विकासन्युज

शैक्षिक क्षेत्रमा माछापुछ्रे बैंकको साढे ६ लाख सहयोग

काठमाडौं । माछापुछ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा मातृभूमि महिला समाज तथा टिच फर नेपाललाई आर्थिक सहयोग प्रदान गरेको छ । शनिबार एक कार्यक्रमकोबीच बैंकले  उक्त समाजमा रहेका अनाथ, टुहुरा, भूकम्प पिडित, द्वन्द पीडित तथा विभिन्न समस्याबाट जकडिएका १५ जना विधार्थीहरुलाई ५ महिनासम्म शैक्षिक शुल्क तथा सामाग्रीका लागि पुग्ने गरी रु १ लाख ५० हजार आर्थिक सहयोग प्रदान गरेको जानकारी दिएको छ । त्यसैगरी सोमबार पनि एक कार्यक्रमका विच बैंकले देशको सार्वजनिक शिक्षाको विकासमा लागि रहेको संस्था टिच फर नेपाललाई रु ५ लाख आर्थिक सहयोग प्रदान गरेको बताएको छ । उत्त कार्यकममा बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत अर्जुन थापा ले चेक हस्तान्तरण गरेको बताइएको छ । बैंकले मुलुकभर आफ्ना ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १५ शाखा रहित बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

एनआईसी एशिया बैंकको नयाँ शाखा चितवनको गीतानगरमा

काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा भरतपुर महानगरपालिका ६, चितवनस्थित गीतानगर–चोकबजार  सोमबार एक समारोहकाबीच भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाल र बैंकका सञ्चालक राजेन्द्रप्रसाद अर्यालले संयुक्त रुपमा उद्घाटन गरिएको छ । कार्यक्रमका मेयर दाहालले एनआईसी एशिया बैंकले अवलम्बन गरेको शाखा सञ्जाल विस्तार रणनीति एक अग्रगामी कदम भएको बताएका थिइन् । त्यस्तै बैंकका सञ्चालक अर्यालले बैंकले देशका कुना कन्दरामा बसोबास गर्ने स्थानीय सर्वसाधारणहरूलाई वित्तीय सेवाको पहुँचमा ल्याउने र यस यात्रालाई निरन्तरता दिदै जाने कार्यक्रममा जानकारी गराएका थिए । बैंकले हाल मुलुकभर १९२ शाखा कार्यालयहरु, १९३ एटीएम, ४ वटा एक्स्टेन्सन काउन्टर एवं ४ वटा ब्रान्चलेस बैंकिङमार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ ।  

सिद्धार्थ सिमेन्टका बिक्रेताहरुको गोसाईकुण्ड यात्रा

काठमाडौं । सिद्धार्थ सिमेन्ट उद्योगले आफ्ना काठमाडौंका प्रमुख बिक्रेताहरुलाई आइतबार रसुवा जिल्लामा अवस्थित गोसाईकुण्डको यात्रा गराएको थियो । नव वर्ष २०७५ लाई स्वागत गर्ने एवम् बिक्रेताहरुसँगको व्यवसायिक सम्बन्धलाई अझै प्रगाढ बनाउने उद्देश्यले उद्योगले उक्त धार्मिक तिर्थस्थलको भ्रमणको आयोजना गराएको जानकारी गराएको छ । करिब एक दर्जन बिक्रेताहरुलाई बिहान हेलिकप्टरद्वारा गोसाइकुण्डको यात्रा गराएको जनाइएको छ ।  

एनएमबि बैंकद्वारा बर्लादहका १२३ किसानलाई साढे ८ लाखको तरकारीको विउ प्रदान

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत सप्तकोशी नगरपालिका वडा नं ४ बर्लादहका किसानहरुलाई रु. ८ लाख पचास हजार मुल्य वरावरको ११ किसिमका बेमौसमी तरकारीका विउ वितरण गरेको छ । बैंकले व्यवसायीक खेतीमा सहयोग पुग्ने उद्देश्यले तरकारी खेती, नगदेवाली, अन्नवाली लगायत अन्य वालीहरु लगाउन १२३ जना किसानहरुलाई ती विउ प्रदान गरेको हो । सोही कार्यक्रममा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (आईसिआईएमओडि) र अष्ट्रेलियन सरकारको संयुक्त सहयोगमा सप्तरी जिल्लाका २३ किसानलाई सोलार पम्प समेत वितरण गरेको जनाएको छ । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले व्यवसायीक तरकारी खेतीका लागि उक्त सहयोग बैंककोतर्फबाट सानो पहल भएको जानकारी गराएको छ ।  

एलजी डिलर्स सबमिट सम्पन्न

काठमाडौं । एलजीले आफ्नो डिलर्स सबमिट २०१८ केही दिन अघि मात्रै सम्पन्न गरेको छ । राजधानीमा सम्पन्न भएको उक्त सबमिटमा एलजीले आफ्ना सबै काठमाडौंका र बाहिरका डिलरहरुलाई निम्त्याएको थियो । लेट्स ग्रो टुगेदर भन्ने मुल नाराका साथ सबमिटमा एलजीले आफ्नो २०२० को भिजन शेयर गरेको जानकारी दिएको छ । कार्यक्रममा सीजी इलेक्ट्रोनिक्सले उक्त भिजन प्रस्तुत गरेको थियो । सोही अवसरमा एलजीले नयाँ प्रोडक्ट पनि सार्वजनिक गरेको जनाएको छ । त्यस्तै कार्यक्रमकै अवसरमा कम्पनीले वेस्ट पफमेन्स र लङ टर्म एसोसिएसन विथ एलजी गरेर आफ्ना २० जना डिलरहरुलाई सम्मानित समेत गरेको बताइएको छ ।

सिण्डिकेट नहटाउन यातायात व्यवसायीको दवाव, हटाए घुँडा टेकाउने सरकारलाई चेतावनी

काठमाडौं । यातायात व्यवासायीले सिण्डिकेट हटाउने सरकारको निर्णयको विरुद्धमा आन्दोलन गर्ने भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सोमबार सम्पन्न परिषद भेलाले सरकारले सिण्डिकेट हटाउन ल्याएको नयाँ व्यवस्था खारेजको माग गरेको छ । यातायात व्यवस्था विभागले ल्याएको कार्यविधि खारेज नगरे हदैसम्मको आन्दोलनमा उत्रने निर्णय भएको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए । कार्यविधि खारेज गर्नका लागि दवाव दिन प्रधानमन्त्री केपी शर्मा ओली, भौतिक पुर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठलगायत सातै प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउने उनले बताए। यति गर्दा पनि माग पुरा नभए चरणवद्ध आन्दोलनमा जाने निर्णय भएको उनले जानकारी दिए । महासंघको परिषद बैठकले आन्दोलनका कार्यक्रम तय गर्ने जिम्मा कार्यसम्पादन समितिलाई दिएको उनले बताए । माग पुरा नभए हड्तालदेखि नेपाल बन्दसम्म गर्न सक्ने उनको भनाई छ । विभागले गत १८ गते यातायात व्यवस्था सम्बन्धि कार्यविधि निर्देशिका संशोधन गरेर देशभरका सडकमा रुट इजाजत खुला गर्ने निर्णय गरेको थियो । विभागले परमिट खुला गर्न देशभरीका यातायात कार्यालयलाई निर्देशन दिइसकेको छ । सरकारले यातायात सिण्डिकेट हटिसकेको जानकारी गराएको छ । महासंघको परिषद् भेलाले नयाँ व्यवस्था खारेजको माग गरेको छ । आक्रोसित व्यवसायीहरुले भेला गरेर आन्दोलनबाटै सरकारलाई घुँडा टेकाउने रणनीति बनाएका छन् । मयुर यातायातलाई सञ्चालन अनुमति दिएको विरुद्धमा कोटेश्वरपुर्वका यातायात व्यवसायी आन्दोलित भएका थिए । विभागले वस सञ्चालन नगर्ने र अवरोध गर्नेको रुट इजाजत खारेज गर्ने चेतावनी दिएपछि यातायात सञ्चालनमा ल्याएका छन् । कानूनले सिण्डिकेटलाई बर्जित गरेपनि व्यवसायीले समितिका नाममा अघोषित रुपमा आलोपालो सवारी सञ्चालन गरिरहेका छन् ।

कैलाश बैंकको नयाँ शाखा दमकमा, चाँडै तीन जिल्लामा खोल्दै

कैलाश विकास बैंक लिमिटेडले झापा जिल्लाको दमकमा आफ्नो ४७ औँ शाखा स्थापना गरि सोमवारदेखि कारोवार सन्चालनमा ल्याएकाे छ । उक्त शाखाको उद्घाटन दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले एक समारोहकाबीच गरेको जानाएको छ । उक्त नयाँ शाखासहित बैंकको शाखा संख्या ४७ पुगेका छ । एटीएमको संख्या २२ पुगेको छ । बैंकले निकट भविष्यमा बारा जिल्लाको गंजभवानीपुर, सिराहा जिल्लाको बेल्हा, पर्सा जिल्लाको विरगंज तथा अन्य विभिन्न ठांउहरुमा समेत शाखा सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी गराएको छ । राष्ट्रिय स्तरको सो विकास बैंकको चुक्ता पूँजी रु.२ अर्व ५२ करोड रहेको छ । हालसम्म रु.२० अर्व ४ करोड निक्षेप संकलन गरी रु.१८ अर्ब १६ करोड कर्जा प्रवाह गरेको जनाएको छ । बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै समस्त आधारभूत बैंकिङ सेवाको अलावा मोबाएल बैंकिङ, एसएमएस बैंकिङ, ईन्टरनेट बैंकिङ लगायतका सेवाहरु प्रदान गर्दै आएको छ ।

ग्लोबल आईएमई र नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब ७० करोडको म्युचअल फण्ड बजारमा ल्याउदै

काठमाडौं । दुई वाणिज्य बैंकले १ अर्ब ७० करोड रुपैयाँ बराबरको १७ करोड एकाई सामूहिक लगानी कोष (म्युचअल फण्ड) निष्कासन गर्न लागेका छन् । ग्लोबल आईएमई बैंकले १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड कित्ता ग्लोबल आईएमई व्यालेन्स फण्ड १ र नेपाल इन्भेष्टमेन्ट बैंकले ५० करोड रुपैयाँ बराबरको ५ करो एकाईको एनआईबीएल सहभागिता फण्ड निष्कासन गर्न लागेका छन् । म्युचअल फण्ड निष्कासन गर्न दुबै बैंकले धितोपत्र बोर्डमा निवेदन दिएका छन् । बैंकको प्रस्तावको अध्ययन भइरहेको बोर्डले जानकारी दिएको छ । दुई कम्पनीले प्रति इकाई १० रुपैयाँका दरले कुल १७ करोड इकाई निष्कासन गर्ने प्रक्रिया अघि बढाएका हुन् । बोर्डले अनुमति दिए पश्चात बजारमा यी दुई कम्पनीले म्यूचल फण्डको बिक्री गर्ने छन् । ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ ग्लोबल आइएमई क्यापिटल लिमिटेड र एनआइबिएल सहभागिता फण्ड एनआईबिएल क्यापिटल लिमिटेडले जारी गर्नेछन् । बैंकको ब्याजदर बढेको र ऋण पनि नपाउने अवस्था आएपछि ठुला लगानीकर्ताले लगानी गर्न नसक्दा एनआईसी एसिया बैंकले १ अर्ब रुपैयाँको एनआईसी एसिया ग्रोथ फण्ड बिक्री नभएपछि समय थप गरिएको थियो । यस्तै सिटिजन्स बैंकले ल्याएको १ अर्ब रुपैयाँको फण्ड पनि बिक्री भएन । चालु आर्थिक वर्षमा सिद्धार्थ इक्विटी फण्ड, सानिमा इक्विटी फण्ड, एनआईसी एशिया ग्रोथ फण्ड र सिटिजन म्यूचल फण्ड १ ले म्यूचल फण्ड निष्काशन गर्ने बोर्डको अनुमति पाई बिक्री पनि गरिसकेका छन् । बजारमा सिद्धार्थ इक्विटी फण्ड र सानिमा इक्विटी फण्डले बिक्रीमा ल्याएको म्यूचल फण्डको सजिलै बिक्री भएको थियो ।