विकासन्युज

सेयर बजारमा ७ अर्बको कारोबार, नेपाल रिपब्लिकमा सकारात्मक सर्किट

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २ अंकले बढेर २७८८ बिन्दुमा पुगेको छ । आज १०८ कम्पनीको सेयर मूल्य बढ्दा १४१ कम्पनीको मूल्य घटेको छ । बिहीबार ३२० कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । नेपाल रिइन्स्योरेन्सको ४७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, एनआरएन इन्फ्राइस्ट्रक्चरको ४१ करोड, वलेफी हाइड्रोको ३६ करोड, हिमालयन रिइन्स्योरेन्सको २२ करोड र साहस उर्जाको २२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज नेपाल रिपब्लिक मिडियाको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । 

अन्नपूर्ण न्यूरो हस्पीटल र प्रभु बैंकबीच ग्राहक तथा कर्मचारीका लागि छुट सम्झौता

काठमाडौं । काठमाडौं महानगरपालिका, वाड नं ११, बबरमहलस्थित अन्नपूर्ण न्यूरो हस्पीटल र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरूका लागि छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार, प्रभु बैंकका कर्मचारी, कर्मचारीका परिवारजन र ग्राहकहरूले अन्नपूर्ण न्यूरो हस्पीटलमा १०–१५ प्रतिशत छुट पाउने भएका छन् । यो छुट हस्पीटलमा उपलब्ध सबै सेवासुविधामा लागू हुनेछ । उक्त सम्झौतापत्रमा अन्नपूर्ण न्यूरो हस्पीटलको तर्फबाट मेडिकल प्रशासक डाक्टर शरद गजुरेल र मार्केटिङ म्यानेजर प्रेम कुमार दाहाल तथा प्रभु बैंकको तर्फबाट चिफ मार्केटिङ अफिसर रमेश कुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दीन चित्कारले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् ।

मेट लाइफको खुद बीमा शुल्क आर्जन १०.१५ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य वित्तीय सूचक

काठमाडौं । मेट लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा ४९ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो आवमा ८२ करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा ४०.०७ प्रतिशतले घटेको छ । समीक्षा वर्षमा कम्पनीले गत आवमा ६ अर्ब १ करोड २ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीले ५ अर्ब ४५ करोड ६४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १०.१५ प्रतिशतले बढेको छ । त्यस्तै, कम्पनीले समीक्षा वर्षमा ६ अर्ब २५ करोड ८३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा १०.२० प्रतिशतले बढेको छ । कम्पनीले अघिल्लो आवमा ५ अर्ब ६७ करोड ८८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत वर्ष कम्पनीको रिटेन्ड अर्निङमा २ अर्ब ६२ करोड २२ लाख रुपैयाँ छ । अघिल्लो आवमा कम्पनीको रिटेन्ड अर्निङमा २ अर्ब ५६ करोड ११ लाख रुपैयाँ रहेको थियो । समीक्षा वर्षमा कम्पनीको महाविपत्ति कोषमा ५७ करोड ६८ लाख रुपैयाँ छ । अघिल्लो वर्षमा महाविपत्ति कोषमा ५२ करोड ७६ लाख रुपैयाँ थियो । त्यस्तै अन्य इक्विटीमा १ अर्ब १७ करोड ४१ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा कम्पनीको अन्य इक्विटीमा १ अर्ब ७ करोड ७३ लाख रुपैयाँ थियो । 

सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित फण्डहरूको लाभांश घोषणा

काठमाडौं । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित फण्डहरुले प्रतिफल लाभांश घोषणा गरेका छन् । फण्डहरुले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट आफ्ना इकाईधनीलाई नगद लाभांश वितरण गर्ने भएका हुन् । आर्थिक वर्ष २०८०/८१ को लागि घोषणा गरेको नगद लाभांश रद्द गरी गत आर्थिक वर्ष २०८१/८२ को लागि लाभांश वितरण गर्ने घोषणा गरेको हो । सानिमा लार्ज क्याप फण्डले २१.०५ प्रतिशत र सानिमा ग्रोथ फण्डले १५.७९ प्रतिशत वितरण गर्ने भएका हुन । उक्त वितरण गर्ने प्रयोजनको लागि भदौ ६ गते बुक क्लोज गर्ने भएको छ । सो अनुसार भदौ ५ गते बिहीबारसम्म कायम इकाईधनीले उक्त लाभांश प्राप्त गर्न सक्ने छन् ।  

इजी रेमिट र नियो मनी ट्रान्सफरबीच सम्झौता, विश्वभरबाट नेपालमा सजिलै रेमिट पठाउन सकिने

काठमाडौं । इजी रेमिट र नियो मनी ट्रान्सफरले छिटो, भरपर्दो र सुरक्षित रेमिट्यान्स सेवा सुनिश्चित गर्न नयाँ भुक्तानी सम्झौता गरेका छन् । सम्झौता अनुसार अब इजी रेमिटमार्फत नियो मनी ट्रान्सफर प्रयोग गरेर नेपालका कुनै पनि बैंक खातामा वा भुक्तानी सेवा प्रदायकका वालेटमा रेमिट्यान्स पठाउन सकिनेछ । यसका साथै नियो मनी ट्रान्सफरका स्थानीय एजेन्टहरूबाट पनि रकम सजिलै प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ । यो साझेदारीले पैसा पठाउने प्रक्रिया अझ सुरक्षित र आधिकारिक बनाउने उद्देश्य राखेको छ । इजी रेमिटको विश्वव्यापी नेटवर्क र नियो मनी ट्रान्सफरको नेपालभरि फैलिएको बलियो सञ्जालले रेमिट्यान्स भुक्तानीलाई अझ सहज र छिटो बनाउने अपेक्षा गरिएको छ । नियो मनी ट्रान्सफरका सिईओ सागर खनालले भने, 'इजी रेमिटसँग मिलेर अझ प्रभावकारी रेमिट्यान्स सेवा दिन पाउनु हाम्रो लागि सम्मानको कुरा हो । हाम्रो संयुक्त प्रयासले पैसाको लेनदेनलाई छिटो र भरपर्दो बनाउनेछ र औपचारिक माध्यमको प्रयोग बढाएर देशको वित्तीय प्रणालीलाई बलियो बनाउनेछ ।'

उच्च आयोगको निष्कर्स : मानवीय त्रुटिबाट सौर्यको जहाज दुर्घटना, मौसमको भूमिका देखिँदैन

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना मानवीय त्रुटिबाटै भएको सरकारी अध्ययनबाट देखिएिको छ । जहाज दुर्घटनापछि सरकारद्वारा गठित एक उच्च आयोगले गरेको अध्ययनले प्राविधिक रूपमा भन्दा पनि जहाज दुर्घटना मानविय त्रुटिबाटै भएको निष्कर्ष निकालेको छ ।  सौर्य एयरलाइन्स दुर्घटना जाँचबुझ आयोगका अध्यक्ष एवं नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशलाल सुमनले आज प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा यसबारे जानकारी दिँदै जहाज दुर्घटनाको कारण पत्ता लगाउन ‘ह्युमन फ्याक्टर’, सेफ्टी म्यानेज्डमेन्ड सिस्टमका बारेमा धेरै अध्ययन गरिएको बताए । उनका अनुसार  एयरपोर्टबाट जहाज उड्न थालेपछि ट्याक्सी वेबाट जहाज मेन रनवेतर्फबाट जहाज कोटेश्वरतर्फ उडेको देखिन्छ । त्यसपछि १८० डिग्री मोडिएर त्यहाँ इन्जिनलाई टेकअप गरेको देखिन्छ । त्यसपछि जहाज दुर्घटना भएको देखिन्छ ।  १९ जना यात्रुमध्ये १ जना क्याप्टेनमात्रै जीवित थिए । १८ जनाको घटनास्थलमै मृत्यु भएको थियो । क्यापटेनको अवस्था चिन्ताजनक रहेको थियो । सुमानका अनुसार कोपाइलटले पनि यही जहाजबाटै करिअर स्टार्ट गरेको देखिन्छ । कोपाइलट १८ सय २४ घण्टा र यो जहाजमा १६ सय २ घण्टा कोपाइट उडेको देखिन्छ ।  दुर्घटना भएको जहाज उड्दा उनी थकित देखिँदैनन् । नागरिक उड्डयनको नियमअनुसार महिनामा १०० घण्टा र वर्षमा १००० घण्टा भन्दा बढी उड्न पाइँदैन ।  त्यसैले दुर्घटनामा परेका पाइलट, को–पाइलटले कडा ड्युटी गरेको अध्ययनबाट नदेखिने सुमनले बताए।  उनका अनुसार दुर्घटनाग्रस्त जहाज क्यानडामा बनेको जहाज थियो । २००३ मा निर्माण भएको उक्त जहाजमा दुईवटा इन्जिनहरु थिए । यो जहाज दुर्घटना हुँदा मौसम एकदमै ठिक रहेको थियो । दुर्घटनामा मौसमको कुनै पनि भूमिका देखिँदैन ।  जहाजमा त्यस्तो खालको टेक्निकल खराबीहरु देखिँदैन ।  कुनैपनि सिस्टममा जहाज दुर्घटनाका क्रममा खराबी भएको नदेखिने जाँझबुझ आयोगको प्रतिवेदनमा उल्लेख छ । आयोगका अध्यक्ष सुमनका अनुसार जहाजमा चढेका धेरैजसो यात्रुले सिट बेल्ट नबाँधेको देखिन्छ ।  सीसीटीभी फुटेजहरु हेर्दा ४० सेकेण्डमै दमकल आगलागी भएको ठाउँमा पुगेको देखिन्छ । तर दुर्घटनाग्रस्त क्षेत्रमा खाल्डो भएका कारण दमकलले सडकका लागि पहुँच पाएन । नजिकको कपिट भएको ठाउँमा गएर दमकले आगो निभाएको अध्ययनबाटै देखिन्छ । कन्फर्टेवल बाटो नभएका कारण रेसक्युमा ढिला भएको देखिएको छ । 

अमेरिकामा आर्थिक संकट ! ७१ ठूला कम्पनी टाट पल्टिए, बजेट घाटा २९१ अर्ब डलर

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो देशलाई फेरि महान बनाउन चाहन्छन् । यसका लागि उनले विभिन्न निर्णयहरू लिइरहेका छन् । उनले विश्वका धेरै देशमाथि भारी ट्यारिफ (शुल्क) लगाएका छन् जसबाट सरकारको आम्दानी बढोस् ।  साथै उनले धेरै कम्पनीहरूलाई आफ्नै देशमा बढी लगानी गर्न बाध्य पारेका छन् । तर अहिलेसम्म उनका निर्णयहरूको धेरै प्रभाव देखिएको छैन । जुलाईमा ७१ ठूला कम्पनी टाट पल्टिएका छन् भने बजेट घाटा ४७ अर्ब डलर अर्थात् १९ प्रतिशतको बढोत्तरीसहित २९१ अर्ब डलर पुगेको छ ।  यो अमेरिका इतिहासमा जुलाई महिनाको दोस्रो सबैभन्दा ठूलो घाटा हो । केवल २०२१ मा मात्र यसभन्दा बढी घाटा भएको थियो । जुलाईमा अमेरिकामा ७१ ठूला कम्पनी टाट पल्टिए जुन २०२० को कोरोना महामारीपछि सबैभन्दा ठूलो संख्या हो । यसअघि मे महिनामा ६४ र जुनमा ६६ ठूला कम्पनी टाट पल्टिएका थिए ।  यसरी यस वर्ष अमेरिकामा ४४६ ठूला कम्पनी टाट पल्टिइसकेका छन् । यो पछिल्ला १५ वर्षमा सबैभन्दा ठूलो संख्या हो । यो २०२१ र २०२२ को सम्पूर्ण वर्षभन्दा बढी हो । २०२१ मा ४०५ र २०२२ मा ३७३ कम्पनी टाट पल्टिएका थिए । औद्योगिक ९७०० र उपभोक्ता डिस्क्रिएशनरी ९६१० कम्पनीहरूलाई सबैभन्दा बढी घाटा भएको छ । जुलाईमा ट्रेजरी विभागको बजेट घाटा २९१ अर्ब डलर पुगेको छ, जबकि जूनमा यो २७ अर्ब डलर थियो । जुलाईमा सरकारको खर्च ९.७ प्रतिशत बढेर ६३० अर्ब डलर पुगेको छ, जुन जनवरीपछि सबैभन्दा बढी हो ।  यसबीच राजस्व पनि २.५ प्रतिशत बढेर ३३८ अर्ब डलर पुगेको छ, जसमा २९.६ अर्ब डलरको ट्यारिफ राजस्व पनि समावेश छ । यससँगै यस वर्षको बजेट डेफिसिट १.६३ ट्रिलियन डलर पुगेको छ । अमेरिका आफ्नो इतिहासमा तेस्रो सबैभन्दा ठूलो बजेट घाटातर्फ अघि बढिरहेको छ । यो अवस्थाले अमेरिकी अर्थतन्त्र अझै स्थिर हुन बाँकी रहेको स्पष्ट पार्छ । राष्ट्रपति ट्रम्पका नीति निर्णयहरूले तत्कालीन रूपमा अपेक्षित आर्थिक सुधार ल्याउन सकेका छैनन् । चीनमा एआई चिप्स‍ प्रयोगमा रोक, अमेरिकी कम्पनीहरू संकटमा  

नेपाल-डेन्मार्क सम्बन्ध मजबुत बनाउन सीएनआई र राजदूतबीच छलफल

काठमाडौं । नेपाल-डेन्मार्कबीच आर्थिक र सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्यले सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक तथा ग्लोबल बिजिनेस र डायस्पोरा समिती (सीएनआई)का सभापति चन्द्र टण्डन र डेन्मार्कस्थित नेपाली राजदूत महामहिम सुम्निमा तुलाधरबीच भेटवार्ता सम्पन्न भएको छ । भेटमा विदेशी प्रत्यक्ष लगानी भित्र्याउनका लागि रणनीति, उत्पादनशील क्षेत्र र प्रविधि स्थानान्तरणमा रेमिट्यान्स लगानीको सदुपयोग, साथै साहसिक पर्यटन, सांस्कृतिक सम्पदा र आध्यात्मिक रिट्रीटको क्षेत्रमा नेपाललाई प्रमुख गन्तव्यको रूपमा प्रवर्द्धन गर्ने उपायहरूमा छलफल भएको थियो । साथै, डेन्मार्कमा बसोबास गर्दै आएका नेपाली प्रवासीहरूको समस्या समाधान, हकहित संरक्षण र नेपाली उत्पादनहरूको प्रवर्द्धन गर्ने प्रभावकारी योजना निर्माणमा पनि दुवै पक्षले आपसी समझदारी बनाएका छन् । भेटमा नेपाली मिसन र सीएनआईबीचको संस्थागत सम्बन्ध मजबुत बनाउने विषयमा पनि विचार विमर्श भएको थियो ।