विकासन्युज

बैंकहरूको नाफा ३४.२० प्रतिशत बढ्यो, साढे ३२ अर्ब रुपैयाँ आर्जन गर्दा कसको कति ?

काठमाडौं । १० वटा वाणिज्य बैंकले गत वर्ष साढे ३२ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । हालसम्म एभरेष्ट बैंक, सानिमा बैंक, कृषि विकास बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, नबिल बैंक र हिमालयन बैंक गत वर्ष आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सार्वजनिक गरेका छन् ।  सार्वजनिक तथ्याङ्कअनुसार गत आवमा १० बैंकले ३२ अर्ब ३८ करोड २० लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । अघिल्लो वर्षको तुलनामा गत वर्ष ३४.२० प्रतिशत अर्थात् ८ अर्ब २५ करोड ३५ लाख ३२ हजार रुपैयाँ बढी नाफा गरेका हुन् । अघिल्लो आव २०८०/८१ मा २४ अर्ब १२ करोड ८५ लाख २८ हजार रुपैयाँ नाफा गरेका थिए ।  वित्तीय विवरण सार्वजनिक गरेका बैंकहरूमा गत वर्ष सबैभन्दा धेरै नाफा नबिल बैंकले गरेको छ । बैंकले ७ अर्ब १२ करोड ७५ लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । जुन अघिल्लो वर्षको तुलनामा १५.०१ प्रतिशत अर्थात् ९३ करोड ४ लाख ५७ हजार रुपैयाँ बढी हो । अघिल्लो वर्ष बैंकले ६ अर्ब १९ करोड ७१ लाख ९ हजार रुपैयाँ खुद नाफा गरेको थियो । एभरेष्ट बैंकले गत वर्ष ४ अर्ब ९१ करोड ८१ लाख ६५ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ३ अर्ब ७० करोड ३२ लाख २५ हजार रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकले ३२.८० प्रतिशत अर्थात् १ अर्ब २१ करोड ४९ लाख ४० हजार रुपैयाँ बढी नाफा गरेको हो ।  कृषि विकास बैंकले गत वर्ष ४ अर्ब १५ करोड ४४ लाख ७५ हजार रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब ८९ करोड ७४ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष यस बैंकले ४३.३८ प्रतिशत अर्थात् १ अर्ब २५ करोड ६९ लाख ८८ हजार रुपैयाँ बढी नाफा गरेको हो ।  सिद्धार्थ  बैंकको गत वर्षमा खुद नाफा १०.२३ प्रतिशत बढेर ३ अर्ब ३९ करोड ५२ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ३ अर्ब ८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।   एनएमबि बैंकको गत वर्ष नाफा ४६.२२ प्रतिशत अर्थात् १ अर्ब ३ करोड ७३ लाख ९६ हजार रुपैयाँ बढेर ३ अर्ब २८ करोड १७ लाख ९१ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब २४ करोड ४३ लाख ९५ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।   कुमारी बैंकको खुद नाफा ४५ हजार ८२९ प्रतिशत बढेको छ । बैंकको नाफा वृद्धिदर समग्र बैंकिङ क्षेत्रमै उच्च हो । बैंकले गत वर्ष २ अर्ब ११ करोड ६४ लाख ९ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ४६ लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । माछापुच्छ्रे  बैंकको खुद नाफा ९२.४४ प्रतिशत अर्थात् ९६ करोड ६२ लाख ६२ हजार रुपैयाँ बढेर २ अर्ब १ करोड १४ लाख ६१ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ४ करोड ५१ लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । सानिमा बैंकको गतमा खुद नाफा ७.२४ प्रतिशत बढेर २ अर्ब ५७ करोड ११ लाख ५५ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब ३९ करोड ७४ लाख ४३ हजार रुपैयाँ खुद नाफा गरेको थियो । सिटिजन्स बैंकको गत वर्ष बैंकको खुद नाफा भने २ प्रतिशत घटेर १ अर्ब २९ करोड ३२ लाख २१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ३२ करोड ७ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । हिमालयन बैंकको नाफा २२.१४ प्रतिशत बढेर १ अर्ब ५१ करोड २५ लाख ३२ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब २३ करोड ८३ लाख ३ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

एनआईसी एशिया बैंकका ग्राहकलाई माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पामा छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरूलाई माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पामा छुट सुविधा उपलब्ध गराउने सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार, बैंकका ग्राहकहरूले पोखरास्थित रिसोर्टमा सेवा लिँदा डिजिटल भुक्तानीमार्फत १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले खाना तथा पेय पदार्थ, स्पा र आवास सेवामा यो छुटको लाभ लिन सक्नेछन् । सुविधा उपभोग गर्नका लागि बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ । माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पासँगको यस सहकार्यले बैंकका ग्राहकहरूलाई छुट सुविधा प्रदान गर्नुका साथै डिजिटल भुक्तानी प्रवर्द्धन र नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने बैंकको विश्वास छ ।

अमेरिका-चीनबीच ट्यारिफ नलाग्ने सहमति ९० दिनका लागि थपियो

काठमाडौं । अमेरिका र चीनले एक-अर्कामाथि ट्यारिफ नलगाउने सहमति ९० दिनका लागि थप गरेका छन् । यो निर्णय त्यतिबेला गरिएको हो जब विद्यमान सहमतिको अवधि सकिँदै थियो । सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । उक्त आदेशमा मे महिनामा भएको सहमतिको प्रावधानलाई यथावत राखिएको छ । त्यतिबेला दुवै देशले अस्थायी रूपमा एक(अर्काका सामानमा लगाइएका ट्यारिफलाई निलम्बन गरेका थिए । अमेरिकाले चेतावनी दिएको थियो यदि सहमतिको अवधि बढाइएन भने मंगलबारदेखि उच्च ट्यारिफ लागू हुनेछ। गत महिनाको वार्तामा चीनले दुवै पक्षले सहमति कायम राख्ने प्रयास गर्ने जनाएको थियो । अमेरिकी अधिकारीहरूले त्यसबेला भनेका थिए कि उनीहरू ट्रम्पको अन्तिम स्वीकृतिको प्रतीक्षामा छन् । अप्रिलमा व्यापारसम्बन्धी तनाव चरममा पुगेको थियो। ट्रम्पले विश्वका धेरै मुलुकका सामानमा टैरिफ लगाउने घोषणा गरेका थिए । चीनमाथि पनि उच्च ट्यारिफ लगाइयो र चीनले त्यसको जवाफी कदमस्वरूप अमेरिकी सामानमा ट्यारिफ बढायो । मे महिनामा भएको सम्झौताअनुसार अमेरिका भित्रिने चिनियाँ सामानमा वर्षको सुरुवातको तुलनामा ३० प्रतिशत अतिरिक्त ट्यारिफ लगाइयो । त्यस्तै चीनमा अमेरिकी सामानमा १० प्रतिशत नयाँ ट्यारिफ लागू गरियो ।

थप २०० मेगावाट बिजुली निर्यातका लागि भारतको सहमति

काठमाडौं । भारत सरकारले नेपालबाट थप २०० मेगावाट विद्युत् खरिदका लागि सहमति प्रदान गरेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार, पाँच जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली आयात गर्न भारतले अनुमति दिएको हो । यसअघि भारतले नेपालबाट ८१०.९ मेगावाट विद्युत् आयातको स्वीकृति दिएको थियो । हालको अनुमति थपिएसँगै नेपालबाट भारतमा १,०११ मेगावाट बिजुली निर्यातको बाटो खुलेको छ । यस्तै, नेपालले बंगलादेशमा पनि ४० मेगावाट विद्युत् निर्यात गर्दै आएको छ, जसअनुसार कुल निर्यात स्वीकृति १,०५०.९ मेगावाट पुगेको छ । हाल स्वीकृत २०० मेगावाट विद्युत् निर्यातको अनुमति ३१ अक्टोबरसम्म कायम रहने प्राधिकरणले जनाएको छ । यस अन्तर्गत लिखु–२, लिखु खोला ए, लोअर सोलु, ठुलो खोला, सुपर काबेली खोला ए र सुपर काबेली खोलाबाट उत्पादित विद्युत् भारत पठाइनेछ । गत आर्थिक वर्ष ०८१/८२ मा नेपालले भारतलाई विद्युत् निर्यात गरेर १७ अर्ब ४७ करोड रुपैयाँ आम्दानी गरेको थियो । प्राधिकरणका अनुसार, यस आर्थिक वर्षमा थप निर्यात अनुमति र सम्भावित उत्पादन वृद्धिका कारण विद्युत् निर्यात दोब्बर हुने अपेक्षा गरिएको छ ।

सुनको मूल्यमा १३ सयले गिरावट

काठमाडौं । गत शुक्रबारदेखि निरन्तर उकालो लागको सुनको मूल्यमा मंगलबार केही कमी आएको छ । सोमबारको तुलनामा आज एक तोला सुनमा एक हजार ३०० रुपैयाँले गिरावट आएको हो ।   नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल एक लाख ९६ हजार ८०० रुपैयाँ कायम भएको छभने सोही परिमाणको चाँदीको मूल्य दुई हजार ३०५ रुपैयाँ तोकिएको छ । सोमबार एक तोला चाँदी दुई हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।  गत शुक्रबार एक तोला सुनको मूल्य एक लाख ९९ हजार २०० कायम भएको थियो । सोही दिन एक तोला चाँदी दुई हजार ३३० रुपैयाँमा खरिदबिक्री भएको थियो । 

एप्पलविरुद्ध कानुनी लडाइँ लड्दै मस्क, एप स्टोरमा ‘शक्ति प्रदर्शन’ को आरोप

काठमाडौं । अर्बपति एलन मस्कले सोमबार आफ्नो कृत्रिम बौद्धिकता (एआई)  स्टार्टअप एक्सएआईले  एप्पलविरुद्ध एपस्टोर र्‍याङ्किङसम्बन्धी विषयमा एन्टिट्रस्ट (प्रतिस्पर्धा विरोधी) नियम उल्लंघन गरेको आरोप लगाउँदै कानुनी कारबाही गर्ने बताएका छन् । ‘एप्पल यस्तो ढंगले व्यवहार गर्दैछ जसले ओपनएआई बाहेक कुनै पनि एआई कम्पनीलाई एप स्टोरमा #1 स्थानमा पुग्न असम्भव बनाइदिन्छ, जुन स्पष्ट रूपमा एन्टिट्रस्ट उल्लंघन हो । एक्सएआईले तत्काल कानुनी कारबाही गर्नेछ,’ मस्कले आफ्नो सामाजिक सञ्जाल एक्समा लेखेका छन् । मस्कले आफ्नो दाबीको समर्थनमा कुनै प्रमाण प्रस्तुत गरेका छैनन् । एप्पल, ओपनएआई र एक्सएआईले रोयटर्सको टिप्पणीको अनुरोधमा तुरुन्त प्रतिक्रिया दिएका छैनन् । हाल अमेरिकामा आइफोनका लागि एप स्टोरको ‘टप फ्री एप्स’ सूचीमा च्याटजीपीटी पहिलो स्थानमा छ भने एक्सएआईको ग्रोक पाँचाैं र गुगलको जेमिनी च्याटबट ५७ औं स्थानमा छ । सेन्सर टावरका तथ्याङ्कअनुसार गुगल प्ले स्टोरमा पनि च्याटजीपीटी नै शीर्ष स्थानमा छ । एप्पलको ओपनएआईसँग साझेदारी छ, जसअन्तर्गत च्याटजीपीटीलाई आइफोन, आइप्याड र म्याकमा एकीकृत गरिएको छ । ‘एप्पल एप स्टोर जब एक्स विश्वकै #1 समाचार एप हो र ग्रोक सबै एपहरूमा #5 छ, तब तपाईं किन एक्स वा ग्रोकलाई ‘मस्ट ह्याभ’ सेक्सनमा राख्न अस्वीकार गर्नुहुन्छ ? के तपाईं राजनीति खेल्दै हुनुहुन्छ ?,’ मस्कले सोमबारको अर्को पोस्टमा लेखेका छन् । मस्कको टिप्पणी त्यतिबेला आएको हो जब नियामक निकाय र प्रतिस्पर्धीहरूले एप्पलको एप स्टोर नियन्त्रणमाथि कडा निगरानी बढाएका छन् । गत अप्रिलमा अमेरिकी न्यायाधीशले एप्पलले आफ्नो एप स्टोरमा बढी प्रतिस्पर्धा गर्न अनुमति दिनुपर्ने अदालतको आदेश उल्लङ्घन गरेको ठहर गर्दै कम्पनीलाई आपराधिक अवहेलना अनुसन्धानका लागि संघीय अभियोजकलाई पठाएका थिए । यो मुद्दा फोर्टनाइट निर्माता एपिक गेम्सले दायर गरेको हो । युरोपेली संघको एन्टिट्रस्ट निकायले गत अप्रिलमा एप्पललाई ५० करोड युरो (५८ करोड ७० लाख डलर) जरिवाना लगाएको थियो, जसमा उसले प्रविधिक र व्यावसायिक प्रतिबन्ध लगाई विकासकर्ताहरूलाई एप स्टोरबाहिर सस्तो डिलहरूमा प्रयोगकर्तालाई लैजान नदिएको, डिजिटल मार्केट्स एक्टको उल्लङ्घन गरेको निष्कर्ष निकालेको थियो । अलिबाबाबाट अर्बौं कमाएका सोन ३०० वर्ष टिक्ने एआई साम्राज्य बनाउँदै ४ ट्रिलियन डलर क्लबमा एनभीडीया, एआई क्रान्तिको अग्रणीले रच्यो नयाँ इतिहास  

स्थानीय तहले जग्गाको वर्गीकरण नगरिदिँदा काभ्रेमा जग्गाको कारोबार रोकियो

काभ्रेपलाञ्चोक । यहाँको स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा स्थानीय नागरिक सेवालिनबाट वञ्चित भएका छन् । जिल्लाको १३ तहमध्ये तेमाल र रोशी गाउँपालिकाबाहेक ११ तहले जग्गाको वर्गीकरण नगरेका हुन् ।  तोकिएका समयसीमासम्ममा जिल्लका ११ स्थानीय तहले वर्गीकरण नगर्दा साउनदेखि जग्गाको कारोबार गर्न वञ्चित बनेको जिल्ला मालपोत कार्यालय धुलिखेलले जनाएको छ । समयसीमाभित्र तेमाल र रोशी गाउँपालिकाले भने तोकिएको ढाँचामा जग्गा वर्गीकरण गरिसकेकाले दुई स्थानीय तहबाहेक अन्यका नागरिक नापी र मालपोत कार्यालयबाट जग्गा कारोबारबाट वञ्चित बनेका हुन् । कार्यालयका प्रमुख नापी अधिकृत अशोककुमार भुसालका अनुसार तीन वर्षदेखि स्थानीय तहले गर्नुपर्ने जग्गाको वर्गीकरण नगरेका कारण स्थानीय तहका नागरिक साउन १ गतेदेखि जग्गाको कारोबार गर्नबाट वञ्चित भएका छन् ।  गत असार मसान्तसम्म जग्गा वर्गीकरण नगरेका कारण ११ तहका नागरिकले सेवा नपाएको भुसालको भनाइ छ । विसं २०८२ असार मसान्तसम्म स्थानीय तहले १० क्षेत्र तोकेर जग्गाको वर्गीकरण गरिसक्नुपर्नेमा जिल्लाका ११ तहले त्यसप्रति चासो नराखेको बताइएको छ । कार्यालयले भूउपयोग नियमावली २०७९ कार्यान्वयनमा आइसकेकाले जग्गाको वर्गीकरण भइसकेका स्थानीय तहहरूबाट आएका भूउपयोग परिषद्को निर्णयानुसार सबै कित्ता जग्गाको जग्गाधनी श्रेस्ता÷पुर्जा तथा नक्सामा अद्यावधिक गरेरमात्र सेवा प्रवाह गर्नुपर्ने भएकाले अनिवार्य रूपमा २०७९ साल माघ २ गतेबाट खुला गरिएको जनाएको हो ।  लिखत रजिष्ट्रेशन पास बैंक तथा वित्तीय संस्थाहरूको रोक्का, नामसारीलगायत अन्य निवेदनसम्बन्धी सेवा भूउपयोग वर्गीकरण क्षेत्र खुल्ने गरी स्थानीय तहहरूबाट सिफारिस आएपश्चात मात्र सेवा प्रवाह गरिने कार्यालयले जनाएको छ । यस्तै स्थानीय तहले भूउपयोग क्षेत्र वर्गीकरणका लागि तोकिएको मापदण्ड पूरा गर्नुपर्नेछ । कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सिमासार, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्विक महत्व तथा नेपाल सरकारबाट आवश्यकतानुसार तोकिएका अन्य क्षेत्रको वर्गीकरण गर्नुपर्ने प्रावधान बनाइएको हो ।  कार्यालयका अनुसार गत वर्ष अन्तिम एकपटकका लागि कृषि र गैरकृषि क्षेत्रका रूपमा वर्गीकरण गरेर स्थानीय तहले नागरिकलाई सेवा दिएका थिए । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०८० साल जेठ २७ गते जग्गाको वर्गीकरण गरेरमात्र घरजग्गा कारोबार गर्नुपर्ने जनाउँदै रोक लगाएको थियो । त्यसको सात महिनापछि काभ्रेपलाञ्चोकमा कारोबार खुलाइए पनि तोकिएको समयमा ११ तहले जग्गाको वर्गीकरण नगरेका हुन् । जग्गा वर्गीकरण नगर्दा नागरिकका अंशवण्डासमेत हुन नसकेको बताइन्छ । यसअघि नामसारी, दृष्टिबन्धक (व्यक्तिगत), पूरा कित्ता (अंशवण्डा), पूरा कित्ता (पास), छोडपत्र (पूरा) सगोलनामा मात्रै कारोबार हुने गरेको थियो ।  यस्तै जग्गाको कारोबार नहुँदा मालपोत कार्यालयमार्फत राज्यले प्राप्त गर्ने करोडौँ राजस्व घटिरहेको जनाइएको छ । जिल्लास्थित नेपाल लेखापढी कानुन व्यवसायी सङ्घले जिल्लाका सबैै स्थानीय तहमा जग्गाको भूवर्गीकरण समयमै सम्पन्न गर्न ज्ञापनपत्र बुझाएको थियो । नियमावलीमा स्थानीय सरकारले जग्गा भूवर्गीकरण गर्न नसके प्रदेश सरकारले गर्ने उल्लेख गरिएको छ । रासस

गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टीन हिरो २०२५ का ग्लोकल २० अन्डर २० सार्वजनिक

काठमाडौं । नेपालको प्रतिष्ठित ग्लोकल टीन हिरो २०२५ को आयोजक ग्लोकलले यस वर्षका ग्लोकल २० अन्डर २० को सूची सार्वजनिक गरेको छ । यस वर्षको छनोट नेपालभरका युवाहरूको असाधारण प्रतिभा, दूरदृष्टि र नेतृत्व क्षमता प्रदर्शन गर्ने उत्कृष्ट आवेदकहरूमध्येबाट गरिएको हो । किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपालको यो ११औँ संस्करण हो । कुल ७८६ आवेदकहरु मध्येबाट छनौटमा परेका २० जनालाई आगामी सेप्टेम्बर १ मा पुरस्कृत गरिने ग्लोकल प्रालीले जनाएको छ । साथै, सोही दिन गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल बिजेताको नाम समेत घोषणा गरिनेछ । ग्लोकल टीन हिरो २०२५ को ११ औँ संस्करणमा १३ देखि १९ वर्षका किशोरकिशोरीहरूका लागि आवेदनहरू खुला गरिएको थियो । आफ्नो शैक्षिक कार्यभन्दा बाहिर गएर समाजमा उल्लेखनीय काम र सकारात्मक प्रभाव पारेका किशोरकिशोरीहरुलाई यसमा छनौट गरिएको छ । ग्लोकल २० अन्डर २० सूची विभिन्न क्षेत्रहरूका २० प्रारम्भिक परिवर्तनका वाहकहरूको लागि एक सामूहिक उपाधि हो । जसले समाजमा सकारात्मक छाप छोडेका छन् । यस वर्षका सम्मानित व्यक्तिहरूलाई उनीहरूको विभिन्न क्षेत्रहरूमा गरेका कामहरूको लागि मान्यता दिइएको छ । जसमा प्रविधि, सामाजिक सक्रियता, उद्यमशीलता, वातावरणवाद, कला, र स्वास्थ्य सक्रियता समावेश छन् । ग्लोकल २० अन्डर २०, २०२५ का लागि छानिएका आवेदकहरू मध्ये बुटवलका आविश खनाल, बाजुराका ध्रुबेश धामी, बाग्लुङका गोकुल श्रेष्ठ, धनुषाका कृष यादव, स्याङ्जाकी मानुषी न्यौपाने, वीरगन्जका मोहम्मद अफताब शेख, कपिलवस्तुका निश्चल ढुंगाना, पर्साका निशान्त राज सर्राफ, सुनसरीका ओसिस निराला, जुम्लाका अक्सफोर्ड आचार्य, डोल्पाका फुर्वा छिरिङ गुरुङ, झापाकी पूजा मैनाली, बुटवलका रक्षित पौडेल रहेका छन् । त्यसैगरी, सर्लाहीबाट रेणुका सिंह, नवलपुरबाट ऋतु घर्ती, काठमाडौंबाट रुचि ओझा, रुपन्देहीबाट सफल पौडेल र सक्षम घिमिरे, चितवनबाट सजन अधिकारी, कपिलवस्तुबाट सक्षम रुपाखेती छनौटमा परेका छन् । यी २० प्रेरणादायक सहभागिहरु अब ग्लोकल टीन हिरो २०२५ को अर्को चरणमा प्रवेश गर्नेछन् । यस सम्मानित समूहबाट, शीर्ष ६ फाइनलिस्टहरूलाई अन्तिम चरणमा जानको लागि छनोट गरिनेछ । फाइनलिस्टहरूको दूरदृष्टि, अनुकरणीय आचरण र उनीहरूको कामको दिगो प्रकृतिलाई प्रतिष्ठित निर्णायकहरूको एक प्रभावशाली समितिले मूल्यांकन गर्ने आयोजकले जनाएको छ । निर्णायक समितिमा कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर चन्द्रिका कालिया; डब्लु.डब्लु.एफ नेपालका कन्ट्री डाइरेक्टर डा. घनश्याम गुरुङ; गोलछा ग्रुपकी निर्देशक सीमा गोलछा; भोइथका अध्यक्ष श्री सुरज वैद्य; र नेपालका लागि युरोपेली संघका कार्यवाहक थोमस मिलर रहेका छन् ।