कलंकीमा पनि चल्यो गोली, ४ जना घाइते
काठमाडौं । कलंकीमा पनि गोली चलेको छ । प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेपछि प्रहरीले गोली चलाएको हो । गोली चल्दा ४ जना घाइते भएका छन् । प्रदर्शनकारीहरूले ठाउँठाउँमा आगजनी र तोडफोड गरिरहेका छन् । जेनजीहरूले सोमबार गरेको प्रदर्शनको क्रममा १९ जनाले ज्यान गुमाएका थिए । आज बिहानबाट प्रदर्शन झनै चर्को बन्दै गइरहेको छ ।
तारकेश्वरमा प्रहरी चौकी र वडा कार्यालयमा आगजनी
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । प्रदर्शनकारीहरूले तारकेश्वर–११ को वडा कार्यालय र स्थानीय प्रहरी चौकीमा आगजनी गरेको प्रहरीले जनाएको छ । ‘जेनजी’ आन्दोलनका क्रममा सोमबार प्रहरीले दमन गरेपछि आज देशभरै आन्दोलन चर्किएको छ । सोमबार भएको आन्दोलनमा १९ जनाले ज्यान गुमाएका थिए भने ४०० भन्दा बढी घाइते भएका छन् । त्यही घटनापछि आज बिहानदेखि विभिन्न स्थानमा प्रदर्शन उग्र बन्दै गएको छ ।
देउवा निवासमा प्रहरीले चलायो गोली
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा प्रहरीले गोली चलाएको छ । उनको निवासमा प्रवेश गरेका सयौं प्रदर्शनकारीले आगजनी गरेपछि प्रहरीले गोली चलाएको हो । जेनजीहरूले सोमबार गरेको प्रदर्शनको क्रममा १९ जनाले ज्यान गुमाएका थिए । आज बिहानबाट प्रदर्शन झनै चर्को बन्दै गइरहेको छ ।
देउवा निवास बुढानिलकण्ठमा पनि आगजनी
काठमाडौं । प्रदर्शनकारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा पनि आगजनी गरेको छ । प्रदर्शनकारीलाई रोक्न खोजेपनि प्रहरीलाई स्थिति नियन्त्रणमा लिन सकस भएको छ । अहिले प्रदर्शनकारीले भीआईपी नेताहरूको घरलाई टार्गेट गरेर तोडफोड तथा आगजनी गरिरहेका छन् ।
नेपाली कांग्रेसको पार्टी कार्यालयमा आगजनी
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको कार्यालयमा आगजनी भएको छ । जेनजी प्रदर्शनकारीहरूले मंगलबार कार्यालयमा पुगेर आगजनी गरेका हुन् । प्रदर्शनकारीहरूले विभिन्न नेताहरूको घर र पार्टी कार्यालयमा पुगेर ढुंगामुढा र आगजनी गरिरहेका छन् ।
जेनजी आन्दोलनमा भएको जनधन क्षतिप्रति महासंघले जनायो दुःख, शान्तिपूर्ण समाधानमा जोड
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले जेनजीको प्रदर्शनको क्रममा देशभर भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । महासंघले विज्ञप्ति जारी गर्दै प्रदर्शनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेको छ । घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत महासंघले गरेको छ । मर्यादित रोजगारी, स्वरोजगारी, सर्वसाधारण एवं उद्यमी व्यवसायीले तिरेको राजश्वको सदुपयोग लगायत विषयमा युवापुस्ताले देखाएको चासोप्रति संवेदनशील हुन नेपाल सरकार, राजनीतिक दलहरू लगायत सम्बन्धित सबैमा आग्रह गरिएको छ । मुलुकमा थप निराशा र अशान्तिको वातावरण कहीं कतैबाट पनि सिर्जना नहोस र शान्तिपूर्ण आन्दोलन र त्यस क्रममा अनावश्यक बल प्रयोग नहुनेतर्फ पनि महासंघले ध्यानाकर्षण गराएको छ । सामाजिक न्याय सहितको उच्च आर्थिक वृद्धिको वातावरण निर्माण गरेर मात्र उच्च ज्याला सहितको मर्यादित रोजगारी सम्भव रहेको महासंघको भनाइ छ । आर्थिक गतिविधि चलायमान बनाउन र मुख्य पर्यटकीय समयमा नेपालबाट सकारात्मक सन्देश विश्वभर प्रवाह गर्न सबै संयमित हुनुपर्ने समेत महासंघले बताएको छ । आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सरकार लगायत सम्पूर्ण सबै राजनीतिक दल एवं जेनजीसँग महासंघले अपिल गरेको छ ।
जेनजीको प्रदर्शनमा दिवगंत भएकालाई मेयर्स फोरमको श्रद्धाञ्जली
ललितपुर । काठमाडौं उपत्यका मेयर्स फोरमले जेनजीको प्रदर्शनमा दिवंगत भएकाहरुप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै मंगलबार उपत्यकाभित्रका पालिकामा शोक विदा दिने निर्णय गरेको छ । फोरमले एक विज्ञप्ति जारी गर्दै भदौं २३ गते काठमाडौंको वानेश्वर क्षेत्रमा भएको जेनजीको ¥याली तथा आन्दोलनका क्रममा १९ जना हताहत हुन पुगेको घटनाबाट काठमाडौं उपत्यका मेयर्स फोरम मर्माहत भएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, 'यस घटनामा दिवंगत हुनु भएकाहरुप्रति मेयर्स फोरम हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै मृतकको आत्माको चीरशान्तिको कामना गर्दछ । फोरमले शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना समेत प्रकट गरेको छ । उक्त घटनामा परि घाइते भएकाको शीघ्र स्वास्थ्य लाभको समेत फोरमले कामना गरेको छ ।'
ऊर्जामन्त्री दीपक खड्काको घरमा आगजनी, जेनजीले घरबाट पैसा निकालेर हावामा उडाए
काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काको घरमा आगजनी भएको छ । बूढानीलकण्ठमा रहेको उनको घरमा जेनजी प्रदर्शनकारीले आगजनी गरेका हुन् । खड्काको निवासबाट प्रदर्शनकारीले पैसा निकालेर हावामा उडाएको प्रत्यक्षदर्शीले बताएका छन् । जेनजीहरूले सोमबार गरेको प्रदर्शनका कारण १९ जनाले ज्यान गुमाएका थिए । आज बिहानबाट प्रदर्शन झनै चर्को बन्दै गइरहेको छ ।