प्रधानमन्त्री मोदीले भारतीय अर्थव्यवस्थालाई सम्हाल्न नसक्दा बेरोजगारी बढ्दै : पूर्वप्रधानमन्त्री सिंह
नयाँ दिल्ली । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय अर्थव्यवस्थालाई क्षमता अनुरूप नचलाउँदा देशमा रोजगार विहीनता बढेर गएको बताएका छन् । ग्रामिण ऋणग्रस्तता र शहरी अव्यवस्थाका कारण रोजगारका लागि आकांक्षी असन्तोस पैदा भइरहेको बताएका छन् । नयाँ दिल्ली इन्स्टिच्युट अफ म्यानेजमेन्टमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै भने, “कृषि क्षेत्रको बढ्दो सङ्कट, रोजगारका लागि अवसरको कमी, वातावरणमा देखिएको गिरावट तथा विभाजनकारी गतिविधिका कारण राष्ट्रका समक्ष चुनौतीहरू बढेर गएका छन् । वरिष्ठ काङ्ग्रेस नेता सिंहले भने, “हाम्रो अर्थव्यवस्थामा व्याप्त ढाँचागत असन्तुलन हुँदा पटकपटक किसानहरूले रोटीका लागि आन्दोलन गर्नुपरेको र आर्थिक अवस्थाका कारण तथा किसानले गरेको दुःख र खर्चको उत्पादन नउठ्ने भएपछि किसानले आत्महत्या गर्ने गरेका दृष्टान्त देखिएको छ ।” सिंहले भने “समस्याको गम्भीरतासाथ विश्लेषण गर्ने र समाधानका लागि राजनीतिक इच्छाशक्ति प्रकट हुनु आजको आवश्यकता हो ।” अहिलेसम्म जुन रोजगारविहिनस्थिति थियो यो अझ बढी बिग्रेर गएको छ र थप रोजगार विहीनताको अवस्था सिर्जना हुने देखिएको छ । ग्रामिण क्षेत्रमा ऋणग्रस्तता र शहरी अव्यवस्थाका कारण सुन्दर भविष्यप्रतिको आशा राख्ने युवा जमातमा असन्तोष पैदा भएर गएको छ । औद्योगिक क्षेत्रमा अतिरिक्त रोजगारका अवसर सिर्जना गर्ने प्रयास असफल भइराखेको छ । औद्योगिक वृद्धिदर मुलुकको आवश्यकता अनुरूप बढ्न नसकिरहेको उनले बताए । यसका लागि सरकार र यसको नेतृत्वमा रहेका सीमित व्यक्तिको विवेक पुग्नु जरूरी हुने उनको भनाइ थियो । रासस/एएफपी
ह्याक गरियो राजनीतिक दल र संसदको कम्प्युटर, के भयो अष्ट्रेलियामा ?
सिड्नी । अष्ट्रेलियाले मुलुकका प्रमुख राजनीतिक दलहरु र संसदका सूचनाहरु ह्याक भएको जनाएको छ । निकै प्रतिस्पर्धात्मक हुने ठानिएको अष्ट्रेलियाको आमनिर्वाचनको सङ्घारमै गोप्य सूचना बाहिरिएको छ । प्रधानमन्त्री स्कट मोरिसनले अनुसन्धाताहरुले दुई हप्ताअघि संसदको कम्प्युटर ह्याक भएको विषयमा छानबिन गरिरहेको सांसदहरुलाई जानकारी दिए । उनले केही राजनीतिक दलको सम्पर्क प्रणाली पनि छिन्नभिन्न पारिएको बताए । “हाम्रा साइबर विज्ञहरुको विश्वासमा कुनै सरकारी पक्षले नै यस्तो दुष्ट गतिविधि गरेका हुन्,” प्रधानमन्त्री मोरिसनले बताए । उनले अरु के कस्ता सामग्री चोरी गरिएको भन्ने बारेमा अझै थाहा नभएको बताए । यसै महिनाको शुरुमा पनि अस्ट्रेलियाको संसदको कम्प्युटर प्रणालीमा अनधिकृत व्यक्तिको पहुँच रहेको समाचार बाहिरिएको थियो । अष्ट्रेलियाले सुरक्षा निकायहरुले यस्तो आक्रमण कसले गरेको हो भन्ने अनुसन्धान गरिरहेको बताएका छन् । उक्त घटनापछि प्रधानमन्त्री र मन्त्रीहरु स्वयंले आफ्ना पासवर्ड परिवर्तन गर्नुका साथै सुरक्षाका अन्य उपाय अवलम्बन गर्न बाध्य भएका थिए । साइबर सुरक्षा विज्ञ फर्गस हान्सोनले एक वा दुई मुलुकका विज्ञले मात्र यस्तो कार्य गर्न सक्ने बताए । उनले सम्भावित शंकास्पद मुलुकमा चीन पहिलो श्रेणीमा रहेको पनि दाबी गर्नुभयो । उहाँले रुससँग पनि यस्तो क्षमता रहेको बताए । रासस/एएफपी
भारतको हैदराबादमा भारु १० मा साडी, भिड नियन्त्रण गर्न हम्मेहम्मे
हैदराबाद । भारतको हैदराबादस्थित सिद्दीपेटको एक सपिङ मलले भारु १० मा साडी पाइने भएको छ । उक्त मलमा साडी बिक्री गर्न थालेपछि महिलाहरुको भीड बढेर भागदौडको अवस्था सिर्जना भएको छ । सीएमआर सपिङ मलमा महिला र किशोरीहरुको ठूलो समूह साडी खरिद गर्न भेला भएको थियो । प्रहरीले सस्तो मूल्यमा साडी बिक्री भइरहेको थाहा पाउनासाथ भीड बढेको र अन्ततः भागदौडको अवस्था सिर्जना भएको जनाएको छ । भागदौड मच्चिदा धेरै महिला घाइते भएका थिए । एक महिलाले आफूले पाँच तोला सुनको गहना, ६०० भारतीय रुपैयाँ र एउटा डेबिट कार्ड हराएको भन्दै प्रहरी समक्ष उजूरी गरेकी छिन् । प्रहरीले उक्त घटनाको छानबिन शुरु गरिसकेको जनाएको छ । रासस/ एएनआई