विकासन्युज

एनसेलसँग ६१ अर्ब कर असुल्न विदेशी कम्पनीको खोजी सुरु

काठमाडौं । एनसेलको सम्पति दायीत्व मूल्यांकन(डीडीए) गर्न विदेशी कम्पनीको खोजी सुरु भएको छ । नेपाली कम्पनीहरुले एनसेलको डीडीए गर्न आवेदन नदिएपछि ठूला करदाता कार्यालयले विदेशी कम्पनीको खोजी सुरु गरेको हो । कार्यालयले असोज २६(अक्टोबर १२) तारिख भित्र एनसेलको डीडीए गर्न इच्छुक विदेशी कम्पनीहरुले आवेदन दिन सक्ने व्यवस्था गरेको छ । डीडीए वापतको सबै खर्च ठूला करदाता कार्यालयले नै व्यहोर्नेछ । कार्यालयले २०७२ साल चैत २९ गते अघिको डीडीए गराउन लागेको हो । डीडीएपछि एनसेलको सेयर खरिद बिक्री तथा सम्पति र दायित्वको एकिन मूल्यांकन भएर कर असुलीमा सघाउ पुग्ने बताइएको छ । एनसेल खरिद बिक्रि प्रकरणमा करिब ६१ अर्ब रुपैंयाँ पुँजीगत लाभकर छलिएको ठूला करदाता कार्यालयको ठम्याई रहेको छ । एनसेलको सेयर स्वामित्व टेलियासोनोराले आजियटालाई बेच्दा पुँजीगत लाभकर छलि भएको थियो । अफसोर कारोबार गरेर कर छली भएपछि ठूला करदाता कार्यालयले सम्पति दायित्व मूल्यांकन मार्फत असुली प्रक्रिया अघि बढाएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले नै एनसेलको डीडीए गरेर पुँजीगत लाभकर गणना गरि असुली प्रक्रिया अघि बढाईसकिएको बताएका छन् ।

भन्सार छलेर नेपाल ल्याउँदै गरेको बाह्र करोडको सामाग्री बरामद

काठमाडौं। नेपाल प्रहरीले भन्सार छलेर नेपाल ल्याउँदै गरेको रु ११ करोड ९५ लाख ५२ हजार बराबरको सामग्री बरामद गरेको छ । प्रहरीले वैशाखदेखि साउनसम्मको अवधिमा विभिन्न भन्सार नाकाबाट भन्सार छलेर नेपाल ल्याउँदै गरेको उक्त सामग्री बरामद गरेको हो । प्रहरीले विभिन्न शीर्षकमा रु ३८ करोड ९७ लाख ११ हजार राजश्व सङ्कलन गरेको छ । गत वर्ष वैशाखदेखि साउनसम्मको अवधिमा रु ३१ करोड ८९ लाख सात हजार राजश्व सङ्कलन भएको प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिए। सो अवधिमा ६ लाख ११ हजार ३०६ सवारीसाधनका धनी र चालकलाई कारबाही गरिएको छ । गत वर्षको चार महिनामा पाँच लाख २६ हजार ६६४ सवारीसाधनका धनी तथा चालकलाई कारबाही गरिएको थियो । प्रहरीले चार महिनामा एक हजार ९१९ किलो गाँजा बरामद गरेको छ । गत वर्ष सो अवधिमा ७०६ किलो गाँजा बरामद गरेको थियो । यस्तै चरेश ३४० किलो, हिरोइन दुई किलो र अफिम ११ किलो बरामद गरेको छ । प्रहरीले विभिन्न प्रकारका अवैध हातहतियार १०३ थान र गोली १६९ थान बरामद गरेको छ । गत वर्षको चार महिनामा हातहतियार ७५ थान र गोली ८६ थान बरामद गरिएको थियो । प्रहरी प्रवक्ता क्षेत्री गत वर्षको तुलनामा यस वर्ष आपराधिक गतिविधि बढेको बताउँछन्। “प्रहरीको सक्रियता त बढेकै छ, तर सँगसँगै आपराधिक क्रियाकलाप गर्नेको सङ्ख्यासमेत बढेको पाइयो”, उनले बताए। चार महिनाको अवधिमा दुई हजार १८१ प्रहरीको बढुवा, २४ हजार ६१३ प्रहरीको सरुवा, एक हजार ३५३ प्रहरी पुरस्कृत तथा ४९५ प्रहरीलाई सजाय दिइएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मन्त्रालयबाट जारी गरेका गृह प्रशासन सुधार योजनामा समावेश ८२ बुँदे प्राथमिकता तथा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सङ्गठनलाई मजबुद तथा विश्वसनीय बनाउनका लागि जारी गरेको १० बुँदे प्राथमिकतालाई आधार मानेर काम गरेका कारण प्रहरीले ठूलो सफलता प्राप्त गरेको प्रवक्ता क्षेत्री बताउँछन्। चार महिनाकै अवधिमा आपराधिक क्रियाकलापमा संलग्न नेपाल कम्युनिष्ट पार्टी (विप्लव) तथा सिके राउत समूहका १५८ जनालाई पक्राउ गरिएको छ। रासस

बेनी अस्पताल महिनौँदेखि प्रशासनिक र व्यवस्थापकीय रुपमा नेतृत्वबिहीन

काठमाडौं। सदरमुकामस्थित बेनी अस्पताल महिनौँदेखि प्रशासनिक र व्यवस्थापकीय रुपमा नेतृत्वबिहीन अवस्थामा छ । यसबाट अस्पतालको गतिविधि र सेवा प्रवाह प्रभावित बनेको छ। प्रदेश सरकार र अस्पताल विकास समितिले नेतृत्व चयनमा ध्यान नदिँदा अवस्था भद्रगोल बन्न पुगेको हो । बेनी अस्पतालका प्रमुख डाक्टर रोशन न्यौपानेको दुई महिना अघि स्वास्थ्य मन्त्रालयमा सरुवा भएको छ । उनको सरुवा पछि मन्त्रालयले अर्को कर्मचारी पठाएको छैन् । बेनी अस्पताल विकास समितिका पूर्व अध्यक्ष माधवप्रसाद रेग्मी अस्पतालको समस्या बढ्दै गएको बताउँछन् । हाल मेडिकल अधिकृत भुषण सुवेदीलाई अस्पतालको निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ । कार्यालय प्रमुख नहुँदा आर्थिक गतिविधि ठप्प छ । कर्मचारी र स्वास्थ्यकर्मीले काम गर्न अटेर गर्न थालेका छन । अस्पतालका स्रोत साधनको दुरुपयोग हुन थालेको छ । निगरानी र नियन्त्रण नहुँदा सेवा प्रवाह कमजोर बन्न थालेको सर्वसाधारणको गुनासो छ । नेतृत्वको अभावमा काम गर्न कठिनाइ भएको मेडिकल अधिकृत बिराट शर्माले बताए। “दरबन्दीअनुसार चिकित्सक नहुँदा काम गर्न समस्या भएको छ”, उनले भने, “प्रदेशको विभागीयमन्त्री र सङ्घीय मन्त्रालयलाई जानकारी गराए पनि सुनुवाइ भएको छैन ।” आर्थिक विषयमा निमित्तलाई निर्णय गर्ने अधिकार नहुँदा एम्बुलेन्ससमेत मर्मत गर्न सकिएको छैन । उपकरण र जनशक्ति तयार भए पनि नेतृत्वको अभावमा डायलाइसिस सेवा शुरु गर्न ढिलाइ भएको छ । रघुगङ्गा गाउँपालिका–३ पिप्ले घर भई हाल अष्ट्रेलियामा बसोबास गर्दै आउनुभएका माधव सुवेदीका परिवारले अस्पताललाई रु २० लाखभन्दा बढी मूल्य पर्ने दुई थान डायलाइसिस उपकरण उपलब्ध गराएका छन्। जनशक्तिको व्यवस्था र उनीहरूलाई तालीमसमेत दिएर डायलाइसिस सेवा शुरु गर्ने तयारी गरे पनि नेतृत्व गर्ने व्यक्ति नहुँदा अन्योलता भएको अस्पतालका चिकित्सक नवराज बास्ताकोटीले बताए। तीन वर्षअघि पचास शय्यामा स्तरोन्नति भएको अस्पतालमा चार मेडिकल अधिकृत र नौ विशेषज्ञ चिकित्सको दरबन्दी छ । हाल दुई मेडिकल अधिकृत र एक विशेषज्ञ चिकित्सक मात्र कार्यरत छन् । दुई मेडिकल अधिकृत अम्बालिका शाक्य र हेमा जोशी अध्ययन बिदामा छन् । हालै स्वास्थ्य मन्त्रालयबाट सरुवा भएका तीन चिकित्सक काज मिलाएर पोखरा बसेको अस्पताल प्रशासनले जनाएको छ । रेडियोलोजिष्टको अत्तोपत्तो छैन। रासस

सेन्ट्रल फाइनान्सको संस्थापक हकप्रद सेयर लिलामीमा, असोज १२ गते अन्तिम दिन

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडको संस्थापक हकप्रद सेयर लिलामी हुने भएको छ । फाइनान्सको ४ लाख ५६ हजार ३०८ कित्ता हकप्रद सेयर लिलामी हुन लागेको हो । लिलामीका बोलपत्र पेश गर्न सुरु मिति असोज ४ गतेदेखि १२ गतेसम्म रहेको छ । न्युनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्ने निष्कासन तथा बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ ।

स्वरोजगार लघुवित्तको साधारणसभा असोज २० मा, २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गर्ने

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिका साधारणसभा असोज २० गते हुने भएको छ । १० औं वार्षिक साधारणसभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस दिने प्रस्ताव पारित गर्नेछ । गत आर्थिक वर्षमा गरेको नाफाबाट संस्थाले २ करोड ४४ लाख ९९ हजार रुपैयाँ बराबरको बोनस सेयर दिने भएको छ । सभाले चुत्तापुँजी र जारी पुँजी बढाउने प्रस्ताव पनि पारित गर्ने छ । सभामा ३ जना सञ्चालकको निर्वाचन हुने प्रस्ताव गरिएको छ ।

एनआईसी एसिया बैंकको ऋणपत्रमा माग भन्दा बढी आवेदन, बुधबार लगानी गर्ने अन्तिम दिन

काठमाडौं । एनआईसी एसिया बैंकको ऋणपत्र बुधबारसम्म मात्र खुला हुने भएको छ । माग भन्दा बढी आवेदन परेपछि बैंकले आज बुधबारसम्म मात्र खुला गरेको जानकारी दिएको छ । बैंकले वार्षिक ११ प्रतिशत ब्याज दिने गरी भदौ २१ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १ हजार रुपैयाँ दरका ३६ करोड ६० लाख रुपैयाँ बराबरको ३ लाख ६६ हजार कित्तिा ऋणपत्र निष्कासन गरेको थियो । निष्कासन बन्द छिटोमा बुधबारसम्म तोकिएको छ । बैंकले धितोपत्र बोर्डबाट १ अर्ब ८३ करोड रुपैयाँ बराबरको १८ लाख ३० हजार कित्ता ऋणपत्र निष्कासन गर्न स्वीकृति पाएको छ । ऋणपत्र निष्कासन बन्द छिटोमा भदौ २५ र ढिलोमा असोज १९ गतेसम्म तोकिएको थियो । निष्कासन तथा बिक्री प्रवन्धक नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । न्युनतम २५ देखि अधिकतम १ लाख ८३ हजार कित्तासम्म आवेदन दिने पाइने छ ।७ वर्ष अवधिको यस ऋणपत्रमा बार्षिक ब्याज दर ११ प्रतिशत तोकिएको छ भने अर्धवार्षिक रुपमा व्याज भुक्तानी गरिने बैंकले जनाएको छ ।

बैंक/बीमाको तालिम र डाटा संकलन गर्न ५ करोडको कम्पनी, असोज २ गते वृहत सम्मेलन

काठमाडौं । बैंक तथा वित्तिय संस्था र बीमा कम्पनीहरुमा जनशक्ति अभावको कथा पुरानै हो । अहिले पनि चार पाँच वटा भन्दा बढी बीमा कम्पनीहरु प्रमुख कार्यकारी अधिकृतको पर्खाईमा छन् । बैंकहरुले पनि दक्ष जनशक्ति नपाईरहेका बताईरहेकै छन् । अर्कातिर बजारमा अध्ययन गरेर बसेको ठूलो जनशक्तिले रोजगारी नपाएको गुनासो गरिरहेको छ । बजारको आवश्यकता र रोजगारीको खोजीमा रहेका जनशक्तिहरुबीचको खाडल पुर्नका लागि बैंकिङ फाइनान्स तथा इन्स्योरेन्स इस्टिच्युट अफ नेपाल(बिएफआइएन) स्थापना भएको छ । केहि बाणिज्य बैंक, केहि विकास बैंक, केहि फाइनान्स कम्पनी तथा माइक्रोफाइनान्स कम्पनीसँग मिलेर इमर्जिङ नेपालले बिएफआइएन स्थापना गरेको हो । ५ करोड चुक्ता पुँजीमा स्थापना भएको कम्पनीले आगामी असोज २ गते काठमाडौंमा बैंक तथा वित्तिय सस्ंथाः उदियमान चुनौती, अवसर र जोखिम बिषयममा सम्मेलनको आयोजना गर्दैछ । सो सम्मेलनमा बंगलादेशको केन्द्रिय बैंकका पुर्व गभर्नर डा. अतिउर रहमान, भारतीय सर्वाेच्च अदालतका बरिष्ठ अधिवक्ता डा. सतिश चन्द्र र बाश्याम रेंगानाथले बिशेष सम्बोधन गर्नेछन् । सो सम्मेलनम बैंक तथा वित्तिय संस्था तथा बीमा कम्पनीका उच्च व्यवस्थानको सहभागीता रहने बिएफआईनका अध्यक्ष डा. बिनोद आत्रेयले बताए । कम्पनीले बैंक तथा वित्तिय क्षेत्रका लागि आवश्यक जनशक्तिको उत्पादन, जोखिम न्युनिकरणका उपायहरुको खोजी, कर्मचारीको क्षमता अभिवृद्धि, बैंक तथा वित्तिय संस्था र बीमा क्षेत्रको डाटा सेन्टरको स्थापना गर्ने अध्यक्ष आत्रेयले बताए । सम्मेलनकै दिन कम्पनीको उद्घाटन गरिनेछ । आत्रेय अध्यक्ष रहेको कम्पनीमा एनआइसी एसिया बैंकका तर्फबाट सुदिप खनाल, ग्लोबल आइएमई बैंकबाट भवानी ढकाल, नेपाल इन्भेष्टमेन्ट बैंकका तर्फबाट दिपक श्रेष्ठ र महालक्ष्मी विकास बैंकका तर्फबाट दिपेश लम्साल सञ्चालक रहेका छन् । सम्मेलनमा बैंकिङ क्षेत्रको चुनौती, अवसर र जोखिम, भारतमा मर्जर तथा एक्विजिसनको अभ्यास, वित्तिय समावेशीकरण तथा दिगो विकासका लक्ष्यका बिषयमा कार्यपत्र प्रस्तुत हुनेछ ।

गाडी किन्न सस्तोमा कर्जा पाइँदैन :अर्थमन्त्री

काठमाडौ । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले सवारी साधन खरिदका लागि भनेर सहुलियत कर्जा प्रवाह गर्न नसक्ने बताएका छन् । नाडा अटो मोबाइल्स डिलर्स एसोसियसनको आयोजनामा भृकुटीमण्डपमा मंगलबारदेखि शुरु भएको ‘नाडा अटो सो’ तथा प्रदर्शनी शुभारम्भ गर्दै उनले सस्तोमा कर्जा दिन नसक्ने बताएका हुन् ।   सर्वसाधरणले आम्दानी गरेर सक्षम भएपछि मात्र सवारी साधन खरिद गर्नुपर्नेमा उनको जोड थियो। देशमा नयाँ प्रकारका सवारी साधन आयात भइरहेको र धेरै सवारी साधन बिक्री हुँदा राजश्व सङ्कलनमा पनि वृद्धि हुने जानकारी दिँदै उनले भने, “सवारी साधन अहिले पनि विलासीे वस्तु हो, यसमा लाग्ने भन्सारका साथै अन्य कर छुट गर्न सकिँदैन, यसबाट प्राप्त हुने रकमले सडक, पूर्वाधार तथा सामाजिक विकासका परियोजना सञ्चालन गर्नुपर्छ ।” विद्युतीय सवारी साधन, ठूला सार्वजनिक सवारी साधनको आयात तथा कर भने छुट गर्न सकिने उनको भनाइ थियो । मन्त्री खतिवडाले सवारी साधनलाई आवश्यक पर्ने विभिन्न पार्टस् पूर्जा स्वदेशमै उत्पादन गर्ने गोरखकाली रबर उद्योगजस्ता संस्थालाई सहयोग र सहुलियत उपलब्ध गराइने बताए। लगानीसम्बन्धी कानून निर्माण अन्तिम चरणमा रहेको बताउँदै उनले दुईतिहाइ राजश्व देशको आन्तरिक स्रोतबाट सङ्कलनबाट हुन सकेमा मात्र आयातित वस्तुमा कायम रहेको करमा केही कमी गर्न सकिने जानकारी दिए। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले मुलुकको समृद्धिका लागि उत्पादनशील क्षेत्रमा लगानी गरी रोजगारको क्षेत्र वृद्धि गर्नुपर्ने बताउँदै त्यसका लागि सरकारले निजी क्षेत्रसँग समन्वय गर्नुपर्नेमा जोड दिए । सोही सङ्घका उपाध्यक्ष उमेशलाल श्रेष्ठले प्रत्येक वर्ष नयाँ ब्रान्डका दुईपाङ्ग्रे र चारपाङ्ग्रे ठूला सवारी साधन आयातले देशमा व्यापार घाटा बढ्दै गएकाले स्वदेशमा नै यसको उत्पादन हुनसक्ने वातावरण तयार गर्नुपर्ने बताए । एसोसियसनका सदस्य निराकार श्रेष्ठले यस क्षेत्रले मुलुकको राजश्वमा करीब १७ प्रतिशत योगदान पु¥याएकोे जानकारी दिँदै यसमा लाग्दै आएको २५६ प्रतिशत करमा पुनःविचार गर्नुपर्ने माग गरे। यही भदौ ३१ गतेसम्म चल्ने प्रदर्शनीमा करीब ६० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । यसैबीच टिभीएस मोटर कम्पनीले सुपर प्रिमियम मोटरसाइकल ‘टिभीएस अपाचे आर आर ३१०’ आज सार्वजनिक गरेको छ । रासस