बेलायत लगानीका लागि शीर्ष पाँच स्थानमा पर्न असफल, लगानीकर्ताको विश्वास गुमाउँदै

काठमाडौं, ३ कात्तिक। युरोपेली संघ (ईयू) छोड्ने पक्षमा मतदान गरेपछि बेलायतले उत्कृष्ट लगानी गन्तव्यको शीर्ष पाँचको स्थान गुमाएको छ । व्यावसायिक कार्यकारीहरूको अर्धवार्षिक प्रतिवेदनमा परामर्शदातृ फर्म इवाईले ब्रेक्जिट मतदानसँग सम्बन्धित अन्योलले सम्भावित लगानीकर्तालाई निरुत्साहित गरेको उल्लेख छ । यो पनि विशेष गरी युरोपका लगानीकर्ता बेलायतमा कारोबार गर्नबाट निरुत्साहित भएको जनाइएको छ । ईवाईका अनुसार बेलायत आगामी वर्ष लगानी गन्तव्यको मामिलामा सातौं स्थानमा झर्नेछ । बेलायतभन्दा अगाडि अमेरिका, चीन, जर्मनी, क्यानडा, फ्रान्स र जापान रहनेछन् । अप्रिलमा गरिएको अघिल्लो सर्भेमा बेलायत दोस्रो स्थानमा थियो । ईवाईमा कारोबार पक्षका विश्वव्यापी प्रमुख स्टिभ क्रुस्कोले जुन २३ पछिको मतदानले नकारात्मक अवस्था सिर्जना गरेको बताएका छन् । अर्को सर्भेले भने आगामी ६ महिनाको अवधिमा बेलायतको स्थानमा सुधार आउने आशा देखाएको उनको भनाइ छ । “दीर्घकालीन अवधिमा बेलायत शीर्ष एम एन्ड ए गन्तव्यको रोजाइका रूपमा आउन सक्ने अपेक्षा हामीले गरेका छौं,” उनले भने, “तर, अल्पकालीन अनिश्चितताले लगानीकर्तालाई लगानी रोक्ने विषयमा सोच्नका लागि बाध्य बनाएको छ ।” बेलायतले रियलइस्टेटबाहेक ८८ अर्ब डलरको सम्झौता गरेको ईवाईले जनाएको छ । यो सन् २०१३ र २०१४ कै हाराहारी हो । तर, सन् २०१५ को समान अवधिको २ सय ५५ डलरको दाँजोमा कम हो । विदेशी फर्महरूका लागि बेलायती फर्म लगातार आकर्षक बन्दै गएको ईवाईले जनाएको छ । यो पनि विशेष गरी उच्च बौद्धिक सम्पत्तिका कम्पनी, प्रविधि र स्वास्थ्य हेरचाहको क्षेत्रमा रहँदै आएको छ । जनमत–संग्रह ब्रेक्जिटको पक्षमा गएपछि जापानको सफ्ट बैंक ग्रुपले जुलाईमा २४ अर्ब पाउन्डमा लिएको बेलायती प्रविधि फर्म एआरएम होल्डिङलाई सबैभन्दा ठूलो कारोबार मानिएको छ । यो कारोबार ब्रेक्जिटको मतदानको एक महिनापछि भएको हो । अर्को ठूलो कारोबारमा अमेरिकी कम्पनी लिबर्टी मिडियाले ८ अर्ब डलरमा लिएको फर्मुला वनलाई लिइएको छ । ब्रेक्जिटको मतदानपछि धेरै सवाल उठाइएका छन् । यो विशेष गरी ब्रेक्जिटपछि ईयूका २७ सदस्यीय मुलुकसँग बेलायतको व्यापार सम्बन्धका बारेमा रहेको छ । यसमा व्यापारमा कस्तो किसिमको अवरोध आउने जस्तै भन्सार र नयाँ नियमन मापदण्डका विषयमा हुनेछन् । बेलायतस्थित व्यवसायमा यस किसिमको भन्सार र नियमन लागू हुन सक्ने आशंका व्यक्त गरिएको छ । ब्रेक्जिटको मतदानपछि अमेरिकी डलरसँगको विनियममा पाउन्ड झन्डै २० प्रतिशतले अवमूल्यन भइसकेको छ । हाल अमेरिकी डलर र पाउन्डको विनिमय दर १.२० हाराहारी छ ।

नेपालको पूर्वाधार निर्माणमा लगानी गर्न चिनीया लगानीकर्ता इच्छुक

काठमाडौं, ३ कात्तिक । उद्योग मन्त्री नवीन्द्रराज जोशी र चिन सरकारका उद्योग वाणिज्यको प्रशासन हेर्ने मन्त्री झाङ माओबीच बुधबार उद्योग मन्त्रालयमा द्विपक्षीय भेटवार्ता भएको छ । भेटका अवसरमा उनीहरुबीच नेपाल चीन सम्बन्ध र नेपालको समग्र आर्थिक विकासमा चिनीया सहयोगका विषयमा छलफल भएको उद्योगमन्त्री जोशीले जानकारी दिए । भेटका असरमा उद्योगमन्त्री जोशीले संविधान निर्माणपछिको अहिलेको अवस्थामा नेपालका सबै राजनीतिक दलहरुको ध्यान आर्थिक समृद्धितर्फ गएको भन्दै नेपालमा लगानीको वातारण तयार भएको बताए । लगानीलाई संरक्षण गर्न उद्योग मन्त्रालयले अहिले कानुनीरुपमा नै प्रत्याभूति दिने तरिकारले अगाडि बढीरहेको जानकारी दिँदै उद्योगमन्त्री जोशीले यस क्रममा आफ्नो मन्त्रालयले विशेष आर्थिक क्षेत्र(सेज)सम्बन्धी ऐन, औद्योगिक व्यावसाय प्रवद्र्धनसम्बन्धी ऐन संसद्बाट पारित गरि कार्यान्वयमा ल्याउने चरणमा रहेको बताए । उनले कम्पनी ऐन, वैदेशीक लगानीसम्बन्धी ऐन र बौद्धिकसम्बन्धी ऐन छिट्टै संसद्बाट पारित गराउने प्रकृयामा उद्योग मन्त्रालय लागिरहेको उल्लेख गरेका छन् । उद्योगमन्त्री जोशीले नेपालले निर्माण गर्न लागेको विशेष आर्थिक क्षेत्रको पूर्वाधार निर्माणमा चिनीया सहयोगका लागि आग्रह गरेका छन् । भेटमा चिनीया मन्त्री झाङले नेपालमा लगानी गर्न चिनीया लगानीकर्ता इच्छुक रहेको बताइका छन् । त्यसैगरी उनले नेपालको साना तथा घरेलु उद्योगका क्षेत्रमा चिनीया प्रविधिलाई कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा सहयोग गर्न तयार रहेको बताए । चीनले गरेको आर्थिक उन्नतीबाट नेपालले पनि प्रशस्तै फाइदा लिन सक्ने भन्दै मन्त्री झाङले औद्योगिक क्षेत्रमा चीनले हासिल गरेको विज्ञतालाई नेपाले उपयोग गर्न सक्ने बताएका छन् । उनीहरुबीच दुई देशका युवा तथा महिलाको सिर्जशीलता एवम् नविनतम् उद्यमशीलताको विकासका लागि द्विपक्षीय सहयोग आदान प्रदान गर्ने विषयमा छलफल भएको थियो ।

चिनियाँ अर्थतन्त्र संसारकै ठूलो, चिनिया अर्थतन्त्रको आधार ११ हजार अर्ब डलर

काठमाडौं ३, कात्तिक । अमेरिकालाई पछाडि पार्दै चीन संसारकै सबैभन्दा ठूलो अर्थतन्त्र बन्न सफल भएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषले सार्वजनिक गरेको ताजा तथ्यांकअनुसार १ सय ४४ वर्षपछि अमेरिका दोस्रो स्थानमा पुगेको हो। चीनको अर्थतन्त्र ११ हजार अर्ब अमेरिका डलरबराबर पुगेको समाचार बुधबारको नागरिक दैनिकमा समाचार छापिएको छ । प्रतिस्पर्धी अमेरिकाको अर्थतन्त्र भने १० हजार ८ सय अर्ब डलरमा अडेको छ । कोषले चीनको अर्थतन्त्र सन् २०१९ सम्ममा बढेर १६ हजार ७ सय अर्ब डलर पुग्ने अनुमानसमेत गरेको छ । कोषका अनुसार सन् १८७२ मा अमेरिकाले बेलायतलाई उछिनेर संसारकै सबैभन्दा ठूलो अर्थतन्त्र बनेको थियो । त्यसयता निरन्तर अमेरिका पहिलो स्थानमा रहँदै आएको छ । पहिलो पटक अमेरिकी अर्थतन्त्र दोस्रो स्थानमा झरेको हो । पछिल्ला दशक चीनमा तीव्र गतिले वृद्धि भएको औद्योगिकीकरणले अर्थतन्त्र मजबुत हुँदै आएको छ । तीन वर्षपछि चिनियाँ अर्थतन्त्र अमेरिकाको दाँजोमा २० प्रतिशतले ठूलो हुने कोषको प्रक्षेपण छ । त्यसबेला चिनियाँ अर्थतन्त्र १६ हजार ७ सय अर्ब डलरबराबर पुग्ने छ भने अमेरिकी अर्थतन्त्र १३ हजार ८ सय डलरबराबर मात्र हुने कोषको तथ्यांकले उल्लेख गरेको छ । कोषले तयार पारेको तथ्यांक ‘सर्वसाधारणको क्रय शक्ति’ मा आधारित छ । यसको अर्थ अमेरिकामा भन्दा चीनमा उपभोग्य सामान सस्तो रहेको बुझिन्छ । तर, निर्वाह खर्चलाई आधार मान्ने हो भने चीनको अर्थतन्त्र अझै पनि अमेरिकाको भन्दा सानो रहेको कोषको भनाइ छ । यसबाट हेर्दा चिनियाँ अर्थतन्त्र ६ हजार ४ सय अर्ब डलरबराबर मात्र रहेको छ ।