विकासन्युज

वैशाख २८ गते प्रदेश नं. २ मा सार्वजनिक बिदा

महेन्द्रनगर, धनुषा, २० वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउने दिन वैशाख २८ गते प्रदेश नं। २ मा सार्वजनिक बिदा दिने निर्णय गरेकोे छ । प्रदेश नं २ मन्त्रिपरिषद्को आज बसेको बैठकले भारतीय प्रधानमन्त्री मोदी आउने दिन प्रदेशस्तरीय सार्वजनिक बिदा दिने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव हरि फुयाँलले जानकारी दिए। जनकपुरमा सम्बोधन गर्ने भारतीय प्रधानमन्त्री मोदीको कार्यक्रममा सरकारले प्रदेशभित्रका आठवटै जिल्लाबाट ५० हजार मानिस सहभागी गराउने निर्णय गरेको छ । बैठकले दुई वटा थप विधेयक बनाउने विषयमा सैद्धान्तिक सहमति दिने निर्णयसमेत गरेको छ । नीति आयोग गठन तथा कार्य आदेश विधेयक र प्रदेश प्रकृतिक स्रोत व्यवस्थापन विधेयक बनाउने विषयमा सैद्धान्तिक सहमति दिने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । रासस

‘मानसखण्ड’ ग्रन्थ अब नेपाली भाषामा, धर्म संस्कृति र प्रण इतिहास अनुसन्धानको लागि उपयुक्त

काठमाडौं । संस्कृत ग्रन्थ स्कन्द पुराण अन्तर्गतको मानसखण्ड नेपाली भाषामा प्रकाशित भएको छ । महर्षि वेदव्यासले संस्कृतमा लेखेको यस ग्रन्थमा नेपालको सुदूरपश्चिम र भारतको उत्तराखण्डका प्राग ऐतिहासिक धार्मिक स्थलहरुको विस्तृत विवरण छ । अद्वैत वेदान्ताचार्य रामचन्द्र शर्मा पौडेल ‘रम्घाली’ र शास्त्री, प्रधानाचार्य लक्ष्मीकान्त जोशी रेग्मीले अनुवाद गरेका हुन् । साथै, यस ग्रन्थको सम्पादन र हिन्दी भाषामा अनुवाद ठाकुरदेव सिंह विष्ट राजकीय स्नातकोत्तर महाविद्यालय, नैनीतालको संस्कृत विभागका पूर्व अध्यक्ष आचार्य गोपालदत्त पाण्डेले गरेका छन् । विष्णुप्रसाद खत्रीको अध्यक्षतामा स्थापित रामप्रसाद स्मृति प्रतिष्ठान, बझाङ प्रकाशक रहेको उक्त ग्रन्थ बुधबार(बैशाख १९ गते) आयोजित एक समारोहमा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले सार्वजनिक गरेका हुन् । भारत वर्षको कूर्माञ्चल (उत्तराखण्ड) र नेपालको सुदूर पश्चिमका प्रागऐतिहासिक, सांस्कृतिक र धार्मिक स्थलहरु र भूगोलको युगौं पुरानो विस्तृत विवरण समेटिएको यो ग्रन्थबाट विभिन्न राष्ट्रको सीमा सम्बन्धी जानकारी लिन सकिन्छ । नेपाल र भारतबीचको कालापानी सीमा विवाद समाधान गर्नका लागि पनि यो पौराणिक ग्रन्थ आधार बन्न सक्छ । धर्म संस्कृति र प्रण इतिहासको अनुसन्धानको लागि यो ग्रन्थ अत्यन्त उपयोगी हुनेछ । मानसखण्डमा हजारौं पहाड, तिनबाट निस्केका नदी, त्यहाँ रहेका तीर्थस्थलहरु, पहाडका गुफा, ओढार, तपश्यागर्ने ठाउँ, समथलभूमिका बस्ती र धार्मिक स्थलहरुको विस्तृत विवरण यसमा छ । यसमा वैदिक पुराणका सारभूत कुराहरु पनि समेटिएको छ । रामप्रसाद स्मृति प्रतिष्ठान, बझाङले विभिन्न सामाजिक कार्य अन्तर्गत निःशुल्क न्याय सेवा दिने जेहेन्दारहरुलाई छात्रवृति प्रदान गर्ने बझाङ जिल्लामा धर्मशाला निर्माण गरेको छ भने क्षेत्रिय स्थरमा कानून विदहरुलाई पुस्कृत र सम्मान समेत गर्दछ यस ग्रन्थको बिक्रीबाट हुने आम्दानीबाट बझाङ जिल्लामा पुस्तकालय निर्माण गर्ने योजना राखेको छ ।

साझा र मयुर सहित २१० कम्पनीको ५५ हजार सवारी शुक्रबार सडकमा, कति सवारीसाधन ग्यारेजमा ?

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आन्दोलनका विरुद्ध निजी क्षेत्रका व्यसायीले शुक्रबार सडकमा गाडी गुडाउने भएका छन् । महासंघको आन्दोलनलाई निस्तेज पार्न निजी क्षेत्रबाट स्थापना भएका २१० कम्पनीका ५५ हजार भन्दा बढी सार्वजनिक सवारी सडकमा गुड्ने भएका हुन। महासंघले पुर्वनिर्धारित कार्यक्रमअनुसार आफ्नो मातहतमा रहेका सबै सवारी घर तथा ग्यारेजमा थन्काउने भएपछि सिन्डिकेटको विरोधमा रहेका यातायात कम्पनीले सवारी चलाउन लागेका हुन् । नेपाल राष्ट्रिय यातायात सर्वोच्च महासंघका अध्यक्ष विष्णु शिवाकोटीका अनुसार महासंघको मातहतमा रहेका सबै सवारी सञ्चालन हुनेछन् । “हामीले पनि सरकारसँग ६ बुँदे माग राखेका छौं, त्यसका लागि २५ गतेसम्म समय दिएका छौं,”तर त्यो भन्दा अघिसम्म सवारी सञ्चालन गर्नेछौं,” शिवाकोटीले विकासन्युजसँग भने । सर्वोच्च महासंघले पञ्जिकरण, २० वर्ष पुराना गाडी र सर्वोच्चको सुनुवाईलाई आधार मानेर ६ बुँदे माग यातायात मन्त्रीसँग राखेका छन् ।यसैगरी बामपन्थी यातायात व्यवसायीहरुले समेत यस आन्दोलनमा सहभागी नहुने जनाइसकेको छ । व्यवसायीहरुको छाता संगठनहरु गणतान्त्रिक यातायात व्यवसायी संगठन र नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनले वार्ताबाटै सबै समस्याको समाधान गनुपर्नेमा जोड दिएका छन् । यो हिसाबले हेर्ने हो भने झन्डै १ लाख भन्दा धेरै सार्वजनिक सवारी सञ्चालनमा आउने देखिन्छ । हाल देशभर करिब २ लाख सार्वजनिक सवारी सञ्चालमा रहेका छन् । नयाँ सञ्चालनमा आएका व्यवसायीहरुले पनि सवारी सञ्चालन गर्ने बताइसकेका छन् । साझाको ३९ र मयुर यतायातको २४ ठुला बस सहित बन्दको बेलामा पनि सेवा दिने बताइसकेका छन् ।यस्तै गृहमन्त्रालयले पनि सवारी नियम उल्लङघन गर्ने व्यवसायीलाई कडा कारबाही गर्ने चेतावनी दिइसकेको छ । उता नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ पुर्वनिधारित कार्यक्रम अनुसार नै आन्दोलनमा जाने तयारी गरेको छ । महासंघको सचिव सरोज सिटौलाले बैशाख २१ गते सबै सार्वजनिक सवारी घर तथा ग्यारेजमा थन्काइने जानकारी दिए । “सरकारले एकतर्फी रुपमा आफ्नो कुरा मात्र लादेको छ, यातायातका निर्देशिका तथा नियामावली संशोधन गर्दा कुनैपनि यातायात व्यवसायीसँग छलफल गरिएन यसको विरुद्धमा हामी अझ कडा आन्दोलनमा जानेछौं,”सिटौलाले भने । सिण्डीकोटको पक्षमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसियसन र ढुवानी व्यवसायी महासंघ नेपाल महासंघले चरणबद्ध आन्दोलनको घोषणा गरेका थिए । नेपाल आयल निगम लिमिटेड पेट्रोलियम ट्याङकरले ढुवानी सेवा बन्द गरे अनुमतिपत्र रद्ध गर्ने चेतावनी दिएको छ ।

जनता बैंकको ईलाम शाखाबाट कारोबार शुरु, शाखा संख्या १०८ पुग्यो

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले ईलाम शाखाबाट कारोबार शुरु गरेको छ । बिहीबार(आज)बाट सञ्चालनमा आएको यस शाखा बैंकको १०८ औं शाखा हो । यस शाखाबाट आधुनिक बैंकिङ्ग सेवाका साथै रेमिटेन्स सेवा र बैंक्यासुरेन्स सेवा लिन सकिने छ । यस शाखाबाट ताप्लेजुङ शाखाका ग्राहकहरुका साथै यस पयर्टकीय क्षेत्रमा यात्रा गर्ने ग्राहकहरुले समेत थप सेवा प्राप्त गर्न सक्नेछन् । ईलाम नगरपालिका तथा आसपासमा रहेका उद्यमी, व्यवसायी तथा सर्वसाधारणमा सहज बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले यस स्थानमा नयाँ शाखा खोलिएको हो । यस सँगै बैंकको शाखा सञ्जाल १०८ पुगेको छ भने बैंकले ३३ शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।

वैदेशिक रोजगार व्यवसायी सम्पति सुद्धिकरणमा, राजश्व सचिव भन्छन्-‘कुरा ओपन सेक्रेट छ’

काठमाडौं । वैदेशिक रोजगार व्यवसायीहरु सम्पति सुद्धिकरणमा पर्ने भएका छन् । सरकारले अनधिकृत रुपमा सम्पति आर्जन गरेको आरोपमा वैदेशिक रोजगार व्यवसायीहरुको सम्पति सुद्धिकरण गर्न लागेको हो । नेपाल उद्योग बाणिज्य महासंघले बिहिबार आयोजना गरेको पुर्व बजेट छलफलमा राजश्व सचिव शिशिर ढुंगानाले सो कुराको रहस्योद्घाटन गरेका हुन् । छलफलमा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले १० हजार रुपैंयाँ असुलेर कामदार विदेश पठाउन नसकिने धारणा राखेका थिए । त्यसको जवाफमा राजश्व सचिव ढुंगानाले भने–‘वैदेशिक रोजगार व्यवसायीले उठाएको रकमका बारेमा आन्तरिक राजश्व विभागले अध्ययन गरिरहेको छ, उनीहरुलाई सम्पति सुद्धिकरणको मुद्धा लाग्छ ।’ वैदेशिक रोजगार व्यवसायीहरुले १० हजारको विल दिएर लाखौं रकम अण्डर टेबल असुली गरिरहेको बताउँदै उनले भने–१० हजार पैसामा कुन व्यवसायीले विदेश मान्छे पठाएका छन् ? त्यो ओपन सेक्रेट छ ।’ उनले अण्डर टेबल पैसा असुलेर सोझा नागरिक ठग्ने र राज्यलाई कर नतिर्ने वैदेशिक रोजगार व्यवसायीलाई सम्पति सुद्धिकरणको मुद्धा लाग्ने स्पष्ट पारे । ‘रोहन जीले भनेको कुरा यहाँ धेरै गर्नु भएन्, बबरमहलको सम्पति सुद्धिकरणसँग जोडिन्छ, त्यहाँ धेरै इन्स्यु छन्, उहाँले आफैं भनिरहनु भएको छ की, १० हजारको बिल काट्छौं, ७० हजार खर्च छ, ६० हजार घाटा भयो, यहिँबाट कुरा क्लियर भैहाल्छ ।’, ढुंगानाले भने । उनले आन्तरिक राजश्व विभागले वैदेशिक रोजगार व्यवसायीहरुको कर विवरण अनुसन्धान गरिरहेको पनि बताए । उनले १० हजार तिरेर कोहि पनि नेपाली विदेश नगएको बताउँदै अण्डर टेबल असुलीलाई सम्पति सुद्धिकरणले हेर्ने स्पष्ट पारेका हुन् । १० हजार रुपैंयाँ सर्भिस चार्ज मात्रै लिएर नेपाली कामदारलाई वैदेशिक रोजगारमा पठाउनुपर्ने व्यवस्था कार्यान्वयनमा आएपछि व्यवसायीहरुको अनधिकृत असुलीले प्रोत्साहन पाउँदै आएको छ । उनीहरुले १० हजार रुपैंयाँको बिल दिएर लाखौं असुलिरहेका छन् । जुन रकमबाट राज्यकोषमा कर समेत दाखिला भैरहेको छैन् ।

‘जलविद्युत आयोजनाको जोखिम न्यूनीकरणका लागि बीमा आवश्यक’

काठमाडौं । इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाईंले जलविद्युत आयोजना जोखिमपूर्ण रहेको र अब राष्ट्र विकासको मेरुदण्डको रुपमा रहेको जलविद्युत आयोजनाको जोखिम न्यूनीकरणका लागि बीमा अति आवश्यक रहेको बताएका छन् । हिमालयन जेनेरल इन्स्युरेन्स कम्पनीद्धारा आयोजित ‘हिमालयन जेनेरल इन्स्युरेन्स समिट अन हाईड्रोपावर २०१८’ कार्यक्रममा गुरागाईंले सो कुरा बताएका हुन् । कार्यक्रममा अध्यक्ष गुरागाईंले जलविद्युत आयोजना जोखिमपूर्ण रहेको बताएका छन् । यस इन्स्युरेन्सले स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल र मार्सको सहआयोजनामा उक्त समीट सम्पन्न गरेको हो । साथै, इन्स्युरेन्सका प्रमुख कार्यकारी अधिकृत सुशील बज्राचार्यले ऊर्जा प्रवर्धकका लागि अति आवश्यक बीमाका पक्षहरु समेटी प्रवर्धकहरुलाई एक परिपक्व बीमा पोलिसी खरीद गर्न टेवा पुर्याउने बताएका छन् । कार्यक्रममा मार्सका तर्पmबाट स्कट पिचीले अन्तराष्ट्रिय बीमा बजारको बारेमा जानकारी गराएका छन् ।

प्रभु बैंकको वार्षिक साधारणसभा जेठ १०मा, वैशाख २८ गतेदेखि बुक क्लोज

काठमाडौं । प्रभु बैंक लिमिटेड आगामी जेठ १० गते कम्पनीको १६औँ वार्षिक साधारणसभामा जाँदै छ । सो प्रयोजनको लागि कम्पनीले यही वैशाख २८ गतेदेखि जेठ १०गतेसम्म कम्पनीको बुक क्लोज गर्ने निर्णय गरेको छ । वैशाख १९ गते सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।

त्रिशूली ‘थ्री बी’ ले सार्वजनिक जग्गा प्रयोगको स्वीकृति पाएन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमको संयुक्त लगानीमा निर्माण हुन लागेको त्रिशूली ‘थ्री बी’ जलविद्युत् आयोजनालाई सार्वजनिक वन क्षेत्रको जग्गा प्रयोग गर्न नपाउँदा समस्या भएको छ । आयोजनाका लागि आवश्यक पर्ने सरकारी वन क्षेत्र र सरकारी पर्ती जग्गाका सम्बन्धमा निर्णय गराउन पटक/पटक प्रयास भए पनि समस्या समाधान हुनसकेको छैन । वन तथा भू-संरक्षण मन्त्रालयले समयमै निर्णय नगरिदिँदा आयोजनालाई समस्या भएको हो । सरकारी वन क्षेत्र र सरकारी पर्ती गरी आयोजनालाई करीब एक हजार रोपनी जग्गा आवश्यक पर्ने देखिएको छ । निर्माणाधिन गल्छी-मैलुङ सडकखण्डका कारण पनि आयोजनाको निर्माणमा समस्या खडा भएको छ । सडक निर्माणका लागि भन्दै निर्माण व्यवसायीले दिउँसोको समयमा सो सडक खण्ड बन्द गर्दै आएका छन् । नेपाल सरकारले विभिन्न निकायबाट प्राप्त गर्नुपर्ने विदेशी मुद्रा सटही, विस्फोटक पदार्थ आयातमा समेत स्वीकृति प्राप्त गर्न समस्या परेको आयोजनाका प्रबन्ध सञ्चालक मोहन गौतमले जानकारी दिएका छन् । यस्तै ठेकेदार कम्पनीलाई विदेशी मुद्रामा भुक्तानी गर्नुपर्ने नोट सटही सुविधा दिनुपर्ने माग आयोजनाको छ । निर्माण कम्पनीले आयोजना स्थलमा प्रयोग गर्ने उपकरण, निर्माण सामग्री तथा स्पेयर पार्टस् बाहिरी मुलुकबाट ल्याउनुपर्ने हुँदा त्यसका लागि प्रक्रियागत झन्झट पैदा भएको प्रबन्ध सञ्चालक गौतमको भनाइ थियो । सो आयोजनामा ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋण लगानी हुनेछ । स्वपुँजीमध्ये प्राधिकरणको ३० प्रतिशत, नेपाल टेलिकमको ३० प्रतिशत, नुवाकोट र रसुवा जिल्लाका स्थानीय गाउँपालिका र जिल्ला समन्वनय समितिको पाँच प्रतिशत, ती जिल्लाका स्थानीय वित्तीय संस्थाको पाँच प्रतिशत, त्यहाँका बासिन्दाको १० प्रतिशत, आम नेपालीको १५ प्रतिशत र प्राधिकरण र टेलिकमका कर्मचारीको पाँच प्रतिशत शेयर लगानी रहने व्यवस्था गरिएको छ । यस्तै आयोजनामा नबिल बैंक, जलविद्युत् लगानी तथा विकास कम्पनी, नागरिक लगानी कोष, नेपाल बैंकलगायतसँग ऋण सम्झौता गर्ने तयारी गरिएको छ । आयोजना र प्राधिकरणबीच २०७४ साल भदौ ६ गते विद्युत् खरिद सम्झौता भएको थियो । सम्झौताअनुसार आयोजनाले २०७८ साल फागुन १७ गते विद्युत् उत्पादन गर्ने मिति तय गरिएको छ । आयोजना र चिनियाँ ठेकेदार कम्पनी सिचुवान एएनएचई चीनबाट गत माघ २९ गते रु एक अर्ब ९१ करोड ४६ लाख १९ हजार ४७२को लागतमा सो आयोजना निर्माण गर्ने ठेक्का सम्झौता भएको थियो । आयोजना नुवाकोटको किस्पाङ गाउँपालिका र रसुवा जिल्लाको उत्तरगया गाउँपालिकामा अवस्थित छ । सो आयोजना नदी प्रवाही आयोजना हो । माथिल्लो त्रिशूली ‘थ्री’ एक आयोजनाबाट निस्किएको पानी प्रयोग गरेर ३७ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । सो परियोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन २०७२ साल माघ २९ गते नै स्वीकृत भइसकेको र हाल ४६३.६ मिटर लामो परीक्षण सुरुङ निर्माण गरिसकिएको छ, भने कार्यालय भवन तथा आवास भवन पनि निर्माण भइसकेको छ । यस्तै परियोजनाका लागि अधिग्रहण गरिएको करीब ९६ रोपनी जग्गाको जग्गा धनीलाई मुआब्जा वितरण गर्ने कार्य सम्पन्न भइसकेको छ । उक्त आयोजनाबाट औसतमा २९२।५९ गिगावाट घण्टा ऊर्जा उत्पादन हुनेमा सुक्खायाममा १३४.८८ मेगावाट घण्टा र वर्षायाममा १५७.७१ घण्टा ऊर्जा उत्पादन हुनेछ । सो परियोजनाको कूल लागत रु आठ अर्ब ९४ करोड रहेको छ । केही दिन पहिले ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आयोजनाको स्थलगत निरीक्षण गर्दै तोकिएको समयमा नै आयोजना सम्पन्न गर्न निर्देशन दिएका थिए । त्रिशूली जलविद्युत् कम्पनी २०६८ वैशाख २९ गते स्थापना भएको सार्वजनिक कम्पनी हो । रासस