अमेरिका-रूस शिखर बैठकः वार्ता सकारात्मक, सम्झौता भएन

काठमाडौं । अमेरिका र रूसबीच २०२५ अगस्ट १५ मा अलास्काको एंकोरेज सहरमा सम्पन्न शिखर बैठकलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘अत्यन्तै फलदायी’ भएको बताए । तर, युक्रेन युद्ध समाधानका लागि अपेक्षित ठोस सहमति भने हासिल हुन सकेन ।  झन्डै तीन घण्टा लामो वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले केही महत्वपूर्ण विषयमा सहमति भएको जनाए पनि युद्ध विराम वा अन्तिम समाधानसम्बन्धी ठोस निर्णय सार्वजनिक गरिएको थिएन । राष्ट्रपति पुटिनले वार्तालाई आपसी सम्मान र रचनात्मक वातावरणमा सम्पन्न भएको उल्लेख गर्दै युक्रेनको सुरक्षा सुनिश्चित गर्नु आवश्यक रहेको धारणा राखे । साथै, उहाँले द्वन्द्वका ‘मूल कारणहरू’ समाधान नगरी स्थायी शान्ति सम्भव नहुने भन्दै युरोपेली मुलुकहरूलाई उक्साउने प्रयास नगर्न आग्रह गरे ।  यद्यपि दुबै नेताले संवाद र समझदारीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ, प्रारम्भिक चरणको यो बैठक तत्कालीक उपलब्धि बिना टुंगिएको देखिएको छ।

खैबर पख्तूनख्वा र काश्मीरमा बाढी आउँदा ५१ जनाको मृत्यु

काठमाडौं । पाकिस्तानको खैबर पख्तूनख्वा प्रान्त र पाकिस्तान प्रशासित कश्मीरमा  बाढी र पहिरोका घटनामा कम्तीमा ५१ जनाको मृत्यु भएको छ । धेरै अन्य बेपत्ता भएका बताइएको छ । आकस्मिक बाढीका कारण पहिरो खस्दा थुप्रै मानिसहरू जमिनमुनि परेका छन् भने केही बाढीको पानीमा बगिएका छन् । धेरै स्थानहरूमा आपतकालीन उपाय अपनाउँदै खोज तथा उद्धार अभियान जारी छ। पाकिस्तान प्रशासित कश्मीरको विपद् व्यवस्थापन एजेन्सीका अनुसार नीलम घाटी क्षेत्रमा फसेका ५५० जना पर्यटकलाई उद्धार गरिएको छ भने ३०० भन्दा बढी पर्यटक अझै फसेका छन् । जुन महिनामा मनसुन सुरु भएदेखि पाकिस्तानमा सयौंको ज्यान गइसकेको छ । बीबीसी उर्दूका अनुसार एउटै परिवारका छ जना सदस्यको मृत्यु भएको छ । उद्धारकर्मीहरूले पति, पत्नी र तीन बच्चाको शव फेला पारेका छन् भने एक छोरीको खोजी जारी छ । अत्यधिक वर्षाका कारण मुजफ्फराबाद, नीलम बाग, नीलम घाटी र झेलम  जिल्लाका सबै विद्यालयहरूमा बिदा घोषणा गरिएको छ । प्रभावित परिवारहरूलाई विद्यालय भवनमा सार्ने आदेश जारी भएको छ । कश्मीरलाई इस्लामाबादसँग जोड्ने कोहाला र एबटाबाद दर्रा पहिरोका कारण अवरुद्ध भएको छ ।

युवा रोजगारीमा एक लाख करोड रुपैयाँ खर्च गर्ने प्रधानमन्त्री मोदीको प्रतिबद्धता

काठमाडौं । भारतले ७९ औं स्वतन्त्रता दिवस भव्यताका साथ मानिरहेको छ । दिल्लीको लालकिल्लाबाट  प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीलाई सम्बोधन गरे ।  प्रधानमन्त्री नरेन्द्र मोदीको आजको  सम्बोधन ऐतिहासिक पनि छ । प्रधानमन्त्री मोदीको लालकिल्लाबाट यो १२ औं पटकको  सम्बोधन हो । साथै प्रधानमन्त्री मोदीले १०३ मिनेट लामो भाषण गरे । जुन भारतको इतिहासमा कुनैपनि प्रधानमन्त्रीले स्वतन्त्रता दिवसको अवसरमा दिएको सबैभन्दा लामो भाषण पनि हो ।  प्रधानमन्त्री मोदीले आफ्नो सम्बोधनमा ‘आत्मनिर्भर भारत’ र सन् २०४७ सम्म ‘विकसित भारत’ को दृष्टिकोणलाई जनतासामु राखेका छन् ।  प्रधानमन्त्री मोदीले देशभित्र रोजगारी प्रवद्र्धन गर्नका लागि ‘प्रधानमन्त्री विकसित भारत रोजगार योजना’ नामको नयाँ योजनाको पनि शुरुवात गरिएको घोषणा गरे ।  एक लाख करोड रुपैयाँ खर्च हुनेगरी बनाइएको रोजगार योजनामा निजी क्षेत्रमा पहिलो रोजगारी पाउने युवायुवतीलाई १५ हजार भारतीय रुपैयाँ दिने घोषणा गरे । रोजगारी दिने कम्पनीहरुलाई पनि प्रोत्साहनस्वरुप सहयोग गरिने प्रधामन्त्री मोदीले बताए ।  प्रधानमन्त्री विकसित भारत रोजगार योजनाले ३ करोड ५० लाख बढी युवा युवतीलाई नयाँ रोजगारको अवसर प्रदान गर्ने बताए ।  आफ्नो लामो भाषणमा उनले पाकिस्तान र अमेरिकाको पछिल्लो कदमको आलोचना गरेका छन् । देशको आत्मनिर्भरता केबल रुपैयाँ वा आयात–निर्यातमा सिमित नभएको बताउँदै प्रधामन्त्री मोदीले अब पनि अन्य देशहरूमा निर्भर रहनु विनाशको बाटो भएको बताए ।  प्रत्यक्ष रुपमा संयुक्त राज्य अमेरिकाको नाम नलिइकनै उनले राष्ट्रपति डोनाल्ड ट्रम्पको ५० प्रतिशत शुल्क (ट्यारिफ) लगाउने धम्कीको जवाफ दिँदै आफू ‘पर्खाल बनेर उभिने’ र भारतीय किसानको हितको रक्षा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।