यापार युद्धबाट अमेरिकाको अर्थतन्त्र ७ अर्ब ८० करोड डलरमा खुम्चियो
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्धले सन् २०१८ मा अमेरिकी अर्थतन्त्र करिब सात अर्ब ८० करोड डलर खुम्चिएको अध्ययनले देखाएको छ । प्रतिष्ठित अमेरिकी विश्वविद्यालयका अर्थशास्त्रीहरुले गरेको एक अध्ययनले लक्षित मुलुकहरुबाट अमेरिकातर्फ भएको आयातमा ३१.५ प्रतिशतले कमी आएको उल्लेख गरिएको छ । अमेरिकी निर्यातमा पनि ११ प्रतिशतले कमी आएको छ । आयातमा भएको लागत वृद्धिले उपभोक्ता र उत्पादकलाई वार्षिक करिब ६९ अर्ब डलर नोक्सान भएको छ । आयात र निर्यातको गणनाबाट गत वर्ष कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को शून्य दशमलब शून्य ४ प्रतिशत अर्थात् करिब ७ अर्ब ८० करोड डलर नोक्सान भएको अनुसन्धाताहरुले बताएका छन् । आर्थिक अनुसन्धान राष्ट्रिय ब्यूरोले प्रकाशन गरेको अनुसन्धान प्रतिवेदनले राष्ट्रपति ट्रम्पले चीन समेतका कतिपय मुलुकसँग रहेको व्यापार घाटा कम गर्न जस्तोसुकै कदम चाल्ने ट्रम्पको घोषणाले अमेरिकी र विश्व अर्थतन्त्र खुम्चिने देखिएको जनाएको छ । अमेरिकी म्यानुफ्याक्चरिङ क्षेत्रलाई बचाऊ गर्ने नाममा राष्ट्रपति ट्रम्पले संरक्षणवादी व्यापार नीति अबलम्बन गरेको आरोप लाग्दै आएको छ । वासिङ्टन र बेइजिङबीच एकअर्का मुलुकका सामानमा करवृद्धि गरिएको भएपनि अन्ततः व्यापार विवाद सुल्झाउन हाल वार्ता जारी छ । अमेरिकाले चीन मात्र नभई युरोपेली युनियन र अरु प्रमुख व्यापारिक साझेदार मुलुकमाथि करवृद्धि गर्ने तथा आयात रोक्नेजस्तो कठोर कदम चालेको छ । “अमेरिकाकै रिपब्लीकन पार्टी विजयी भएकै राज्यहरुमा व्यापार युद्धले बढी असर पारेको छ,” अनुसन्धानमा देखिएको छ । रासस/एपी
संसारभरि ७३७ म्याक्स मोडलका विमान उडानमा रोक
काठमाडौँ । अमेरिकी विमान निर्माता कम्पनी बोइङले आफ्ना ७३७ म्याक्स मोडलका सम्पूर्ण विमानहरूमा उडान रोक लगाएको छ । यससँगै उसले निर्माण गरेका ३७१ वटा त्यस्ता विमानहरूले अर्को निर्णय नभएसम्म उडान गर्ने छैनन् । अमेरिकी उड्डयन नियामक निकायले गत आइतवार उक्त मोडेलको एउटा विमान दुर्घटना भएको इथियोपियाबाट नयाँ प्रमाण भेटिएपछि त्यस्तो निर्णय लिइएको बताएको छ । भेटिएको नयाँ प्रमाण र भू–उपग्रहबाट सङ्कलित पछिल्ला केही विवरणपश्चात् यस्तो निर्णय लिइएको अधिकारीहरूले बताएका छन् । यसअघि अमेरिकी सङ्घीय उड्डयन प्रशासनले उडानहरू रोक्ने आधार नभेटिएको बताएको थियो । बुधवार भने उक्त निकायका कार्यवाहक प्रशासक डेनियल इल्वेलले भनेका छन्, –हामी सबै यो कुरामा स्पष्ट भएका छौँ कि दुर्घटना भएको इथियोपियन एअरलाइन्सले लिएको बाटो र उसको व्यवहार लायन एयरको जस्तै थियो । जमिनमा पाइएका प्रमाणले पनि त्यस्तै देखायो ।सोही मोडेलको लायन एयरको विमान पाँच महिनाअघि इन्डोनेशियामा दुर्घटना हुँदा १८९ जनाले ज्यान गुमाएका थिए । उजुरी यसअघि राष्ट्रपति ट्रम्पले दुर्घटनास्थल र अन्यत्रबाट प्राप्त विवरण एवम् उजुरीका आधारमा आपत्कालीन आदेश दिन लागेको बताएका थिए । गत वर्षको अन्त्यतिर केही अमेरिकी पाइलटहरूले उक्त विमानलाई उडाउने बेलामा नियन्त्रण गर्न समस्याहरू भएको उजुरी गरेका थिए । बोइङले भने उक्त मोडेलको विमानको सुरक्षामा आफू सुनिश्चित रहेको बताएको छ । उडानहरू रोक्नुलाई भने उसले ुनिकै उच्च स्तरको सावधानीु अपनाएको बताउँदै मानिसहरूलाई पुनः आश्वस्त पार्न चाहेको जनाएको छ ।यसअघि नै ब्रिटेन, युरोपेली सङ्घ, चीन, अस्ट्रेलिया र भारत लगायतका देशले आफ्ना विमानसेवामा उक्त मोडलको जहाजलाई उड्न रोकिसकेका थिए । सो मोडलको विमान सन् २०१७ देखि मात्रै व्यावसायिक उडानमा प्रयोग हुन थालेको हो । बोइङको वेबसाइटका अनुसार १६ वटा वायुसेवा कम्पनीले सो मोडलका विमानहरू किनेका छन् ।(बीबीसीबाट)