विकासन्युज

ओलीले पनि साट्न सकेनन् ५०० र १००० दरका ७ करोड भारु नोट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि प्रतिबन्धित ५०० र १००० को भारतीय नोट साट्न सकेनन् । तीन दिने भारत भ्रमण सकेर ओली आइतबार नेपाल फर्किएका छन् । भारत भ्रमणको विषयमा परराष्ट्रमन्त्री प्रदिप ज्ञावालीले दिएको विज्ञप्तीमा भारतीय मुद्रा सटहीबारे कुनै कुरा उल्लेख गरिएको छैन । भारतले पाँच सय र एक हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि नेपालका दुई जना प्रधानमन्त्री पुष्प कमल दाहाल र शेर बहादुर देउवाले पनि नोट साट्न सकेका थिएनन् । अहिले नेपालको वित्तिय प्रणालीमा रहेको ५०० र १०० हजार दरका ७ करोड भारु साटिएको छैन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०१६ को नोभेम्बर ९ तारिखदेखि ५ सय र एक हजार दरका भारतिय नोटमाथी प्रतिबन्ध लगाएका थिए । तर पनि नेपाली प्रणालीमा रहेको ५०० र १००० दरका भारु साटिएनन् । नेपालमा एक जना व्यक्तिले २५ हजारसम्म भारतीय मुद्रा राख्न पाउने व्यवस्था छ । भुटानले भने आफ्नो प्रणालीमा रहेको भारु साटिसकेको छ । राष्ट्र बैंकका एक उच्च अधिकारीले प्रधानमन्त्री ओलीको भारत भ्रमणमा भारु सटहीलाई उच्च प्राथमिकताका दिने बताइए पनि यो विषयमा कुरा नै उठान हुन नसकेको बताइएको छ । ओलीको भारत भ्रमण अगाडी भारु सटहीको मुद्दालाई महत्वका साथ उठाउने गरि राष्ट्र बैंकले सरकारलाई ब्रिफिङ गरेको राष्ट्र बैंकले बताएको थियो । यसअघि नोट बन्दीमा परेको भारतीय मुद्रा सटहीबारे छलफल गर्न नेपाल आएको रिजर्भ बैंक अफ इण्डियाको टोलीले प्रतिव्यक्ति ४५ सय भारु साटिदिने प्रस्ताव गरेको थियो । तर नेपाल राष्ट्र बैंकले प्रतिव्यक्ति २५ हजार नै साटिदिनुपर्ने अडान राखेको थियो ।

चेम्बर अध्यक्ष श्रेष्ठको नेतृत्वमा नेपाली प्रतिनिधि भियतनाम एक्स्पोको लागि प्रस्थान

काठमाडौं । भियतनाम एक्स्पोमा सहभागी हुन नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा १५ सदस्यीय एक प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गरेको छ । चैत्र २८ गतेदेखि वैशाख १ गतेसम्म हुने २८ अाै‌ भियतनाम इन्टरनेशनल ट्रड फेयर (भियतनाम एक्स्पो)मा सहभागी हुन चेम्वरसहितको टोली त्यसतर्फ प्रस्थान गरेको हो । एक्स्पोमा नेपालकोतर्फबाट लुम्विनी हाउस, मण्डला हाउस, यलँं ह्याण्डिक्राफ्ट, पायोनिर आर्ट इन्टरप्राइजेज, लपिस थान्का ग्यालरी लगायतका स्टलहरु रहने चेम्बरका प्रमुख कार्यकारी अधिकृत कैलाश कुमार बजियामले जानकारी दिएको छ ।

मेलम्चीको सुरुङ आज राती ब्रेक थ्रु हुदै, काठमाडौंमा पानी आउने निश्चित

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने काम (ब्रेक थ्रुृ) आज सोमबार राती सकिने भएको छ । सुरुङ खन्न ६ मिटर मात्र बाँकी रहेकाले आज रातिसम्म सुरुङ खन्ने काम सकिने भएको हो । इटालियन ठेकेदार को–अपरेटिभ मुरातोरी सिमेन्टिक डि रेभेना (सिएमसी) ले आइतबार मात्रै ११ मिटर सुरुङ खनेको थियो । ६ मिटर मात्र बाँकी रहेकाले आज रातीसम्म सुरुङ ब्रेक थ्रु हुने मेलम्ची खानेपानी विकास समितिका प्रवत्ता राजेन्द्रप्रसाद पन्तले बताए । उनले बिहीबार विशेष कार्यक्रम राखिएको जानकारी दिए । मेलम्चीको सुरुङ खन्ने काम सकिएकाले राजधानीमा खानेपानी आउने अब पक्का भएको छ । मेलम्चीको रिवर्मादेखि सुन्दरिजलसम्म सुरुङको लम्बाइ २७. ५ किलोमिटर छ । सुरुङ खन्ने काम सकिएपछि कंक्रिट र लाइनिङको काम हुने उनले जानकारी दिए । सन् २०१३ जुलाइमा सिएमसीसँग ७ अर्ब ७२ करोडमा ठेक्का सम्झौता भएको थियो । यसले पनि ढिलाइ गरेपछि पटकपटक म्याद थप गरी अन्तिम अवधि यो महिनासम्म तोकिएको छ । पहिलो चरणमा मेलम्ची खोलाको दैनिक १७ करोड लिटर पानी राजधानी ल्याइनेछ । दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाको पनि १७र१७ गरी ३४ करोड लिटर पानी ल्याउने तयारी भइरहेको छ । मेलम्चीको पानी आएपछि उपत्यकावासीलाई दैनिक ५ घण्टासम्म पानी आपूर्ति हुने छ । याङ्ग्री र लार्के खोलाको समेत गरी दैनिक ५१ करोड लिटर पानी आउन थालेपछि २४ सै घण्टा पानी वितरण हुने छ । यसका लागि समितिले संभाव्यता अध्ययनको काम थालेको छ । पहिलो चरणको आयोजनाबाट उपत्यकामा दैनिक रुपमा १७ करोड लिटर पानी झरे पनि अझै उपत्यकावासीलाई ३४ करोड लिटर पानी अपुग हुनेछ । सुन्दरीजलमा पानी प्रशोधन केन्द्र निर्माणको काम सम्पन्न भएको छ । अर्को साढे ८ करोड लिटर पानी प्रशोधनको काम २० प्रतिशत सम्पन्न भएको पन्तले जानकारी दिए ।

केरुङ–काठमाडौं रेलमार्गको प्रारम्भिक प्रतिवेदन तयार, १ किलोमिटरको लागत साढे ४ अर्ब

काठमाडौं । चीनसँग जोडिने रेलमार्ग निर्माणको सम्भावनाबारे प्रारम्भिक अध्ययन गरी त्यसले ओगट्ने क्षेत्रफल तथा सम्भावित लागतसहितको प्रतिवेदन तयार पारिएको छ । प्रधानमन्त्री केपी ओलीको हालै भएको भारत भ्रमणमा दक्षिणी छिमेकीबाट राजधानीसम्म रेल ल्याउने सम्झौता भएपछि करिब दुई वर्षअघि चीनसँग भएको यस्तै समझदारीको प्रगतिबारे पनि चासो बढेको हो। अघिल्लो पटक ओली प्रधानमन्त्री हुँदा चीनसँग पारवहन सम्झौताका साथै अन्तरदेशीय रेल्वेबारे अध्ययन गर्ने समझदारी भएको थियो। त्यसैअनुरूप केही महिनाअघि एउटा उच्चस्तरीय चिनियाँ टोलीले नेपाल आएर अन्तरदेशीय रेलमार्गको सम्भाव्यताबारे प्रारम्भिक अध्ययन समेत गरेको थियो। यस विषयमा नेपालले पनि हालै एक प्रारम्भिक अध्ययन गरेको रेल विभागका वरिष्ठ डिभिजनल इञ्जिनियर प्रकाशभक्त उपाध्यायले बताए। उनले भने, हामीले दुई हप्ताअघि एउटा प्रतिवेदन बनाएर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पेश गरेका छौँ। केरुङबाट काठमाडौंसम्म करिब ७५ किलोमिटरको रेलमार्ग बनाउनु पर्ने उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ। रेल विभागका अनुसार काठमाडौंबाट पोखराको दूरी झण्डै १८७ किलोमिटर लामो हुने र मुग्लिनबाट लुम्बिनीसम्म करिब १४० किलोमिटरको रेलमार्ग निर्माण गर्नुपर्ने देखिएको छ। जटिल भौगोलिक अवस्था भएका कतिपय स्थानदेखि केही समथर भूभाग समेत ओगट्ने सो महत्त्वाकांक्षी रेलमार्गको लागत स्थान हेरी फरक हुने उपाध्यायले बताए। उनले भने, केरूङबाट काठमाडौं प्रतिकिलोमिटर करिब ४ अर्ब ५० करोड रूपैयाँ, काठमाडौंबाट पोखरा करिब ३ अर्ब रुपैयाँ प्रतिकिलोमिटर लाग्ने देखिएको छ। मुग्लिनबाट चितवन हुँदै लुम्बिनी जाने हो। मुग्लिनबाट चितवनसम्म करिब ३ अर्ब रुपैयाँ प्रतिकिलोमिटर र त्यहाँबाट अगाडि करिब १ अर्ब २५ करोड रुपैयाँ लाग्ने देखिएको छ। खर्च प्रारम्भिक भएकाले परियोजनाले ठोस आकार लिएपछि त्यसमा निर्माण गर्नुपर्ने सुरूङ जस्ता पक्षले लागतमा फेरबदल आउन सक्ने बताइएको छ। यो लागतलाई हेर्दा केरुङदेखि काठमाडौंसम्म रेल ल्याउन ३ खर्ब ३७ अर्ब ५० करोड रुपैयाँ लाग्ने देखिएको छ । नेपालसँग रेलमार्गबाट जोडिन दुवै छिमेकी देशले तत्परता देखाएको विषयलाई कतिपयले ती दुई आर्थिक शक्तिबीचको प्रतिस्पर्धाका रुपमा चित्रण गरेका छन्। स्रोतः बीबीसी

निक्षेप राख्न बैंक खोज्दै समाज कल्याण परिषद

काठमाडौं । समाज कल्याण परिषददे आफुसंग भएको रकम मुद्धति वा कलखातामा राख्न बैंकसंग प्रस्ताव मागेको छ । परिषदले आफुसंग भएको वचत रकम एक वर्षे मुद्धति वा कलखतामा राख्नका लागि दोस्रो पटक वाणिज्य बैंकसंग प्रस्ताव मागेको हो । यसअघि बैंकले कम ब्याजदर प्रस्ताव गरेपछि पुनः प्रस्ताव आब्हान गरेको परिषदले जनाएको छ । परिषदले मुद्धति निक्षेप र कलखातामा राख्ने रकमको छुट्टाछुट्टै ब्याजदर प्रस्ताव गर्न भनेको छ । उसले ७ दिनभित्र प्रस्ताव पेश गर्न बैंकलाई अनुरोध गरेको छ ।

कारोबारको ४ दिनमै सेयर बजार १०१ अंक वृद्धि, आज कति बढ्ला ?

काठमाडौं । लगानीकर्ताको विश्वास बढेपछि अघिल्लो सातादेखि सेयर बजारमा उछाल आएको छ ।  बजार अब उकालो लाग्ने संकेत देखिएको छ । गत साता मंगलबारदेखि बढन् थालेको बजार आइतबारसम्म १०१ अंक बढेर नेप्से परिसुचक बढेर १ हजार २९४ अंकमा पुगेको छ । आइतबार मात्रै बजार ४४ अंक बढेको छ । आज पनि बजार बढ्ने देखिएको छ । आइतबार ९१ करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । केही महिनायताको यो सबैभन्दा बढी सेयर कारोबार हो । डेढ वर्षअघि बजार बढेर १ हजार ८८१ अंकमा पुगेको थियो । बजारले गति लिन थालेपछि लगानीकर्ताको विश्वास बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले लगानीयोग्य पुँजी बढाउन विदेशी बैंकबाट कर्जा ल्याउन खुला गरेपछि ब्याजदर घट्ने अनुमानका आधारमा बजार बढेको हो । सरकारको खर्च बढेपछि बैंकिङ प्रणालीमा तरलता बढेको छ । सेयर बजार घटेर एउटा सीमामा पुगेपछि पुनः बढ्ने लगानीकर्ताको भनाई छ ।  

एनआईसी एसिया बैंकले खुलायो ८० भन्दा बढीलाई जागिर, आवेदन दिने अन्तिम दिन अप्रिल २३

काठमाडौं । तपाई बैंकिङ जागिरको खोजिमा हुनुहुन्छ ? बैंकबाट आफनो करियर सुरु गर्न चाहानुहुन्छ ? अब चिन्ता नलिनुस एनआईसी एसिया बैंकले विभिन्न तहका लागि ८० भन्दा बढीलाई जागिर दिने भएको छ । बैंकले सहायक प्रवन्धकदेखि सहायकसम्मका लागि विभिन्न तहका लागि सोमबार जागिर खुलाएको छ । २३ अप्रिल अर्थात वैशाखको पहिलो सातासम्म आफनो आवेदन दिन सक्ने बैंकले जनाएको छ । बैंकले सहायक प्रवन्धक १०, वरिष्ठ अधिकृत ३०, बजार अधिकृत ५, मार्केटिङ एजिक्युटिभ २५ र कार्यालय सहायकलाई भर्ना खुलाएको छ । यस्तै शाखा प्रवन्धक, सहायक प्रवन्धक, जुनियर अफिसर केही संख्यालाई मागेको बैंकले जनाएको छ ।

१२० दिनसम्म चल्ने तङ्ग इल मोदोको प्रशिक्षण सुरू

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्मा आबद्ध भएर लोकप्रिय बन्दै गएको मार्सल आर्टस् सम्बन्धि खेल तङ्ग–इल मो–दो संघले नेपालमा पनि सफलता हात पार्दै गएको बताइएको छ । केही वर्षअगाडि मात्रै यो खेल राष्ट्रिय खेलकुद परिषद्मा १२८ नंम्बरमा दर्ता भएको थियो । नेपालमा दोस्रोपल्ट १२० दिने मार्सल आर्टस् नेतृत्व कौशल तथा शान्ति अध्ययन विषयक प्रशिक्षण कार्यक्रम आइतबारबाट सुरु भएको छ । तङ्ग इल मोदो संघ नेपाल (एकीकृत मार्सल आर्ट) को आयोजनामा आइतबारदेखि विश्व शान्ति तथा एकिकृत परिवार संघ नेपालको राष्ट्रिय तालिम केन्द्र, जोरपाटीमा प्रशिक्षण शुरु भएको हो । पूर्वमन्त्री एकनाथ ढकालले प्रशिक्षणको उद्घाटन गरेको बताइएको छ । उनले सो अवसरमा तङ्ग इल मोदो मार्सल आर्टको नयाँ संस्करण भएको बताउँदै नेपालमा यसले छुट्टै पहिचान बनाएको जानकारी गराएका थिए । उद्घाटन कार्यक्रममा युपीएफ नेपालका महासचिव विनोद डाँगीले तालिमको उद्घाटनमा आउन पाएकोमा खुसी व्यक्त गरे । साथै उनले खेलाडीले सिकेको शिप राष्ट्रको सम्पत्ति हुने बताए । तङ्ग–इल मो–दो संघ नेपालका अध्यक्ष सन्तोषकुमार पौडेलले खेलकुद स्वस्थ जीवन, अनुशासन, राष्ट्रको गौरवका लागि महत्वपुर्ण हुने बारे प्रकाश पारे । उनले खेलाडीहरू देशका गहना र शक्ती रहेको बताए । तालिममा सहभागी खेलाडीहरूलाई मार्सल आर्टका अलवा अग्रेजी तथा कोरियन भाषा प्रशिक्षण, सरसफाई, सामाजिक उतरदायित्व , व्यक्तित्व विकास सामाजिक कार्यमा समेत सहभागिता गराइने राष्ट्रिय तालिम केन्द्रका निर्देशक रुपसिंह भण्डारीले जानकारी गराए । प्रशिक्षणमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका १३० युवा–युवतीहरूको सहभागीता रहेने आयोजकको भनाइ छ ।