संसद बैठकमै माननीयज्युहरू घ्वाँरघ्वाँर निदाउनुहुन्छ : उपसभामुख राना

काठमाडौं । उपसभामुख इन्दिरा रानाले संसद बैठकमा सांसदहरू निदाउने गरेको भन्दै आपत्ति जनाएकी छन् । आइतबार संसद भवनमा ६६ औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले संसद बैठकका बेला सांसदहरू घुर्दै निदाउने गरेको आफूले देखेको बताइन् । संसदमा फोटो खिच्न आफूले नपाउने भएपनि संसद दिवसको अवसरमा आयोजित कार्यक्रममा पनि सांसदहरु निदाएको भन्दै फोटो र भिडियो खिचेर राखेको बताइन् । सुत्ने बेला नभएको भन्दै सभामा सुतेर सपना नदेख्न सांसदहरूलाई सचेत गराइन् । सांसदहरुले नीति निर्माणमा बढी जोड दिएर काम गर्न आवश्यक रहेको बताइन् । ‘संसदमा फोटो खिच्न मिल्दैन, घ्वाँरघ्वाँर सुतिरहेको हुनुहुन्छ मान्यज्युहरू । यहाँ मलाई के भन्न मन लाग्यो भने यहाँ पनि धेरै सुतेको देखेँ । अलिअलि रेकर्ड पनि गरेर राखेको छु मैले । यो सुत्ने तरिकाले चाहीँ हामी सभामा नबसौँ । जाग जाग नेपाली भन्न मन लाग्यो मलाई । सुत्ने बेला भएको छैन, सुतेर सपना नदेख्नुस् । उठेर हेर्नुस् त कति सुन्दर छ । यि अनुहारहरू फेरि एकछिनमा हामी देख्न पाउँदैनौँ’, उनले भनिन् । उपसभामुख रानाले महिला मन्त्रालयको बजेट एउटा परियोजनाको बराबर नभएको भन्दै दुःख व्यक्त गरिन् ।

कर्मचारीसँग वार्ता जारी रहेकाले संसद बैठक सुरु हुन ढिलाइ

काठमाडौं । सङ्घीय संसद्, सचिवालयका कर्मचारीको माग सम्बोधनका लागि वार्ता जारी रहेकाले आजको निर्धारित प्रतिनिधिसभाको बैठक सुरु हुन ढिलाइ भएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी र कर्मचारी युनियनका प्रतिनिधिबीच वार्ता जारी रहेकाले आज बिहान ११ बजेका लागि निर्धारित बैठक सुरु हुन ढिलाइ भएको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । सचिवालयका कर्मचारीले विभिन्न सेवा र सुधारका माग राखी २० दिनदेखि विरोध कार्यक्रम गर्दै आएका छन् ।

संसद बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची

फाइल फाेटाे काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक शुक्रबार बस्दैछ । प्रतिनिधि सभाको आजको बैठकबाट सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ । बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने सम्भावित कार्यसूची छ । जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उक्त नीति तथा कार्यक्रममा हालसम्म छलफल हुन सकेको छैन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति नबनेसम्म सदनको कामकारबाही अघि बढ्न नदिने बताएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यसपछि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत गरिनेछ । सम्भावित कार्यसूचीअनुसार नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री प्रचण्डले जवाफ दिनेछन् । त्यसपछि पारित गर्ने सभामुखको तयारी छ ।

संसद बैठक २ बजेलाई सर्‍यो

फाइल फाेटाे काठमाडौं । ११ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सरेको छ । विशेष कारण देखाउँदै दिउँसो २ बजेलाई बैठक तय गरिएको हो । सहकारी प्रकरणमा छानबिन समितिको क्षेत्राधिकारलगायतको विषयमा सत्ता र विपक्षी दलको संयुक्त कार्यदलको बैठ जारी छ । गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने तर छानबिन समितिको टीओआरमा सहमति नजुटेसम्म बैठक नचलाउन विपक्षी मोर्चाको आग्रहपछि सदनको समय परिवर्तन गरिएको बताइएको छ ।  

संसदीय समिति बनाउन सहमति जुटेन, कांग्रेसले संसद बैठक अवरोध गर्ने

काठमाडौं । गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्न दलहबीचमा सहमति नजुटेपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद बैठक अवरोधलाई निरन्तरता दिने भएको छ । आज बिहान ११ बजे बस्ने बैठक स्थगित गरेर सहमति जुटाउन भन्दै दिउँसो ४ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको थियो । दलहरूका बीचमा सहमतिको प्रयास भएको भए पनि कांग्रेसले भने अनुरूपको संसदीय छानबिन समिति बनाउन सत्तारुढ दलहरू (सरकार) तयार नभएपछि अवरोध कायम राख्ने भएको हाे । सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले सहमतिको बिन्दुमा पुग्न नसकिएको बताइन् । उनले सहमति जुट्न नसकेका कारण कांग्रेसले आफ्नो मागलाई यथास्थितिमा राख्दै बैठक अवरोध राख्ने जानकारी दिइन् । उनले भनिन्, ‘अहिले सहमतिको बिन्दुमा पुग्न सकिएन, तत्काल हामी सदनमा यथावस्थामा आफ्नो माग राखेर उभिने पक्षमा छौँ, केही कुराहरू अपुग भयो, विषयवस्तु गृहमन्त्रीले बोल्नु र नबोल्नुमा सरोकार रहेन, हामीले राखेको सरोकार भनेको संसदीय छानबिन समिति गठन हुनुपर्छ, संसदीय छानविन समिति डा. रामशरण महतदेखि जनार्दन शर्माको पालासम्म गठन हुने, अहिलेको पालामा चाहीँ नहुने भन्ने अभ्यास कहाँबाट सुरु गर्न खोजेको हो यो चाहीँ मिलेको छैन, सरकारमा संलग्न दलहरूको कारणले अड्किएको हो ।’ कांग्रेसका सांसद डा. प्रकाशशरण महतले सरकार सहकारी ठगी प्रकरणमा छानबिन गर्न तयार भए पनि गृहमन्त्री रवि लामिछाने केन्द्रित भएर छानिबन गर्न तयार नभएको बताए । उनले गृहमन्त्री लामिाछाने केन्द्रित छानबिन गर्नुपर्ने आफूहरूको मागमा सहमति नजुटेको कारण कुरा नमिलेको बताए । उनले सरकारले गृहमन्त्री लामिछानेको विषयलाई सामान्यीकरण गरेर छानबिन समिति बनाउन खोजेको भन्दै सो कुरा कांग्रेसलाई मान्य नहुने बताए ।

संसद बैठक : अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा आगामी आर्थिक वर्ष २०८०÷८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्ने कार्यसूची छ । बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले राजस्व र व्ययको वार्षिक अनुमान माथिको छलफलमा उठेका प्रश्नको उत्तर दिने कार्यसूची छ । अर्थमन्त्री डा महतले आजै विनियोजन विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० संसद्मा प्रस्तुत गर्ने कार्यसूची छ । त्यस्तै, विनियोजन विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने समेत आजको कार्यसूचीमा राखिएको छ ।

दिउँसो १ बजेलाई सर्‍यो प्रतिनिधिसभाको संसद बैठक

काठमाडौं । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेलाई सारिएको छ । बिहान ११ बजे निर्धारित बैठक दुई घण्टा पछि सारिएको हो । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिंदैछन् । नेपाली कांग्रेसको बैठक जारी रहेपछि बैठक सारिएको अनुमान छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक लम्बिएकाले संसदीय दलको बैठकसमेत बस्न सकेको छैन । कांग्रेसले यो बैठकबाट प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्नेबारे निर्णय गर्ने छ । आजै बिहान बसेको एकीकृत समाजवादीको बैठकले भने प्रधानमन्त्री प्रचण्डलाई   सर्तसहित विश्वासको मत दिने निर्णयगरेको छ ।

अर्थमन्त्रीबाट राजीनामा दिएलगत्तै संसद बैठकबाट निस्किए शर्मा

काठमाडौं । जनार्दन शर्मा अर्थमन्त्री पदबाट राजीनामा दिएलगत्तै संसद बैठकबाट बाहिरिएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकबाट राजीनामा घोषणा गर्दै शर्मा बैठक छोडेर बाहिर निस्किएका हुन् । अर्थमन्त्री शर्माले आफूविरुद्ध संसदीय विशेष छानबिन समिति गठन भएकोमा धन्यवाद दिँदै छानविन समितिलाई सहयाेग गर्न राजीनामा दिएकाे बताएका हुन् । ‘सभामुखको पहलमा जुन छानबिन समिति बनेको छ, त्यसको स्वागत गर्छु, धन्यबाद दिन्छु, यो छानबिनका लागि मैले मार्गप्रशस्त गर्दै आफ्नो पदबाट राजीनामा दिएको घोषणा पनि गर्दछु,’ उनले राजीनामा दिँदै भने । शर्माले बजेट बनाउँदा आफूले कुनै गल्ती नगरेको पनि बताए । उनले छानबिन समिति गठन भइसकेको अवस्थामा मन्त्रीले राजीनामा दिनुपर्ने र मन्त्रीका रुपमा संसदमा बोल्न नहुने पनि बताएका छन् ।

संसद बैठक भोलि १ बजेसम्मका लागि स्थगित

काठमाडाैं । प्रधानमन्त्रीको आग्रहमा प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक सूचना टाँस गरी भोलि (शुक्रबार) १ बजेसम्मका लागि स्थगित गरिएको हो ।

आजको संसद बैठकमा पनि एमसीसी पेश नहुने

काठमाडौं । आजको संसद बैठकमा पनि एमसीसी पेश नहुने भएको छ । सत्ता गठबन्धनको बैठकले आजको संसद बैठकमा एमसीसी पेश नगर्ने सहमति गरेको हो । बैठकमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले एमसीसी परियोजनालाई टुंगोमा पुर्याउन चाहने धारणा राखेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । संसद बैठक दिउँसो १ बजे बस्दै छ ।

संसद बैठक आज बस्दै, कार्यसूचीमा छैन एमसीसी

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा शुक्रबार दिउँसो १ बजे बस्ने बैठक बोलाइएको छ । आजको बैठकमा विवादीत बनेको अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबल नहुने भएको छ । आजको बैठकको कार्यसूचिमा सो कुरा उल्लेख गरिएको छैन् । एमसीसीलाई संसदमा टेबल गर्नका लागि बिहानैदेखि शिर्ष नेताहरु भेटवार्ता र छलफलमा जुटेका छन् । जसका लागि बिहान १० बजे सक्ता गठबन्धनको बैठक बस्दैछ । संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन आव २०७७/०७८ पेस गर्ने सम्भावित कार्यसूची छ । संसद् बैठकअघि आजै प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । त्यसले बैठकका कार्यसूची तय गर्नेछ।

बुधबारसम्मका लागि संसद बैठक स्थगित

काठमाडौं । सोमबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक फेरि स्थगित भएको छ। संसद सचिवालयले आइतबार एक सूचना जारी गर्दै बुधबारसम्मका लागि संसद बैठक स्थगित गरिएको जनाएको हो । संसद सचिवालयले सोमबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएको थियो। तर विशेष कारणले उक्त दिन र समयमा बस्न नसक्ने जानकारी संसद सचिवालयले दिएको हो।

संसद बैठक साउन ३ गते बोलाउन सर्वाेच्चकाे आदेश

काठमाडाैं । सर्वोच्च अदालतले पुन:स्थापित प्रतिनिधिसभाको बैठक आगामी साउन ३ गते बोलाउन आदेश दिएको छ । अदालतले संसद अधिवेशन साउन ३ गते ५ बजेभित्र बोलाउन आदेश दिएको हो। अदालतले भोलि नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न पनि आदेश दिएको छ ।

राष्ट्रपतिले गरिन् २३ गतेकाे लागि संसद बैठक आह्वान

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारी फागुन २३ गतेकाे लागि संसद अधिवेशन आह्वान गरेकी छिन् । भण्डारीले फागुन २३ गते साँझ ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी हुन् । नेपाल सरकारका सिफारिशमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सो अधिवेशन आह्वान गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्तिमार्फत आज जनाएका छन् ।

कोरोनाकाे रिपोर्ट नदेखाई संसद बैठकमा प्रवेश नपाइने

काठमाडौं । कोरोनाकाे रिपोर्ट नदेखाई संसद बैठकमा प्रवेश नपाइने भएकाे छ । वैशाख २६ गते सुरु हुने स‌ंसद अधिवेशनमा सहभागी हुने सांसदले आफूलाई कोरोना स‌ंक्रमण नभएको रिपोर्ट देखाएपछि मात्र बैठकभित्र प्रवेश गर्न पाउने भएका छन् । पीसीआर विधिबाट गरिएकाे कोरोनाको परीक्षण रिपोर्ट देखाएरमात्र बैठक हलभित्र प्रवेश गर्न दिने निर्णय भएकाे हाे । सभामुख अग्नि सापकोटाको अध्यक्षतामा बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले यस्ताे निर्णय गरेकाे हाे । समिति अधिवेशन सुरु भएपछि सा‌सदहरु काठमाडौं बाहिर पनि जान नपाउने निर्णय पनि गरेकाे छ । संघीय संसदका दुवै सदनका सांसदहरुको बिहीबार कोरोना परीक्षणका लागि स्वाब संकलन भइरहेको छ । काठमाडौं बाहिर रहेका सांसदहरुको स्वाब संकलन शुक्रबार विहानैदेखि हुनेछ ।    

काङ्ग्रेसको अवरोधपछि संसद बैठक स्थगित, प्रस्तुत भएन राष्ट्रिय चिकित्सा शिक्षा विधेयक

काठमाडौँ । नेपाली काङ्ग्रेसले आफ्ना नेताहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएको अस्पतालको विषयमा सरकारले कुनै निर्णय नगरेको भन्दै संसद् बैठक दुई पटकसम्म अवरुद्ध गरेपछि सूचना टाँस गरी आजको बैठक स्थगित भएको छ । प्रतिनिधिसभाको बैठक शुरु हुनासाथ काङ्ग्रेस सांसद उठेपछि सभामुख कृष्णबहादुर महराले नेपाली काङ्ग्रेसका सांसद प्रकाशमान सिंहलाई बोल्न समय दिए । प्रमुख प्रतिपक्षी दलका सांसद सिंहले मन्त्रिपरिषद्मा प्रस्ताव भएका ११ वटा अस्पतालमध्ये नेपाली काङ्ग्रेसका नेताका नाममा रहेका दुई वटा अस्पतालको विषयमा निर्णय नगरेकामा आफूहरुको गम्भीर ध्यानाकर्षण भएको बताए । सांसद सिंहले गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास अस्पताल र सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई सङ्घअन्तर्गत राख्नेगरी निर्णय भएको संसद्मा जानकारी नहुन्जेल काङ्ग्रेसले संसद् चल्न नदिने बताए । त्यस लगत्तै काङ्ग्रेस सांसदहरुले रोस्टम घेराउ गरेका थिए । सभामुख कृष्णबहादुर महराले आफूले सरकारको ध्यानाकर्षण गराइसकेको भन्दै बैठक सञ्चालनमा सघाउन पटक पटक आग्रह गर्दा पनि काङ्ग्रेसका सांसदहरु उठेर बैठक चल्न नदिएपछि सभामुख महराले पहिलो बैठक १५ मिनेटका लागि स्थगित गरे । त्यसपछि प्रतिनिधिसभाको दोस्रो बैठकमा सभामुख महराले बैठकको कार्यसूचीमा रहेको शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्न शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई समय दिए । मन्त्री पोखरेललाई समय दिनासाथ काङ्ग्रेसका सांसदहरु उठेर विरोध जनाइरहेपछि सभामुख महराले बैठक १५ मिनेटका लागि पुनः स्थगित गरे । प्रमुख विपक्षी काङ्ग्रेसले सरकारमाथि दुई तिहाइको दम्भ देखाएको आरोप लगाउँदै आफ्ना नेताद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेका अस्पताल बन्द गर्न खोजेको भन्दै काङ्ग्रेसले लगातार संसद् अवरुद्ध गरेको थियो । संसद् बैठकबाट बाहिरिँदै गर्दा पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका नेता डा बाबुराम भट्टराईले संसद्मा मुठभेडको अवस्था आउन सक्ने देखिएकाले प्रधानमन्त्री नआउन्जेल संसद् बैठक स्थगित गरिनु उपयुक्त हुने प्रतिक्रिया दिए । नेकपाका सांसद योगेश भट्टराईले बैठकमा सभामुखले मन्त्रीलाई विधेयक प्रस्तुत गर्न समय दिइरहँदा प्रमुख प्रतिपक्षी दलले तत्काल अवरोध पुर्याउन नहुने भन्दै प्रतिपक्षी दलको त्यस्तो व्यवहार उचित नभएको टिप्पणी गरे । प्रतिनिधिसभाको अर्को बैठक माघ ११ गते दिउँसो १ बजे बस्नेछ ।

संसद बैठक एक बजेपछि मात्रै, समितिहरुका बैठक एक बजेअघि नै सक्नुपर्ने

काठमाडौं, ३० कात्तिक । अबदेखि व्यवस्थापिका संसदको बैठक दिउसोँ एक बजेपछि मात्रै बस्ने भएको छ । सभामुख ओनसरी घर्ती र व्यवस्थापिका समितिका सभापतिहरुको बैठकले संसद बैठक दिउँसो एक बजेपछि मात्रै राख्ने निर्णय गरेको हो । सोही बैठकले व्यवस्थापिका संसदका बिभिन्न समितिहरुको बैठक एक बजे अघि नै सम्पन्न गर्नुपर्ने निर्णय समेत गरेको छ । यस अघि संसद र समितिका बैठकहरु एकै समयमा परेर कार्यसम्पादनमा असहजता आएको थियो । ‘अबदेखि संसद बैठक एक बजेपछि मात्रै राख्ने र समितीहरुको बैठक सो भन्दा अघि नै सम्पन्न गरिसक्ने निर्णय भएको छ’, अर्थ समितिका सभापति प्रकाश ज्वालाले विकासन्युजसँग भने । सभामुख घर्तिले मंगलबार सबै समितिका सभापतिहरुसँग संयुक्त बैठक बोलाएकी थिएन् । राज्यव्यवस्था समितिका हलमा सम्पन्न बैठकमा अर्थ, विकास, बिधायन, अन्तराष्ट्रिय श्रम सम्बन्ध समिति, सार्वजनिक सुनुवाई समिति, राज्य व्यवस्था समितिका सभापतिहरुको सहभागीता रहेको थियो । बैठकमा सभामुख घर्तीले संसद बैठकसँग समितिका बैठकहरु जुधेकोमा असन्तुष्ठि व्यक्त गरेकी थिइन भने समितिका सभापतिहरुले पनि संसद बैठक जुध्दा कार्यसम्पादनमा असहजता आएको बताएका थिए । ४१ ऐन चाँडै अघि बढाउन सहमति बैठकमा संसद तथा बिभिन्न समितिहरुमा रहेका ऐनहरु चाँडो टुंग्याएर अघि बढ्ने निर्णय समेत भएको अर्थ समितिका सभापति ज्वालाले जानकारी दिए ।‘संसद र बिभिन्न समितिमा हाल ४१ वटा ऐन रहेछन्, ती सबैलाई चाँडो अघि बढाएर पारित गराउने निर्णय भएको छ’, सभापति ज्वालाले भने । उनका अनुसार संसद र समितिहरुले एक अर्काको काममा सहयोग गर्ने निर्णय पनि गरिएको छ ।

संसद बैठक शुक्रबार १ बजेसम्मका लागि स्थगित

काठमाडौं, ६ साउन । व्यवस्थापिका संसदको बैठक शुक्रबार दिनको १ बजेसम्मका लागि स्थगित भएको छ । सरकार विरुद्धको अविश्वास प्रस्तावमाथीको छलफल अघि बढाउने वा बजेट पारित गर्ने भन्ने विवाद नटुंगीएपछि संसद बैठक शुक्रबारसम्मका लागि स्थगित भएको हो । बिहिबार दिउँसो १ बजेका लागि डाकिएको बैठक २ बजेसम्मका लागि स्थगित भएको थियो । बिहानैदेखि काँग्रेस, एमाले र माओवादी केन्द्रबिच भएको छलफलले कुनै निष्कर्ष निकाल्न नसकेपछि बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको एमाले सांसद रामकुमार भट्टराईले विकासन्युजलाई जानकारी दिए । पहिले बजेट पास गरेर अविश्वासको प्रस्ताव अघि बढाउनबारे शिर्ष नेताहरु सहमति नजिक पुगेको दावी समेत गरे । काँग्रेस र माओवादी केन्द्रले पहिले अविश्वासको प्रस्ताव अघि बढाउनु पर्ने अडान लिएका छन भने एमालेले बजेट पास नभए संसद अवरुद्ध गर्ने घोषणा गर्दै आएको छ ।