विकासन्युज

राम बहादुर बम्जनलाई बलात्कारको आरोप, न्याय खोज्दै रौतहटकी किशोरी राजधानीमा

काठमाडौं । तपस्वी राम बहादुर बम्जनलाई बलत्कारको आरोप लागेको छ । सर्लाहीको पत्थरकोट जंगलमा आश्रम बनाएर बसिरहेका बम्जनलाई रौतहटकी एक किशोरीलाई बलत्कार गरेको आरोप लागेको हो । बलत्कृत किशोरी न्याय खोज्दै राजधानी आईपुगेकी छिन् । उनले बम्जनको आश्रममा बस्ने अन्य चेलीहरुको अस्मिता नलुटियोस भनेर आफु न्यायको ढोका ढकढक्याउन काठमाडौं आएको बताइन् । शनिबार राजधानीमा पत्रकार सम्मेलन गरेर किशोरीले न्याय माग्दै गर्दा बम्जनका समर्थकहरुले अवरोधको प्रयास गरेका थिए । पिडित किशोरीले आफु २०७१ साउन देखि २०७५ असार २२ गतेसम्म आश्रममा बसेको र त्यस क्रममा बम्जनबाटै आफुलाई यौन दुर्व्यवहार भएको बताइन। महिला अधिकारकर्मीको रोहबरमा पिडितलाई प्रहरीको जिम्मा लगाईएको छ । रामबहादुर बम्जन विरुद्ध प्रहरी अपराध महाशाखा ललितपुरमा बलात्कारको मुद्दा दायर गर्ने तयारी भइरहेको छ ।

अधिकांश गौरवका आयोजनाको प्रगति निराशाजनक, माथिल्लो तामाकोसी र मेलम्ची यसैवर्ष आउने

काठमाडौं । सरकारले राष्ट्रिय गौरवका रुपमा राखेका केही आयोजनाको अवस्था नाजुक पाइएको छ । पश्चिम सेती, बूढीगण्डकी जलविद्युत् आयोजना, कर्णाली करिडोर, कालीगण्डकी करिडोरको काम असाध्यै न्यून रहेको राष्ट्रिय योजना आयोगले जनाएको छ ।राष्ट्रिय विकास समस्या समाधान समितिको ४३ औँ बैठकमा विभिन्न मन्त्रालयले पेश गरेको आफ्ना निकाय मातहतका आयोजनाको यथास्थितिमा ती आयोजनाको प्रगति न्यून मात्रै नभई समस्याग्रस्त रहेको पाइएको छ । पश्चिम सेती जलविद्युत् आयोजनाको प्रवद्र्धन गर्ने भनिएको चिनियाँ कम्पनी थ्री गर्जेजसँग पटकपटकको वार्ता सफल हुन नसकेपछि विकल्प खोज्नुपर्ने अवस्था देखिएको छ । पछिल्लो पटक ऊर्जा, अर्थमन्त्रालय र लगानी बोर्ड र चिनियाँ लगानीकर्ताबीच भएको छलफल निष्कर्षमा पुग्न नसक्दा आयोजनाको भविष्य अन्यौलमा परेको छ । सो आयोजनाको भौतिक र वित्तीय प्रगति शून्यमा रहेको छ । यस्तै विगत ११ वर्षदेखि निर्माण भइरहेको हुलाकी राजमार्गको अवस्था पनि उस्तै रहेको छ । सो राजमार्गको हालसम्मको भौतिक प्रगति २५ प्रतिशत मात्रै रहेको छ । वित्तीय प्रगति भने ४१.९ प्रतिशत रहेको छ । जग्गा प्राप्ति, तथा राजमार्ग निर्माण हुने स्थानमा देखिएको प्राविधिक जटिलताका कारण आयोजनाको काम प्रभावकारी हुन सकेको छैन । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाले आयोजना प्रभावितलाई मुआब्जाा वितरण गर्नेबाहेक अरु कुनै पनि काम गर्न सकेको छैन । धादिङ र गोरखाका साविक २७ गाविसका प्रभावितलाई मुआब्जा वितरण गर्ने भनिए पनि हालसम्म सात साविक गाविसका प्रभावितलाई मात्रै मुआब्जा वितरण गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चालू आवभित्रै मुआब्जा वितरणलगायतका काम सम्पन्न गर्ने बताएको छ तर आयोजनाको भौतिक प्रगति ९.९ प्रतिशत र वित्तीय प्रगति भने १० प्रतिशत मात्रै रहेको छ । आयोजना शुरु भएको पाँच वर्ष भए पनि प्रभावकारी प्रगति हुन सकेको छैन । सरकारले सबै साधन स्रोत उपलब्ध गराउने र प्रभावकारीरुपमा तोकिएको समयमा नै आयोजना सम्पन्न गर्ने लक्ष्यका साथ २१ वटा परियोजनालाई राष्ट्रिय गौरवका आयोजनाका राखेको छ । त्यसमा १६ वटा आयोजनाको प्रगति ८० प्रतिशतभन्दा माथि रहेको छ । यस्तै दुईवटा आयोजनाको प्रगति ५० प्रतिशत माथि रहेको छ । यस्तै ५० प्रतिशत माथि रहेका आयोजनाको सङ्ख्या दुई रहेका छन् भने प्रगति नखुलेको आयोजनामा एक रहेका छन् । त्यस्तै कालीगण्डकी करिडोरको भौतिक प्रगति १० प्रतिशत मात्रै देखिएको छ । विगत नौ वर्षदेखि निर्माणमा रहेको सो आयोजना पनि जग्गा प्राप्ति, निर्माण व्यवसायीले समयमै काम गर्न नसक्दा समस्यामा परेको छ । सो आयोजनाले हालसम्म मात्रै ८.४ प्रतिशत वित्तीय प्रगति गरेको छ । कर्णाली अञ्चललाई यातायात सञ्जालमा जोड्ने लक्ष्यका साथ निर्माण भइरहेको कर्णाली करिडोरको अवस्था पनि उस्तै रहेको छ । आयोजनाको काम भइरहेको जस्तो देखिए पनि राष्ट्रिय योजना आयोगले प्रस्तुत गरेको पछिल्लो प्रतिवेदनमा सो करिडोरको भौतिक प्रगति १२ प्रतिशत र वित्तीय प्रगति ११ प्रतिशत रहेको छ । सो परियोजनासमेत विगत नौ वर्षदेखि सञ्चालनमा छ । यस्तै रेल्बे तथा मेट्रो विकास आयोजनाको प्रगतिसमेत न्यून रहेको छ । आयोगका अनुसार सो आयोजनाको वित्तीय प्रगति १३.७ प्रतिशत र वित्तीय प्रगति १४.९ प्रतिशत छ । विगत ८ वर्षदेखि सञ्चालनमा रहेको आयोजना पनि आशातित सफलता हासिल गर्न सकेको छैन । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेका केही आयोजना भने चालू आवमा नै सम्पन्न हुने चरणमा पुगेका छन् । त्यसमा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी आयोजना चालू आवमा नै सम्पन्न हुनेछ । आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार आयोजना सम्पन्न हुने मिति आगामी पुस मसान्त राखिएको भए पनि एकाध महिना बढ्न सक्छ । यस्तै विगत २७ वर्षदेखि काठमाडौँ उपत्यकावासीको प्रतिक्षा रहेको मेलम्ची खानेपानी आयोजनासमेत चालू आवमा नै सम्पन्न हुँदैछ । माथिल्लो तामाकोशीको भौतिक प्रगति ९७ प्रतिशत रहेको छ भने वित्तीय प्रगति ९९ प्रतिशत छ । यस्तै मेलम्ची खानेपानी आयोजनाको भौतिक प्रगति ८५ प्रतिशत र वित्तीय प्रगति ९५ प्रतिशत रहेको छ । राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रमको पनि भौतिक प्रगति ९० प्रतिशत रहेको छ । बबई सिँचाइ आयोजनाको भौतिक प्रगति ६० प्रतिशत रहँदा रानीजमराको ३६ प्रतिशत मात्रै प्रगति देखिएको छ । यस्तै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति ५० प्रतिशत रहेको छ । सो विमानस्थल आगामी नौ महिनाभित्र सञ्चालनमा ल्याउने तयारीमा सरकार रहेको छ । त्यस्तै पोखरा विमानस्थलको प्रगति १५ प्रतिशत रहेको छ । केही आयोजनाको प्रगति सकारात्मक रहेपनि केहीको प्रगति भने निराशाजनक रहेको छ । सम्पन्न हुन लागेका आयोजनालाई समयमै सक्न र प्रगति निराशाजनक रहेका आयोजनामा देखिएका समस्या समाधान गरेर तत्काल परिणाम निकाल्न सरकारले गम्भीरतापूर्वक लाग्नुपर्ने आवश्यकता देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भौतिक प्रगति कमजोर रहेका आयोजनाको समस्या पहिचान गरेर तत्काल निरुपण गर्न निर्देशन दिएका छन् । रासस

राम्रो काम गर्ने निर्माण व्यवसायीलाई मात्र ठेक्का दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समयमै काम सम्पन्न गर्ने निर्माण व्यवसायीलाई सरकारले पहिलो प्राथमिकतामा राख्ने घोषणा गरेका छन् । निर्धारित समयमा काम सक्ने व्यवसायीलाई सरकारले विकास निर्माणको ठेक्का दिने बताएका हुन् । नेपाल निर्माण व्यवसायी सङ्गठनले शनिबार राजधानीमा आयोजना गरेको एकता घोषणा सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले तोकिएको समयसीमाभित्रै विकास निर्माणका काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएका छन् । व्यवसायीले ठेक्का लिएर निर्धारित समयमा काम सम्पन्न नगरी आयोजना अलपत्र पर्ने क्रम बढेपछि राम्रो काम गर्नेलाई मात्र ठेक्का दिने बताएका हुन् । तोकिएको समयमा काम नगर्ने प्रवृत्तिले मुलुकको हित नगर्ने र आर्थिक समृद्धिका लागिसमेत मार्गप्रशस्त गर्न नसक्ने उनको भनाई थियो । प्रधानमन्त्री ओलीले मुलुकलाई समृद्ध बनाउने अभिभारा निर्माण व्यवसायीको काँधमा आएको उल्लेख गर्दै त्यसलाई पूरा गर्न प्रतिबद्ध भएर लाग्नसमेत निर्माण व्यवसायीलाई सचेत गराए। निर्माण व्यवसायीको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै प्रधानमन्त्री ओलीले सरकारले मुलुकको आर्थिक समृद्धिका लागि सम्पूर्ण शक्ति परिचालन गर्ने उल्लेख गरे । उनले सरकारले शुरु गरेका विभिन्न रचनात्मक कार्यहरुले गति लिने बेला आएको पनि स्पष्ट पारे । सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण व्यवसायमा रहेको कमजोरी हटाएर समयमै गुणस्तरीय काम गर्ने वातावरण बनाउन आग्रह गरे ।

रिडी हाइड्रोपावरले साढे ८ मेगावाट सोलार आयोजना बनाउने, १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ८.५ मेगावाट बिजुली सोलार प्रविधिबाट उत्पादन गर्ने भएको छ । कम्पनीले बुटवलमा सोलार आयोजना बनाएर बिजुली उत्पादन थाल्ने भएको हो । कम्पनीले सोलार आयोजना बनाउन बैंकबाट ऋण लिने भएको छ । आउदो असोज २० गते बस्ने १७ औं वार्षिक साधारणसभाबाट ऋण स्वीकृतका लागि प्रस्ताव पेश हुने रिडीले जानकारी दिएको छ । ऋण स्वीकृत भएपछि कर्जा लिने प्रक्रिया अघि बढ्ने छ । सोलार आयोजनालाई लगानी जुटाउन कम्पनीले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव स्वीकृत गर्ने छ । बोनस सेयर बाँडफाँडपछि कायम हुने चुत्तापुँजीको शत्प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने कम्पनीले जनाएको छ । कम्पनीको चुत्तापुँजी ५० करोड रुपैयाँ छ ।  हकप्रद सेयर जारीपछि कम्पनीको चुत्तापुँजी १ अर्ब रुपैयाँ नाघने छ । कम्पनीले २.५ मेगावाटकाे रिडी साना जलविद्युत अायाेजना सञ्चालन गरिरहेकाे छ ।

६ दिनपछि मध्यमोदी जलविद्युत आयोजनामा लागेको ताला खुल्यो, काम सुरु

पर्वत । स्थानीयको अवरोधका कारण अवरुद्ध भएको चौधरी ग्रुपले निर्माण गरिरहेको १५.१ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको काम छ दिनपछि सञ्चालन भएको छ ।प्रभावित क्षेत्रका स्थानीयवासीले विभिन्न माग राख्दै गत आइतबारदेखि निर्माणकार्य ठप्प बनाएका थिए । आयोजनाको कार्यालयमा तालाबन्दी गर्नुका साथै काममा समेत अवरोध गरेका स्थानीय र वार्ता टोलीबीच शुक्रबार भएको छलफलपछि निर्माणकार्य सञ्चालन गर्ने निर्णय भएको हो । आयोजनाको सुरुङ निर्माणका क्रममा बम विस्फोट गर्दा घर चर्किएको भन्दै स्थानीयवासी आन्दोलित भएका थिए । वार्तामा विभिन्न चार बुँदे सहमति भएको छ । चर्किएका घर आयोजनाका कारण हो या होइन भन्ने बारेमा भूगर्भविद् ल्याएर चेकजाँच गर्ने, अहिलेसम्म भएको क्षतिको आयोजनाले क्षतिपूर्ति दिने र भूगर्भविद्ले दिएको विवरणको आधारमा सम्भावित क्षतिको क्षतिपूर्ति आयोजनाले व्यहोर्ने र आयोजनास्थलमा निर्माण गरिएको सडकलाई आयोजनाको लागतमा स्तोन्नति गर्ने लगायतका निर्णय गरिएको आयोजनाका जनसम्पर्क अधिकृत अशोक आचार्यले जानकारी दिए । वार्तामा सरोकार समितिका संयोजक खिमबहादुर खत्री र उपाध्यक्ष भुलबहादुर पौडेल, आयोजना प्रमुख निरञ्जन राउत, जनसम्पर्क अधिकृत अशोक आचार्यलगायत मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल, प्रवक्ता विमल लामिछाने र वडाध्यक्ष विकास तिमिल्सिनालगायतको सहभागिता रहेको थियो । स्थानीयवासीले सुरुङ निर्माणका क्रममा बम विस्फोट गर्दा सुरुङमार्गको माथि पर्ने १६ घरमा क्षति भएको भन्दै उचित क्षतिपूर्तिको माग गर्दै आन्दोलन गरेका थिए । मोदी गाउँपालिका–२ देउपुरस्थित ठाना, कल्लेनी र ओख्ले प्रभावित क्षेत्रमा छन् । ती बस्तीमा ५७ घर रहेका छन् । भूकम्पले जस्तै गरी चर्किन थालेपछि आन्दोलनमा उत्रिनुपरेको सरोकार समितिका उपाध्यक्ष भुलबहादुर पौडेलले बताए। रासस

‘अप्रिलिया रोड ट्रिप’ पहिलो पटक, स्कुटीको ३५ सय किमीको टुर हुँदै

काठमाडौं । स्कुटर विक्रेता कम्पनी अप्रिलियाले नेपालको इतिहासमै पहिलो पटक अल नेपाल टुर गर्ने भएको छ । असोज १ देखि १९ गते सम्म कम्पनीले ुअप्रिलिया रोड ट्रिप’ गर्न लागेको हो । १९ जना सम्म राइडरले सहभागी जनाउने टुरमा कम्पनीको तर्फबाट १० जनाले भाग लिनेछन् भने अप्रिलिया कम्पनीको स्कुटर किन्ने व्यक्तिले व्यक्तिले समेत सहभागिता जनाउन सक्नेछन् । कार्यक्रममा अल्का अस्पताल प्राली समेत सहभागी हुनेछ । कम्पनीले प्रति व्यक्ति खर्च १ लाख लाग्ने अनुमान गरेको छ । कम्पनीले प्रतिदिन २५० देखि ३ सय किलोमिटरको यात्रा गर्ने लक्ष्य लिएको छ । भ्रमण टोलीमा मेडिकल टोली मेकानिकल टोली समेत सहभागी हुनेछन् । भ्रमणको कुल दुरी ३५ सय किलोमिटर रहेको छ । कम्पनीले अप्रिलिया स्कुटर अफ रोडका लागि समेत रहेको योग्य रहको दाबी गरेको छ ।

१९ हजार ९९९ रुपैयाँ तिर्नुस्, बजाज डिस्कभर बाइक चढ्नुस्

काठमाडौं । नेपालमा सर्वाधिक बिक्री हुने मोटरसाइकल ब्रान्ड बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले बजाज डिस्कभरमा न्यूनतम डाउनपेमेन्ट स्कीम शुरु गरेको छ । यस स्कीम अन्तर्गत बजाज डिस्कभर खरिद गर्दा अब मात्र १९ हजार ९९९ रुपैयाँको न्यूनतम डाउनपेमेन्ट तिरे पुग्ने कम्पनीले जनाएको छ । खरिदकर्ताले हुलास इन्भेष्टमेन्ट प्रालिबाट फाइनान्समा सजिलै बजाज डिस्कभर खरिद गरी सरल किस्ताबन्दीको फाइदा लिन सक्नेछन् । चाडपर्वको बेला बजाज डिस्कभर खरिद चाहनेलार्इ लक्षित गरी यो न्यूनतम डाउनपेमेन्टको सेवा प्रदान गरिएको कम्पनीले जनाएको छ ।

बीमा कम्पनीको तलब, सुविधा र बोनस बीमा कम्पनी कै हातमा

काठमाडौं । बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईले बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सहित सबै कर्मचारीको तलब, सुविधा र बोनस निर्धारण गर्ने तथा वितरण गर्ने सबै अधिकार सम्बन्धित बीमा कम्पनीलाई नै प्रदान गरिएको बताएका छन् । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको नयाँ कार्यालय उद्घाटन कार्यक्रमपछि सो कम्पनीको कर्मचारी र सञ्चालकहरुलाई सम्बोधन गर्दै उनले भने- ‘तपाईहरुको तलब, सुविधा र बोनस यति हुनुपर्छ भनेर बीमा समितिले भनेको छैन । तपाईहरुको मिहेनत अनुसार, तपाईहरुले आफैले निर्धारण गरेअनुसार हुनेछ । तपाईले नै बनाएको आर्थिक विनियमावली बीमा समितिले स्वीकृत गर्छ । विनियमावली अनुसार काम भए नभएको मात्र बीमा समितिले जाँच गर्छ ।’ बीमा समितिले कम्पनीहरुको सुशासनलाई विशेष जोड दिएको उनले बताए । कम्पनी ऐन, बीमा ऐन, बीमा समितिले जारी गरेको निर्देशनहरु र कम्पनी आफैले बनाएको प्रबन्धपत्र, नियमावली अनुसार कम्पनी चलाउन उनले आग्रह गरे । ‘व्यवसाय सकेसम्म धेरै गर्नुहोस्, बीमा समितिले सहयोग गर्छ । व्यवसाय कम भयो भनेर बीमा समितिले कारवाही गर्दैन । तर कम्प्लायन्स पाटो ठिक छैन भने बीमा समितिले छोड्दैन’ उनले भने । नेपाल इन्स्योरेन्सले पुरानो भवन भत्काएर नयाँ भवन बनाउने क्रममा कमलादीस्थित हामा कम्प्लेक्समा केन्द्रीय कार्यालय स्थान्तरण गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले जानकारी दिए । नेपालको पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनीले व्यवसाय थालेको ७२ वर्ष भएको छ । १८ पटक सगरमाथा आरोहण गरेको सहासी आरोही निमा गोम्बु शेर्पाको घरको बीमा गरेर नयाँ कार्यालयबाट बीमा पोलिसी बिक्री शुरुवात गरिएको नायव महाप्रबन्धक बिक्रान्त पाण्डेले जानकारी दिए । कम्पनीले ३३ शाखा र २४ वटा बीमा सेवा काउन्टरबाट सेवा प्रदान गर्दै आएको छ ।