दशै तथा तिहारका लागि रेनोका ‘शुभलाभ’ स्किम
काठमाडौं । रेनोको लागि नेपालको आधिकारी वितरक एड्भान्स अटो मोवाइल कम्पनीले दशै तिहार चार्डपर्व अफर घोषणा गरेको छ। कम्पनीले ‘रेनो शुभलाभ’ स्किम संचालनमा ल्याएको हो । यस स्किममा ग्राहकले थुप्रै फाइदा लिन सक्नेछन् । यो स्किम दशै तथा तिहारलाई मुख्य लक्ष्य बनाएर सार्वजनिक गरिएको हो । ‘रेनो शुभलाभ’ लाई शुभ र लाभबाट लिइएको हो, जसले राम्रो र समृद्धीलाई बुझाउँछ । यस योजनामा रेनोका ग्राहकले नगद छुट, फ्रि इन्सयोरेन्स, १ वर्षको फ्रि रोड ट्याक्स, स्पटफाइनान्स सुविधा, तत्काल पुराना गाडी भ्यालुएसन र एक्स्चेन्ज सुविधा रहेको छ । यो स्किम रेनोको रेनो डस्टर, रेनो क्याप्चर र रेनो क्विडमा लागु हुनेछ ।
विद्युत प्राधिकरणले काठमाडौँमा २२० केभी प्रसारणलाइन बनाउने, लागत १५ अर्ब
काठमाडौ । काठमाडौँ उपत्यकामा विद्युत् आपूर्ति प्रणाली सुधार गर्न दीर्घकालीन लक्ष्यसहित नेपाल विद्युत् प्राधिकरणले उच्च क्षमताको प्रसारण प्रणाली बनाउने भएको छ । प्रसारण प्रणालीलाई काठमाडौँ उपत्यकका प्रसारण ‘रिङ’ नाम दिइएको छ । आगामी दिनमा हुने विद्युत् मागको व्यवस्थापनका लागि उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लालाई समेट्ने गरी २२० केभी डबल सर्किट प्रसारणलाइनको रिङ निर्माण गर्न लागिएको हो । हाल उपत्यकामा १३२/६६ र ६६/११ केभी प्रसारण लाइनमार्फत विद्युत् आपूर्ति भईरहेको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले निर्माण गर्ने बाहिरी चक्रपथसँगै प्रसारणलाइन पनि निर्माण गरिने प्राधिकरणले जनाएको छ । बाहिरी चक्रपथसँगै बन्ने प्रसारणलाइनको लम्बाइ ७५ किलोमिटर र आयोजनाको अनुमानित लागत १५ अर्ब रुपैयाँ अर्थात १५ करोड अमेरिकी डलर छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एक÷दुई वर्षभित्रमै उपत्यकामा विद्युत आपूर्ति गर्न अहिलेको संरचनाले धान्न गाह्रो हुने भएकाले उच्च क्षमताको प्रसारण लाइन र सबस्टेसन निर्माण काम अगाडि बढाइएको जानकारी दिए । सो लाइनसँगै उपत्यकाका तीन जिल्लामा २२०/१३२ र १३२/११ केभी क्षमताका एक÷एक वटा सबस्टेसनसमेत निर्माण गर्ने तयारी छ । “बढ्दो सहरीकरणले उपत्यकामा जग्गा अधिग्रहण गर्न ज्यादै जटिल रहेकाले बाहिरी चक्रपथसँगै प्रसारण लाइन निर्माण गर्ने योजना अगाडि सारिएको हो”, कार्यकारी निर्देशक घिसिङले भने। प्राधिकरणअन्तर्गतको आयोजना व्यवस्थापन निर्देशनालयले आयोजनाको अध्ययन शुरु गरेको छ । लगानीका लागि एशियाली विकास बैंकलाई अनुरोध गर्ने योजना प्राधिकरणले बनाएको छ । चरम समस्याका रुपमा रहेको विद्युत् कटौती अन्त्य भएपछि काठमाडौँ उपत्यकामा विद्युत्को माग बढ्दै गएको छ । प्राधिकरणको विद्यमान संरचनाले माग र आपूर्तिको सन्तुलनलाई धान्न सक्दैन । अहिलेको प्रसारण तथा वितरण लाइन क्षमता कम तथा जीर्ण रहेकाले विद्युत् ट्रिपिङ हुने, ट्रान्सफर्मर जल्नेलगायतका समस्या व्यहोरिरहेको छ । दोलखामा निर्माणाधिन ४५६ मेगावाटको माथिल्लो तामाकोसीसहित त्यस क्षेत्रमा निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ उपत्यकामा भित्र्याउन प्राधिकरणले अहिले खिम्ती–बाह्रबिसे ४००/२२० केभी प्रसारण लाइन निर्माण गरिरहेको छ । यसका लागि काठमाडौँको लप्सीफेदीमा २२०/१३२ केभी र भक्तपुरको चाँगुनारायणमा १३२/११ केभीको सबस्टेसन निर्माण गर्न लागिएको प्राधिकरणले जानकारी दिएको छ । काठमाडौँ उपत्यकाको विद्युत् आपूर्तिमा सुधार गर्न महत्वपूर्ण मानिएको थानकोट–चापागाउ–भक्तपुर १३२ केभी प्रसारणलाइन आयोजना करीब २० वर्षदेखि अलपत्र छ । ललितपुरका चापागाउँवासीसँग मुआब्जा र क्षतिपूर्तिमा सहमति जुट्न नसक्दा प्रसारणलाइनको निर्माण अवरुद्ध भएको हो । थानकोट–चापागाउँ–भक्तपुर प्रसारण लाइनको काठमाडौँ र भक्तपुरतर्फको निर्माण सकिएको छ । तर मुआब्जामा चापागाउँवासीसँग सहमति जुट्न नसक्दा ललितपुरमा पर्ने करीब १५ किलोमिटर लाइन निर्माण हुन सकेको छैन । आयोजनाको काम आर्थिक वर्ष २०५५÷५६ मा शुरु भएको थियो । यसले गर्दा पनि उपत्यकाको विद्युत् आपूर्तिमा समस्या छ । आयोजना र स्थानीयवासीबीच १३२ केभीको प्रसारण तारमुनि पर्ने नौ मिटर दायाँ र नौ मिटर बायाँको अधिकार क्षेत्र राइट अफ वेमा पर्ने जग्गाको मुआब्जामा सहमति हुन सकेको छैन । स्थानीय बासिन्दाले प्रसारण लाइनको बाटो नै परिवर्तन गर्नुपर्ने माग गर्दै आएका छन् । प्राधिकरणले सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने औद्योगिक क्षेत्र तथा करिडोरका लागि नियमित विद्युत् आपूर्तिका लागि उच्च क्षमताका लाइन बनाउने योजना बनाई सोहीअनुसार काम गरिरहेको छ । नयाँ प्रसारण प्रणालीको निर्माणपछि काठमाडौँ उपत्यकाका नागरिकले मागेभन्दा बढी विद्युत् उपलब्ध गराउन सकिने प्राधिकरणको भनाइ छ । आगामी वर्षदेखि नै बढी विद्युत् खपत गर्न उपभोक्तालाई आग्रह गर्नुपर्ने अवस्था छ । सोही स्थितिलाई ध्यानमा राखेर प्रसारण प्रणालीमा सुधार गर्न लागिएको हो । रासस
ग्लोबल आइएमई बैंक गुल्मीमा
काठमाडौं। ग्लोबल आइएमई बैंकले मगंलबार थप २ वटा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ। बैंकको शाखारहित बैंकिङ्ग सेवासंख्या १०२ पुगेको छ । बैंकले गुल्मी जिल्लाको गुल्मी दरबार गाउँपालिका वडा नं. ६ चारपलामा १०१ औँ र सोही गाउँपालिकाकै वडा नं. १ बलिथुममा आफ्नो १०२ औँ शाखा रहित बैंकिङ्ग सेवासुरु गरेको हो। उक्त दुवै शाखा रहित बैंकिङ्ग सेवाको उद्घाटन जनप्रतिनिधि, बुद्घिजीवि तथा स्थानीयवासीहरुको रोहवरमा गरिएको छ । चारपलामा खोलिएको शाखा रहित बैंकिङ्ग सेवाको लागि स्थानीय नारायणप्रसाद अर्याल र बलिथुममा खोलिएको सेवाको लागि स्थानिय उत्तम पुनलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ ।यी दुई शाखारहित बैंकिङ्ग सेवा ग्लोबल आइएमई बैंकको गौंडाकोट शाखा अन्तर्गत रहने छन् । शाखा रहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले आफ्नो गाउँमै स्थानिय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्न डीसहाेमा, सीडीएमए र युटीएलकाे महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवा लिन सक्नेछन् । कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यि क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आइएमईले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो ।
साल्ट ट्रेडिङ कर्पोरेशनले नेपाल बनस्पत्ति घिउ र मोरङ सुगर मिल्स सञ्चालनमा ल्याउने
काठमाडौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले बन्द अवस्थामा रहेका २ वटा ठुला उद्योग सञ्चालनमा ल्याउने भएको छ । कर्पोरेशनले बन्द रहेको नेपाल वनस्पति घ्यू उद्योग लिमिटेडलाई सञ्चालनमा ल्याउने तयारी थालेको छ । असोजको अन्तिमसाताबाट तोरीको तेल उत्पादन गर्ने लक्ष्य लिएको छ । कर्पोरेशनले विराटनगरस्थित मोरङ सुगर मिल्स लिमिटेड र कृषि औजारहरु खरीद गरी उखुखेतीलगायत अन्य खेतीमा आधुनिकरण गर्न शुरु गरेको जनाएको छ । कर्पोरेशनको ५६ औं वार्षिकोत्सका अवसरमा बुधबार राजधानीमा आयोजना कार्यक्रममा बन्द अवस्थामा रहेका २ उद्योग सञ्चालनमा ल्याउने जानकारी दिइएको हो । कर्पोरेशनले बिक्री वितरण गर्दै आएको आयोडिनयुक्त नुनको प्रयोग गर्ने घर परिवारको सङ्ख्या ९१ प्रतिशत माथि पुगेको छ । नेपाल नुनलाई आयोडिनयुक्त गर्ने विश्व संस्थाको सदस्य राष्ट्र हो । सो संस्थाले आयोडिनयुक्त नुनको प्रयोग ९० प्रतिशत भन्दामाथि बनाउने लक्ष्य निर्धारण गरेको छ । सन् १९८५ मा नेपालमा आयोडिनयुक्त नुनको अभावले लाग्ने गलगाँड रोगीको सङ्ख्या ४४।२ थियो । यो सङ्ख्या सन् २००७ मा शुन्यमा झरेको थियो । सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री मातृका यादवले कर्पोरेशनलाई आगामी दिनमा सेवामूलक संस्थाको रुपमा विकसित गर्नुपर्ने खाँचो औँल्याए। “कर्पोरेशनले आफ्नो उद्देश्यअनुसार आम जनतालाई सुपथ एवं सहज रुपमा गुणस्तरीय उपभोग्य वस्तु बिक्री वितरण गर्ने कार्य राम्रो छ, आगामी दिनमा अझ प्रभावकारी बनाउन जरुरी छ ”, उनले भने। कर्पोरेशन सञ्चालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरले सार्वजनिक निजी साझेदारीमा सञ्चालनमा रहेको कर्पोरेशनले नाफामूलकभन्दा सेवामूलक व्यापारमा जोड दिएको बताए। कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उर्मिला श्रेष्ठले आउदो दशै, तिहार र छठ पर्वलाई ध्यानमा दिई सबै प्रदेशमा सुपथ मूल्यका पसलमार्पmत दैनिक उपभोग्य वस्तु बिक्री वितरण गर्ने जानकारी दिइन् । कर्पोरशनले स्थापना गरेको बालहितकारी पुरस्कार यस वर्ष मानव सेवा आश्रम भरतपुर चितवनलाई प्रदान गरियो । सो पुरस्कारको राशि ७५ हजार रुपैयाँसहित सम्मानपत्र रहेको छ । आश्रमका जिल्ला संयोजक रामजी अधिकारीले पुरस्कार ग्रहण गर्दै सस्थाले विभिन्न कारणले सडक पेटीमा आउन बाध्य भएका बालबालिकालाई सडकपेटीबाट उठाई सेवा गरिराखेको बताए। यस वर्षको हेमबहादुर मल्ल उत्कृष्ट सेवा पुरस्कार रश्मी श्रेष्ठ अधिकृतस्तर र लक्ष्मण गजुरेल काठमाडौँलाई प्रदान गरियो । प्रमााणपत्र सहित सो पुरस्कारको राशि क्रमश २५ हजार र २० हजार रुपैयाँ छ । ईश्वरलाल श्रेष्ठ उत्कृष्ट सेवा पुरस्कार अधिकृतस्तरमा पंकज जोशी, सहायकस्तरतर्फ केशवमान श्रेष्ठ र बद्रीमान महर्जनलाई प्रदान गरियो । सो पुरस्कारको राशि क्रमश ३५ हजार , ३० हजार र २५ हजार रुपैयाँ छ । रासस
दशैंमा मोटरसाइकल किन्दै हुनुहुन्छ ? यस्ता छन् कम्पनीहरुको योजना, ५ हजारदेखि १ लाखसम्म छुट
काठमाडौं । मोटरसाइकल नेपालमा सबैभन्दा लोकप्रिय सवारीसाधन हाे । कुल ३२ लाख सवारीसाधन मध्ये मोटसाइकलको संख्या मात्रै२५ लाख ३२ हजार पुगिसकेको छ । भृकुटीमण्डप मंगलबारबाट सुरु भएको नाडा–अटो शाेमा पनि मोटरसाइकल कम्पनीहरुले मेला र दशैंलाई लक्षित गरी आक्रामक योजनाहरु ल्याएका छन् । धेरै जसो कम्पनीहरुले मेला र दशैलाई एउटैै योजना लागू गरको बताएका छन् । योजनामा कम्पनीहरुले न्युनतम् ४ हजारदेखि १ लाख रूपैयाँसम्मको नगद छुटको व्यवस्था गरेका छन् । नेपालमा हाल बजाज, हिरो, होण्डा, टिभिएस, रोयल इन्फिल्ड, यामाहा, सुजुकी, बनेली, एस डब्लु जेड लगायत कम्पनीहरुले मोटरसाइकलहरु बिक्री गरिरहेका छन् । यसबीचमा केहि नयाँ कम्पनीहरुका्े पनि नेपाली बजारमा आगमन भएको छ । यस्ता छन् कम्पनीहरुको योजनाहरु बजाज बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले ‘बजाज पकेट फुल’ नामक ग्राहक योजना ल्याएको छ । कम्पनीले दशैं–तिहारको अवसरमा ग्राहकहरुको पाकेट भर्नको लागि उक्त योजना ल्याएको हो । यो योजनामा बजाजको कुनै पनि मोटरसाईकल खरिद गर्दा एउटा स्क्र्याच कार्ड पाइने छ । जसको एउटा भागमा स्क्र्याच गर्ने ठाउँ हुनेछ भने अर्को भागमा पाकेट फुल साप्ताहिक लक्की ड्र कुपन रहनेछ । स्क्र्याच कुपनबाट तत्कालै ग्राहकले ६ हजारदेखि १ लाख रुपैयाँसम्मको नगद छुट पाउन सक्ने कम्पनीले जनाएको छ । योजना अवधिभर साप्ताहिक पाकेटफुल लक्की ड्र कुपन मध्येबाट हरेक हप्ता लक्की ड्र गरि एकजना भाग्यशाली विजेताको घोषणा गरिनेछ । जसले पाकेटफुल कार्यक्रममा गई पाकेटफुल गर्ने मौका पाउने छन् । साप्ताहिक पाकेट फुल कार्यक्रममा विजेताले तोकिएको समय भित्र बढीभन्दा बढी पैसारुपी कुपनहरु समातेर आफ्नो पाकेटहरु फुल गर्नुपर्नेछ, सोही कुपन बराबरको रकम विजेतालाई प्रदान गरिनेछ । टीभीएस जगदम्बा अटो ग्रुपले आफ्नो मोटरसाइकलहरु बिक्री गर्न दशैं र तिहार विषेश योजना ल्याएको छ । टीभीएस मोटरसाइकल किन्ने प्रत्येक व्यक्तिले सुरुमै ७ हजार रुपैंया छुट हुनेछ । यसैगरी लक्की ड्र मार्फत १० जनाले १० हजार र १ जनाले १ लाख रूपैयाँसम्म नगद जित्न सक्नेछन् । केटीएम केटिएम ड्युकले आफ्नो ६ वटा उत्पादनहरुमा छुटको योजना ल्याएको छ । मेलामा मोटरसाइकल किन्ने वा बुकिङ गर्नेले ५ हजार छुटको व्यवस्था गरेको छ । दशैं योजनापछि सार्वजनिक गर्ने कम्पनीले तयारी गरेको छ । होन्डा होन्डा मोटरसाइकल कम्पनीले हाल स्कुटर र मोटरसाइकल गरेर २८ प्रकारका सवारी बिक्री गर्दै आएको छ । यस कम्पनीले कुपन मार्फत ४ हजारदेखि १ लाख रूपैयाँसम्म नगद छुटको व्यवस्था गरको छ । यसैगरी सर्भिसिङ र अन्य पार्टस पुर्जामा विषेश छुटको योजना ल्याएको छ । हिरो हिरो मोटरसाइकलले हाल नेपालमा स्कुटर र मोटरसाइकल गरि २१ वटा उत्पादनलाई नेपाली बजारमा बिक्री गरिरहेको छ । कम्पनीले मेला र दशैं योजनाका लागि विशेष कुपनको व्यवस्था गरेको छ । जसअनसार मोटरसाइकलमा ६ हजारदेखि १ लाख रूपैयाँसम्म र स्कुटरमा ८ हजारदेखि १ लाख रूपैयाँसम्म छुटको योजना रहेको कम्पनीकी सेल्स म्यानेजर लता मानन्धरले जानकारी दिइन् । रोयल इन्फिल्ड ७ प्रकारको उत्पादन रहेको रोयल इन्फिल्ड कम्पनीले पनि दशैं योजना अफर ल्याएको छ । कम्पनीको उपहार योजना अन्तर्गत मोटरसाइकल खरिद गर्ने व्यक्तिले हेल्मेट र लेगगार्ड निशुल्क प्राप्त गर्नेछ । यसैगरी २ जनाले त्रिशुली र्याफ्टिङको टिकट प्राप्त गर्नेछन् । एस डब्लु एम भर्खरै मात्र नेपाली बजारमा आएको एस डब्लु एम मोटरसाइकलले आफ्नो उत्पादनहरुमा ५० देखी ८० हजारसम्मको विभिन्न सामाग्रीहरु निशुल्क प्रदान गर्नेछ ।
मंगलबारदेखि शुरू भएकाे नाडा अटो शाेकाे झलकहरु
काठमाडौं। नाडा अटो शाे २०१८ मंगलबारबाट सुरु भएको छ। ६ दिनसम्म चल्ने अटो शोमा १९ ब्राण्डका चार पाङ्ग्रे तथा २० ब्राण्डका दुई पाङ्ग्रे सवारी साधनहरु राखिएका छन्। आयातकर्ता डिलर, उत्पादक तथा विक्रेता गरी यस बर्ष ७१ कम्पनीको सहभागिताका साथै सानाठूला गरी १३४ वटा ब्लक तथा स्टलहरु रहका छन्। अटो शोमा सवारी साधनका साथै नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस्, लुब्रिकेन्टस्, टायर, ग्यारेज उपकरण, ब्याट्री तथा अन्य एसोसेरिजहरु राखिएका छन्। प्रदर्शनीस्थलमा जानका लागि विद्यार्थीलाई १५० रुपैयाँ र बाँकीका लागि २०० रुपैयाँ प्रवेश टिकट मूल्य रहेको छ।
सेयर बजार दोहरो अंकले बढ्यो, सबैभन्दा बढी एनआईसी एशिया बैंकको कारोबार
काठमाडौं । पछिल्लो समयमा सेयर बजार निरन्तर बढ्न थालेको छ । बुधबार सेयर बजार १३ अंक बढेर नेप्से परिसुचक १ हजार २३१ अंक नजिक पुगेको छ । बजार बढेपछि बुधबार ४३ करोड २९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, बीमा र लघुवित्त समूहको सेयर मूल्य बढेको छ । बुधबार एनआईसी एसियाको सबैभन्दा बढी सेयर कारोबार भएको छ । बैंकको प्रतिकित्ता ४०८ रुपैयाँमा ५ करोड १३ लाख १५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । एनआईसी एसिया बैंकको सेयर मूल्य बढ्न थालेको छ । बैंकको ब्याजदर घटेको र अनलाइन ट्रेडिङ पुर्ण रुपमा कार्यन्वयनमा आउन लागेकाले यसको असर बजारमा परेको लगानीकर्ता छोटेलाल रौनियार बताउछन् । विकासन्युजसंग कुरा गर्दै उनले भने “बजार अब बढ्छ घट्दैन ।” उनले पछिल्लो समयमा लगानीकर्ताको विश्वास बढेको बताए ।
टाटाको गाडी किन्नुस् ५ लाखकाे हिराको हार लिनुस
काठमाडौं। नाडा अटो शोको अवसरमा टाटा मोटर्सको अधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले गाडी किन्नेलाइ ५ लाख रुपैयाँको हिराको हार उपहार दिने घोषणा गरेको छ । अटो शोमा गाडी खरिद गरे बापत ग्राहकले ५ लाख रुपैयाँसम्मको हिराको हार वा ३ लाख ५० हजार रुपैयाँसम्मको खरिद छुट पाउने कम्पनीले जनाएको छ । सबै प्रकारका गाडी बुकिङ्मा १ वर्षको बीमा सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ ।