नेपालको पूर्वाधार निर्माणमा लगानी गर्न चिनीया लगानीकर्ता इच्छुक

काठमाडौं, ३ कात्तिक । उद्योग मन्त्री नवीन्द्रराज जोशी र चिन सरकारका उद्योग वाणिज्यको प्रशासन हेर्ने मन्त्री झाङ माओबीच बुधबार उद्योग मन्त्रालयमा द्विपक्षीय भेटवार्ता भएको छ । भेटका अवसरमा उनीहरुबीच नेपाल चीन सम्बन्ध र नेपालको समग्र आर्थिक विकासमा चिनीया सहयोगका विषयमा छलफल भएको उद्योगमन्त्री जोशीले जानकारी दिए । भेटका असरमा उद्योगमन्त्री जोशीले संविधान निर्माणपछिको अहिलेको अवस्थामा नेपालका सबै राजनीतिक दलहरुको ध्यान आर्थिक समृद्धितर्फ गएको भन्दै नेपालमा लगानीको वातारण तयार भएको बताए । लगानीलाई संरक्षण गर्न उद्योग मन्त्रालयले अहिले कानुनीरुपमा नै प्रत्याभूति दिने तरिकारले अगाडि बढीरहेको जानकारी दिँदै उद्योगमन्त्री जोशीले यस क्रममा आफ्नो मन्त्रालयले विशेष आर्थिक क्षेत्र(सेज)सम्बन्धी ऐन, औद्योगिक व्यावसाय प्रवद्र्धनसम्बन्धी ऐन संसद्बाट पारित गरि कार्यान्वयमा ल्याउने चरणमा रहेको बताए । उनले कम्पनी ऐन, वैदेशीक लगानीसम्बन्धी ऐन र बौद्धिकसम्बन्धी ऐन छिट्टै संसद्बाट पारित गराउने प्रकृयामा उद्योग मन्त्रालय लागिरहेको उल्लेख गरेका छन् । उद्योगमन्त्री जोशीले नेपालले निर्माण गर्न लागेको विशेष आर्थिक क्षेत्रको पूर्वाधार निर्माणमा चिनीया सहयोगका लागि आग्रह गरेका छन् । भेटमा चिनीया मन्त्री झाङले नेपालमा लगानी गर्न चिनीया लगानीकर्ता इच्छुक रहेको बताइका छन् । त्यसैगरी उनले नेपालको साना तथा घरेलु उद्योगका क्षेत्रमा चिनीया प्रविधिलाई कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा सहयोग गर्न तयार रहेको बताए । चीनले गरेको आर्थिक उन्नतीबाट नेपालले पनि प्रशस्तै फाइदा लिन सक्ने भन्दै मन्त्री झाङले औद्योगिक क्षेत्रमा चीनले हासिल गरेको विज्ञतालाई नेपाले उपयोग गर्न सक्ने बताएका छन् । उनीहरुबीच दुई देशका युवा तथा महिलाको सिर्जशीलता एवम् नविनतम् उद्यमशीलताको विकासका लागि द्विपक्षीय सहयोग आदान प्रदान गर्ने विषयमा छलफल भएको थियो ।

चिनियाँ अर्थतन्त्र संसारकै ठूलो, चिनिया अर्थतन्त्रको आधार ११ हजार अर्ब डलर

काठमाडौं ३, कात्तिक । अमेरिकालाई पछाडि पार्दै चीन संसारकै सबैभन्दा ठूलो अर्थतन्त्र बन्न सफल भएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषले सार्वजनिक गरेको ताजा तथ्यांकअनुसार १ सय ४४ वर्षपछि अमेरिका दोस्रो स्थानमा पुगेको हो। चीनको अर्थतन्त्र ११ हजार अर्ब अमेरिका डलरबराबर पुगेको समाचार बुधबारको नागरिक दैनिकमा समाचार छापिएको छ । प्रतिस्पर्धी अमेरिकाको अर्थतन्त्र भने १० हजार ८ सय अर्ब डलरमा अडेको छ । कोषले चीनको अर्थतन्त्र सन् २०१९ सम्ममा बढेर १६ हजार ७ सय अर्ब डलर पुग्ने अनुमानसमेत गरेको छ । कोषका अनुसार सन् १८७२ मा अमेरिकाले बेलायतलाई उछिनेर संसारकै सबैभन्दा ठूलो अर्थतन्त्र बनेको थियो । त्यसयता निरन्तर अमेरिका पहिलो स्थानमा रहँदै आएको छ । पहिलो पटक अमेरिकी अर्थतन्त्र दोस्रो स्थानमा झरेको हो । पछिल्ला दशक चीनमा तीव्र गतिले वृद्धि भएको औद्योगिकीकरणले अर्थतन्त्र मजबुत हुँदै आएको छ । तीन वर्षपछि चिनियाँ अर्थतन्त्र अमेरिकाको दाँजोमा २० प्रतिशतले ठूलो हुने कोषको प्रक्षेपण छ । त्यसबेला चिनियाँ अर्थतन्त्र १६ हजार ७ सय अर्ब डलरबराबर पुग्ने छ भने अमेरिकी अर्थतन्त्र १३ हजार ८ सय डलरबराबर मात्र हुने कोषको तथ्यांकले उल्लेख गरेको छ । कोषले तयार पारेको तथ्यांक ‘सर्वसाधारणको क्रय शक्ति’ मा आधारित छ । यसको अर्थ अमेरिकामा भन्दा चीनमा उपभोग्य सामान सस्तो रहेको बुझिन्छ । तर, निर्वाह खर्चलाई आधार मान्ने हो भने चीनको अर्थतन्त्र अझै पनि अमेरिकाको भन्दा सानो रहेको कोषको भनाइ छ । यसबाट हेर्दा चिनियाँ अर्थतन्त्र ६ हजार ४ सय अर्ब डलरबराबर मात्र रहेको छ ।

अमेरिकी राष्ट्रपति पदकाे प्रतिष्पर्धामा हिलारी क्लिन्टन अगाडि

न्युयोर्क, २ कात्तिक । अमेरिकी राष्ट्रपति पदका लागि दुई सशक्त प्रत्याशी उम्मेदवार हिलारी रोधाम क्लिन्टन र डोनाल्ड ट्रम्पलाई लिएर गरिएको मत सर्वेक्षणमा सोमबार पनि हिलारी क्लिनटन नै अगाडि देखिएकी छिन् । आगामी नोभेम्बर ८ मा हुने गइरहको यस निर्वाचनको सर्वेक्षणको क्रममा हिलारीका नजिकका प्रतिद्वन्द्वीका रुपमा रहेका अर्का उम्मेदवार डोनाल्ड ट्रम्प पछाडि नै परेका छन् । किनीपियाक विश्वविद्यालयले गरेको एक यस सर्वेक्षणका अनुसार कोलोराडो, फ्लोरिडा, पेन्सिल्भिनियामा क्लिन्टन अगाडि देखिएकी छिन् भने ओहिओमा ट्रम्प अगाडी छन् । महिला विरुद्धका विवादित अभिव्यक्तिका कारण ट्रम्प अझ पछाडि परेका सर्वेक्षणकर्तो जनाएका छन् । सिएनएन र फक्स न्युजले गरेको सर्वेक्षणमा उनका पछिल्ला अभिव्यक्ति, विगतका गलत गतिविधि सार्वजनिक हुनुले नै ट्रम्प पछाडि पर्नुको प्रमुख कारण भएको जनाइएको छ । करिब एक हप्ता अगाडि मिसाउरी राज्यको सेन्ट लुइसमा अवस्थित एक विश्वविद्यालयमा आयोजित दोस्रो पटक प्रत्यक्ष टेलिभिजन बहसमा पनि ट्रम्पले महिलाको सम्बन्धमा अतिशयोक्ति गरी बोलेको श्रब्यदृष्य (भिडियो टेप) सार्वजनिक गरिएको थियो । सन् २००५ मा रेकर्ड गरिएको उक्त टेपमा स्थानीय एक बसमा अमेरिकी एनबीसी टेलिभिजन कार्यक्रम प्रस्तोता बिल्लि बुश र ट्रम्पसँगै यात्रा गरिरहेको बखत कुराकानी भएको दृष्य देखाइएको थियो । कुराकानीको क्रममा ट्रम्पले “तिमी चलचित्र (हलिउड) का एउटा नायक हुने हो भने तिमीले महिलालाई जे गरे पनि हुन्छ” भनेका रहेछन् । साथै, कुराकानीकै क्रममा बुशले तपाईं पनि केटीहरु खेलाउन माहिर हुनुहुँदो रहेछ भन्दै दुबै जनाले महिलाहरुका नितम्ब, तिघ्रा, पिँडुलाको चर्चा गरेका सार्वजनिक भएको थियो । “महिलालाई जे गरेपनि हुन्छ” भन्ने अभिव्यक्तिले कोही पनि महिलालाई उनको स्वीकृतिबिना अङ्गालोमा कस्ने वा चुम्बन गर्ने जस्ता यौनजन्य दुव्र्यबहार गरे हुन्छ भन्ने अर्थ लाग्छ भन्ने अडान लिइ क्लिन्टनले कस्सिएर ट्रम्पलाई आच्छु आच्छु पारेकी थिइन् । क्लिन्टनको यस अडानले दर्शकबाट समर्थनको ओइरो पायोे र ट्रम्प तत्काल सो बिगतको घटनाका लागि माफी माग्न बाध्य भए । निर्वाचनको ठीक एक महिनापूर्व सञ्चालित यस कार्यक्रमले विजयको गन्तव्यतर्फ क्लिन्टनको थप कदम बढेको अनुमान गरेका छन् । एजेन्सी