पेरुका प्रधानमन्त्री सेजार भिल्लानुभाको राजीनामा, किन भए अलोकप्रिय ?
लिमा । पेरुका प्रधानमन्त्री सेजार भिल्लानुभाले राजीनामा दिएका छन् । पेरुको राष्ट्रपतिको कार्यालयद्वारा जारी वक्तव्यमा प्रधानमन्त्री सेजारले राष्ट्रपति समक्ष राजीनामा दिएको जनाइएको छ । प्रधानमन्त्री सेजार यसअघि सन् २०१३ देखि २०१४ सम्म दुई वर्ष र सन् २०१८ मा दोस्रो पटक प्रधानमन्त्री भएका थिए । मुलुकमा बढेको भ्रष्टाचार रोक्न र सुशासन कायम गर्न नसकेको भनी चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री सेजारले राजीनामा दिएका हुन् । पछिल्ला दिनमा प्रधानमन्त्री सेजारको लोकप्रियता ओरालो लागेको छ । रासस/सिन्ह्वा
फ्रान्सको व्यापार घाटा बढ्दो, विमानजन्य सामाग्रीको निर्यातमा कमी
पेरिस, फ्रान्स । फ्रान्सको व्यापार घाटा सन् २०१८ को डिसेम्बरको तुलनामा सन् २०१९ को जनवरी महिनामा चार अर्ब दुई करोड यूरो (चार अर्ब ७१ करोड अमेरिकी डलर( ले बढेको यहाँको राजस्व विभागले बताएको छ । जनवरी महिनामा देखिएको थप व्यापार घाटासँगै फ्रान्सको व्यापार घाटा १६.७ प्रतिशत पुगेको छ । यो समयमा विदेशमा गरिने निर्यातमा करिब एक प्रतिशतले कमी आउँदा ४२ अर्ब पाँच करोड यूरो बराबरको घाटा भएको छ । निर्यातमा आएको कमीका लागि प्रशोधित पेट्रोलियम पदार्थ, गाडीजन्य सामग्रीको उत्पादन साथै गरगहना निर्यातमा आएको कमी जिम्मेवार रहेको केन्द्रीय भन्सार सेवा विभागले जनाएको छ । फ्रान्सको विमानजन्य सामाग्रीको निर्यातमा पनि यस बर्ष कमी आएको बताइएको छ । भन्सारको तथ्याङ्क अनुसार फ्रान्सले गत बर्षको डिसेम्बरमा ४३ विमानको विक्रीबाट तीन अर्ब ३० करोड यूरो बराबर आम्दानी गरेकोमा जनवरीमा जम्मा २२ वटा विमानको विक्री भएको र यसबाट दुई अर्ब १० करोड यूरो आम्दानी गरेको देखिएको छ ।
चीनको आयात/निर्यात दुबै घट्यो, आर्थिक वृद्धिमा आएको न्यूनताले थप्यो चिन्ता
बेइजिङ । चीनको आयात निर्यात गत फेब्रुअरी महिनामा अपेक्षा गरेभन्दा बढी न्यून भएको छ । संयुक्तराज्य अमेरिकासँग व्यापार युद्ध गरिरहेको चीनमाथि आर्थिक वृद्धिमा आएको न्यूनताले थप चिन्तित बनाएको छ । चीनको भन्सार प्रशासनका अनुसार, संयुक्तराज्य अमेरिकासँगको व्यापार नाफा फेब्रुअरीमा १४ अर्ब ७० करोड डलर पुगेको छ । गत जनवरीमा यस्तो नाफा २७ अर्ब ३० करोड डलर थियो । यस वर्ष चीनको कूल बैदेशिक ढुवानीमा २०.७ प्रतिशतले कमी आएको छ भने आयात पनि ५.२ प्रशितले घटेको छ । “पछिल्ला तथ्याङ्कले चीनको व्यापार मन्दी देखा पर्न थालेको प्रस्टै सङ्केत गरेको छ,” एएनजेड बैंकका रेमन्ड युङले बताए । “यो मन्दीबाट तत्काल माथि उठ्न चीनलाई निकै कठिन हुनेछ ।” हालैका आर्थिक विवरणहरुले सन् २०१८ का अन्तिम तीन महिनामा चीनको आर्थिक वृद्धि ६.४ प्रतिशतको हाराहारीमा रहेको थियो । जनवरीमा मुलुकको औद्योगिक क्षेत्र निराशाजनक अवस्थामा थियो भने फेब्रुअरीमा कारखानाको उत्पादनमा तीन वर्षयताकै सबैभन्दा कमजोर स्थिति देखिएको थियो । चीनका प्रधानमन्त्रीले मङ्गलबार बेइजिङमा जारी वार्षिक कङ्ग्रेस बैठकमा यस वर्षका लागि आर्थिक वृद्धिदर ६ देखि ६।५ प्रतिशत रहने अनुमान प्रस्तुत गर्नुभएको थियो । सन् २०१८ मा आर्थिक वृद्धि ६.६ प्रतिशत रहने प्रक्षेपण गरिएको थियो । प्रधानमन्त्रीको प्रस्तावमा आर्थिक मन्दी विरुद्ध लड्न कर कटौती गर्ने, शुल्क घटाउने तथा खुकुलो मौद्रिक नीति अवलम्बन गर्ने योजना समेटिएको छ । युरोपेली केन्द्रीय बैंकले समेत सन् २०१९ का लागि युरोपेली क्षेत्रको आर्थिक वृद्धिको लक्ष्यलाई घटाएको छ । विश्वभर उत्पन्न राजनीतिक जोखिम तथा व्यापार विवादले आफ्नो प्रक्षेपणमा कमी ल्याउनु परेको बैंकको भनाई छ । अमेरिकासँगको व्यापार विवादका कारण बजारमा अन्यौल उत्पन्न भएपछि गत महिना अमेरिकासँगको व्यापारमा २९ प्रतिशत घटेको हो । वासिङटन र बेइजिङले गत वर्ष एकअर्का मुलुक विरुद्ध ३६० अर्ब अमेरिकी डलरभन्दा बढीका एकअर्काका सामानमा करवृद्धि गर्ने घोषणा गरेका थिए । गत वर्ष अमेरिकाको चीनसँगको व्यापार घाटा ४१९ अर्ब डलर पुगेको थियो । रासस/एएफपी