विकासन्युज

बिटक्वाइनको कारोबारमा उच्च वृद्धि

काठमाडौं । अनुकूल अमेरिकी कानून र शेयरबजारमा भएको वृद्धिका कारण बिटक्वाइनले बिहीबार एसियाली शेयर बजार खुल्दासाथ एक लाख २४ हजार अमेरिकी डलरको कारोबार गरेको छ ।  यसको अघिल्लो जुलाईको रेकर्डभन्दा क्रिप्टोकरेन्सीको कारोबारमा वृद्धि भई बिहीबारको स्टक बजार खुलेको केहि समयमा नै एक लाख २४ हजार ५०० भन्दा बढी कारोबार भएको हो ।  एस एण्ड पी ५०० इन्डेक्स र विशाल प्रविधि कम्पनी नास्डेक यस हप्ता नयाँ उचाईमा पुगेको छ, जसले क्रिप्टोकरेन्सीको वृद्धिमा योगदान पुर्याएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिकी नियामक परिवर्तनले गर्दा क्रिप्टो क्षेत्रको एक बलियो समर्थक बिटक्वाइनको मूल्यमा वृद्धि भएको हो। यसको मूल्य क्रिप्टोकरेन्सीका ‘ह्वेल’ भनिने ठूला धारकहरूले पनि बढाएका छन् ।   'क्रिप्टो बजारले अत्यधिक अनुकूल आधारभूत कुराहरूको अवधिको आनन्द लिइरहेको छ,' एक्सएस डट कमका वरिष्ठ बजार विश्लेषक समर हसनले भने ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिबन्धहरू अन्त्य गर्न वार्तालार्ई अघि बढाइरहेका समय कारोबारमा उछाल आएको हो।  'राष्ट्रपति ट्रम्प ‘राष्ट्रिय वित्तीय प्रणालीमा क्रिप्टोकरेन्सीहरूको एकीकरणलाई गति दिन र यस क्षेत्रमा आफ्नो र परिवारको बढ्दो संलग्नतालाई ध्यानमा राख्दै थप प्रतिबन्धहरू हटाउन’ इच्छुक हुन सक्नुहुन्छ,' उनले भने।  ट्रम्पको मिडिया ग्रुप र प्रविधि अर्बपति एलन मस्कको स्वामित्वमा रहेको इलेक्ट्रिक कार निर्माता टेस्लालगायतका कम्पनीहरूको ठूलो सङ्ख्या ठूलो परिमाणमा बिटक्वाइन किन्न इच्छुक देखिँदा यसको असर पूँजी बजारमा देखिएको हो । रासस

एनएलजी इन्स्योरेन्सको नाफा १६.११ करोड रुपैयाँ, खुद बीमाशुल्क ४६.६३ प्रतिशतले बढ्यो

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा १६ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीले १४ करोड ६९ लाख नाफा आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको नाफा ९.६६ प्रतिशतले बढेको हो । समीक्षा वर्षमा कम्पनीले २ अर्ब ८० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ४६ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन  १३.८९ प्रतिशतले बढेको छ । कम्पनीले गत वर्ष ९३ करोड ९२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ४६.६३ प्रतिशतले बढेको छ । अघिल्लो आवमा कम्पनीले ६४ करोड ५ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो । समिक्षा वर्षमा कम्पनीको रिटेन्ड अर्निङ ५ करोड ७४ लाख रुपैयाँ रहेको छ । कम्पनीको महाविपत्ति कोषमा ८ करोड ५७ लाख रुपैयाँ, स्पेसल रिजर्भमा १ अर्ब ३८ करोड रुपैयाँ र अन्य इक्विटीमा १७ करोड ८८ लाख रुपैयाँ रहेको छ ।  कम्पनीको शेयर पुँजी २ अर्ब ५६ करोड रुपैयाँ रहेको छ । समीक्षा वर्षमा कम्पनीको प्रति शेयर आम्दानी ६ रुपैयाँ २८ पैसा रहेको छ । मूल्य आम्दानी अनुपात १२४.०२ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ ०६ पैसा रहेको छ ।

नेपाली बजारमा जीएमडब्लुको शक्तिशाली ट्यांक सिरिजको धमाकेदार इन्ट्री

काठमाडौं । चिनियाँ अटोमोबाइल ग्रेट वाल मोटर्सले आफ्नो विश्वप्रसिद्ध र शक्तिशाली हाइब्रिड एसयूभी ब्रान्ड ट्यांकलाई नेपाली बजारमा आधिकारिक रूपमा बिक्री सुरु गरेको छ ।  जीएमडब्लुको नेपालका लागि आधिकारिक बिक्रेता भीजी इम्पेक्सले हालै सम्पन्न नाइमा नेपाल मोबिलिटी एक्स्पोमा सार्वजनिक गरिएका दुई बहुप्रतिक्षित मोडलहरू ट्यांक ३०० र ट्यांक ५०० को बिक्री  सुरुवात गरेको हो । यो लन्चसँगै नेपालको प्रिमियम एसयूभी सेगमेन्टमा नयाँ र आक्रामक खेलाडीको प्रवेश भएको छ । जसले पावर, पर्फर्मेन्स र प्रविधिको बेजोड संयोजन प्रस्तुत गरेको छ । दमदार पावर र अतुलनीय पर्फर्मेन्स ट्यांक ३०० हाइब्रिड एसयूभी हो भने ट्यांक ५०० प्लगइन हाइब्रिड हो । २.० लिटर टर्बो पेट्रोल इन्जिन रहेको यी दुवै कारमा ९ स्पीड अटोमेटिक ट्रान्सिमिसन (एचआइ ४ टी) छ । ट्यांक ३०० हाइब्रिडले ३५१ पीएस पावर तथा ६४८ एनएम टर्क दिन्छ । त्यस्तै, प्लगइन हाइब्रिड ट्यांक ५०० ले ४०८ पीएस पिक पावर तथा ७५० एनएम टर्क दिन्छ । मूल्य र मोडलहरू कम्पनीले प्रतिस्पर्धी बजारलाई चुनौती दिँदै आकर्षक मूल्य निर्धारण गरेको छ । जसमा ट्यांक ३०० (५-सिटर एचइभी) को मूल्य १ करोड ५९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यस्तै ट्यांक ५०० (७-सिटर लक्जरी पीएचइभी) को मूल्य २ करोड १५ लाख ९९ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।  ट्यांक ३०० एक दमदार ५-सिटर अफ-रोड एसयूभी हो भने ट्यांक ५०० ले ७-सिटको फराकिलो स्पेससहित लक्जरी र पारिवारिक अनुभव प्रदान गर्दछ । कम्पनीका अनुसार सन् २०२१ मा अन्तर्राष्ट्रिय बजारमा डेब्यु गरेको त्ब्ल्प् ब्रान्डले छोटो समयमै विश्वभर ४ लाखभन्दा बढी युनिट बिक्री भई आफ्नो गुणस्तर र विश्वसनीयता प्रमाणित गरिसकेको छ । यसको शक्तिशाली हाइब्रिड प्रविधि, बलियो निर्माण र प्रिमियम विशेषताहरूले यसलाई विश्वव्यापी रूपमा लोकप्रिय बनाएको हो ।  नेपालको सन्दर्भमा यी एसयूभीहरू शहरको ट्राफिकदेखि लिएर पहाडका कठिन र कच्ची बाटोसम्म, सबै प्रकारका भू–भागका लागि उपयुक्त छन् । ७५० एनएमसम्मको टर्कले उकालो र अफ–रोडमा अतुलनीय शक्ति प्रदान गर्दा हाइब्रिड प्रविधिले शहरी ड्राइभमा इन्धन दक्षता बढाउँछ ।

पूर्वाधार निर्माणमा गहिरो अध्ययनको खाँचो, वैज्ञानिक मोडेल आवश्यक: मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पूर्वाधार निर्माणअघि विशिष्ट अध्ययन र अनुसन्धानलाई प्राथमिकता दिन आवश्यक रहेको बताएका छन् ।  नेपाल इन्जिनियरिङ काउन्सिलले बिहीबार काठमाडौंमा आयोजना गरेको ‘इन्जिनियरिङ पेशा र नेपाल इन्जिनियरिङ काउन्सिलको भूमिका’ विषयक कार्यशालामा बोल्दै मन्त्री दाहालले दिगो र सुरक्षित पूर्वाधार निर्माणका लागि भूगोलअनुकूल प्रविधि र विकास मोडेल आवश्यक भएको धारणा राखे ।  ‘नेपालको भौगोलिक चुनौतीलाई सम्बोधन गर्न सक्ने प्रविधिबारे गहिरो अध्ययन आवश्यक छ,’ मन्त्री दाहालले भने, ‘पूर्वाधार निर्माण दीगो, सुरक्षित र वैज्ञानिक ढंगले अघि बढ्नुपर्छ । ’ उनले आवश्यक नीति तथा कानुन निर्माण र संशोधनका लागि सरकार तयार रहेको पनि स्पष्ट पारे ।  मन्त्री दाहालले ठूला राजमार्गहरूको विस्तार, आधुनिक सुरुङ निर्माण तथा नेपालको विशिष्ट भौगोलिक बनोटअनुकूल सुरक्षित सडकजस्ता संरचना निर्माणमा नेपाली इन्जिनियरहरूको योगदान उच्च रहेको बताए ।  उनले नेपाली इन्जिनियरहरूको शिक्षा र क्षमताले अन्तर्राष्ट्रिय मान्यता पाउन थालेको उल्लेख गर्दै यसले पेशा र क्षेत्र दुवैमा उत्साह थपेको धारणा व्यक्त गरे ।  कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले नेपाल अहिले पूर्वाधार निर्माणको तीव्र चरणमा रहेको भन्दै अबको चरणमा गुणस्तरीय उपयोगमार्फत आर्थिक समृद्धितर्फ अग्रसर हुन सकिने बताए । उनले नेपालमै उत्पादित इन्जिनियरिङ जनशक्तिबाटै पूर्वाधार क्षेत्रलाई आधुनिक दिशातर्फ लैजान सकिने विश्वास व्यक्त गरे ।  त्यस्तै, नेपाल इन्जिनियरिङ काउन्सिलका अध्यक्ष पदमबहादुर शाहीले इन्जिनियरिङ क्षेत्रले विकासका विविध आयाम समेट्ने भएकाले यसको योगदानबिना आधुनिक विकास सम्भव नरहेको बताए । काउन्सिलका रजिस्ट्रार ध्रुवराज भट्टराईले कार्यक्रममा इन्जिनियरिङ पेशा र काउन्सिलको भूमिकाका विभिन्न पक्षमा विज्ञहरूसँग व्यापक छलफल भएको जानकारी गराए ।

नवलपुरमा करिब दुई सय नयाँ उद्योग दर्ता, सेवा र कृषि क्षेत्रमा अग्रता

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा करिब २०० नयाँ उद्योग दर्ता भएका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा १९१ नयाँ उद्योग दर्ता भएका पर्यटन तथा उद्योग कार्यालय नवलपुरले जनाएको छ ।  कार्यालयमा १५ करोड रुपैयाँसम्म पुँजी भएका उद्योग तथा व्यापारिक फर्म दर्ता हुँदै आएका छन् । पर्यटन तथा उद्योग कार्यालय नवलपुरका सूचना अधिकारी खडकबहादुर थापाले जिल्लामा गत आवमा दर्ता भएका उद्योगमध्ये १७४ निजी, सात साझेदारी तथा नौ प्रालि रहेका बताए ।  उनका अनुसार जिल्लामा गत वर्ष सबैभन्दा धेरै सेवामूलक उद्योग ७९, कृषि तथा वन पैदावारमा आधारित उद्योग ६७, उत्पादनमूलक उद्योग ३८, पर्यटन उद्योग तीन, सूचना तथा प्रविधिमा आधारित उद्योग दुई र निर्माण सम्बन्धी उद्योग एउटा दर्ता भएका छन् ।  त्यस्तै वाणिज्यतर्फ दर्ता भएका फर्ममध्ये एकलौटी १९८ तथा साझेदारी दुई दर्ता भएका उनको भनाइ छ । वाणिज्यतर्फ नयाँ दर्ता भएका फर्ममा कारोबारका आधारमा वर्गीकरण गर्दा खुद्रा कारोबार गर्ने १९३ तथा थोक कारोबार गर्ने सात रहेका थापाले जानकारी दिए । गत आवमा ८५६ वटा उद्योग नवीकरण हुँदा एक हजार ३४२ वाणिज्य फर्महरु नवीकरण भएका उनको भनाइ छ ।  त्यस्तै १०६ उद्योगले विभिन्न विषय संशोधन गरेका उल्लेख गर्दै थापाले यो अवधिमा २३८ वाणिज्य फर्महरुले विवरण, पुँजीलगायतका विषय संशोधन गरेका बताए । नयाँ खुल्ने उद्योगको तुलनामा बन्द हुने उद्योगको सङ्ख्या धेरै रहेको कार्यालयको तथ्याङ्कले देखाएको छ । कार्यालयका अनुसार गत आर्थिक वर्षमा उद्योग र वाणिज्यतर्फ गरी ३९१ नयाँ फर्म खुल्दा ४३८ वटा बन्द भएका छन् ।  थापाले आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा २०० उद्योगको लगत कट्टा (बन्द) गरिएको जानकारी दिए । त्यस्तै वाणिज्यतर्फ २३८ व्यावसायिक प्रतिष्ठानको लगत कट्टा गरिएको थापाको भनाइ छ । विभिन्न ऋण लिन तथा वैदेशिक रोजगारमा जानका लागि उद्योग खोल्ने गरिएकामा उद्देश्य पूरा भएपछि ती उद्योगको लगत कट्टा गर्न आउनेको सङ्ख्या धेरै रहेको थापाको भनाइ छ ।  'विदेश जान तथा ऋण खानका लागि उद्योग तथा व्यवसाय देखाउँदा बैंकले सहज रुपमा ऋण प्रदान गर्ने भएकाले कोभिड अगाडिसम्म नयाँ उद्योग खोल्ने क्रम धेरै थियो', उनले भने, 'नयाँ दर्ता भएका उद्योग तथा व्यवसाय बन्द गर्न पाँच वर्ष कुर्नुपर्ने भएकाले पछिल्लो समय उद्योग बन्द गर्नेको सङ्ख्या धेरै देखिएको हो ।' कार्यालयमा दर्ता भएका उद्योग तथा व्यवसाय बन्द गर्न जसको नाममा कम्पनी स्थापना भएको छ सोही व्यक्ति उपस्थित हुनुपर्ने नियम रहेको थापाको भनाइ छ ।  जिल्लामा हालसम्म छ हजार ७०३ उद्योग तथा आठ हजार ५०७ वाणिज्य फर्म दर्ता भएका थापाले जानकारी दिए । जिल्लामा नयाँ दर्ता भएका तथा नवीकरण भएका उद्योग तथा वाणिज्य फर्मबाट रु एक करोड ३४ लाख आठ हजार ७६१ राजस्व सङ्कलन भएको थापाले बताए । रासस   

सानिमा जिआईसीको नाफा १०.१२ प्रतिशतले वृद्धि, यस्ता छन् अन्य वित्तीय सूचक

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा ३५ करोड ३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीले ३१ करोड ८१ लाख नाफा कमाएको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको नाफा १०.१२ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीले २ अर्ब ५४ करोड ५६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा १.३३ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले २ अर्ब ५१ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।  त्यस्तै समीक्षा वर्षमा कम्पनीको खुद बीमा शुल्क ८.९८ प्रतिशतले बढेको छ । कम्पनीले अघिल्लो आवमा ७२ करोड २५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेकोमा गत आवमा ७८ करोड ७४ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।  समीक्षा वर्षमा कम्पनीको रिटेन्ड अर्निङ १८ करोड ३२ लाख रुपैयाँ रहेको छ । गत वर्ष कम्पनीको महाविपत्ति कोषमा ४ करोड ६४ लाख रुपैयाँ, स्पेसल रिर्जभमा ७५ करोड ९८ लाख रुपैयाँ र अन्य इक्विटीमा १३ करोड १० लाख रुपैयाँ रहेको छ ।  त्यस्तै कम्पनीको शेयर पुँजी २ अर्ब १५ करोड रुपैयाँ रहेको छ । गत आवमा कम्पनीको प्रति शेयर आम्दानी १६ रुपैयाँ ३० पैसा रहेको छ । मूल्य आम्दानी अनुपात ३७.४३ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ १२ पैसा रहेको छ ।  

महाकालीमा पानीको प्रवाह बढेपछि सवारी सञ्चालनमा रोक

भीमदत्त । सुदूरपश्चिममा गएरातिदेखिको अविरल वर्षाका कारण महाकाली नदीमा पानीको प्रवाह बढेको छ । पानीको प्रवाह बढेपछि शारदा ब्यारेजको पुलमा ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।  बिहीबार बिहान ११ बजेसम्म्ममा पानीको प्रवाह एक लाख २६ हजार ७१२ क्यूसेक मापन भएको छ । जिल्ला प्रहरीका प्रवक्ता सागर बोहराले वर्षा भइरहेकाले पानीको प्रवाह अझै बढ्न सक्ने बताए । उनकाअनुसार नेपाल भारत सीमामा रहेको बनबासा पुलमा चार पाङ्ग्रे सवारी साधन आवतजावतमा रोक लगाइएको हो । दुई पाङ्ग्रे सवारी साधन र मानिस आवतजावत चालु रहेको प्रहरीले जनाएको छ ।  

अवरुद्ध कालीगण्डकी करिडोर दुई दिनपछि सञ्चालन

गुल्मी । लगातारको वर्षाका कारण पहिरो गएपछि बुधबार बिहानदेखि अवरुद्ध बनेको कालीगण्डकी करिडोर सडक सञ्चालनमा आएको छ । कालीगण्डकी करिडोर सडकअन्तर्गत गुल्मीखण्डको कालीगण्डकी गाउँपालिका–२ स्थित राक्सेमा सडक माथिबाट चट्टानसहितको पहिरो खसेपछि उक्त सडक दुई दिनदेखि पुर्णरुपमा अवरुद्ध बनेको थियो  ।       अवरुद्ध सडक सञ्चालन गर्नका लागि उक्त क्षेत्रमा काम गर्दै आएको सडक निर्माण कम्पनीले स्काभेटरको माध्यमबाट सडकमा थुप्रिएको पहिरो पन्छ्याएपछि केहीबेर अघिदेखि उक्त सडक पूर्ण रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकरी गङ्गाबहादुर सारुले जानकारी दिए ।        त्यसैगरी अविरल वर्षाका कारण पहिरो जाँदा आज बिहानदेखि अवरुद्ध मदनभण्डारी राजमार्ग सडकअन्तर्गत गुल्मीको रिडी–तम्घास सडक भने अझै सञ्चालनमा आउन सकेको छैन । उक्त सडकखण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिका–३ स्थित बाख्रे भीरमा सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो ।  अवरुद्ध सडक सञ्चालनका लागि प्रयास भइरहे पनि पानी पहिररहेको र सडक माथिबाट पहिरो खस्ने क्रम नरोकिएकाले सडक सञ्चालन गर्न समस्या परेको सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सारुले जानकारी दिए ।      सडक अवरुद्ध बनेपछि अहिले त्यस क्षेत्रमा रुरुक्षेत्र‐३ स्थित पानी ट्यङ्कीबाट थोर्गाहुँदै सालबिसौनाको वैकल्पिक सडक प्रयोग गरि सवारी साधन सञ्चालन भइरहेका छन् । मदनभण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास सडकखण्डमा समानान्तर जेभी र इलाइट कम्पनीद्वारा २५ किलोमिटर सडक फराकिलो र कालोपत्रको काम भइरहेको छ ।           गुल्मीसहित आसपासका क्षेत्रमा तीन दिनदेखि निरन्तर रूपमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । निरन्तर वर्षाका कारण बडिगाड खोला र कालीगण्डकी नदी किनारमा पानीको सतह बढ्दै गएको छ । बाढी र पहिरोको जोखिम बढ्नसक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले तटीय क्षेत्रका नागरिकलाई सचेत रहन र सुरक्षित स्थानमा बसोबास गर्न आग्रह गर्दै आइरहेको छ । रासस