श्रीलङ्काको आर्थिक वृद्धि १७ बर्षकै सबैभन्दा कमजोर, २०१९ मा पहिले कै अवस्थामा पुग्ला त ?

कोलम्बो, श्रीलङ्का । श्रीलङ्काको गत बर्षको राजनीतिक सङ्कटका कारण यहाँको अर्थतन्त्रमा विगत १७ बर्ष यताकै कमजोर अवस्थामा पुगेको यहाँको केन्द्रीय बैंकले शुक्रबार जनाएको छ । सन् २०१८ का लागि पाँच प्रतिशतको वृद्धि हुने प्रक्षेपण गरिएको भएपनि राष्ट्रपति तथा प्रधानमन्त्रीबीचको राजनीतिक छिनाझपटीका कारण मुलुकको अर्थतन्त्रमा व्यापक असर परेको र आर्थिक वृद्धिदर ३.० प्रतिशतमा झरेको श्रीलङ्काका केन्द्रीय बैंकका गभर्नर इन्द्रजीत कूमारास्वामीले बताउनुभयो । राष्ट्रपति मैत्रीपाला सिरीसेनाले प्रधानमन्त्री रनिल विक्रमेसिंघेलाई गत अक्टोबरमा बर्खास्त गरी संसदको विघटन गर्ने निर्णयका कारण श्रीलङ्कामा गत बर्ष केही समय अन्यौल छाएको थियो । यद्यपि सिरिसेनाको कदमलाई बल दिन संसदमा बहुमत नहुँदा विक्रमेसिंघे पुनः प्रधानमन्त्री बनेका थिए । संसदले राष्ट्रपतिको कदमलाई अनुमोदन नगरेपछि श्रीलङ्काको अदालतले डिसेम्बरमा सिरिसेनाको कदमलाई असंबैधानिक तथा गैरकानूनी भन्दै विक्रमासिंघेलाई फिर्ता गर्न आदेश गरेको थियो । वैदेशिक पूँजीको अवस्था गत बर्षको तुलनामा राम्रो बन्दै गएको र राजनीतिक स्थायित्व पनि देखिएकाले सन् २०१९ मा आर्थिक वृद्धिदर पहिलेको अवस्थामा पुग्ने अनुमान रहेको बैंकका गभर्नर कूमारास्वामील बताए । उनले भने, “समग्रमा यो बर्ष हामी राम्रो स्थानमा छौँ ।” उनले थपे, यो बर्ष हुने राष्ट्रपतीय निर्वाचनमा जनतालाई प्रलोभनमा पार्न ल्याइने कार्यक्रमले आर्थिक वृद्धिदरलाई खस्काउन पनि सक्ने अवस्था आउन सक्छ । श्रीलङ्काले वैदेशिक ऋण लिन चाहेपनि यहाँको जटिल अवस्थाका कारण ऋण योजना विफल बनेको थियो । सरकारले सन् २०१६ देखि शुरू भएको तीन बर्षे एक अर्ब ५० करोड अमेरिकी डलरको कर्जा कार्यक्रमलाई व्युताउन वार्ता शुरू गरेपनि अन्तराष्ट्रिय मुद्रा कोषका स्थगित कार्यक्रमहरूलाई ल्याउन श्रीलङ्का प्रयासरत छ । सन् २००१ मा तत्कालिन तमिल विद्रोहीले आधादर्जन श्रीलङ्काको अन्तराष्ट्रिय विमानस्थलमा आक्रमण गरी करिब आधा दर्ज विमानलाई क्षति पुर्याएपछि पर्यटन क्षेत्रमा परेको प्रभावका कारण श्रीलङ्काको आर्थिक वृद्धिदर १.२५ प्रतिशतमा खुम्चिएको थियो । तर तामिल आन्दोलनको अन्त्यसँगै सन् २००९ पछि अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिन थालेको थियो जुन गत बर्षको राजनीतिक खिचातानीका कारण पुनः खुम्चिएको छ । रासस/एएफपी

विषाक्त मदिरा सेवन गर्दा भारतमा २५ चिया मजदुरको मृत्यु

गुवाहाटी, भारत । भारतमा विषाक्त मदिरा सेवन गरेकाले १५ महिला सहित २५ जनाको मृत्यु भएको छ । देशको उत्तरपूर्वी राज्य असाममा पर्ने ठाउँमा भएको घटनामा मदिरा सेवन गरेको केहीबेरमै निधन भएको प्रहरी अधिकारीहरुले जनाएका छन् । भारतको उत्तर प्रदेश र उत्तराखण्डमा गत दुई हप्ताभित्रमा विषाक्त मदिराका कारण झण्डै एक सय जनाको मृत्यु भएको छ । पछिल्लो घटनामा परी मृत्यु भएका मध्ये अधिकांश मजदुर रहेको जनाइएको छ । “मदीरा सेवन गरी विरामी परेका गाउँलेलाई बचाउने हाम्रो प्रयास सफल हुन सकेन,” विरामीको उपचारमा सम्लग्न जोर्हात मेडिकल कलेज अस्पतालका वरिष्ठ चिकित्सक गणेश बोहराले बताए । “उनीहरूको मदीरा सेवन गरेको केही घण्टाभित्रै मृत्यु भएको छ ।” बिहीबार राति स्थानीय मदीरा व्यापारीसँग घरेलु मदीरा खरिद गरी ल्याएका र राति नै खाएका तथा मदीरा सेवन गरेको केही समयमा नै उनीहरू विरामी परेका स्थानीयले आफूलाई बताएका गोलघाट जिल्लाका वरिष्ठ अधिकारी धिरज दासले एएफपीलाई बताए । रासस÷एएफपी

मुद्रा कोष र इक्वेडरबीच चार अर्ब डलरको सम्झौता

वासिङ्टन । अन्तर्राष्ट्रिय मुद्रा कोषले इक्वेडरको आर्थिक नीतिमा मद्दत गर्नेगरी आगामी तीन वर्षका लागि चार अर्ब २० करोड डलर उपलब्ध गराउने भएको छ । उक्त लगानी सम्बन्धी सम्झौतालाई कोषको बोर्डले आगामी साता अनुमोदन गर्नेछ । कोषले अन्तर्राष्ट्रिय समुदायले इक्वेडरलाई तीन वर्षभित्र उपलब्ध गराउने कूल १० अर्ब डलरकै एक हिस्सा रहेको जनाएको छ । बाँकी करिब ६ अर्ब डलर सहायता दक्षिण अमेरिकी विकास बैंक, इन्टर–अमेरिकन डेभलपमेन्ट बैंक, ल्याटिन अमेरिका रिजर्भ फन्ड र विश्व बैंकले प्रदान गर्नेछन् । “इक्वेडर सरकारले अझ गतिशील, दिगो र समावेशी अर्थव्यवस्था निर्माण गर्ने लक्ष्य राखेको छ,” इक्वेडरका लागि मुद्रा कोषको मिसन प्रमुख अन्ना इभानोभाले भने । इक्वेडरले अहिले करिब १० अर्ब डलरको वित्तीय घाटाको सामना गरिरहेको छ । उक्त समस्याका कारण सरकारी कर्मचारीको तलब भुक्तानी र आपूर्तिकर्ताको भुक्तानीमा ढिलाई भइरहेको छ । यस सम्झौताले दक्षिण अमेरिकी राष्ट्र इक्वेडरसँग कोषको तिक्ततापूर्ण सम्बन्धको अन्त्य भएको छ । सन् २००७ मा इक्वेडरका तत्कालीन राष्ट्रपति राफेल कोर्रेयाले इक्वेडरस्थित मुद्रा कोषको कार्यालय बन्द गरेका थिए । रासस/एपी