जर्मनीको चान्सलर बने फ्रेडरिख मर्ज, आर्थिक नीति स्पष्ट र कर प्रणालीमा सुधार हुने अपेक्षा
काठमाडौं । फ्रेडरिख मर्ज जर्मनीको दसौँ संघीय प्रमुख (चान्सलर)को रूपमा निर्वाचित भएका छन् । मंगलबार भएको दोस्रो चरणको मतदानमा उनले आवश्यक बहुमत प्राप्त गरी सफलता पूर्वक चयन भएका हुन् । यसअघि बिहान सम्पन्न पहिलो चरणको मतदानमा उनले अपेक्षित मत नपाई पराजय ब्यहोरेका थिए । पहिलो चरणमा उनले ३१६ मत आवश्यक पर्दा ३१० मत मात्र प्राप्त गरेका थिए । दोस्रो चरणमा भने उनले ३२५ मत प्राप्त गरी संघीय सभाबाट निर्वाचित भए । ६९ वर्षको उमेरमा यो पद सम्हालेका मर्जले यसअघि कहिल्यै उच्च कार्यकारी जिम्मेवारी वहन गरेका थिएनन् । उनी न संघीय मन्त्री थिए न राज्य प्रमुख, न त सानो नगरपालिकाको प्रमुख (मेयर) नै । कोनराड एडेनाउरपछि उनी सबैभन्दा ज्येष्ठ व्यक्ति हुन् । जसले युद्धपछिको जर्मनीमा संघीय प्रमुखको रूपमा पदभार सम्हालेका छन् । युक्रेनका राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले नव निर्वाचित संघीय प्रमुखलाई बधाई ज्ञापन गर्दै युरोपसँगको साझेदारीमा जर्मनीको भूमिकामा अझ सशक्तता हुने विश्वास व्यक्त गरे । जर्मनी, संयुक्त राज्यपछि युक्रेनलाई सबैभन्दा बढी सहायता उपलब्ध गराउने राष्ट्र हो । नयाँ नेतृत्वबाट दीर्घकालीन राजनीतिक अन्योलको अन्त्य हुने, आर्थिक नीतिमा स्पष्टता आउने, कर प्रणालीमा सुधार तथा भौतिक पूर्वाधारको सुदृढीकरणमार्फत आर्थिक वृद्धि हुने अपेक्षा गरिएको छ । यसैबीच, संसदमा प्रमुख विपक्षी शक्तिका रूपमा रहेको ‘वैकल्पिक जर्मनीका लागि’ नामक दलले प्रारम्भिक नतिजालाई लिएर आलोचना गरे पनि निर्वाचन प्रक्रियाको मर्यादा र लोकतान्त्रिक परम्पराको सम्मान कायम गरिएको देखिएको छ।
भारतले गर्याे पाकिस्तानका ९ स्थानमा हवाई आक्रमण, बलियो जवाफ दिने प्रधानमन्त्री शरिफको चेतावनी
काठमाडौं । भारतले 'अपरेसन सिन्दुर’ नाम दिइएको एक सैन्य कारबाही अन्तर्गत पाकिस्तानका ९ स्थानमा हवाई आक्रमण गरेको छ । भारतीय रक्षा मन्त्रालयका अनुसार, ती सबै स्थानहरूबाट भारतमाथि हुने आतंक आक्रमणहरूको योजना र निर्देशन भइरहेको थियो । यो कारबाही अप्रिल २२ मा भारत नियन्त्रित कश्मीरमा भएको आक्रमणपछि गरिएको हो । जसमा २६ जना पर्यटकको मृत्यु भएको थियो । भारतले उक्त आक्रमणको दोष पाकिस्तानमाथि लगाएको छ । भारतको वासिङ्टनस्थित दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आक्रमण पूर्णरूपमा लक्षित र सटीक थियो । केवल चिनिएका आतंकी शिविरहरूलाई मात्र निसाना बनाइएको हो ।’ पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले भारतको कारबाहीलाई युद्धको घोर उक्साहट भन्दै कडा निन्दा गरेका छन् । साथै, बलियो जवाफ दिने चेतावनी दिएका छन् । संयुक्त राष्ट्रसंघले दुबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ। उसले भनेको छ, ‘दुई आणविक शक्तिहरूबीच युद्ध विश्वका लागि अत्यन्त खतरनाक हुन सक्छ ।’
ट्रम्पको एक घोषणाले विश्वका शीर्ष मूल्यवान कम्पनीलाई फाइदैफाइदा
काठमाडौं । अमेरिकासहित विश्वभरका सेयर बजार केही समयदेखि उकालो लागेको छ । धेरै कम्पनीहरूको सेयर मूल्यमा तीव्र वृद्धि देखिएको छ । यदि विश्वका ५ सबैभन्दा मूल्यवान कम्पनीहरूको कुरा गर्‍याैं भने तिनीहरूको सेयर मूल्य पछिल्लो एक महिनामा आकाशिएको छ। ती कम्पनीहरू हुन्- माइक्रोसफ्ट, एप्पल, एनभिडिया, अमेजन र अल्फाबेट । यी सबै अमेरिकी कम्पनीहरू हुन् । यी कम्पनीहरूको सेयरमा पछिल्लो एक महिनामा २० प्रतिशतभन्दा बढी वृद्धि आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ घोषणाले विश्वभर व्यापार युद्ध सुरु भएको थियो । विश्वका धेरै सेयर बजार ध्वस्त भएका थिए, जसबाट अमेरिका पनि अछुतो रहन सकेन । अमेरिका र चीनबीच एक अर्कामाथि बढी ट्यारिफ लगाउने प्रतिस्पर्धा चलेको थियो । त्यसबाट यी मूल्यवान कम्पनीहरूको सेयर बजारमा नराम्रो असर परेको थियो । यद्यपि अहिले अवस्था केही सुधारिएको देखिन्छ। कसको कति वृद्धि ? पछिल्लो एक महिनामा यी मूल्यवान कम्पनीहरूको सेयर ८ प्रतिशतदेखि २१ प्रतिशतसम्म उफ्रेका छन् । सबैभन्दा बढी वृद्धि माइक्रोसफ्ट कम्पनीको सेयरमा देखिएको छ । यसै कारणले यो कम्पनी अहिले विश्वकै सबैभन्दा मूल्यवान कम्पनी बन्न सफल भएको हो । यसले एप्पललाई पछि पारेर पहिलो स्थान हासिल गरेको छ । माइक्रोसफ्टको क्लाउड सेवा र एआई (कृत्रिम बौद्धिकता) को बढ्दो मागले सेयर वृद्धिमा सहयोग पुर्याएको हो । कम्पनीहरूमा देखिएको तीव्र वृद्धिको एक प्रमुख कारण ट्रम्पको एक घोषणा पनि हो । ट्रम्पले हाललाई ट्यारिफलाई ९० दिनका लागि स्थगित गरेका छन् । यसले गर्दा विश्वव्यापी व्यापार युद्ध केही समयका लागि रोकिएको छ । यी ९० दिन जुलाईमा समाप्त हुनेछन् । त्यसपछि ट्रम्पले के निर्णय लिन्छन् भन्ने कुरा पछि मात्र प्रस्ट हुनेछ । कसलाई कति फाइदा? पछिल्लो एक महिनामा विश्वका ५ सबैभन्दा मूल्यवान कम्पनीहरूको सेयर यति प्रतिशतले बढेका छन्ः माइक्रोसफ्टः विश्वकै सबैभन्दा मूल्यवान कम्पनी हो । यसको सेयर एक महिनामा २१.६३ प्रतिशतले बढेको छ । एप्पलः दोस्रो स्थानमा रहेको एप्पलको सेयर एक महिनामा १३.१७ प्रतिशतले बढेको छ । एनभिडियाः तेस्रो सबैभन्दा मूल्यवान कम्पनी एनभिडियाको सेयर एक महिनामा १७.२७ प्रतिशतले बढेको छ । अमेजनः चौथो स्थानको अमेजनको शेयर एक महिनामा ८.४० प्रतिशतले बढेको छ। अल्फाबेटः गुगलको मातृ कम्पनी अल्फाबेटको सेयर एक महिनामा ११.१० प्रतिशतले बढेको छ । ट्यारिफपछि अवस्था खराब डोनाल्ड ट्रम्पले यस वर्ष जनवरीमा राष्ट्रपति पद सम्हालेपछि भारत र चीन लगायत विश्वका धेरै देशहरूमा ट्यारिफ लगाउने घोषणा गरे । यसले गर्दा व्यापार युद्ध सुरु भयो र धेरै देशहरूको सेयर बजार ध्वस्त भयो । अमेरिका पनि यसबाट बच्न सकेन । त्यसपछि यी कम्पनीहरूको सेयर मूल्य निकै घटेको थियो । यदि पछिल्ला ६ महिनाको कुरा गरौं भने यी पाँचै कम्पनीहरूको अवस्था खासै राम्रो देखिँदैन । ६ महिनाको रिटर्न हेर्दा माइक्रोसफ्ट बाहेक सबै कम्पनीहरू घाटामा छन् । माइक्रोसफ्टले यी ६ महिनामा करिब ६ प्रतिशतको रिटर्न दिएको छ भने सबैभन्दा बढी घाटा एनभिडियाले बेहोरेको छ– यसको सेयर ६ महिनामा १८ प्रतिशतभन्दा बढी घटेको छ ।