विकासन्युज

जेबिल्स फाइनान्सको १११ रुपैयाँमा ३ लाख ७२ हजार कित्ता हकप्रद लिलामी

काठमाडौं । जेबिल्स फाइनान्स लिमिटेडको हकप्रद सेयर ४८ जनाले पाएका छन् । फाइनान्सको प्रतिकित्ता १११ रुपैयाँमा ३ लाख ७२ हजार ४२७ कित्ता बाँडफाँड भएको बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ । फाइनान्सले चुक्तापुँजी बढाउन निष्कासन गरेको तर आवेदन नपरेका संस्थापक समूहतर्फको २ लाख ९८ हजार २०६ र साधारणतर्फ ७४ हजार २२० कित्ता लिलामीका लागि बोलपत्र आब्हान गरेको थियो ।

प्रियजनसँग असिमित कुरा गर्न एनसेलले ल्यायो भ्यालेन्टाइन प्याक, भिडियो च्याटको मजालिन सक्ने

काठमाडौं । एनसेल प्रालिका ग्राहकले भ्यालेन्टाइन सिजनमा आफ्ना प्रियजनसँग असिमित कुराकानीका साथै निरन्तर भिडियो च्याटको मजालिन सक्ने भएका छन् । नजिकिदै गरेको प्रणय दिवसको अवसरमा एनसेलले आफ्ना ग्राहकका लागि असिमित भ्वाइस प्याक र डेटा प्याक सहितको भ्यालेन्टाइन अफर ल्याएको छ । जसले ग्राहकलाई आफ्ना प्रियजनसँग निरन्तर कुराकानीतथा भिडियो च्याट गर्दै अझै नजिक हुन सहज बनाउने कम्पनीको विश्वास छ । असिमित भ्वाइस तथा डेटा प्याकको यो आकर्षक अफर बिहिबार देखि १५ दिनसम्मका लागि लागु हुनेछ । अफर अन्तर्गत, एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले कर सहितमा १५ रुपैयाँमा असिमित भ्वाइस प्याक लिई बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म एनसेलको नेटवर्क भित्रकुनै पनि नम्बरमा असिमित कुराकानीको मजालिन सक्नेछन् । १७११४ डायल गरी प्राप्त जानकारीअनुसार भ्वाइस प्याक सुचारु गर्न सकिने एनसेलले जनाएको छ । त्यसैगरी एसएमएस मार्फत अंग्रेजीमा ‘ए’ टाइप गरी १७११४ मा एसएमएस पठाइ पनि यो प्याक सुचारु गर्न सकिन्छ । यो भ्वाइस प्याक सुचारु गरिएको समयबाट २४ घण्टाका लागि मान्य हुनेछ । ग्राहकले आफ्नो आवश्यकताअनुसार योजना अवधिभर हरेक दिन यो प्याक सुचारु गर्न सक्छन् । प्याकको समयावधि सकिएपछि विद्यमान शुल्क लागु हुने एनसेलले जानकारी दिएको छ । अफर अन्तर्गत कर सहितमात्र २० रुपैयाँमा १ घण्टाको लागि निरन्तर डेटा उपलब्ध गराउने असिमित डेटा प्याकलिई आफ्ना प्रियजनसँग निरन्तर भिडियो च्याटको मजा लिन सक्ने छन् । यो डेटा अफरको लाभ लिन ग्राहकले एस्टिक्स १७११४ ह्यास् डायल गरी विकल्प नम्बर २ छनौट गरी प्याक सुचारु गर्न सक्छन् । ग्राहकले अंग्रेजीमा ‘यु’ टाइप गरी १७११४ मा एसएमएस पठाएर पनि यो प्याक सुचारु गर्न सक्छन् । निरन्तर ईन्टरनेट सुनिश्चित गर्ने यो डेटा प्याक सुचारु भएको समयबाट १ घण्टाका लागि मान्य रहनेछ । ग्राहकले आफ्नो आवश्यकताअनुसार यो प्याक योजना अवधिभर जति पटक पनि लिन सक्छन् ।

अपी पावर कम्पनीको नाफा घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा अपि पावर कम्पनी लिमिटेडको नाफा घटेको छ ।गत पुससम्म कम्पनीले ३ करोड १३ लाख रुपैयाँ मात्र खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ३ करोड ४५ लाख रुपैयाा नाफा गरेको छ । यो वर्षको ६ महिनामा अपीको नाफा ३२ लाख रुपैयाँ घटेको छ । अपीले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिकक वित्तीय विवरणमा नाफा घटेपछि प्रतिसेयर आम्दानी (ईपीएस) मा पनि गिरावट आएको जानकारी दिएको छ । ईपीएस घटेर ५ रुपैयाँ ९७ पैसामा झरेकोे छ । गत आवको सोही अवधिमा कम्पनीको ईपीएस ६ रुपैयाँ ५८ पैसा थियो । गत पुससम्म अपीले बिजुली बिक्रीबाट ८ करोड ६ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा ८ करोड ८१ लाख रुपैयाँ आम्दानी गरेको छ । ६ महिनामा अपीको आम्दानी ७५ लाख रुपैयाँ घटेको छ । कम्पनीको संचित कोषमा १२ करोड १४ लाख रुपैयाँ छ । अपीले साढे ८ मेगावाटको नौगाड साना जलविद्युत आयोजना निर्माण तथा सञ्चालन गरिरहेको छ । अपीले ८ मेगावाटको माथिल्लो नौगाड आयोजना निर्माण गरिरहेको छ । यस्तै ४० मेगावाटको माथिल्लो चमेलिया आयोजना पनि निर्माणको तयारी थालेको छ ।

आउँदो ३ वर्षमा नाफा २ अर्ब ९ करोड पुग्ने सिद्धार्थ बैंकको प्रक्षेपण, ईपीएस पनि बढ्ने

काठमाडौं । आउँदो ३ वर्षमा सिद्धार्थ बैंकले खुदनाफा ४८ प्रतिशत बढ्ने प्रक्षेपण गरेको छ । बैंकले आर्थिक वर्ष ०७६/०७७ मा नाफा बढेर २ अर्ब ९ करोड ६५ लाख रुपैयाँ पुग्ने अनुमान गरेको छ । गत आवमा बैंकले १ अर्ब ४१ करोड रुपैयाँ खुदनाफा गरेको थियो । हकप्रद सेयर निष्कासन प्रयोजनका लागि सार्वजनिक गरेको सुचनामा बैंकले वर्षेनी औसत १६ प्रतिशतका दरले खुदनाफा बढाउने लक्ष्य लिएको हो । बैंकले चालु आवमा १ अर्ब ५१ करोड २९ लाख रुपैयाँ नाफा गर्ने लक्ष्य लिएको छ । आगामी १ अर्ब ७७ करोड ७३ लाख रुपैयाँ नाफा गर्ने प्रक्षेपण सार्वजनिक गरेको हो । बैंकको नाफासंगै प्रतिसेयर आम्दानी (ईपीएस) समेत बढेर ३ वर्षमा २४ रुपैयाँ ३३ पैसा पुग्ने बैंकले जनाएको छ । गत आवमा बैंकको ईपीएस २१ रुपैयाँ ३९ पैसा छ । चालु आवमा घटेर १७ रुपैयाँ ४८ पैसा र आगामी आवमा पुनः बढेर २० रुपैयाँ ५४ पैसाँ पुग्ने प्रक्षेपण बैंकको छ । चुक्तापुँजी बढेपछि बैंकको ईपीएसमा गिरावट आएको छ । आव ०७६/०७७ मा बैंकले ब्याज आम्दानी बढेर १४ अर्ब ३ करोड पुग्ने प्रक्षेपण गरेको छ । गत आवमा बैंकको ब्याज आम्दानी ६ अर्ब ६५ करोड रुपैयाँ थियो । चालु आवमा बैंकको ब्याज आम्दानी बढेर ९ अर्ब ६७ करोड र आगामी आवमा अझ बढेर ११ अर्ब ८१ करोड रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ । ३ वर्षमा बैंकले निक्षेप परिचालन बढाएर १ खर्ब ३७ अर्ब ९८ करोड रुपैयाँ पुग्ने अनुमान छ । चालु आवमा बढेर ९६ अर्ब ६३ करोड आगामी वर्ष बढेर १ खर्ब १५ अर्ब ९५ करोड रुपैयाँ निक्षेप परिचालन हुन सक्ने बैंकको अनुमान छ । यस्तै कर्जा लगानी पनि विस्तार भई ३ वर्षमा १ खर्ब १६ अर्ब ८७ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ । चालु आवमा बैंकको कर्जा लगानी ८२ अर्ब ६६ करोड र आगामी वर्ष ९८ अर्ब ८८ करोड रुपैयाँ पुग्ने कम्पनीको प्रक्षेपण छ । जगेडा कोषमा ६ अर्ब १७ करोड रुपैयाँ पुग्ने छ । बैंकले फागुन २ गतेदेखि ६८ करोड २६ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले चुक्तापुँजी बढाउन साविकका सेयरधनीलाई ६८ लाख २६ हजार ११७ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । १० बराबर १ अनुपातमा निष्कासन हुन लागेको हकप्रद सेयरको बिक्री चैत ६ गते बन्द हुने बैंकले जनाएको छ । माघ २२ गते भन्दा अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार भई कायम रहेका सेयरधनीले हकप्रद सेयर खरिद गर्न पाउने भएका छन् । हकप्रद सेयर बाँडफाँडपछि चुक्तापुँजी बढेर ७ अर्ब ५० करोड ८७ लाख रुपैयाँ पुग्ने बैंकले जनाएको छ । हाल बैंकको चुक्तापुँजी ६ अर्ब ८२ करोड ६८ लाख रुपैयाँ छ ।  

कालिका माइक्रोक्रेडिटको साधारणसभा फागुन १९ मा, २१ प्रतिशत बोनस सेयर पारित गर्ने

काठमाडौं । कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको आठौ वार्षिक साधारणसभा फागनु १९ गते हुने भएको छ । संस्थाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २१.२१ प्रतिशत अर्थात १ करोड ७५लाख रुपैयाँ बोनस सेयर स्वीकृत गर्ने छ । सभामा सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालकको निर्वाचन हुने भएको छ । यस्तै नाम परिवर्तन गरेर कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडमा परिणत गर्ने प्रस्ताव सभाले पाति गर्ने भएको छ ।

युनिलिभर नेपालको नाफा साढे १८ प्रतिशत घट्यो, ईपीएसमा पनि गिरावट

काठमाडौं । बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडको खुदनाफा साढे १८ प्रतिशत घटेको छ ।  चालु आर्थिक वर्षको ६ महिनामा युनिलिभरले १५ करोड ३० लाख रुपैयाँ मात्र नाफा गरेको छ । गत आवको सोही अवधिमा उसले १८ करोड ७८ लाख रुपैयाँ नाफा गरेको थियो । कम्पनीले बिहीबार सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाशिक वित्तीय विवरणमा आम्दानीमा पनि गिरावट आएको जानकारी दिएको छ । समीक्षा अवधिमा नाफा घटेपछि प्रतिसेयर आम्दानी (ईपीएस) मा पनि गिरावट आएको छ । कम्पनीको प्रतिसेयर आम्दानी १६६ रुपैयाँमा झरेको छ । गत वर्षको सोही अवधिमा २०४ रुपैयाँ थियो । यस्तै आम्दानी पनि घटेर १ अर्ब ५ करोड ५० लाख रुपैयाँमा सीमित भएको छ । गत आवको सोही अवधिमा युनिलिभरले १ अर्ब २१ करोड ८१ लाख रुपैयाँ आम्दानी गरेको थियो । यसबीचमा युनिलिभरको नाफा झण्डै १६ करोड रुपैयाँ घटेको छ । उत्पादित वस्तुको बिक्रीमा कमी आएपछि आम्दानी घटेको युनिलिभरले जनाएको छ । वितरण सञ्चाललाई अझ बढाई यो वर्ष नाफा बढाउने उसले जनाएको छ ।

चैतभित्रै माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको २ अर्ब ६४ करोड आईपीओ आउने

काठमाडौं । निर्माणाधिन माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले आउदो चैतभित्र साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आयोजना प्रभावित दोलखावासी र सर्वसाधारणलाई गरी २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ बराबरको २ करोड ६४ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । प्रवद्र्धक अपरतामाकोसी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दालाई १० प्रतिशत अर्थात १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ५ लाख ९० हजार कित्ता र सर्वसाधारणलाई १५ प्रतिशत अर्थात १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । आईपीओ आउदो चैतसम्म निष्कासन हुने अपर तामाकोसीको अध्यक्ष तथा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । रसुवागढी र सान्जेन जलविद्युत कम्पनीले आईपीओ निष्कासन गर्नका लागि बुधबार गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले तामाकोसीको आईपीओ निष्कासनको काम सुरु भइसकेको जानकारी दिए । जिल्ला समन्वय समितिबाट आयोजनाबाट अतिप्रभावित, कम प्रभावित र प्रभावित गरी तीन वर्गमा विभाजन गरी सेयर वितरण गर्ने समहमति भएको छ । दोलखावासीले न्युनतम ३० देखि बढीमा ३ सय कित्तासम्म सेयर भर्न पाउने भएका छन् । स्थानियबासिन्दालाई निष्कासन गरिसकेको सर्वसाधारणलाई १५ प्रतिशत आईपीओ निष्कासन हुनेछ । पहिलो चरणमा सर्वसाधारणलाई १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता सेयर निष्कासन हुनेछ । यसअघि कर्मचारी संचय कोषका संचयकर्ता, ऋण दिने संस्थाका कर्मचारी र नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई गरी १७.२८ प्रतिशत अर्थात १ अर्ब ८२ करोड ९९ लाख ५२ हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ९५ हजार कित्ता सेयर निष्कासन गरी ०७२ जेठ २९ गते बाँडफाँड भइसकेको छ । सो सेयर नेपाल स्टक एक्सचेन्जमा सुचिकृत नहुदाँ कारोबार भएको छैन् । आईपीओबाट लगानीकर्ताले लाभ पाउन सकेका छैनन् । तामाकोसीमा कर्मचारी संचय कोष, नेपाल विद्युत प्राधिकरण, राष्ट्रिय बीमा संस्थान र नागरिक लगानी कोषको लगानी छ । हाल आयोजनाको काम ९३ प्रतिशत सम्पन्न भएको छ । डलरको मूल्यमा उतारचढाव आउनु लक्ष्यअनुसार निर्माण कार्य अगाडि नबढ्नु र भूकम्पका कारण आयोजनाको समयसीमा लम्बिदै जानुका कारण ३५ अर्ब २९ करोड रुपैयाँमा सम्पन्न गर्ने अनुमान गरिएको आयोजनाको लागत बढेर ४१ अर्ब ७२ करोड पुग्ने अनुमान गरिएको हो । आयोजना ०७५ असार मसान्तभित्र विद्युत् युनिटबाट बिजुली उत्पादन गरिसक्ने लक्ष्य लिइएको छ । सोही वर्षको मंसिरसम्म ५ वटै युनिट सञ्चालनमा ल्याउने तयारी कम्पनीको छ । यस्तै ४५६ मेगावाटको आयोजनाले २२ मेगावाटको अर्को आयोजना र रोल्वालिङ डाइभर्सन आयोजनाको काम अघि बढाएको छ । तामाकोसीबाट २ अर्ब २८ करोड र रोल्वालिङबाट गरी वार्षिक २ अर्ब ६२ करोड युनिट बिजुली उत्पादन हुने छ । तामाकोसी सञ्चालनमा आएपछि वर्षादमा लोडसेडिङको अन्त्य हुने छ ।तामाकोसीबाट मात्र बिजुली बिक्रीबाट वार्षिक ९ अर्ब रुपैयाँ आम्दानी हुने छ । रोल्वालिङको बिजुली थपिएपछि आम्दानी अझै बढ्ने छ ।

कावासोती र चनौलीमा एनसीसी बैंकको नयाँ शाखा

काठमाडौं। एनसीसी बैंकले नवलपरासी जिल्लाको कावासोती नगरपालिका, वडा नं. २ र चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. १८, चनौलीमा एक औपचारिक कार्यक्रमबीच आफ्नो शाखाहरु स्थापना गरेको छ । कावासोती शाखाको उद्घाटन एनसीसी बैंकको सञ्चालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले गरेका थिए । उनले सो अवसरमा बैंकले गुनासो रहित कार्य सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ । साथै सेवाग्राहीहरुको सुझावको आधारमा बैंकका गतिविधि सञ्चालन गर्ने उनको भनाइ छ । त्यस्तै चितवको चनौली शाखाको उद्घाटन बैंकका सञ्चालक डा. कैलाश पतिन्द्र अमात्यले गरेको जनाइएको छ । उनले उद्घाटनको अबसरमा उक्त क्षेत्रका जनताको आर्थिक क्रियाकलापमा बैंकले सहयोग पुयाउने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले चनौली क्षेत्रको समग्र आर्थिक विकासमा सहयोग पुर्याउने उद्देश्यले सो ठाउँमा शाखा सञ्चालनमा ल्याएको बताएका छन् ।