विकासन्युज

अब उद्योग परिसंघ पनि महासंघीय मोडलमा, देशैभर संगठन विस्तार गर्ने

काठमाडौं । नेपाल उद्योग परिसंघ पनि महासंघीय ढाँचामा अघि बढ्ने भएको छ । मन्त्रिपरिषदले संसोधित विधान स्वीकृत गरेसँगै परिसंघलाई पनि महासंघीय ढाँचामा जान बाटो खुलेको हो । अब नीजी क्षेत्रका तीन वटा छाता संगठनहरुले देशभैर संगठन निर्माण गर्नेछन् । नेपाल उद्योग बाणिज्य महासंघले महासंघीय ढाँचामा देशभर संगठन विस्तार गरेको छ भने चेम्बर अफ कमर्शले पनि विधान संसोधन गरेर देशभर फैलने निर्णय गरिसकेको छ । अब परिसंघले पनि देशभरका उद्योगीहरुलाई संगठित गर्न लागेको हो । परिसंघले देशको सातओटै प्रदेशमा प्रदेश परिसंघ गठन गर्ने प्रकृयालाई अघि बढाउन लागेको छ । परिसंघले उपाध्यक्ष पदमा सुलभ अग्रवाललाई मनोनित गरेको छ । त्यस्तै महिला उद्यमीहरुका तर्फबाट छाया शर्मा र रिता भण्डारीलाई मनोनित गरेको छ । त्यस्तै, आशिष गर्ग, हेमन्त गोल्छा, मनिष खेम्का,रविन्द्र भक्तश्रेष्ठ, ऋिषी घिमिरे, शरद तिवरेवाला, शिषिर भट्ट र सुधीर मित्तल केन्द्रिय सदस्य बनेका छन् । साथै “प्रदेश परिसंघ”को गठन सातओटै प्रदेशमा गर्ने गरी प्रत्येक प्रदेशमा एक÷एकजनालाई संयोजक तोक्ने निर्णय सहित प्रदेश संयोजक समेत मनोनयन गरेको छ । प्रदेश (१) मीनप्रकाश मैनाली (झापा), प्रदेश (२) नरेश दास (जनकपुर), प्रदेश (३) ऋषी घिमिरे (हेटौडा), प्रदेश (४) विनोद न्यौपाने (पोखरा), प्रदेश (५)एजाज आलम (बुटवल), प्रदेश (६) टेक बहादुर भण्डारी (सुर्खेत) र प्रदेश (७) हेम विक्रमथापा (कञ्चनपुर) रहेका छन् ।

१ अर्ब ७३ करोडको सेयर कारोबार

काठमाडौं । धितोपत्र बजारमा गत साता १ अर्ब ७३ करोड ९० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्ज (नेप्से)का अनुसार कुल १७७ कम्पनीको ५० लाख ५९ हजार ९३० कित्ता शेयर बिक्री भएका थिए । कारोबार रकम गत साताको भन्दा ५८.७४ प्रतिशत बढी हो । गत साता १७० कम्पनीको १ अर्ब ९ करोड ५४ लाख ८५ हजार रुपैयाँ बराबरका २४ लाख ६१ हजार ६०० कित्ता शेयर खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १.८६ अंकले बढेर अन्तिम दिन १ हजार ४०४ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा शुन्य दशमलव ३१ अंकले बढेर २९६ दशमलव ४१ अंकमा आइपुगेको छ । यस साता कारोबार रकमका आधारमा सानिमा माई हाइड्रोपावर लिमिटेड अग्रस्थानमा छ । सो कम्पनीको १६ करोड सात लाख ६० हजार बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी कारोबार भएको शेयर संख्याका आधारमा ग्लोबल आइएमई बैंक अग्रस्थानमा छ । सो बैंकको ६ लाख १५ हजार कित्ता शेयर कारोबार भएको छ । रासस  

अरुण तेस्रो आयोजनामा एभरेष्ट बैंकले ३ अर्ब ६० करोड लगानी गर्ने, एसजेविएनले नेपाली बैंकबाट थप ४ अर्ब ६ करोड ऋण लिदै

काठमाडौं । एभरेष्ट बैंकले प्रस्तावित ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनामा ऋण लगानी गर्ने भएको छ । एभरेष्टले ३ अर्ब ६० करोड रुपैयाँ अर्थात २ अर्ब २५ करोड भारु अरुण तेस्रोमा ऋण लगानी गर्ने भएको हो । एभरेष्ट र आयोजनाको प्रवद्र्धक एसजेविएन अरुण ३ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीबीच सम्झौता भएको छ । एभरेष्टले संखुवासभाको दिर्दिङदेखि धनुषाको ढल्केबरसम्म ४ सय केभी क्षमताको १६८ किलोमिटर लामो प्रसारणलाइन बनाउन ऋण लगानी गर्ने सम्झौता गरेको एसजेवीएनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सतिशकुमार शर्माले बताए । यो प्रसारणलाइनका लागि पञ्जाव नेसनल बैंकसंग पनि ८ अर्ब रुपैयाँ अर्थात ५ अर्ब भारु ऋण लगानी गर्ने सम्झौता भएको छ । प्रसारणलाइन बनाउन नेपाल र भारतको बैंकबाट लगानी जुटेको शर्माले जानकारी दिए । नेपाली बैंकबाट थप ४ अर्ब ६ करोड रुपैयाँ ब्रिजलोन लिने तयारी भएको उनले बताए । यसका लागि नेपाली बैंकसंग प्रस्ताव मागिसकेको छ । आयोजना प्रभावित स्थानियबासिन्दालाई १ अर्ब ६० करोड रुपैयाँको सेयर वितरण र मासिक ३० युनिट बिजुली निःशुल्क दिने छ । निर्माण अवधी बाहेक आयोजनाको अवधि २५ वर्ष रहेको छ । प्रभावित ६ गाविसमा एसजेवीएनले निःशुल्क विद्युतीकरण गर्नेछ । आयोजना निर्माण गर्न १ खर्ब १५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । कुल लगानी मध्ये १ खर्ब ४ अर्ब विद्युत उत्पादन संरचना र ११ अर्ब रुपैयाँ प्रसारणलाइन बनाउन लगानी हुने शर्माले बताए । आयोजना आउदो सन् २०२२ को सेप्टेम्वरमा सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ । आयोजनाबाट वार्षिक २१.९ प्रतिशत अर्थात १९७ मेगावाट बिजुली नेपालले निःशुल्क पाउने छ । अरुण तेस्रोबाट नेपालले वार्षिक ८६ करोड युनिट बिजुली सित्तैमा पाउनेछ ।   भारत सरकारले अरुण तेस्रोमा ९२ अर्ब रुपैयाँ लगानी गर्न एसजेवीएनलाई स्वीकृत दिइसकेको छ । विद्युत उत्पादनका लागि यो रकम लगानी गर्ने तयारी एसजेवीएनको छ । विद्युत उत्पादन प्याकेजका लागि भारतको पावर फाइनान्स कर्पोेरेशन र अन्य बैंकसंग छलफल चलिरहेको उनले जानकारी दिए । “ब्याजमा कुरा नमिलेकाले अहिले विभिन्न बैंक तथा वित्तीय संस्थासंग वार्ता चालिरहेको छ” उनले भने “सस्तो ब्याजदर दिने बैंकसंग ऋण सम्झौता हुने छ ।” अहिले ९२ अर्ब रुपैयाँ ऋणका लागि बैंकसंग कुरा भइरहेको छ । आयोजनाको बाँध र डाइभर्सन सुरुङ संरचना निर्माणको ठेक्का भारतको जयप्रकाश एसोसियट्स (जेपी) लिमिटेडले पाएको छ । प्याकेज १ अन्र्तगत आयोजनाको बाँध र ३ किलोमिटर लामो डाइभर्सन सुरुङ निर्माणलगायत संरचना बनाउने जेपीले ठेक्का पाएको हो । प्रवद्र्धक एसजेवीएन र जेपीबीच नयाँदिल्लीमा ठेक्का सम्झौता भएको छ । पहिलो प्याकेजको काम १८ अर्ब रुपैयाँमा सक्ने गरी सम्झौता भएको छ । प्याकेज २ अन्र्तगत विद्युत्गृह निर्माणका लागि पनि बोलपत्र आब्हान गरिएको छ । यसको पनि यो महिनाभित्र ठेकेदार छनोट हुने तयारीमा छ । जसअनुसार दोस्रो प्याकेजमा विद्युतगृह र ८ किलोमिटर लामो सुरुङ निर्माण, तेस्रो प्याकेजमा इलेक्ट्रोमेकानिकल र चौथो प्याकेजमा हाइड्रोमेकानिकल र प्रसारणलाइनको अन्र्तगत काम हुने भएको छ । सबै प्याकेजको ठेक्काको काम भइरहेको छ । भारत निकासीका आयोजना बन्न लागेको हो । आगामी २५ वर्षका लागि एसजेभीएनले अरुणको विद्युत् उत्पादन अनुमतिपत्र (लाइसेन्स) पाउनेछ । प्रतिस्पर्धाबाट सबैभन्दा बढी बिजुली दिने प्रस्ताव गरेपछि सतलजले सन् २००८ मा यो आयोजना पाएको हो । आयोजना संखुवासभा र भोजपुर जिल्लाको सिमाना भएर बग्ने अरुण नदीमा पर्छ । बाँध नुम र पाथिभरा तथा विद्युत्गृह दिर्दिङ गाविसमा पर्छ । बाँधबाट विद्युत्गृहसम्म ११ किलोमिटर लामो सुरुङ खन्नु पर्नेछ ।      

ग्लोबल आईएमई र एभरेष्टको वित्तीय विवरण सार्वजनिक, एभरेष्टको भन्दा ग्लोबल आईएमईको सेयरमा बढी फाइदा

काठमाडौं । शनिवार ग्लोबल आईएमई बैंक र एभरेष्ट बैंकले वित्तीय विवरण सार्वजनिक गरेको छन् । चालु आर्थिक वर्षको प्रथम ६ महिनामा ग्लोबल आर्ईएमई बैंकले भन्दा एभरेष्ट बैंकको वित्तीय परिसूचकको वृद्धिदर उच्च देखिएको छ । तर २०५१ सालमा स्थापना भएको एभरेष्ट बैंकलाई २०६४ सालमा स्थापना भएको ग्लोबल आईएमई बैंकले धेरै परिसूचिकमा पछाडि पारेको छ । ग्लोबल आईएमईको खुद नाफा ९५ करोड ४२ लाख रुपैयाँ छ भने एभरेष्ट बैंकको १ अर्ब १४ करोड रुपैयाँ छ । गत आर्थिक वर्षभन्दा यस वर्ष ग्लोबलले ५ करोड नाफा बढाएको छ भने १७ करोड रुपैयाँले बढाएको छ । २०७३ पुस मसान्तसम्ममा ग्लोबल आईएमई बैंकको निक्षेप ८४  अर्ब थियो भने यस वर्ष १६ अर्ब वृद्धि गरी १०० अर्ब बनाएको छ । तर असोज मसान्तको तुलनामा यस बैंकको निक्षेप ४ करोड रुपैयाँ घटेको छ । एभरेष्ट बैंकको निक्षेप २०७३ पुस मसान्तमा ९० अर्ब थियो भने २०७४ पुस मसान्तसम्ममा १३ अर्ब थपेर १०३ अर्ब बनाएको छ । ग्लोबल आईएमईले ८८ अर्ब कर्जा प्रवाह गरेको छ भने करिव २० अर्ब रुपैयाँ लगानी गरेको छ । एभरेष्ट बैंकले ८५ अर्ब कर्जा प्रवाह गरी १५ अर्ब रुपैयाँ लगानी गरेको छ । कर्जा र लगानी दुबैमा एभरेष्टलाई ग्लोबल आईएमईले पछाडि पारेको छ । ग्लोबल आईएमई बैंकको क्यापिटल एडेक्वसी ११.६५, खराव कर्जा १.६१ , सीसीडी रेसियो ७७.७ र बेसरेट १०.३१ प्रतिशत रहेको छ । एभरेष्ट बैंकको क्यापिटल एडेक्वसी १५.६८, खराव कर्जा ०.२५, सीसीडी रेसियो ७५.८४ र बेसरेट ७.७४ प्रतिशत छ । एभरेष्ट बैंकको पीई रेसियो ३१.९३ प्रतिशत छ । प्रतिसेयर आम्दानी २८ रुपैयाँ छ । ग्लोबल आईएमई बैंकको पीई रेसियो १४.६९ छ भने प्रतिसेयर आम्दानी २१.४४ रुपैयाँ छ । गत विहीबार एभरेष्ट बैंकको सेयर मूल्य ८६७ रुपैयाँ छ भने ग्लोबल आईएमई बैंकको ३१४ रुपैयाँ छ । हाल ग्लोबल आईएमई बैंकको सेयर पुँजी ८ अर्ब ८८ करोड रुपैयाँ छ भने एभरेष्ट बैंकको ८ अर्ब रुपैयाँ छ । संचित कोषमा ग्लोबलको ३ अर्ब ४२ करोड रुपैयाँ छ भने एभरेष्ट बैंकको ५ अर्ब १९ करोड रुपैयाँ छ । प्रकाशित वित्तीय विवरण र बजारको सेयर मूल्यका आधारमा यतिबेला एभरेष्ट बैंकको सेयर किन्दा भन्दा ग्लोबल आईएमईको सेयर किन्दा बढी लाभ हुने देखिएको छ । क्यापिटल एडेक्वसीको आधारमा आगामी वर्षको लाभांशमा एभरेट बैंकले नगद लाभांश मात्र दिने सम्भावना छ भने ग्लोबल आईएमई बैंकले नगद लाभांश र बोनस सेयर दिन सक्ने देखिन्छ ।

युनिभर्सल पावर कम्पनीको विशेष साधारणसभाद्धारा आईपीओ निष्कासन प्रस्ताव पारित, ९६ करोड ६१ लाखको सेयर आउदै

काठमाडौं । निजी क्षेत्रबाट प्रवद्र्धित यूनिभर्सल पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीको बिहीबार सम्पन्न विशेष साधारणसभाले सर्वसाधारण र आयोजना प्रभावित स्थानियबासिन्दालाई आईपीओ निष्कासनको प्रस्ताव पारित गरेको छ ।   कम्पनीलाई आईपीओ निष्कासन काम सुरु गर्न बाटो खुला भएको छ । यूनिभर्सलले आईपीओ निष्कासन तथा बिक्री प्रवन्धनका लागि सिद्घार्थ क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ । १ सय रुपैयाँका दरले ९६ करोड ६१ लाख ६१ हजार रुपैयाँ बराबरको ९६ लाख ६१ हजार ६१० कित्ता सेयर सर्वसाधारणका लागि जारी गर्ने कम्पनीका अध्यक्ष विनय भण्डारीले जानकारी दिए । उनका अनुसार प्रथम चरणमा जारी पूँजीको १० प्रतिशत आयोजना प्रभावित दोलखा जिल्लाका स्थानिय बासिन्दाका लागि २१ करोड रुपैयाँ बराबरको २१ लाख ३५० कित्ता सेयर निष्कासन गर्नेछ । यसैगरी दोस्रो चरणमा सर्वसाधारणका लागि ७५ करोड रुपैयाँ बराबरको ७५ लाख ६१ हजार ३६० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिने भण्डारीले बताए । कम्पनीले १० प्रतिशत आयोजना प्रभावित दोलखा जिल्लावासी र ३० प्रतिशत सर्वसाधारणलाई सेयर निष्कासन गर्नेछ । युनिभर्सलमा ४० प्रतिशत सर्वसाधारण र ६० प्रतिशत संस्थापक सेयर हुने गरी लगानी संरचना तयार पारिएको छ । कम्पनीले पहिलो चरणमा स्थानियबासिन्दालाई सेयर निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिने भएको छ । युनिभर्सलले दोलखामा ११ मेगावाट क्षमताको तल्लो खारेखोला आयोजना निर्माण गरिरहेको छ । आयोजना बनाउन २ अर्ब ४ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । कम्पनीमा ८८ प्रतिशत स्वामित्व सीईडीबी हाइड्रो फण्ड लिमिटेडको छ । सीईडीबी माउ कम्पनी हो । सीईडीबीले पनि साढे २२ करोड रुपैयाँ बराबरको २२ लाख कित्ता सेयर निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ यस्तै यही समूहअन्र्तगतको राधी विद्युत कम्पनी लिमिटेडले पनि हालै सर्वसाधारणलाई आईपीओ निष्कासन गरेको थियो । जलविद्युत आयोजनाले प्रभावित स्थानिय बासिन्दालाई न्युनतम् १० प्रतिशत आईपीओ निष्कासन गर्नुपर्ने वाध्यकारी व्यवस्था भएपछि कम्पनीले धमामध आईपीओ निष्कासन गर्न लागेका हुन् ।

मेलम्चीको पानी चैत १५ सम्ममा राजधानीमा आउने

काठमाडौँ । मेलम्चीको पानी सुन्दरीजल प्रशोधन केन्द्रमा खस्ने बित्तिकै उपत्यकामा वितरणका लागि तयारी भइरहेको छ ।काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले यहाँ शुक्रबार गरेको पत्रकार सम्मेलनमा ७७ किमी थोक वितरण प्रणालीमध्ये ६७ किमी पाइप बिच्छ्याइ सकिएको जानकारी दिइयो । यसैगरी ६७० किमी वितरण सञ्जालमध्ये ६४४ किमी पाइप बिच्छ्याइएको निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले बताए।बजेट अभावका कारण धूम्रबाराही–महाराजगञ्ज–सामाखुसी–कलंकी क्षेत्रको ३०० किमी क्षेत्रमा वितरण सञ्जाल स्थापना हुन सकेको छैन । यो क्षेत्रमा पाइप बिच्छ्याउन ८ अर्ब रुपैयाँ बढी बजेट आवश्यक पर्नेछ । बजेटका लागि एसियाली विकास बैंकसँग कुरा भइरहेको निर्देशनालयले जनाएको छ । पाइप बिच्छ्याउन भत्काइएको सडकमध्ये ६१ किमी सडक विभागलाई कालोपत्रका लागि सम्झौता भई काम शुरु भएको छ । विभागले ८५ करोड रुपैयाँको लागतमा निर्माण एवं कालोपत्र गर्नेछ । १०० किमी सडक निर्माण एवं कालोपत्र भने निर्देशनालय आफैँले गर्नेछ । यसको लागत १ अर्ब छ । भत्काइएकामध्ये २८ किमी सडक निर्माण सम्पन्न भएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकादेखि काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलसम्मको २७.५ किमी दूरी सुरुङमध्ये अब ३०० मिटर मात्र खन्न बाँकी छ । सुरुङको ३०० मिटरको काम सकेरभित्रको कामलाई अन्तिमरुप दिई चैत १५ अर्थात् मार्चको अन्तिमसम्ममा पानी उपत्यकामा खसाल्ने मेलम्ची खानेपानी आयोजनाको लक्ष्य छ । उपत्यकामा पानी वितरण गर्न ८४ हजार २१७ घरमा धारा जडान गर्नुपर्नेमा हालसम्म ४५ हजार १८६ घरमा धारा जडान भइसकेको प्रवक्ता ढकालले सुनाए। सुन्दरीजलमा ८ करोड ५० लाख लिटर पानी प्रशोधनका लागि अत्याधुनिक प्रशोधन केन्द्र निर्माण भइसकेको छ । अर्को ८ करोड ५० लाख लिटर पानी प्रशोधन केन्द्र निर्माण भइरहेको छ । पहिलो चरणमा मेलम्ची खोलाको दैनिक १७ करोड लिटर पानी राजधानी ल्याइनेछ । दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाको पनि १७÷१७ गरी ३४ करोड लिटर पानी ल्याउने तयारी भइरहेको छ । मेलम्चीको पानी आएपछि उपत्यकावासीलाई दैनिक ५ घण्टासम्म र याङ्ग्री र लार्के खोलाको समेत गरी दैनिक ५१ करोड लिटर पानी आउन थालेपछि २४सै घण्टा पानी वितरण गर्ने निर्देशनालयको लक्ष्य छ । रासस

भूकम्प पीडितलाई कर्जा नदिने बैंकलाई कार्वाही गर्ने बैकर्स संघको चेतावनी

काठमाडौं । नेपाल बैंकर्स संघले भूकम्प पीडितलाई कर्जा नदिने बैंकमाथि कार्वाही गर्ने चेतावनी दिएको छ ।राष्ट्रिय पुननिर्माण प्राधिकरणमा शुक्रबार अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र एसोसियसनका प्रतिनिधिसँगको छलफलपछि संघका अध्यक्ष ज्ञानेन्द्र ढुङानाले कर्जा नदिने बैंकमाथि कार्वाही गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । सो अवसरमा बैंकर्स एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले सरकारसँग भएको सम्झौताअनुसार उपत्यकाका भूकम्पपीडितका लागि २५ लाख र बाहिरका पीडितका लागि १५ लाख रुपैयाँ नदिने बैंकलाई कारबाही गरिने प्रतिबद्धता जनाए । यता प्राधिकरणले पनि भूकम्पपीडितका लागि सहुलियत दरको ऋण उपलब्ध गराउन सम्बन्धीत निकायका अधिकारीलाई निर्देशन दिएको छ । हालसम्म प्रमाणित भएका ७ लाख ६७ हजार भूकम्पपीडितमध्ये ६५९ पीडितले मात्र यो सुविधा पाएका छन् । छलफलमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले तीन दिनभित्र ऋण दिने विधि र प्रक्रिया बैंकमा सार्वजनिकरुपमा टाँस गर्न निर्देशन दिए। अर्थ मन्त्रालयका प्रवक्ता रामशरण पुडासैनीले ऋणको ब्याज सरकारले दिने प्रतिबद्धता जनाएको जानकारी दिए। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले पीडितलाई ऋण दिँदा २ प्रतिशत ब्याजबाहेक अन्य रकम लिन नपाउने व्यवस्था कार्यविधिमा गरिएको बताए ।  

राष्ट्र बैंकमा ३० वर्षीय सेवावधि खारेज गर्न सर्वोच्च अदालतमा निवेदन

काठमाडौँ । नेपाल राष्ट्र बैंकको कर्मचारी विनियमावलीको व्यवस्थानुसार ३० वर्षीय सेवावधिसम्बन्धी व्यवस्था खारेज गर्न आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । लोकसेवा आयोग र नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाई बैंकका सहायक निर्देशकहरु पुण्यप्रसाद बराल, रवि भण्डारी र उदयकुमार मण्डलले आइतबार दायर गरेको निवेदनमा बैंकको सो विनियमावलीको व्यवस्थाअनुसार ३० वर्षीय सेवावधिसम्बन्धी व्यवस्था खारेज गर्न माग गरिएको छ । बैंकको विनियमावलीमा भएको ३० वर्षीय सेवावधि हटाउन बैंक सञ्चालक समितिले गरेको निर्णय कार्यान्वयन नगर्न आयोगले दिएको सुझावसमेत गैरकानूनी भएको निवेदनमा जिकिर गरिएको छ । पुराना कर्मचारीको अनुभव र आवश्यकतालाई मनन गरी विद्यमान ३० वर्षीय सेवावधिमा अनिवार्य अवकाश लिनुपर्ने प्रावधान हटाउने निर्णय बैंक सञ्चालक समितिले गरेको थियो । समितिको निर्णय तत्काल कार्यान्वयन गर्न नहुने सुझाव आयोगले दिएपछि बैंकका १५० कर्मचारी अवकाशमा पर्ने भएकाछन् । वित्तीय क्षेत्र सुधार कार्यक्रम लागू हुँदा विसं २०५८ ताका बैंकमा ५८ वर्ष उमेर या ३० वर्षीय सेवावधिमध्ये जुन पहिला आउँछ त्यसैमा अवकाश दिने नीति लिएको थियो । रासस