लाभकर असुल्ने पत्र फिर्ता हुन्न, १५ दिन कुर्नुसः राजश्व सचिव ढुंगाना
काठमाडौं । अर्थ मन्त्रालयका राजश्व सचिव शिशीर ढुंगानाले बोनस सेयर र हकप्रद सेयरको कारोबारमा लाभकर असुल्ने निर्णय फिर्ता नहुने स्पष्ट पारेका छन् । विकासन्युजसँग कुरा गर्दै सचिव ढुंगानाले अध्ययन समितिको निर्णय नआउँदासम्म कर असुली जारी रहने बताएका हुन् । ‘१५ दिन कुर्नुस, छलफल गरौं अनि निचोड निकाल्छौं भनेर लगानीकर्तालाई भनेका छौं’, ढुंगानाले भने । मन्त्रालयले सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा १५ दिने म्याद तोकेर लाभकरबारे अध्ययन गर्न समिति बनाएको छ । सोही समितिले दिने प्रतिवेदनका आधारमा बोनस तथा हकप्रद सेयरको कारोबारमा लाभकर लगाउने वा नलगाउने निर्णय गर्ने मन्त्रालयको तयारी छ । समितिमा मन्त्रालयको राजश्व महाशाखा प्रमुख रामशरण पुडासैनी, आन्तरिक राजश्व बिभागका महानिर्देशक बिष्णुप्रसाद नेपाल, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) र सिडिएस क्लियरिङ हाउस लिमिटेडका प्रतिनिधी समेत सदस्य रहनेछन् । उनीहरुले विद्यमान कानुनी प्रावधान र नेपालको पूँजी बजारमा त्यसले पार्ने प्रभावका बारेमा अध्ययन गर्नेछ । समितिले सेयर बजारका लगानीकर्ता र जानकारहरुसँग आवश्यक छलफल समेत गरेर प्रतिवेदन तयार पार्नेछ ।
कर असुल्ने निर्णय फिर्ता नभएसम्म आन्दोलन रोकिन्नः लगानीकर्ता
काठमाडौं । बोनस र हकप्रद सेयरमा लाभकर असुल्ने पुर्व निर्णय फिर्ता नभएसम्म लगानीकर्ताहरुले आन्दोलन नरोक्ने स्पष्ट पारेका छन् । इन्भेष्टर्स फोरमका महासचिव राजन लम्सालले आन्तरिक राजश्व विभागले काटेको पत्र फिर्ता नभएसम्म आन्दोलनका कार्यक्रम नरोक्ने स्पष्ट पारेका हुन् । उनले भने–अध्ययन समिति गठन भयो भन्ने अनौपचारिक खबर आएको छ, हामी छलफल गर्न सक्छौं तर कर असुल्ने पत्र फिर्ता नभएसम्म आन्दोलनका कार्यक्रम भने रोकिन्नन’, लम्सालले भने ।
मेहनत गर्ने विद्यार्थीका लागि जापान अति नै राम्रो छ- राजु भट्टराई
नेपाली विद्यार्थीलाई जापान गएर अध्ययन गर्ने कार्यमा परामर्श दिने र सहयोग गर्ने कन्सल्टेन्सी हो – इजारा जापनिज ल्याङ्ग्वेज स्कुल । जसलाई विगत केहि वर्ष जापानमै अध्ययन गरेर स्वदेश फर्किएका उत्साहि युवा राजु भट्टराईले सफल रुपमा सञ्चालन गरिरहेका छन् । प्रस्तुत छ इजाराका सञ्चालक तथा प्रिन्सिपल राजु भट्टराईसँग विकासन्युजका राजाराम न्यौपानेले गरेको कुराकानी । राजु भट्टराई, सञ्चालक/प्रिन्सिपल, इजारा जापनिज ल्याङ्ग्वेज स्कुल सामान्य भन्दा अलि फरक किसिमको नाम कसरी जुराउनुभयो कन्सल्टेन्सीको ? हाम्रो कन्सल्टेन्सीले जापानको मात्र काम गर्छ । हामीले नामाकरण गर्दा जापनिज नाम नै दिन खोजेका थियौं र त्यसै अनुरुप इजारा नाम राखेका हौँ । के कारणले नेपाली विद्यार्थी जापान जान रुचाउँछन् ? जापान संसारकै विकसित राष्ट्रहरुमध्येको एक राष्ट्र हो । जापानको अध्ययन व्यवहारिक छ । पढाइमा मध्यमवर्गको विद्यार्थीहरुले पनि डकुमेन्टेशन राम्रोसँग गरेको खण्डमा जापानको भिषा प्राप्त गर्न सकिने भएकोले नेपाली विद्यार्थीहरुको जापानप्रति आकर्षण बढेको पाइन्छ । जापान अध्ययन गर्न गएका विद्यार्थीहरुले कस्ता अवसर पाउँछन् ? नेपाली विद्यार्थीहरुका लागि चुनौती सँगसँगै अवसरहरु पनि प्रशस्त भएको देश हो जापान । विद्यार्थीहरुले जापान बसाइको क्रममा उच्च शिक्षा सँगसँगै त्यहाँका पुर्वाधार, नीतिनियम, संस्कार लगायत विभिन्न पक्षहरुको वारेमा देख्ने, भोग्ने र जान्ने अवसर प्राप्त गर्न सक्छन् । जापानमा विदेशी विद्यार्थीहरुले हप्तामा २८ घण्टा पार्टटाइम जब गर्दै अध्ययनलाई निरन्तरता दिन सक्छन् । युनिभर्सिटी लेभलसम्मको अध्ययन पूरा गरेपछि स्वदेश फर्केर पनि प्रशस्त अवसरहरु प्राप्त गर्न सक्छन् । नेपालबाट अध्ययन गर्न जाने विद्यार्थीका लागि के चुनौती छ ? सर्वप्रथम जापान अध्ययन गर्न जाने विद्यार्थीहरुको लागि भाषागत रुपमा दक्ष हुनसक्नु नै नेपाली विद्यार्थीहरुका लागि प्रमुख चुनौति रहँदै आएको छ । त्यसैगरी भिषा आवेदन दिने क्रममा विद्यार्थीहरुले पूरा गर्नुपर्ने कागजि प्रक्रियाहरु पनि अन्य देशको तुलनामा अलि कठिन साबित हुन सक्छ । जापानले त्यस्ता कागजातहरुको अत्यन्त सुक्ष्म तरिकाले अध्ययन गर्ने हुनाले गलत किसिमले बनाइएका वा आवश्यक मापदण्ड नपुगेका डकुमेण्टहरुबाट आवेदन दिँदा भिषा रिजेक्ट भएका प्रशस्त उदाहरण हरु छन् । त्यसैगरी जापान पुगिसकेपछि पनि नेपाली विद्यार्थीहरुका लागि नितान्त फरक ठाउँ, भेषभुषा, भाषा, संस्कृति जस्ता कारणले सुरुका केहि दिनहरुमा ससाना चुनौतिहरु आइपर्न सक्दछन् । जापान अध्ययन गर्न जाँदा कति खर्च लाग्छ ? नेपाली विद्यार्थीहरु सामान्यतया जापान जाँदा १ वर्षको फि तिरेर जाने गर्दछन् जुन करिव ७ लाख रुपैयाँको हाराहारीमा हुने गर्दछ । त्यस्तै स्कुलको आ–आफ्नो नियमअनुसार होस्टेल फि तिरेर जानुपर्ने हुन्छ । होस्टेल फि १ वर्षको लगभग ३ लाख रुपैयाँको हाराहारीमा लाग्न सक्छ । तपाईंको जानकारीमा जापानबाट कति प्रतिशत विद्यार्थी नेपाल फर्किएका छन् र फर्किएर आएकाले के गरिरहेका छन् ? नेपालबाट जापान अध्ययन गर्न गएका विद्यार्थीहरु यतिनै प्रतिशत नेपाल फर्किएका छन् भन्ने जानकारी चाहिँ मलाई छैन तर पनि जापानमा सिकेको शिप र मेहनत गर्न सक्ने बानीको सदुपयोग गर्दै स्वदेशमा विभिन्न पेशा तथा व्यावसाय गरेर सफल भइरहेको उदाहरण प्रशस्त रुपमा पाउन सकिन्छ । नेपालका विद्यार्थी विदेश अध्ययन गर्न जाँदा नेपालले चाहिँ के प्रतिफल पाउँछ ? अहिले तत्कालिन रुपमा भन्ने हो भने विद्यार्थी भिषामा जापान मात्र नभई कुनैपनि देश अध्ययन गर्न जानु भनेको आर्थिक रुपमा नेपाललाई घाटा नै हो । किनकी विदेशमा उच्चशिक्षा हासिल गर्न जाने क्रममा धेरै ठूलो धनराशी नेपालबाट बाहिरिने गर्दछ । तर पनि केहि वर्षपछि नेपालका विद्यार्थीहरुले विदेश गएर सिकेका सिप र ज्ञानलाई नेपाल भित्र्याउनेछन् भन्ने दृष्टिकोणबाट हेर्दा भने चिन्ता लिनुपर्ने खासै केहि देखिँदैन । विद्यार्थीहरुले इजाराबाट नै किन जापान पढ्न जाने ? हामीले धेरै विद्यार्थीहरु पठाइसकेका छौँ । म आफै पनि जापान बसेर आएको हुँ । त्यहाँको वातावरण, कानुन अनि स्कुलको अवस्था एकदमै राम्रोसँग बुझेको छु । हामिले अहिलेसम्म जति विद्यार्थी पठायौं उनिहरुबाट पनि राम्रो प्रतिक्रिया प्राप्त भएको छ । यता उनीहरुका अभिभावकहरु पनि ढुक्क हुनुहुन्छ । हाम्रोमा पढेका विद्यार्थीहरु भाषागत रुपमा पनि अत्यन्तै सवल छन् । तपाईंहरुले कस्तो कोर्ष वा पुस्तक पढाएर जापान पठाउने गर्नुभएको छ ? हामीले मिन्ना नो निहेन्गो पुस्तकको १ देखी २५ लेसनसम्म पढाएर पठाउने गरेका छौँ । त्यसमा बेसिक लेबलका कुराहरु पढाइ हुन्छ । यसले विद्यार्थीलाई सामान्य कुराहरुमा समस्या पर्न दिँदैन । विद्यार्थीले जापान गएर फेरी माथिल्लो लेभलको भाषाको अध्ययन गर्नुपर्ने हुन्छ । जापान अध्ययन गर्न जाने सोच बनाएका विद्यार्थीहरुका लागि के सुझाव दिनुहुन्छ ? यदि कोही विद्यार्थी जापान अध्ययन गर्न चाहिरहेको छ भने उसले पहिला सहि परामर्श दिन सक्ने कन्सल्टेन्सीको छनौट गर्नुपर्ने हुन्छ । त्यसपछि राम्रोसँग भाषा अध्ययन गर्न जरुरी छ । यति गर्न सकेको खण्डमा मात्र उसले जापानमा गएर अध्ययन गर्ने आफ्नो सपना लाई विना कुनै झन्झट नै साकार पार्न सक्छ । वास्तवमा मेहनत गर्ने विद्यार्थीका लागि जापान अति नै राम्रो छ ।
बोनस र हकप्रद सेयरमा लाभकर प्रकरणः उत्तरकुमार खत्रीको नेतृत्वमा अध्ययन समिति
काठमाडौं । अर्थ मन्त्रालयले बोनस सेयर र हकप्रद सेयरमा लाभकर असुल्ने निर्णयमाथि अध्ययन गर्न एक समिति गठन गरेको छ । मन्त्रालयले मंगलबार वित्तिय व्यवस्थापन महाशाखाका प्रमुख तथा सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा अध्ययन समिति बनाएको हो । समितिमा मन्त्रालयको राजश्व व्यवस्थापन महाशाखाका प्रमुख तथा सहसचिव रामशरण पुडासैनी, आन्तरिक राजश्व विभागका महानिर्देशक बिष्णुप्रसाद नेपाल, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र सिडिएस क्लियरिङ हाउस लिमिटेडका प्रतिनिधी सदस्य रहनेछन् । समितिले आगामी १५ दिनभित्र अध्ययन प्रतिवेदन बुझाउने समय पाएको मन्त्रालयका प्रवक्ता झक्कप्रसाद आचार्यले जानकारी दिए । समितिले आवश्यकता अनुसार सेयर बजारका लगानीकर्तालाई समेत बोलाएर छलफल गर्नेछ । लाभकरको विरोध गर्दै लगानीकर्ताले मंगलबार सेयर कारोबार ठप्प पारेपछि सरकारले समिति गठन गरेर सम्बोधनको प्रयास गरेको छ ।
आइएमई लाइफ इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र मुक्तिनाथ विकास बैंकबीच बैंकस्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा इन्स्योरेन्सका तर्फबाट निमिक्त महाप्रबन्धक दिनेश अमात्य र मुक्तिनाथ विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रदयुमन पोख्ररेलले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात सर्वसाधारण तथा बैंकका ग्राहकहरुले बैंकको कुनै पनि शाखाबाट छिटो छरितो र सहज रुपमा इन्स्योरेन्सको जीवन बीमा गराउन सक्नेछन् । हाल आइएमई लाइफ इन्स्योरेन्सले हाल ५० स्थानबाट विभिन्न शाखा मार्फत सेवा प्रदान गर्दै आएको छ । साथै, विभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ । कम्पनीले सामान्य सावधिक, बालशिक्षा, आजिवन, नगदर्फिता, साढे तीन गुणा रक्षावरण, अग्रीम भुक्तानी तथा आजीवन लगायतका बीमा योजना ल्याएको छ ।
बीमा समितिका निमित्त कार्यकारी निर्देशक श्रीमान् कार्कीले असार १ देखि अवकास पाउने
काठमाडौं । बीमा समितिका निमित्त कार्यकारी निर्देशक श्रीमान कार्की असार १ गतेदेखि सेवा निवृत्त हुने भएका छन् । ५८ बर्षे उमेर हदका कारण कार्की सेवा निवृत्त हुन लागेका हुन् । कार्की हाल बीमा समितिका अध्यक्षपछि दोश्रो वरियतामा कार्यरत छन् । उनले बीमा समितिको कम्पनी सचिवको जिम्मेवारी समेत सम्हालिरहेका छन् । बीमा समितिमा अध्यक्षपछि कार्यकारी निर्देशलाई शक्तिशाली मानिन्छ । कार्यकारी निर्देशक नै बीमा समितिमा कर्मचारी तर्फको उपल्लो पद हो ।
युनिग्लोव कलेजमा स्वास्थ्य शिविर सम्पन्न, करिब १७५ पाउण्डको रक्तदान
काठमाडौं । युनिग्लोव कलेजको आयोजनामा वृहत स्वास्थ्य शिवीर तथा उद्यमशिलता प्रदर्शनी सम्पन्न भएको छ । उक्त स्वास्थ्य शिविरमा रक्तदान, आँखा शिविरको साथ साथै दन्त शिविरको पनि आयोजना गरियो । कार्यक्रममा यस कलेजका बीबीए र एमबीएमा अध्ययनरत विद्यार्थी, शिक्षक, कर्मचारी, अविभावक तथा समुदायका व्यक्तित्वहरुबाट रक्तदान एवं स्वास्थ्य जाँच गरिएको छ । कार्यक्रममा झण्डै १७५ पाउण्डको हाराहारिमा रक्तदान भएको कलेजले बताएको छ । कार्यक्रममा झण्डै ४०० जनाको आँखा परीक्षण गरियो भने ३८० जनाको दन्त जाँच गरिएको छ । सो कार्यक्रममा समाज डेन्टल हस्पिटल तथा दृष्टी आँखा अस्पतालको चिकित्सकहरुको उपस्थिति रहेको थियो । त्यसैगरि, युनिग्लोव कलेजकै प्रांगणमा बृहत उद्यमशिलता प्रदर्शनी गरियो र जस अन्तर्गत एमविएमा अध्ययनरत विद्यार्थीहरुद्धारा १४ वटा भन्दा बढी व्यवसायहरु सञ्चालन गरि सो व्यवसायको स्टल राखि प्रदर्शनी गरिएकाे थियो । कलेजले विद्यार्थीमा उद्यमशिलताको भावना र यस प्रतिको सोच विकास गर्ने हेतुले राष्ट्रसेवामा विद्यार्थीका विभिन्न व्यपार व्यवसायहरु मार्फत राज्यलाई टेवा पुगोस् भन्ने अभिप्रायले उक्त कार्यक्रमको आयोजना गरिएको क्याम्पस प्रमुख डा.नर बहादुर बिष्टले जानकारी गराएका छन् । विद्यार्थीहरुलाई व्यवसायप्रति प्रोत्साहान स्वरुप कलेज मार्फत १० हजार ऋण प्रति व्यवसाय प्रदान गरिएको कलेजद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
ग्लोबल आइएमई बैंकका ग्राहकलाई स्टार अस्पतालमा विशेष छुट
काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकले स्टार अस्पतालमा उपचार गराउँदा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । मंगलबार दुई संस्थाबीच भएको सम्झौता अन्तर्गत बैंकका ग्राहकले अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा छुट पाउने भएका हुन् । बैंकले आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले अस्पतालसँग दुईपक्षीय सम्झौता गरेको हो । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट बजार व्यवस्थापन एंव व्यवसाय प्रर्वद्धन विभाग प्रमुख गणेश अवस्थी र स्टार अस्पतालका प्रबन्ध निर्देशक डा. शाहिल रुपाखेतीले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतापश्चात स्टार अस्पतालमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट प्रिभिलेज क्रेडिट कार्ड, डेबिट÷क्रेडिट कार्ड लिएका बैैंकका ग्राहक तथा ग्राहकका परिवार, बैंकका कर्मचारी र कर्मचारीका परिवारले अस्पतालले प्रदान गर्ने सेवामा सो मात्राको छुट पाउने छन् । हाल बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजनाहरु ल्याईरहेको छ ।