अमेरिकासँगको व्यापार वार्तामा धेरै काम गर्न बाँकी छ, चीनको निकाल्यो विज्ञप्ति
बेइजिङ । संयुक्तराज्य अमेरिका र चीनबीचको व्यापार वार्ता निकै जटिल र कठिन मोडमा पुगेको चीनका एक उच्च अधिकारीले जनाएका छन् । चीनको वाणिज्य मन्त्रालयले दुई देशबीचको व्यापारका विषयमा अझै धेरै काम गर्न बाँकी रहेको स्पष्ट गरेको छ । मन्त्रालयले मङ्गलबार विज्ञप्ति जारी गरी व्यापार वार्तामा केही विवादित विषयमा भने सहमति भइसकेको बताएको छ । दुई देशबीच जारी व्यापार युद्धलाई अन्त्य गर्नेगरी भएको वार्ता सकारात्मक रुपमा अघि बढेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वास व्यक्त गरेको भोलिपल्ट चीनको यस्तो भनाई आएको हो । राष्ट्रपति ट्रम्पले नयाँ व्यापार सम्झौतामा चिनीया राष्ट्रपतिसँग चाँडै हस्ताक्षर गर्न लागेको पनि बताए । चिनियाँ व्यापार मध्यस्थकर्ता एवं उपप्रधानमन्त्री लिउ हे वासिङ्टनमा व्यापार वार्ता गरी गत साता बेइजिङ फर्किनु भएको छ । वाणिज्य मन्त्री झोङ शानले उपप्रधानमन्त्रीको भनाई उद्धृत गर्दै भने, “वासिङ्टनको वार्ता प्रक्रिया अत्यन्त कठिन र थकानयुक्त रहेको छ ।” मन्त्री झोङले छलफलका विषयहरु निकै महत्वका रहेकामा जोड दिँदै चीनको वार्ता टोलीले दिन, रात काम गर्नु परेको जानकारी दिए । “दुई दिनका लागि पूर्व निर्धारित छलफल अरु दुई दिन थपियो । यो द्विपक्षीय छलफल निकै प्रभावकारी थियो । करिब ९० दिनदेखि चलिरहेको यो व्यापार छलफलबाट महत्वपूर्ण नतिजा निस्कने अपेक्षा गरिएको छ ।” “अहिले पनि दुबै मुलुकबीच वार्ता जारी छ किनभने अझै पनि धेरै काम गर्न बाँकी छ,” मन्त्री झोङले बताए । उनले कुनै सम्झौतामा पुग्नका लागि दुबै पक्षले निकै होसियारीपूर्वक मिलेर कार्य गर्नुपर्ने खाँचो छ भने । चीनको बैंकिङ नियामक आयोगका प्रमुखले छ वटा क्षेत्रमा महत्वपूर्ण सहमति भएको बताएका छन् । आयोगको भनाईलाई उद्धृत गर्दै स्थानीय वेभसाइट “दी पेपर” प्रविधि हस्तान्तरण, बौद्धिक सम्पत्ति संरक्षण, गैरकर अबरोध, कृषि, सेवा र परिवत्र्य दरमा दुई देशबीच सहमति भइसकेको जनाएको छ । “यो प्रक्रिया निकै महत्वको छ । मेरा विचारमा यसमा थप व्याख्या गरिनेछ, र यसमा मलाई कुनै शंका छैन,” गुओ शुकिङले बताए । रासस/एएफपी
म नोबेल पुरस्कारका लागि योग्य छैनः पाकिस्तानी प्रधानमन्त्री खान
इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफु नोबेल शान्ति पुरस्कारका लागि योग्य नभएको सोमबार बताएका छन् । स्थानीय जनताको चाहना अनुसार काश्मिर समस्या समाधान गर्नेलाई व्यक्ति सो पुरस्कारका लागि योग्य हुने उनले स्पष्ट पारे । उनले सामाजिक सञ्जालमा लेख्नु भएको छ, “म नोबेल शान्ति पुरस्कार पाउन योग्य छैन । त्यसका लागि योग्य त्यो हुनेछ जसले काश्मिरका जनताको इच्छा अनुसार काश्मिर विवादको अन्त्य गराउनेछ ।” भारत र पाकिस्तानबीचमा तनाव बढिरहेका बेला पाकिस्तानको नियन्त्रणमा रहेको भारतीय विमान चालकलाई रिहा गरिदिएपछि इमरानलाई नोबेल शान्ति पुरस्कार प्रदान गर्न माग गर्दै अभियान नै चलाइएको छ । इमरानलाई नोबेल शान्ति पुरस्कार दिइनुपर्ने मागको पक्षमा झण्डै तीन लाखभन्दा बढी मानिसले हस्ताक्षर गरिसकेका छन् । द्वन्द्व थप बढेर हिंसा फैलिने अवस्था सृजना हुन नदिन इमरानले अनपेक्षित र प्रशंसनीय भूमिका खेलेको भन्दै आफ्नै देशका जनताले उहाँलाई नोबेल शान्ति पुरस्कार प्रदान गर्नु पर्ने माग सहितको अभियान चलाएका हुन् । देशभरी चलाइएको हस्ताक्षर अभियान र दवाव अनुसार पाकिस्तानका सूचना मन्त्री फावाद चौधरीले प्रधानमन्त्री खानलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्न संसदमा प्रस्ताव पनि दर्ता गराएका छन् । पाकिस्तानले नियन्त्रणमा लिएको भारतीय वायुसेनाका चालक अभिनन्दन वर्तमानलाई उनकै देशमा फिर्ता पठाएपछि विश्वव्यापीरुपमा प्रधानमन्त्री इमरानको प्रशंसा भएको छ । भारत प्रशासित काश्मिरको पुलवामामा फेब्रुवरी १४ मा भएको आतंकवादी हमलामा ४० जना भारतीय सुरक्षाकर्मी मारिएपछि दुई देशबीच तनाव बढेको हो । हमलाको जिम्मा पाकिस्तानस्थित चरमपन्थी सङ्गठन जैस–ए–मोहम्मदको हात रहेको बताउँदै आएको छ भने भारतले त्यसमा पाकिस्तानी सरकारकै संलग्नता रहेको दावी गरेको छ । त्यही दावी अनुसार भारतले पाकिस्तानको बालाकोटमा हवाई हमला गरेपछि पाकिस्तानले जवाफी कारबाही गर्दा भारतको एउटा लडाकु विमान खसालिदिएको थियो । त्यही विमानमा रहेका एक जना चालकलाई पाकिस्तानले नियन्त्रणमा लिएको थियो । तर ती विमान चालकलाई विना सर्त प्रधानमन्त्री खानले भारत तर्फ नै फिर्ता पठाएपछि खानलाई नोबेल शान्ति पुरस्कार दिनु पर्ने विषय उठेको हो । रासस/एएनआई
ट्रम्पले भने-आर्थिक वृद्धि नहुनुमा फेडको मौद्रिक नीति दोषी, अध्यक्ष पावेलसँग किन रिसाए ?
वासिङटन, संयुक्त राज्य अमेरिका । फेडरल रिजर्भको गलत मौद्रिक नीतिका कारण अमेरिकी आर्थिक वृद्धिदरमा कमी देखिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । उनले भने, “मौद्रिक नीतिमा अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदरमा गरेको वृद्धिका कारण डलरको अवस्था बलियो भएको देखिएको, तर आर्थिक वृद्धिदर कम देखिएको दावी ट्रम्पको छ । ‘कन्जरभेटिभ पोलिटिकल एक्सन कन्फरेन्स’ मा फेड रिजर्भका अध्यक्ष जेरोम पावेललाई सङ्केत गर्दै ट्रम्पले भने, “हामीकहाँ एक जना महासय हुनुहुन्छ, जसले ब्याजदर बढाउन मन पराउनुहुन्छ ।” “फेडलाई मात्रात्मक रूपमा बलियो बनाउन मन पराउने सज्जनवृन्द हामीसँग हुनुहुन्छ । उहाँले फेडमा रहेर डलरलाई अत्यधिक बलियो बनाउन चाहनुहुन्छ, सम्मेलनमा ट्रम्पले भने । “अमेरिकी अर्थतन्त्रमा राम्रो सुधार भएको छ । तर फेडको मौद्रिक नीतिका कारण थप राम्रो हुन सकेको छैन,”उनले भने । अमेरिकी राष्ट्रपति ट्रम्पले भने, “तपाईँ कल्पना गर्नसक्नुहुन्छ कि यदि हामीले ब्याजदर जहाँ थिए त्यहीँ पु¥यायौँ भने यहाँ कुनै मुद्रास्फीति हुनुपर्ने कारण रहँदैन । के मात्रात्मक कडापनलाई कम गर्न सक्दैनौँ ।” “डलरलाई मजबुत बनाउन पर्छ । तर हाम्रो मुलुकलाई महान् बनाउने डलरको चाहना अमेरिकी जनताको हो । नकि डलर त्यति बलियो होस जसले हाम्रा योजनालाई प्रभावित गरोस् र यसको लाभ अन्य मुलुकले लिन नसकोस्,” उनले भने । अमेरिकी राष्ट्रपतिले फेडमाथि पटक पटक ब्याजदर नबढाउन दबाब दिँदै आएका छन् । यसका लागि उनले फेड अध्यक्षलाई हटाउने वैधानिक बाटोसमेत खोजेको केही महिना पहिले सञ्चारमाध्यमहरूमा व्यापक चर्चा चलेको थियो । तर फेड प्रमुख पावेलले केन्द्रीय बैंकलाई राजनीतिक दवावबाट टाढा राख्ने पटक पटक प्रतिवद्धता जाहेर गर्दै आउनुभएको छ । पावेलले बुधबार अमेरिकी सिनेटको वित्तीय सेवा समितिमा फेडले छोटो समयको राजनीतिक चासोलाई नभै दीर्घ सोचबाट अघि बढ्ने जानकारी गराएका थिए । फेडको नीतिगत निर्णय ‘तथ्याङ्कमा आधारित’ हुने र आर्थिक अवस्था र परिणामबाट विकशित नयाँ सूचनालाई आधार बनाइने पावेलको तर्क थियो । सन् २०१८ मा फेडले चार पटक ब्याजदरमा हेरफेर गरेको वा वृद्धि गरेको थियो । फेडको लक्ष्य अहिलेको २.२५ प्रतिशत ब्याजदरलाई २.५० मा पुर्याउने रहेको बताउने गरिएको छ । जनवरीमा दुई प्रतिशतबाट ब्याजदरलाई बढाई २.२५ प्रतिशत पुर्याइएको थियो । रासस/सिन्ह्वा