विकासन्युज

राजेशकाजी चम्किँदा भवानी छायाँमा, महासंघलाई सहसचिव, चेम्बरलाई मन्त्री

काठमाडौं । ६६ औं भन्सार दिवसको अवसर पारेर नेपाल उद्योग बाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्शले छुट्टा छुट्टै कार्यक्रमहरुको आयोजना गरे । दुबै संस्थाले ती कार्यक्रमलाई आफ्नो प्रतिष्ठाको बिषय बनाएका थिए । तर चेम्बरको कार्यक्रममा अर्थमन्त्री र राजश्व सचिव दुबै उपस्थित भए भने महासंघको कार्यक्रममा भन्सार विभागका उपमहानिर्देशक श्रीकृष्ण नेपाल मात्रै सहभागी भए । भन्सार सम्बन्धी छलफल कार्यक्रम गर्नु केहि दिन अघि मात्रै चेम्बरले आफ्नो सांगठनिक संरचना महासंघिय बनाउने र देशैभर विस्तार गर्ने निर्णय गरेको थियो । तर महासंघले त्यसमा आपक्ति जनाउँदै चेम्बरलाई स्पष्टिकरण सोध्यो । महासंघले स्पष्टिकरण सोधेपछि चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठ झन आक्रामक बने र भन्सार दिवसका आसपासमा मन्त्रीलाई नै बोलाएर कार्यक्रम गरिदिए । अहिले भन्सार दिवसका अवसरमा महासंघ र चेम्बरका कार्यक्रमलाई लिएर शक्ति आर्जनका रुपमा लिन थालिएको छ । बिशेष गरी राजेशकाजी श्रेष्ठले चेम्बरलाई ‘एग्रेशिभ’ ढंगले अघि बढाउन चाहेको देखिन्छ भने भवानी राणाले महासंघलाई पुरानै गतिमा समेत चलाउन नसकेको टिप्पणी हुन थालेको छ । महासंघबाट बाहिरिएका भाष्करराज राजकर्णिकारलाई चेम्बरले मनार्थ बरिष्ठ उपाध्यक्ष बनाईदिएको छ । महासंघसँग असन्तुष्ठहरुलाई एकत्रित गरेर चेम्बरले ‘काउण्टर’ दिन खोजेको बुझाई महासंघ नेतृत्वमा छ । चेम्बरलाई व्यापारीहरुको साझा संस्था मानिन्छ भने उद्योगीहरुको संस्थाका रुपमा महासंघबाटै अलग्गिएर नेपाल उद्योग परिसंघ गठन भएको छ । महासंघले भने आफुलाई उद्योगी र व्यापारीहरुको साझा संस्थाका रुपमा अर्थ्याउँदै आएको छ । यसबीचमा परिसंघ र महासंघबिच खासै राम्रो सम्बन्ध छैन् । परिसंघले आफ्नो सञ्जाल विस्तारलाई निरन्तरता दिईरहेका बेला चेम्बर पनि सोही मार्गमा अघि बढेको देखिन्छ । राष्ट्रिय निर्देशन ऐन अनुसार गठन भएका संस्थाहरुको बिधान संसोधन गर्ने अख्तियारी मन्त्रीपरिषदलाई मात्रै छ । चेम्बरले मन्त्रिपरिषदबाटै आफ्नो विधान संसोधन गरेर महासंघिय संरचनामा जाने बाटो खुल्ला गरिसकेको छ । अब चेम्बरले जिल्ला र प्रदेशमा पनि आफ्नो संगठन बनाउन सक्छ । महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले गत बर्ष चेम्बरलाई महासंघिय ढाँचामा जानबाट रोक्न सफल भएका थिए । तर आरजु राणाकी विश्वास पात्र मानिएका भवानी राणाले यसपाली चेम्बरलाई महासंघ बन्नबाट रोक्न सकिनन् । देशभरका उद्योगीले परिसंघ रोज्ने अनि व्यापारीलाई चेम्बरले संगठित गर्यो भने महासंघको अवस्था के होला ? अहिले यस्तो प्रश्न तेर्सिएको छ । भवानी राणाले नेतृत्व सम्हालेपछि महासंघको नेतृत्वले उद्यमी व्यवसायीका पक्षमा दरिलो ढंगले आवाज उठान नसकिरहेको आरोप लाग्दै आएको छ । त्यहि मौका छोपेर चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठलाई त्यो ‘स्पेश क्यास’ गर्न खोजेको देखिन्छ । राजेशकाजीले यतिबेला चेम्बर अध्यक्षको चौथो कार्यकाल सम्हालिरहेका छन् । उनी पुर्व उद्योग बाणिज्य तथा आपुर्ति राज्यमन्त्री समेत बनिसकेका व्यक्ति हुन् । लामो समय चेम्बर आन्दोलनको अगुवाई गरेको तथा राजनीतिक नेतृत्वबीच सहज पहुँच भएकाले पनि श्रेष्ठले महासंघलाई यतिबेला ‘टक्कर’ दिईरहेका छन् । उता, सधै शक्तिको नजिक भैरहने महासंघको नेतृत्व भने ‘कर्नर’मा धकलिँदै गएको छ । कमजोर सक्रियता र पहुँचको अभावमा महासंघ नेतृत्वलाई चेम्बरले यतिबेला टक्कर दिएको स्पष्टै देखिन्छ । अब पाँच बर्षका लागि स्थीर सरकार निर्माण हुने सम्भावना बढिरहेको छ । त्यसमा पनि बामपन्थीहरुले सरकारको नेतृत्व गर्दैछन् । राजेशकाजी श्रेष्ठ आफैं बामपन्थी झुकाव भएको व्यक्ति हुन् । उनले नयाँ सरकारसँग सिधा सम्पर्क राख्न सक्छन् । त्यस्तो अवस्थामा प्रजातान्त्रिक धारकी महासंघ अध्यक्ष भवानी राणाले महासंघको ‘लबिङ पावर’ कसरी जोगाउलिन् ? हेर्न बाँकी छ ।

प्रोग्रेशिभ फाइनान्सको एक्सटेन्सन काउण्टर महालक्ष्मीस्थानमा

काठमाडौं । प्रोग्रेशिभ फाइनान्सले पहिलो एक्सटेन्सन काउण्टर ललितपुरको महालक्ष्मीस्थानमा स्थापना गरेको छ । कम्पनीले केन्द्रिय कार्यालय मातहतमा रहने गरि माघ २२ गतेदेखि एक्सटेन्सन काउण्टर सञ्चालन गरेको हो । महालक्ष्मीस्थानस्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरको हातामा कम्पनीका अध्यक्ष मुकुन्दप्रसाद दाहाल र ज्यापु समाज यलका अध्यक्ष प्रेम महर्जनले उद्घाटन गरेका हुन् । कार्यक्रममा ललितपुर क्षेत्र नम्बर २ का सांसद कृष्णलाल महर्जनको पनि सहभागीता रहेको थियो । फाइनान्सका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाँईले सेवा विस्तारको योजना अन्र्तगत एक्सटेन्सन काउण्टर स्थापना गरेको बताए । फाईनान्सको एक्सटेन्सन काउन्टरबाट सेवाग्राहीहरुले दस्तुर संकलन, बचत/निक्षेप जम्मा तथा भुक्तानी, विभिन्न कम्पनीका रेमिट्यान्स सम्बन्धि कारोबार लगायतका सेवा दिने छ । फाईनान्सको हाल पाको न्यूरोडमा केन्द्रिय कार्यालय रहेको छ तथा काभ्रेको बनेपा पुलबजारमा एक शाखा कार्यालय संचालनमा रहेको छ । कम्पनीले निकट भविष्यमा ललितपुरको पुलचोक तथा भक्तपुरको थिमिमा समेत एक्सटेन्सन काउन्टर संचालन गर्न तयारी गरिरहेको छ ।

राष्ट्र बैंकले ५ अर्ब बजारमा पठाउदा २ बैंकले मात्र लिए १ अर्ब

काठमाडौं । तरलता व्यवस्थापन गर्नका लागि नेपाल राष्ट्र बैंकले बजारमा पठाएको ५ अर्ब रुपैयाँ अधिकाँश बैंकले लिएनन् । बैंकिङ प्रणालीमा तरलता कम भएपछि राष्ट्र बैंकले आइतबार विकास ऋणपत्र सिधै खरिद योजनाअन्र्तगत बजारमा ५ अर्ब रुपैयाँ पठाएको थियो । २ बैंकले १ अर्ब रुपैयाँ मात्र लिएका छन् । कुमारी बैंक र सिटिजन्स बैंकले मात्र रकम लिएका हुन् । आज बिहीबार ५ अर्ब रुपैयाँ बजारमा पठाउदै छ । बैंकिङ प्रणालीमा तरलता घटेर २२ अर्ब ४२ करोड रुपैयाँमा झरेपछि केन्द्रीय बैंकले थप रकम पठाएको थियो । राष्ट्र बैंकले बजारमा पठाउने पैसा बैंकको तरलता व्यवस्थापनलाई मात्र हो । यसलाई निक्षेपको रुपमा गणना गरेर कर्जा लगानी गर्न पाइँदैन । यसअघि राष्ट्र बैंकले ३ पटक गरेर ३५ अर्ब रुपैयाँ बजारमा पठाएको थियो । बैंक तथा वित्तीय संस्थाले २८ अर्ब रुपैयाँ मात्र लिएका थिए ।    

पेमेन्ट गेटवे ईसेवा नवौँ वर्षमा प्रवेश, सेवा लिने ६० लाख नाघे

काठमाडौं । नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी ‘इसेवा फोन पे प्रा.लि.’ ९ वर्षमा प्रवेश गरेको छ । २००९ को अन्त्यमा बेटा भर्जज रिलिज गरी २०१० जनवरी २५ बाट बिधिवत रूपमा सेवा सुरु गरेको ईसेवा नवौँ वर्षमा प्रवेश गरेको हो । मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा हाल देशभर विस्तार भइसकेको छ । ९ वर्षको अवधिमा इसेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा ६० लाख बढिले सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर ३० हजार भन्दा बढि एजेन्ट छन् । इसेवाको मोबाईल एप्स् प्रयोग गर्नेको संख्या ४ लाख ३० हजार नाघेको छ । इसेवा खाता खोलेर कारोबार गर्नेको संख्या ७ लाख भन्दा बढी छ । यस्तै देशैभर रहेका जोन, पोइन्ट तथा मोबाईल बैंकिङ मार्फत ६० लाख बढीले इसेवाका सेवा लिइरहेका छन् । इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका २ सय भन्दा बढि सेवाहरूमा शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ४४ वटा बैंक सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

सिमेन्टको भाउ घटाउन उद्योगीको अटेर, शिवम सिमेन्टले मात्र घटायो

काठमाडौं । अधिकाँश उद्यागीले सिमेन्टको भाउ घटाउन अटेर गरेका छन् । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले विना कारण सिमेन्टको भाउ बढाएको देखिएपछि यसलाई घटाउन सिमेन्ट उद्योगलाई निर्देशन दिएको थियो । विभागको निर्देशन बमोजिम सिवम सिमेन्ट उद्योगले मात्र बोरामा २२ रुपैयाँ भाउ घटाएको छ । अन्य उद्योगले घटाएका छैनन् । विभागले अनुसन्धानपश्चात सिमेन्टको मूल्य ३ दिनभित्र घटाउन उद्योगीलाई निर्देशन दिएको थियो । विभागको अनुसार दुई हप्ताको अबधिमा उद्योगीहरुले ५ पटकसम्म मूल्य बढाएका छन् । स्वदेशी क्लिङ्कर उद्योगीले पनि मनोमानी ढङ्गले क्लिङ्करको मूल्य लिएर सिमेन्टको भाउ बढाउन सघाइरहेको पाइएको छ । ‘हाल प्रतिबोरा सिमेन्टमा १२० र डन्डीमा प्रतिकिलो १० रुपैयाँसम्म मूल्य बढेको पाएका छौं,’ शाखा अधिकृत रामकृष्ण श्रेष्ठले भने । अनुगमन लगत्तै गएको सोमबार विभाग र सिमेन्ट तथा डन्डी उद्योगीहरु मूल्यमा पुर्नविचार गरी घटाउन वैठक बसेको थियो । बैठकमा उद्योगीहरुले तीन दिनभित्रमा मूल्य घटाउने र सोको जानकारी विभागलाई दिने निर्णय गरिएको थियो । विभागका महानिर्देशक कुमारप्रसाद दाहालका अनुसार अहिलेसम्म शिवम् सिमेन्टले केही मूल्य घटाएता पनि अन्य उद्योगहरु विभागको सम्पर्कमा आएका छैनन् । ‘शिवम् सिमेन्टमा प्रतिबोरा साढे २२ रुपैयाँ घटेको जानकारी आएको छ,’ उनले भने ‘बाँकी सिमेन्टहरुको जानकारी नआएकोले २४ घन्टाभित्र सम्बन्धित उद्योगीहरुलाई विभागमा उपस्थिति हुन बिहीबार निर्देशन दिइसकेका छौं ।’ अहिले बजारमा सबैभन्दाबढी अम्बे सिमेन्टमा १६.९ र डन्डीमा सबैभन्दाबढी हामा ब्राण्डमा ८.७ प्रतिशत मूल्य बढेको छ । पुरानो मूल्य प्रतिबोरा ६५० रहेको अम्बे सिमेन्ट हाल मूल्य बढाएर ७६० रुपैयाँ पुर्याइएको छ । सिमेन्ट तथा डन्डीमा भएको मूल्य वृद्धि भएपछि विभागको शाखा अधिकृत रामकृष्ण श्रेष्ठको संयोजकत्वमा गएको अनुगमनले सबैभन्दा बढी अम्बे र डन्डीमा हामाको मूल्य बढेको पत्ता लगाएको थियो । डन्डीमा सबैभन्दा बढी हामाको मूल्य प्रतिकिलो ८.७ प्रतिशतसम्म बढेको उनको भनाइ छ । उनको अनुसार प्रतिकिलो ७८ रुपैयाँ पुरानो मूल्य रहेको हामा डन्डी बढेर अहिले ८४.८ रुपैयाँ पुगेको छ । अनुगमनको क्रममा सिमेन्ट उद्योगहरुले सिमेन्टको मूल्यमा कम्तिमा ७ देखि बढीमा १७ प्रतिशतसम्म मूल्य बढाएको छ । त्यस्तै शालिमार ओपिसी सिमेन्टमा १६ प्रतिशत, हेटौडामा १२.९ प्रतिशत, निर्माणमा १२.५, अग्नीमा १०.५ र मारुतीमा सबैभन्दा कम ६.४ प्रतिशत बढेको छ । ‘प्रतिबोरा ७८० रुपैयाँ पर्ने गरेको मारुती सिमेन्ट बढेर अहिले ८३० रुपैयाँ पुगेको छ,’ उनले भने । डन्डी उद्योगहरुले उद्योगमा डन्डीको मूल्य कम्तिमा ५ देखि बढीमा ९ प्रतिशतसम्म बढाएको छ । जसमा जगदम्बाको डण्डीमा प्रतिकिलो ७ प्रतिशत भने शाखको डण्डीमा ४.७ प्रतिशत बढेको छ । भाउ बढ्नअघि प्रतिकिलो जगदम्बाको डण्डी ८०.२ रुपैयाँ, शाखको दण्डी ७८.६ रुपैयाँमा बिक्री हुने गरेको थियो । अहिले बढेर क्रमशः ८५.९ र ८२.३ रुपैयाँ पुगेको छ । सिमेन्ट तथा डन्डी उद्योगीहरुले अन्तर्राष्ट्रिय बजारमै कच्चा पदार्थको भाउ तथा ढुवानी भाडा बढेकोले मूल्य बढाउन परेको बताएका छन् । अम्बे सिमेन्टको सञ्चालक पूर्णभक्त पौड्यालले सिमेन्टको कच्चा पदार्थको भाउ बढेकोले सिमेन्टको भाउ बढ्न गएको बताए । ‘भारतमा पहिले प्रतिटन ९/१० हजार रुपैयाँ पर्ने क्लिङ्कर अहिले १२/१३ हजार रुपैयाँ पुगेको छ,’ उनले भने ‘जबसम्म कच्चा पदार्थको मूल्य घट्दैन तबसम्म सिमेन्टको भाउ घटाउन सकिन्न ।’ नेपाल विद्युत प्राधिकरणले उद्योगलाई नियमित रुपमा बिजुली आपु्र्ति गरेकाले लोडसेडिङका कारण मुल्य वृद्धि भएको भन्ने उद्योगीको भनाईलाई खण्डन गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले साँझ ३ घण्टा मात्र उद्योगमा लोडसेडिङ गरिएको जानकारी दिदै लोडसेडिङका कारण सिमेन्टको भाउ नबढेको स्पष्टपारे ।

ब्याज आम्दानी घटेपछि कैलाश विकास बैंकको नाफामा असर, पुससम्म २६ करोड ६० लाख मात्र

काठमाडौं । निक्षेपको लागत बढ्पछि कैलाश विकास बैंकको नाफामा असर परेको छ । चालु आर्थिक वर्षको ६ महिनामा बैंकले २२ लाख रुपैयाँ मात्र खुदनाफा बढाएको छ । बैंकले गत पुससम्म २६ करोड ६० लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले २६ करोड ३८ लाख रुपैयाँ गरेको थियो । निक्षेप लगात बढेर ब्याज आम्दानीमा कमी आएपछि नाफा बढ्न नसकेको बैंकले शुक्रबार सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । बैंकको खराब कर्जा घटेर ०.५६, निक्षेप लागत ८.५५, सीडी रेसियो ७८.१४, आधार ब्याजदर ११.६६, स्प्रेड दर ४.८ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ छ । समीक्षा अवधिमा बैंकको निक्षेप परिचालन बढेर १९ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको निक्षेप १५ अर्ब ९१ करोड रुपैयाँ थियो । कर्जा लगानी पनि बढेर १७ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको कर्जा लगानी १४ अर्ब ३२ करोड रुपैयाँ थियो । बैंकको संचित कोष बढेर ८० करोड ११ लाख रुपैयाँ पुगेको छ । यस्तै चुक्तापुँजी २ अर्ब ५२ करोड रुपैयाँ रहेको बैंकले जनाएको छ ।

सिभिल बैंकको हकप्रद आजसम्म मात्र भर्न पाइने

काठमाडौं । सिभिल बैंकको हकप्रद बिक्री खुला आज शुक्रबारसम्म मात्र रहेको छ । आज बैकिङ समयसम्म मात्र हकप्रद बिक्री खुला हुने बैंकले जनाएको छ । गत पुस २७ गतेबाट बढाएर माघ १२ गतेसम्म पुरइएको थियो । बैंकले चुक्तापुँजी बढाउन ४० प्रतिशत अर्थात २ अर्ब ७ करोड रुपैयाँ बराबरको हकप्रद निष्कासन गरेको हो ।

कुमारी बैंकले नाफा बढायो, ६ महिनामा ४८ करोड

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको ६ महिनामा नाफा बढाएको छ । बैंकले गत पुससम्म ४८ करोड रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले २७ करोड ९३ लाख रुपैयाँ मात्र नाफा गरेको थियो । गत आवको तुलनामा चालु आवमा बैंकले झण्डै २१ करोड रुपैयाँ नाफा बढाएको शुक्रबार सार्वजनिक गरिएको दोस्रो त्रैमाशको वित्तीय विवरणमा उल्लेख छ । यो वर्ष बैंकले नाफा १ अर्ब रुपैयाँ पुर्याउने देखिएको छ । बैंकको खराब कर्जा १.६१, निक्षेप लागत ७.८३, सीडी रेसियो ७६.८२, आधार ब्याजदर ११.१७ र स्प्रेड दर २.८ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ छ । समीक्षा अवधिमा बैंकले निक्षेप परिचालन बढाएर ५७ अर्ब ६८ करोड रुपैयाँ पुर्याएको छ । गत आवको सोही अवधिमा बैंकको निक्षेप ३९ अर्ब ९४ करोड रुपैयाँ थियो । यस्तै कर्जा लगानी पनि विस्तार भई ५० अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको कर्जा लगानी ३३ अर्ब ६५ करोड रुपैयाँ थियो । बैंकको संचित कोषमा २ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । चुक्तापुँजी ५ अर्ब ९६ करोड रुपैयाँ मात्र छ ।