४ ट्रिलियन डलर क्लबमा एनभीडीया, एआई क्रान्तिको अग्रणीले रच्यो नयाँ इतिहास

काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) चिप निर्माण गर्ने कम्पनी एनभीडीयाले दिनदिनै नयाँ इतिहास बनाउँदै छ । ४ ट्रिलियन डलरको बजार पूँजीकरण (मार्केट क्याप) बनाई विश्वको पहिलो कम्पनी बनेपछि यस कम्पनीले अर्को नयाँ रेकर्ड कायम गरेको हो ।  अमेरिकाको एसएन्डपी ५०० इन्डेक्समा एनभीडीयाको हिस्सेदारी ८ प्रतिशत पुगेको छ । अमेरिकामा सन् १९८१ मा यस किसिमको रेकर्ड राख्न सुरु भएको थियो यद्यपि अहिलेसम्म कुनै कम्पनी यो स्तरमा पुग्न सकेको थिएनन् ।  जसरी एनभीडीयाको सेयर बढिरहेको छ त्यसले देखाउँछ कि आगामी दिनहरूमा यो कम्पनीले धेरै नयाँ रेकर्डहरू बनाउन सक्छ । एनभीडीयाको बजार पूँजीकरण अहिले ४.४५५ ट्रिलियन डलर पुगेको छ ।  अमेरिकाको इतिहासमा यसअघि केवल एक कम्पनी मात्र एसएन्डपी ५०० इन्डेक्समा ७ प्रतिशतभन्दा माथि पुगेको थियो । आइफोन बनाउने कम्पनी एप्पलले सन् २०२३ मा यो उपलब्धि हासिल गरेको थियो ।  २००० को डट-कम बबलको समयमा समेत कुनै कम्पनीले यसरी एसएन्डपी ५०० इन्डेक्समा आफ्नो प्रभुत्व जमाउन सकेका थिएनन् । सन् १९९९ मा माइक्रोसफ्टको र सन् २००० मा जनरल इलेक्ट्रिकको हिस्सेदारी ४ प्रतिशत थियो भने सन् १९८४ मा आईबीएमको हिस्सेदारी ६ प्रतिशत थियो । विशेषज्ञहरूका अनुसार अहिले विश्वमा एआई क्रान्तिको सुरुवात मात्र भएको छ । आगामी दिनहरूमा जसरी विश्वमा एआईको प्रयोग बढ्नेछ, त्यसैगरी एनभीडीया र चिप निर्माण गर्ने अन्य कम्पनीहरूको सेयरमा पनि तीव्र वृद्धि हुनेछ ।  विज्ञहरू आगामी दुई वर्षमा एनभीडीयाको सेयर ३०० डलरसम्म पुग्न सक्ने बताउँछन् । केही महिनामै कम्पनीको सेयरमा ठूलो उछाल आएको छ । अप्रिलमा यसको मूल्य करिब ९५ डलर थियो भने अहिले यो करिब १८३ डलरसम्म पुगेको छ । एनभीडीया सन् १९९३ मा अमेरिकामा स्थापना भएको एक प्रख्यात टेक कम्पनी हो जसको सुरुवाती उद्देश्य कम्प्युटर ग्राफिक्सका लागि उच्च प्रदर्शनका ग्राफिक्स प्रोसेसिङ युनिट (जीपीयू) विकास गर्नु थियो ।  समयसँगै यसको प्रविधि केवल गेमिङ र ग्राफिक्ससम्म सीमित रहेन बरु वैज्ञानिक अनुसन्धान, डेटा सेन्टर, स्वचालित सवारीसाधन र हालको एआई क्रान्तिको मेरुदण्ड बन्न पुग्यो । एनभीडीयाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेनसन हुआङ हुन् । उनी कम्पनीका सह-संस्थापक पनि हुन् । उनले प्राविधिक क्षेत्रमा ऐतिहासिक सफलता हात पारेका छन् । सन् १९६३ मा ताइवानको ताइनानमा जन्मिएका हुआङ ९ वर्षको उमेरमा अमेरिका पुगेका थिए । बाल्यकालमा होटलमा वेटर र विद्यालयमा क्लीनरको काम गर्दै उनले पढाइ जारी राखे । उनले ओरेगन स्टेट युनिभर्सिटीबाट विद्युत इन्जिनियरिङमा स्नातक र स्ट्यानफोर्ड विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् । सन् १९९३ मा क्रिस मलाचोव्स्की र कर्टिस प्राइमसँग मिलेर हुआङले एनभीडीया स्थापना गरेका थिए ।  प्रारम्भिक संघर्षपछि कम्पनीले सन् १९९९ मा ‘जिफोर्स २५६’  बजारमा ल्याउँदै जीपीयू प्रविधिमा क्रान्ति ल्याएको थियो । कालो लेदरको ज्याकेट लगाइ सार्वजनिक कार्यक्रममा उपस्थित हुने हुआङलाई उद्योग विश्लेषकहरूले ‘एआई युगको प्रमुख पात्र’ का रूपमा व्याख्या गर्छन् ।

युक्रेन शान्तिका लागि पुटिन-ट्रम्पको पहल कति प्रभावकारी ?

अमेरिका । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आउँदो शुक्रबार (अगस्त १५  गते) अमेरिकाको अलास्का राज्यमा भेटवार्ता हुने तय भएको छ । यो भेटवार्ताको उद्देश्य सन् २०२२ को फेब्रुअरीमा सुरु भएको युक्रेन युद्ध अन्त्य गर्न मार्ग प्रशस्त गर्नु हो ।  राष्ट्रपति ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेदेखि नै आफूले ‘२४ घण्टामै युद्ध सकाउने’ दाबी गर्दै शान्ति स्थापनाको पहल गरिरहनुभएको छ, यद्यपि हालसम्म भएका थुप्रै वार्ता, टेलिफोन संवाद तथा कूटनीतिक भ्रमणहरूले ठोस प्रगति भने गर्न सकेका छैनन् । शुक्रबार राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मा बैठक अगस्त १५ गते अलास्कामा हुने घोषणा गर्नुभयो, जुन कुरा क्रेमलिनले पनि पुष्टि गरेका छन् ।  क्रेमलिनका अनुसार यो स्थान ‘तार्किक र उपयुक्त’ रहेको छ । राष्ट्रपति ट्रम्पले पुटिन र युक्रेनी राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीको सन्दर्भमा भने, 'उनीहरूले मसँग भेट गर्न चाहन्छन् भने म हत्या रोक्न सक्ने जुनसुकै प्रयास गर्न तयार छु ।' व्हाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, 'केही भूभागहरू साटासाट गरिनेछ, जसबाट दुबै देशलाई लाभ हुनेछ,' तर उनले विस्तृत विवरण दिएनन् । अलास्का बैठक स्थलको रूपमा चयन हुनुको मुख्य कारण ऐतिहासिक र भौगोलिक दुवै पक्षसँग सम्बन्धित छ । सन् १८६७ मा रसियाले अलास्का अमेरिकालाई बेचेको थियो । भौगोलिक रूपमा पनि अलास्काको पश्चिमी किनारा र रसियाको पूर्वी भागबीच बेरिङ जलसन्धि मात्र पर्दछ ।  क्रेमलिनका सल्लाहकार युरी उशाकोभका अनुसार,'अलास्का र आर्कटिक क्षेत्रमा दुवै मुलुकका आर्थिक हितहरू मिल्दछन् र आपसी सहकार्यका लागि ठूलो सम्भावना देखिन्छ ।' उशाकोभले थप भने, 'मुख्य ध्यान भने युक्रेन सङ्कटको दीर्घकालीन शान्तिपूर्ण समाधानतर्फ केन्द्रित हुनेछ । साथै, आगामी बैठक रसियामा आयोजना गर्न राष्ट्रपति ट्रम्पलाई निमन्त्रणा दिइसकेको जानकारी पनि उनले दिए ।' हालै पुटिनमाथि अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले जारी गरेको पक्राउ आदेशले बैठक स्थल चयनमा केही चुनौती उत्पन्न गरेको थियो, जसकारण संयुक्त अरब इमिरेट्स, टर्की, चीन वा भारतजस्ता देशहरू बैठकका सम्भावित स्थलको रूपमा चर्चा भइरहेका थिए । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले यो शिखर बैठकलाई त्रिपक्षीय बनाउने चाहना व्यक्त गर्दै आएका छन् । उनले बारम्बार पुटिनसँग प्रत्यक्ष भेट नै शान्तिको लागि एक मात्र उपाय भएको बताए ।  राष्ट्रपति ट्रम्पका विशेष दूत स्टीभ विटकोफले यसै साता पुटिनसँगको वार्तामा त्रिपक्षीय बैठकको प्रस्ताव राख्नुभएको थियो, तर रसियाली पक्षले युक्रेनसँगको प्रत्यक्ष वार्ता केवल वार्ताको अन्तिम चरणमा मात्र सम्भव हुने भनिसकेको छ । ट्रम्पले पत्रकारद्वारा सोधिएको प्रश्नमा, 'पुटिनले जेलेन्स्कीलाई भेट्नुपर्छ त ?' भन्नेमा उत्तर दिए, 'होइन, अनिवार्य छैन ।' राष्ट्रपति ट्रम्प र पुटिनबीच अन्तिमपटक भेट २०१९ मा जापानमा आयोजित जी–२० सम्मेलनमा भएको थियो । त्यसअघि २०१८ मा फिनल्याण्डको हेलसिंकीमा दुबै नेताबीच महत्वपूर्ण बैठक भएको थियो ।  पुटिनले अमेरिका भ्रमण गरेर अमेरिकी राष्ट्रपतिको रूपमा ट्रम्पपछि अन्तिमपटक २०१५ मा पूर्वराष्ट्रपति ओबामासँग संयुक्त राष्ट्रसंघको महासभामा भेट गरेका थिए ।  शान्ति वार्ताका अनेक प्रयासहरू हुँदाहुँदै पनि अहिले रसिया र युक्रेनबीच ठोस सहमति भएको छैन ।  युक्रेन युद्ध अन्त्यका लागि पश्चिमी मुलुकहरू, युक्रेन तथा अमेरिकाले तत्काल युद्धविरामको आह्वान गरिरहेका छन्, तर रसियाले यसलाई अस्वीकार गर्दै चारवटा क्षेत्र खाली गर्न, युक्रेनले तटस्थ राष्ट्रको हैसियतमा बस्न, पश्चिमी सैन्य सहायता अस्वीकार गर्न र नेटोमा नजाने प्रतिबद्धता जनाउनुपर्ने शर्त राखेको छ । रासस

जापानमा घरेलु खर्च १.३ प्रतिशत कढ्यो, गाडी र विद्युत् महसुलमा उच्च

काठमाडौं । जापानमा घरेलु खर्च गत वर्षको सोही अवधिको तुलनामा १.३ प्रतिशतले वृद्धि भएको छ, जुन लगातार दोस्रो महिना वृद्धि भएको देखिएको हो । गाडी किन्न र विद्युत् महसुलमा गरिएको खर्चले यो वृद्धि सम्भव भएको जापानी सरकारले जनाएको छ ।  जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार, दुई वा दुईभन्दा बढी सदस्य भएका परिवारले औसत २ लाख ९५ हजार ४१९ येन (करीब २ हजार अमेरिकी डलर) खर्च गरेका थिए ।  विभागका अनुसार, यातायात र सञ्चार क्षेत्रमा खर्च ८.६ प्रतिशतले बढेको छ भने ऊर्जा र पानीमा गरिएको खर्च ६.३ प्रतिशतले वृद्धि भएको छ । यो गर्मीको मौसममा एयर कन्डिसनरको बढी प्रयोगका कारण भएको बताइएको छ । तर, खाद्यान्नमा खर्च भने २.१ प्रतिशतले घटेको छ, जुन पछिल्ला तीन महिनामा पहिलो गिरावट हो। विशेष गरी चामलको खर्चमा १२.१ प्रतिशतको गिरावट आएको छ, जसको कारण सरकारले यसअघि आफ्ना भण्डारबाट चामल रिलिज गरेपछि उपभोक्ताहरूले सस्तो वा कम चामल किनेको मानिएको छ । घरेलु खर्च जापानको कुल गार्हस्थ उत्पादन (जीडीपी) को आधाभन्दा बढी हिस्सा ओगट्ने भएकाले, यसलाई देशको निजी उपभोगको प्रमुख सूचकका रूपमा लिइन्छ ।