रुसी सेनाले विदेशी कपडा लगाउन नपाउने
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार सन् २०२६ देखि देशको सशस्त्र सेनाका लागि विदेशी निर्मित कपडा र सम्बन्धित उपकरण खरिदमा प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गरेका छन् । ‍आदेशअनुसार सन् २०२६ जनवरी १ देखि रुसी सशस्त्र बलका लागि सबै बर्दी र अन्य कपडा वस्तुहरू रुसी कम्पनीहरूले उत्पादन गर्नुपर्नेछ भने उत्पादन सुविधाहरू देशभित्र अवस्थित छन् । सन् २०२७ सम्ममा कपडा र बुनेको सामग्रीहरू घरेलु रूपमा निर्माण गरिनु पर्ने आदेशमा उल्लेख छ । यो उपायको उद्देश्य सेनाको आवश्यकताका लागि विदेशी निर्मित कपडा र सामग्रीको खरिदलाई पूर्ण रूपमा बहिष्कार गर्नु रहेको आदेशमा भनिएको छ । सैन्य कपडा, बर्दी, प्रतीक चिह्न, भित्री वस्त्र, ओछ्यान, विशेष कपडा, जुत्ता, उपकरण र सेनेटरी वस्तुहरू समावेश छन् । त्यस्ता आपूर्तिहरू रुसी राज्य रक्षा आदेश प्रणाली मार्फत खरिद गरिन्छ ।
चिलीमा ७ करोड ४० लाख वर्ष पुरानो स्तनपायी जीवाश्म फेला
काठमाडौं । वैज्ञानिकहरूले चिलीको प्याटागोनियामा डायनासोरको समयमा बाँचेको साना मुसाको आकारको स्तनपायीको जीवाश्म फेला पारेका छन् । ‘येउथेरियम प्रेसर’को तौल ३० देखि ४० ग्राम (लगभग एक औंस) को थियो र माथिल्लो क्रिटेसियस कालमा करिब सात करोड ४० लाख पहिले बस्थे । यो दक्षिण अमेरिकाको यस क्षेत्रमा फेला परेको सबैभन्दा सानो स्तनपायी हो, जुन युगमा यो गोन्डवाना भनेर चिनिने महाद्वीपीय भू–भागको हिस्सा थियो । चिली विश्वविद्यालय र चिलीको मिलेनियम न्युक्लियस अनुसन्धान केन्द्रका प्रारम्भिक स्तनपायीहरूमा वैज्ञानिकहरूको टोलीको नेतृत्व गर्ने हान्स पुशेलले भने, ‘जीवाश्ममा एउटा दाँतसहितको बङ्गाराको सानो टुक्रा र अन्य दुई दाँतका मुकुट र जरा छन् ।’ यो खोज यस महिना बेलायती वैज्ञानिक पत्रिका प्रोसिडिङ्स अफ द रोयल सोसाइटी बी मा प्रकाशित भएको थियो। अनुसन्धानकर्ताहरूले सान्टियागोबाट करिब तीन हजार किलोमिटर ९एक हजार आठ सय ६४ माइल० दक्षिणमा चिलीको म्यागालेन्स क्षेत्रको रियो डे लास लास चिनस उपत्यकामा यो जीवाश्म फेला पारेका हुन् । उनीहरूका अनुसार सानो मुसासँग मिल्दोजुल्दो भए पनि ‘येउथेरियम प्रेसर’ एक स्तनपायी थियो जसले प्लेटिपस जस्तै अण्डा दिएको हुनुपर्छ वा यसको बच्चालाई कङ्गारू वा ओपोसम जस्ता थैलीमा बोकेको हुनुपर्छ । यसको दाँतको आकारले यसको खानामा सम्भवतः अपेक्षाकृत कडा तरकारीहरू थिए भन्ने देखाउँछ । आफूसँग सहअस्तित्व भएका डायनासोरहरू जस्तै यो सानो स्तनपायी पनि क्रिटेसियस कालको अन्त्यमा करिब छ करोड ६० लाख वर्ष पहिले अकस्मात् लोप भयो ।
अमेरिका-चीनबीच ट्यारिफ नलाग्ने सहमति ९० दिनका लागि थपियो
काठमाडौं । अमेरिका र चीनले एक-अर्कामाथि ट्यारिफ नलगाउने सहमति ९० दिनका लागि थप गरेका छन् । यो निर्णय त्यतिबेला गरिएको हो जब विद्यमान सहमतिको अवधि सकिँदै थियो । सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । उक्त आदेशमा मे महिनामा भएको सहमतिको प्रावधानलाई यथावत राखिएको छ । त्यतिबेला दुवै देशले अस्थायी रूपमा एक(अर्काका सामानमा लगाइएका ट्यारिफलाई निलम्बन गरेका थिए । अमेरिकाले चेतावनी दिएको थियो यदि सहमतिको अवधि बढाइएन भने मंगलबारदेखि उच्च ट्यारिफ लागू हुनेछ। गत महिनाको वार्तामा चीनले दुवै पक्षले सहमति कायम राख्ने प्रयास गर्ने जनाएको थियो । अमेरिकी अधिकारीहरूले त्यसबेला भनेका थिए कि उनीहरू ट्रम्पको अन्तिम स्वीकृतिको प्रतीक्षामा छन् । अप्रिलमा व्यापारसम्बन्धी तनाव चरममा पुगेको थियो। ट्रम्पले विश्वका धेरै मुलुकका सामानमा टैरिफ लगाउने घोषणा गरेका थिए । चीनमाथि पनि उच्च ट्यारिफ लगाइयो र चीनले त्यसको जवाफी कदमस्वरूप अमेरिकी सामानमा ट्यारिफ बढायो । मे महिनामा भएको सम्झौताअनुसार अमेरिका भित्रिने चिनियाँ सामानमा वर्षको सुरुवातको तुलनामा ३० प्रतिशत अतिरिक्त ट्यारिफ लगाइयो । त्यस्तै चीनमा अमेरिकी सामानमा १० प्रतिशत नयाँ ट्यारिफ लागू गरियो ।