विकासन्युज

चिसो मंसिरमा सरकारी उपहारः खाना पकाउने ग्यासको हाहाकार

काठमाडौं । नेपाल सरकारको लापरवाहीका कारण आगामी जाडो महिनामा खाना पकाउने एलपी ग्यासको अभाव हुने भएको छ । सरकारले नेपाली नम्बर प्लेटका बुलेटलाई ग्यास ढुवानी गर्ने अनुमति दिलाउन नसक्दा मध्य मंसिरदेखि एलपी ग्यासको ढुवानी ठप्प हुन लागेको हो । ‘नोभेम्बर महिना(मंसिर १५) देखि भारतीय नम्बर प्लेटका बुलेटले नेपालका लागि ग्यास ढुवानी गर्दैनन्, त्यतिञ्जेलसम्म नेपाली नम्बर प्लेटका बुलेटले ढुवानी गर्ने व्यवस्था मिलाउन नसके चिसोमा जनताको भात भान्छा बन्द हुनेछ’, नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले भने । व्यवस्थापिका संसदको उद्योग बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको आपुर्ति तथा उपभोक्ता हित उप समिति बैठकमा बोल्दै घिमिरेले भने–‘हामीले ३ अर्बको लगानीमा ४०० वटा ग्यास बुलेट तयार पारेका छौं तर सरकारले भारतीय आयल निगमसँग ढुवानी अनुमति दिलाउन नसक्दा आगामी जाडोमा जनताले ग्यास नपाउने सम्भावना बढिरहेको छ ।’ हाल इण्डो नेपाल बल्क ट्रान्स संघका ६०० वटा बुलेटले नेपालमा एलपी ग्यास ढुवानी गर्दै आएका छन् । संघले नेपाल ग्यास उद्योग संघसँगको सम्झौता अनुसार ग्यास बोक्दै आएको थियो । तर नेपाली व्यवसायी आफैंले ग्यास बुलेट खरिद गर्ने प्रक्रिया अघि बढाएपछि नेपाल ग्यास उद्योग संघ र इण्डो नेपाल बल्क ट्रान्सपोर्ट संघबिच २०७४ असोज २ गते आगामी नोभेम्बरसम्म मात्रै ग्यास ढुवानी सम्झौता कायम राख्ने सहमति भएको थियो । हाल नेपाली नम्बर प्लेटका २ वटा ग्यास बुलेट नेपाल भित्रि सकेको छ । त्यस्तै, ६३७ वटा ग्यास बुलेट भारतीय कम्पनी टाटाले धमाधम निर्माण गरिरहेको छ । त्यसमा नेपाली व्यवसायीको ३ अर्बको लगानी परेको छ । नेपाली व्यवसायीहरुले ७७५ वटा ग्यास बुलेट खरिद गर्ने अनुमति पाएका छन् । त्यसरी खरिद गरिएका बुलेटमा २ तिहाई भन्सार छुटको व्यवस्था गरिएको छ । बैठकमा आपुर्ति मन्त्रालयका सचिव प्रेम कुमार राईले भारतीय पक्षसँग नेपाली नम्बर प्लेटका ग्यास बुटेटलाई ढुवानी अनुमति दिनका लागि पटक आग्रह गरेको बताएका थिए । तर भारतीय पक्षले भने बिभिन्न बहाना बनाएर आनाकानी गरिरहेको पनि उनले समिति बैठकमा जानकारी दिएका थिए । बैठकले नेपाली नम्बर प्लेटका ग्यास बुलेटहरु मार्फत ग्यास ढुवानीको व्यवस्था मिलाउन आपुर्ति मन्त्रालय, परराष्ट्र मन्त्रालय र नेपाल आयल निगमलाई निर्देशन दिएको छ ।

नेप्सेमा तीन करोड ६१ लाख कित्ता सेयर सूचिकृत, हकप्रद मात्रै करिब तीन करोड

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक बाहेक बिहीबार मात्रै नेपाल स्टक एक्सचेञ्जमा तीन करोड ६१ लाख कित्ता सेयर सूचिकृत भएको छ । सो दिन ६९ लाख ५ हजार कित्ता बोनस र २ करोड ९२ लाख २ हजार कित्ता हकप्रद सेयर गरी सो मात्राको सेयर सूचिकृत भएको हो । बजारमा दुई कम्पनीको बोनस र दुई कम्पनीको हकप्रद सेयर सूचिकृत भएको छ । प्रुडेन्सियल लाइफ इन्स्योरेन्स कम्पनीको ७ लाख १२ हजार ८०० कित्ता र ६१ लाख ९२ हजार ८५७ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो । त्यस्तै, सानिमा बैंक र कुमारी बैंकको गरि २ करोड ९२ लाख २ हजार कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । सानिमा बैंकको एक करोड ५७ लाख र कुमारी बैंकको एक करोड ३४ लाख कित्ता हकप्रद सूचिकृत भएको हो ।

एनआइसी एसिया बैंकले शुरु गर्यो कर्जा ट्रयाकिङ प्रणाली, आवेदनको अपडेट हेर्न सकिने

काठमाडौं । एनआइसी एसिया बैंकले कर्जा ट्रयाकिङ प्रणाली (रिटेल ट्रयाकिङ सिष्टम)को शुरुवात गरेको छ । बैंकले ग्राहकले कर्जा स्वीकृतका हरेक चरणको अपडेट स्ट्याटस हेर्न सक्ने गरि‘कस्टुमर रिटेल लोन ट्रयाकिङ सिष्टम (सिआरएलटिएस)’को शुरु गरेको हो । सिआरएलटिएसद्धारा उच्चतम प्रविधिको प्रयोग गर्दै, बैंकले एसएमएस मार्फत सम्पूर्ण रिटेल कर्जाका आवेदकहरुलाई आफ्नो कर्जा निवेदनको स्ट्याटसबारे जानकारी दिन्छ । जसमा बैंकको कर्जा निवेदन प्राप्त गर्ने देखि कर्जा रकम ग्राहकको खातामा भुक्तानी गर्ने सम्मको चरणहरु पर्ने बैंकले जनाएको छ । ग्राहकले बैंकको आधिकारिक वेबसाइट मार्फत निवेदन नम्बर र मोबाईल नम्बरका आधारमा कर्जा निवेदनको प्रगति हेर्न सक्नेछन् । यो सेवा बैंकको हालको सम्पूर्ण ११७ शाखाहरुबाट उपयोग गर्न सकिने छ ।  

नेपाली तेक्वान्डो खेलाडीहरुलाई जगदम्बा स्टिलको विजयी शुभकामना सहित बिदाई

काठमाडौं । वल्र्ड टेक्वान्डो क्याम्पियनसिपमा भाग लिने नेपाली तेक्वान्डो खेलाडीहरुलाई जगदम्बा स्टिलको विजयी शुभकामना सहित बिदाई गरेको छ । यही जून २४ देखि जुलाई ७ तारिखसम्म कोरियामा हुन गइरहेको वल्र्ड टेक्वान्डो क्याम्पियनसिप जान लागेका खेलाडीलाई सो कम्पनीले विदाई गरेको हो । थर्ड एसियन पारा टेक्वान्डो क्याम्पियनसिप र चुनचिवन, कोरिया ओपन इन्टरनेशनल टेक्वान्डो क्याम्पियनसिपमा भाग लिनको लागि छनोट भई कोरिया लागेका राष्ट्रिय तेक्वान्डो खेलाडी टोलीलाई जगदम्बा स्टिलले एक समारोह आयोजना गरि बिदाई कार्यक्रम सम्पन्न गरेको हो । ललितपुर महानगरपालिकामा आयोजित उक्त शुभकामना सहित बिदाई कार्यक्रमका प्रमुख अथिति चिरिबाबु महर्जनले सहभागी खेलाडीहरु तथा प्रशिक्षकहरुलाई खादा ओढाई शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा टोलीको अभ्यास तयारी तथा सहभागिताका बारेमा पनि प्रकाश पारिएको थियो । सम्पूर्ण खेलाडीहरुको सफलताको कामना गर्दै बिदाई कार्यक्रम सम्पन्न भएको कम्पनीले जनाएको छ ।

दुई बैंक प्राप्ति पछि सेञ्चुरी बैंकको ६५ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

काठमाडौं । दुई विकास बैंक प्राप्ति पछि सेञ्चुरी कमर्सियल बैंकको ६५ लाख ५६ हजार ६४० कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । इनोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंक पाप्ति पछि सेञ्चुरीको सो मात्राको सेयर नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएको हो ।

घोषणाको २ वर्षसम्म लागू भएन फ्रि भिसा फ्रि टिकेट, टिकेट र भिसाको पैसा अशुल्न अन्डरटेवलदेखि खाडी मुलुकमै कम्पनी स्थापनासम्म

काठमाडौं । सरकारले बैदेशिक रोजगारीमा जाँदा सम्बन्धित कम्पनीले नै कामदार माग गर्दा आवश्यक खर्च व्यवहोर्नुपर्ने भन्दै फ्रि भिसा, फ्रि टिकेट अनिवार्य गरेको पुगेको छ । सरकारले कामदारलाई वैदेशिक रोजागरीमा पठाउँदा कामदारसँग सेवा शुल्कको रुपमा १० हजार रुपैयाँ मात्रै लिनुपर्ने गरी गरेको निणर्य यही असार २१ गते २ वर्ष पार गर्दै छ । तर, सरकारले घोषणा गरेको यो व्यवस्था अहिलेसम्म पनि पूर्ण कार्यान्वयन हुन सकेको छैन । व्यवसायीले सेवा शुल्क लिएको मात्रै १० हजार रुपैयाँ र अभिमुखिकरणको २ हजार रुपैयाँसम्मको मात्रै बिल दिने गरेका छन् । हरेक वैदेशिक रोजगारीमा जाने व्यक्तिसँग रोजगारको गन्तव्य अनुसार मेनपावर व्यवसायीले न्युनतम ६० हजार देखि ढेड दुई लाखसम्म नै अशुल गरिरहेका छन् । व्यवसायीले अशुल गर्ने यो शुल्क १० हजार रुपैयाँ मात्रै देखाउने गरेका हुन्छन भने बाँकी सबै रकम अन्डरटेवल हुने गरको छ । वैदेशिक रोजागार व्यवसायी संघका उपाध्यक्ष कुमुद खनालका अनुसार सरकारले व्यवहारिक रूपमा लागू गर्ने नसकिने गरी १० हजार मात्रै लिन पाउने भनेकोले अन्डरटेवल गर्न बाध्य हुनुपरेको छ । सबै व्यवसायीले आफ्नो लागत र रोजगारदाता पठाउँदा गरेको खर्च लिनै पर्छ । टिकेट र भिसा सम्बन्धित कम्पनीले नै पठाएपनि सेवाशुल्क, वैदेशिक प्रवद्र्धन शुल्क, बीमा, मेडिकल गरि कतारको लागि कम्तिमा २६/२७ हजार र मलेसियाको लागि ३८/४० हजार खर्च हुन्छ । यो रकम भनेको व्यवसायीले गर्ने खर्च नै कामदारबाट लिने हो । हामी अधिकांश व्यवसायीले सरकारको नियम पालना गरेरै कामदार पठाइरहेका छौं, एक दुईवटा कम्पनीको बदमासिलाई सबैको बदमासी भने मान्न नमिल्ने तर्क खनालको छ । उनका अनुसार खाडि मुलुकमा जाँदा कामदार आफैं मेनपावर कम्पनीसँग नआउने, दलालको प्रयोग गर्ने गरेको छन् । दलालबाट आउँदा मेनपावरले उसलाई कमिशन दिनुपर्छ । यो रकम कामदारबाटै लिएर दिनुपर्ने हुन्छ । कामदारले उसले पासपोर्ट बनाउँन, खान, बस्न गरेको खर्चसमेत जोडेर खर्च विवरण भन्ने गरेकोले पनि मेनपावरले लिने र सरकारले तोकेको भन्दा अधिक खर्च देखिने गरेको पनि खनालले जानरकारी दिए । सरकारले भिसा र टिकेट निःशुल्क भनेपछि बाहिरैबाट टिकेट जारी भएको हुनुपर्ने मान्यता हुँदा पनि व्यवसायीलाई समस्या परेको सोसाइटी अफ टुर एण्ड ट्राभल एजेन्ट्सका पूर्व अध्यक्ष एवम एरोलिन ट्राभलका प्रवन्ध निर्देशक यमबहादुर खड्काले बताए । रोजगारदाता कम्पनीले पैसा पठाएर व्यवसायीले नेपालबाटै काटेको टिकेटमा पनि लफडा गर्ने गरेको कारण टिकेटिङ व्यवासायीलाई असहज अवस्था सिर्जना भइरहेको उनको बुझाई छ । उनका अनुसार अध्यागमन तथा सरकारी निकायको बुझाई फराकिलो हुनुपर्छ । फ्रि भिसा र टिकेट भन्दैमा बाहिरबाटै टिकेट जारी भएको अनिवार्य हुनुपर्ने भन्ने नै होइन् । अहिले ई टिकेटिङ भैसकेको र जताबाट टिकेट काट्दा पनि हुने भएकोले टिकेट जहाबाट लिन पनि कुनै फरक नपर्ने पनि उनको बुझाई छ । धमाधम बाहिरैबाट सेवा दिँदै कम्पनी मेनपावर तथा टिकेटिङ एजेन्सीले सहजताको लागि र टेकिट इस्यु गर्ने तथा अतिरिक्त शुल्क अशुल गर्न सहज हुने भएकोले पनि सम्बन्धित खाडि मुलुकमै कम्पनी स्थापना गरेर सेवा दिन थालेका छन् । टिकेटिङ कम्पनीलेसमेत मलेसिया, कतार, युएईसहितका मुलुकमा आफ्नो कम्पनी स्थापना गरेको एक व्यवसायीले जानकारी दिए । मेनपावर व्यवसायीले भने आफ्नो व्यवसाय तान्न, रोजगारदाता कम्पनीसँग निकटता र विश्वसनियता देखाउन पनि बाहिरै कम्पनी खोल्ने गरेको उल्लेख छ । पछिल्लो समय बैदेशिक रोजगारमा नै डिमान्ड घटेकोले पनि व्यवसायीले आफ्नो अनुकुलको रणनीति अपनाउनुपर्ने जानकारी दिएका छन् ।

मेलम्ची नगरपालिकामा फ्री वाइफाई सेवा आरम्भ, नगरबस पनि सञ्चालनमा

मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको मुख्य केन्द्र रहेको मेलम्ची नगरपालिकामा फ्री वाइफाई र नगरबस सञ्चालन भएको छ ।मेलम्ची क्षेत्रमा सञ्चालन हुने मुख्य दुईवटा यातायात समिति – आमा ह्याल्मो र हेलम्बु यातायात समितिसँग समन्वय गरेर बुधवार साँझ ५ बजेदेखि चारवटा बस सञ्चालन गरिएको हो । मेलम्ची बजारमा रहेको आमा ह्याल्मो बसपार्कलाई मुख्य केन्द्र बनाएर नगरपालिकाको शिखरपुर, तिपेनी, भोटेचौर र तालामाराङसम्म नगरबस जाने मेलम्ची नगरपालिकाका कार्यकारी अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिए । तत्कालका लागि यातायात समितिले नै चलेको भाडादर कायम गर्ने तथा एक हप्तापछि नगरपालिका र यातायात समितिको निर्णयमा नयाँ भाडादर कायम हुने नगरपालिकाले जनाएको छ । त्यसैगरी, मेलम्ची नगरपालिकाभित्र निर्वाचन क्षेत्र विशेष पूर्वाधार कार्यक्रमअन्तर्गत ६ स्थानमा फ्री वाइफाई जडान गरिएको छ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) सँगको समन्वयमा वाइफाई जडान गरिएको हो । मानिसको भीडभाड हुने चोक, अस्पताल, बैंक, सरकारी तथा गैरसरकारी संस्था लगायतका स्थानमा वाइफाई जडान गरिएको हो । क्यान महासङ्घ सिन्धुपाल्चोकका अध्यक्ष प्रभात श्रेष्ठले नगरमा एक एमबिका ३० वटा राउटर र आवश्यक डिभाइस जडान गरिएको बताए । स्थानीय तहको निर्वाचन अघिकोे मुख्य नारा रहेको ‘फ्री वाइफाई’लाई अहिले नवनिर्वाचित जनप्रतिनिधिले नमुना कामको सुरुवात गरेको मेलम्ची नगरपालिकाका स्थानीयवासी रामहरि दुलालले बताए । नगरपालिका भित्रका स्थानीयवासीलाई सुविधा दिने उद्देश्यले बिहान १० बजेभित्र चारवटै केन्द्रबाट मेलम्ची बसपार्क आइपुग्ने गरी नगरबस सञ्चालनमा ल्याएकाले सर्वसाधारणलाई निकै ठूलो सेवा पुग्ने नगरवासी बताउँछन् । बुधबार एक औपचारिक कार्यक्रममार्फत निर्वाचन क्षेत्र नं ३ का सांसद शेरबहादुर तामाङ र मेलम्ची नगरपालिका प्रमुख डम्बर अर्यालले नगरबस र फ्री वाइफाईको संयुक्तरुपमा उद्घाटन गरेका थिए । रासस

११ महिनामा १ खर्ब ४८ अर्बको लगानी प्रतिवद्धता, सबैभन्दा बढी ऊर्जामूलक उद्योगमा लगानी

काठमाडौं । चालु आर्थिक वर्ष २०७३/७४ को ११ महिनामा उद्योगमा १ खर्ब ४८ अर्ब ३१ करोडको लगानी प्रतिवद्धता भएको छ । उद्योग विभागमा दर्ता भएका उद्योगहरू सञ्चालनमा आए करिब २३ हजार ६ सयले रोजगारी पाउने प्रतिवद्धता उल्लेख गरिएको छ । चालु आवको सो अवधिमा भएको लगानी गएको आवको सोही अवधिको तुलनामा ४० अर्ब ८६करोड रुपैयाँले बढी हो । गएको वर्षको समीक्षा अवधिका कुल तीन सय ४५ वटा विभिन्न क्षेत्रसँग सम्बन्धित उद्योग दर्ता भई १ खर्ब सात अर्ब ४५ करोड रुपैयाँ लगानी प्रतिवद्धता भएको थियो । गएको वर्षमा दर्ता भएका उद्योग पनि सञ्चालनमा आएका साढे १६ हजारले रोजगारी पाउने उल्लेख छ । गएको वर्षको सो अवधिमा भूकम्पको प्रभाव र ६ महिना लामो नाकाबन्दीको कारण भएका उद्योगधन्दा समेत बन्द भएकाले उद्योग दर्तामा खासै उत्साह देखिएको थिएन । चालु आवमा भने ऐन, नीति, नियम परिमार्जन, विशेष आर्थिक क्षेत्र ऐन, खनिज नीति, विदेशी लगानीसम्बन्धी विधेयक, लगानी सम्मेलन, अनलाइनमार्फत उद्योग दर्ता, उद्योग विभागभित्र विद्युतीय हस्ताक्षरका साथै संस्थागत सुधारले गर्दा उद्योग क्षेत्रमा लगानीको वातावरण बन्दै गएपछि उद्योगमा लगानीको प्रतिवद्धता पनि बढ्दै गएको हो । पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशीले उद्योग क्षेत्रमा लगानीको वातावरण सिर्जना गरेका कारण उद्योगमा लगानी गर्नेको संख्या बढ्दै गएको हो । उनको निर्णयले उद्योगीहरूलाई हौसला मिलेको छ । विभागमा दर्ता भएका उद्योगमध्ये सबैभन्दा बढी लगानी भएको छ । चालु आवको ११ महिनामा ऊर्जामूलक क्षेत्रमा ७४ अर्ब ७१ करोड लगानी भएको छ । उक्त उद्योगमा १५ सय २ जनाले रोजगारी पाउने भएका छन् । लगानीका हिसावले हेर्दा दोस्रो स्थान उत्पादनमूलक उद्योग ओगटेको छ । चालु आवको समीक्षा अवधिमा एक सय १२ वटा उद्योगहरू दर्ता भएको छ भने उद्योगमा ४० अर्ब २४करोड रुपैयाँ लगानी भएको छ । उत्पादनमूलक उद्योगमा करिब नौ हजार चार सय ८६ ले रोजगारी पाउने प्रतिवद्धता गरिएको छ । रोजगारीको हिसावले यो यस्ता उद्योग नेपाली परिपेक्ष्यमा राम्रो मानिन्छ । उद्योग दर्ता हिसावले दोस्रो र लगानीअनुसार तेस्रो स्थानमा सेवामूलक उद्योगले उद्योग विभागबाट उद्योग सञ्चालनको अनुमति लिएका छन् । सो अवधिमा एक सय ४५ उद्योग दर्ता भएर १४ अर्ब ६१ करोड रुपैयाँ लगानी भएको छ । उक्त उद्योगमा एक लाख ६ हजार चार सय १९ जनाले रोजगारी पाउने भएका छन् । विभागमा पर्यटन सम्बन्धी एक सय ३५ उद्योग दर्ता भएर १३ अर्ब ६४ करोड रुपैयाँ लगानी प्रतिवद्धता भएको छ । सरकारले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर विभिन्न सेवा सुविधा प्रदान गरे पनि अन्य उद्योगाको तुलनामा कृषि क्षेत्रमा लगानी प्रतिवद्धता कम देखिएको छ । चालु आवको समीक्षा अवधिमा कृषिमा जम्मा २३ वटामात्र उद्योगहरू दर्ता ३ अर्ब २३ करोड रुपैयाँको लगानी प्रतिवद्धता भएको छ । उद्योग विभागको भएको दर्ताको तथ्यांकलाई आधारमान्दा चालु आवको ११ महिनाको अवधिमा जम्मा दुई वटामात्र निर्माण सम्बन्धी र तीन वटा खनिज उद्योग दर्ता भएको छ । १५ अर्ब ३७ करोडमात्रै वैदेशिक लगानी यस अवधिमा भएको उद्योगमा लागनीमध्ये १५ अर्ब ३७ करोड रुपैयाँ वैदेशिक प्रतिवद्धता हो । चालू आवमा तीन सय ४३ वटा वैदेशिक लगानी भएका उद्योगहरू दर्ता भएका छन् । सो उद्योगमा १० हजार एक सय ५३ जनाले रोजगारी पाउने भएका छन् । गएको वर्षको सो अवधिमा तीन सय ४ वटा वैदेशिक लगानीका उद्योगहरू दर्ता भएर १६ अर्ब ६५ करोडको लगानी प्रतिवद्धता भएको थियो । उक्त उद्योगमा ९ हजार आठ सय ६६ जनाले रोजगारी पाउने भएका छन् ।