हनोई वार्ता विना सम्झौता टुङ्गियो, उत्तर कोरियाको प्रस्ताव अस्वीकार
हनोई । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ अनबीच भियतनामको हनोईमा जारी शिखर वार्ता कुनै लिखित सम्झौता बेगर सम्पन्न भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले वार्तापछि आयोजित पत्रकार सम्मेलनमा अर्को शिखर वार्ताका लागि उत्तर कोरियाले राखेको प्रस्तावलाई अस्वीकार गरेको बताए । निकै महत्वका साथ हेरिएको हनोई वार्तामा कुनै ठोस प्रगति हुन सकेन भने आणविक निःशस्त्रीकरण सम्बन्धी सम्झौता पनि भएन । उत्तर कोरियामाथि लागेका प्रतिबन्धहरु फुकुवा गर्न नेता किमले राखेको प्रस्तावलाई आफूले अस्वीकार गरेको पनि राष्ट्रपति ट्रम्पले बताए ।तेस्रो शिखर वार्ताको सम्भावनाका बारेमा पत्रकारले सोधेको प्रश्नमा राष्ट्रपति ट्रम्पले भने, “अहिल्यै त्यो सम्भव छैन, पछि के हुन्छ भन्न सकिन्न ।” रासस/एएफपी
भारत पाकिस्तानबीच तनाव : भारतीय शेयर बजारमा गिरावट
मुम्बई । भारत र पाकिस्तानबीच देखिएको तनावका कारण बुधबार बिहान भारतीय शेयर बजारमा एक्कासी गिरावट आएको छ । लगानीकर्ताहरूले सीमाना क्षेत्रमा भएको तनाव लामो नरहने विश्वास गरेका छन् । बुधबार दिउसो पाकिस्तानी विमानले भारत प्रशासित काश्मिरको आकाशमा छिरेको भन्दै भारतीय लडाकू विमानले प्रतिरक्षा गरेपछि पाकिस्तानी विमान फर्केको भारतीय अधिकारीको दावी गरेका छन् । तनावका कारण बुधबार बिहान ११ बजे बम्बई स्टक एक्सचेन्ज एस एण्ड पी सेन्सेक्स कारोबारमा ३६ हजार ३६२ अङ्कको हाराहारीमा रहेकोमा मध्यान्न १२ः१५ सम्ममा व्यापक गिरावट देखिएको थियो । मध्यान्हसम्ममा ६१५ अङ्कको भारी गिरावट आई ३५ हजार ७४७ मा भरेको थियो । यद्यपि भारत र पाकिस्तानबीचको तनाव लामो समयसम्म नरहने बिश्लेषकहरूको भनाइसँगै बुधबार अपरान्ह्सम्ममा कारोबारमा सुधार आई ३५ हजार ९०५ अङ्कका साथ कारोबार बन्द भएको छ । त्यसैगरी राष्ट्रिय स्टक एक्सचेन्ज निफ्टी ५० मा २९ बुधबार २९ अङ्कले गिरावट आई कारोबार १०,८०७ अङ्कसाथ बन्द भएको छ । बुधबार शेयरमा खास गिरावट आएका प्रमुख कम्पनी तथा फर्महरूमा विप्रो, इन्फ्रेटर, भेन्दाता, भारती पेट्रोलियम कर्पोरेसन लिमिटेड र टाटा मोटर्स देखिएका छन् । व्यवसायीहरूले भू–राजनीतिक तनाव थप केही दिन जारी रहेमा स्टक बजारमा पनि अनिश्चितता देखिनसक्ने बताएका छन् । यदि भारत पाकिस्तानको नकारात्मक मनोभाव कायम रहेमा बैंक, वित्तीय संस्थान, आधारभूत संरचना, धातु र गाडी कम्पनीहरूको शेयरमा प्रभाव पर्ने अनुमान गरिएको छ । यसैबीच, एशियाली स्टक बजारमा भने बढ्दो भू–राजनीतिक विवादको खतराको प्रभाव मिश्रित देखिएको छ । प्रायः एशियाली बजारले भारत–पाकिस्तान विवादलाई गौण देखेका र अमेरिका–चीन व्यापारमा विवादको निश्कर्षलाई नै हेरेका बजार विश्लेशकहरूको भनाई छ । बजार विज्ञहरूले बुधबार भियतनामको राजधानी हनोइमा भइरहेको अमेरिका–उत्तर कोरिया शिखर सम्मेलन र यसले दिने परिणामलाई पनि एशियाली बजार सूचकका रूपमा हेरेका छन् । यदि अमेरिकाले उत्तर कोरियालाई आणविक निशस्त्रीकरण गराउन सफल बनेमा एशियाली बजारमा यसको उल्लेख्य लाभ हुने बताइएको छ । रासस/एएनआई
भारतका दुई युद्धक विमान खसालेको पाकिस्तानको दाबी
इस्लामाबाद । पाकिस्तानाको वायुसेनाले भारतका दुई ओटा लडाकू विमान खसालेको पाकिस्तानी सेनाले दाबी गरेको छ । तीमध्ये एउटा विमान पाकिस्तानको हवाइ क्षेत्रमा खसालिएको र विमान चालकलाई पक्राउ गरिएको पाकिस्तानी सेनाले जनाएको छ । साथै विमानलाई पनि ध्वस्त गरेको पाकिस्तानी सैनिकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले एक भारतीय युद्धक विमान पाकिस्तानभित्र नै खसेको बताए । उनले अर्को भारतीय युद्धक विमान भारत नियन्त्रित काश्मिरमा खसेको बताए । यद्यपी भारतीय सञ्चार माध्यमले भने पाकिस्तानले भारतीय दुई युद्धक विमान खसालेको समाचार झूठो भएको दाबी गरेका छन् । पाकिस्तानले पुरानो तस्वीर टेलिभिजनमा देखाएर पाकिस्तानी जनतालाई शान्त गराएको र भारतलाई तर्र्साएको भारतको भनाइ छ । रासस/सिन्ह्वा