विकासन्युज

६० प्रतिशत नगरवासी भरतपुर महानगरको सेवाप्रति सन्तुष्ट

चितवन । भरतपुरको विकासमा आम नगरवासीले प्रशंसासँगै ध्यानाकर्षण र सुझाव दिएका छन् । महानगरको आर्थिक वर्ष २०८१/८२ को तेश्रो चौमासिक सार्वजनिक सुनुवाईमा सहभागी अधिकाशं महानगरवासीले विकासको मोडलमा भरतपुरले देखाएको फड्कोको प्रशंसासगैँ ध्यानाकर्षण र सुझावमा जोड दिएका हुन् । सार्वजनिक सुनुवाईका क्रममा वडाबासीले महानगरबाट प्राप्त गर्ने सेवाको अझै जनमुखी बनाउन सुझाव दिएका छन् । उनीहरुले महानगरको विकास निर्माण र सेवाप्रवाहबाट सन्तुष्ट रहेको बताएका छन् । कार्यक्रमको सहजीकरण गरेको अग्रीम मिडिया नेटर्वक चितवनले सार्वजनिक गरेको प्रतिवेदनमा महानगरका वडा र महानगर कार्यालयमा आउने सेवाग्राहीसँग सर्वेक्षणमा सो कुरा बताइएको छ । २९ वटाका ५ सय जना बढीमा गरिएको सेवा सर्वेक्षणमा ६० प्रतिशत नगरवासी सन्तुष्ट, ३५ प्रतिशतले ठिकै र ५ प्रतिशत नगरवासीले असन्तुष्टी व्यक्त गरेको उल्लेख गरेका छन् । सो अवसरमा गौतम बुद्ध क्रिकेट रंगशाला, नारायणी तटबन्धन, सिटी हल, खानेपानी, हरियाली सडक, पुंगी तथा केरुङ्गा ड्रेन, महानगरीय प्रशासकीय भवन, शवदाह गृह, महानगरीय चक्रपथ, ओपन जु, फोहरमैला व्यवस्थापन लगायतका गौरवका आयोजनामा भरतपुर महानगरपालिकाले काम गरेको जानकारी दिएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकले सडक, बत्ति, विद्युत, ढल निर्माण, कृषि उपजको बजारिकरण, शिक्षा, स्वास्थ्य लगायतका शुसासनका विषयमा महानगर प्रमुख रेनु दाहाल प्रति प्रश्न राखेका थिए । उनीहरुले सबै वडामा वैज्ञानिक तबरबाट बजेट विनियोजन गर्न माग गर्दै असार मसान्तभन्दा अगाडि नै विकास निर्माणका काम गर्न सुझाव दिएका छन् । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरमा साझेदार निकाय, संघीय सरकार र प्रदेश सरकारद्वारा सञ्चालित विकास निर्माणका कामहरूमा गुणस्तर लगायत कुनै पनि कुरामा गुनासो नआउने गरी काम गर्न निर्देशन दिएकी छन् । उनले महानगर अब विकास र समृद्धिका बाटाहरुसगौ आर्थिक विकासका लागि जनमुखी काममा थप सक्रिय बनेको स्पष्ट पारिन् । यस चौमासिक प्रगति समीक्षामा नगरबासीको रचनात्मक सुझाव र विकासमा तीब्र चासो रहेको बताउँदै उनले यसलाई मनन गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरिन् । कार्यक्रममा बोल्दै भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले महानगर योजनावद्ध र सन्तुलित विकासको नीतिलाई अवलम्बन गर्दै दिगो र आत्मनिर्भर विकासको पक्षमा काम अगाडि बढाइरहेको बताए । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सामाजिक सुरक्षा र सुशासन कायम गर्दै अगाडि बढिरहेको बताउँदै उनले यसलाई कायम गर्न महानगरवासीको रचनात्मक सुझाव र खबरदारी निरन्तर रहनुपर्ने बताए । कार्यक्रममा चौमासिक प्रगति प्रतिवेदन पेस गर्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले आर्थिक वर्ष २०८१/८२ को विनियोजित ५ अर्ब ४९ करोड २ लाख ६३ हजार रहेकोमा ४ अर्ब ३ करोड ५४ लाख रुपैयाँ खर्च भएको उल्लेख गरे । यो बजेटको ७३ दशमलव ५ प्रतिशत हो । जसमध्ये चालुतर्फ ८५ प्रतिशत र पुँगिगततर्फ ६२ प्रतिशत खर्च भएको छ । यसैगरी महानगरले आर्थिक वर्ष २०८१/०८२ मा एक अर्ब ३६ करोड ९१ लाख ६८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

यामबहादुर खत्री र एकेन्द्र कुँवर घुससहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देही कोटहीमाई गाउँपालिका–५ स्थित सशस्त्र प्रहरी बल नेपाल बार्डर आउट पोस्ट मझगावामा कार्यरत सशस्त्र प्रहरी जवान यामबहादुर खत्रीलाई घुससहित पक्राउ गरेको छ । सीमा पारी भारतबाट भन्सार छली अवैध रुपमा कपडा तथा किराना सामान ल्याउने कार्यमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा आयोगले निजलाई पक्राउ गरेको हो । आयोगको बुटवल कार्यालयबाट गएको टोलीले खत्रीलाई खोटहीमाई गाउँपालिका–५ बाट पक्राउ गरेको हो । आरोपी सशस्त्र प्रहरी जवान खत्रीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । यस्तै, आयोगले सोमबार नापी कार्यालय कलङ्कीका कार्यालय सहयोगी एकेन्द्र कुँवरलाई १३ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । चन्द्रागिरि नगरपालिका–१३ मा रहेको जग्गा हालसाविक गरी नयाँ पुर्जा बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा आयोगको केन्द्रीय कार्यालय टङ्गालबाट गएको टोलीले कुँवरलाई पक्राउ गरेको हो । आयोगले नापी कार्यालय कलङ्कीका कार्यालय प्रमुखको मोबाइल डिभाइस दुई थान, सर्भेक्षकको मोबाइल एक थान र कार्यालय सहयोगी कुँवरको मोबाइल एक थानसहित पक्राउ गरेको छ । आरोपी कुँवरको थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । रासस

बागमतीका नव नियुक्त मुख्यमन्त्री बानियाँले विश्वासको मत लिँदै

बागमती । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभामा विश्वासको मत लिँदै छन् । आज अपराह्न ४ः०० बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री बानियाँले विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का ६४ जना प्रदेशसभा सदस्यको समर्थनमा कांग्रेस बागमती प्रदेशका सभापतिसमेत रहेका बानियाँ यही साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्रीमा नियुक्त भएको एक सातापछि मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिन लागेका हुन् । प्रदेशसभाबाट विश्वासको मत लिनेगरी प्रदेशसभाको बैठक बोलाउन प्रदेशसभा सचिवालयसमक्ष जानकारी गराएका थिए। मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार मुख्यमन्त्री बानियाँले नेपालको संविधानको धारा १६८ को उपधार ४ तथा प्रदेशसभा नियमवाली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम प्रदेशसभाबाट विश्वासको मत लिने प्रस्ताव अघि बढाएका हुन्। यसैबीच सत्तारुढ कांग्रेस र एमालेले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन ह्वीप जारी गरेका छन् । कांग्रेस संसदीय दलका सदस्यसचिव मीनकृष्ण महर्जन र एमाले संसदीय दलका प्रमुख सचेतक एकालाल श्रेष्ठले सूचना जारी गरी प्रदेशसभाको आजको बैठकमा अनिवार्य उपस्थित भई मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन ह्वीप जारी गरेका हुन् । नयाँ भवनबाट प्रदेशसभाको बैठक सञ्चालन हुने बागमती प्रदेशसभाको बैठक आजदेखि प्रदेशसभा सचिवालयको नयाँ भवनमा सञ्चालन हुने भएको छ । भवनको सम्पूर्ण काम सम्पन्न भई हस्तान्तरण भइसकेकाले आजबाट नयाँ भवनमा प्रदेशसभाको बैठक सञ्चालन गर्ने तयारी भएको प्रदेशसभा सचिवालयका सचिव पौडेलले जानकारी दिए । गत २०७७ साल मङ्सिर १० गते शिलान्यास भई १८ महिनामा सकिनेगरी २०७७ कात्तिकमा प्रदेशसभा भवनको ठेक्का लागेको थियो । तर ठेकेदार कम्पनीको ढिलाइका कारण ठेक्का सम्झौता भएको करिब पाँच वर्षपछि प्रदेशसभा भवन निर्माण सम्पन्न भएको हो । सहरी विकास तथा भवन कार्यालय हेटौँडा मकवानपुरमार्फत अर्घाखाँची–सगुन–पारामाउन्ट जेभीले रु पाँच करोड २९ लाखको लागतमा उक्त भवन निर्माण गरेको सहरी विकास तथा भवन कार्यालयका प्रमुख इञ्जिनियर सुवोध अधिकारीले जानकारी दिए।

झापामा शल्यक्रियाबाट प्रसूति हुनेको सङ्ख्या उच्च

झापा । जिल्लामा अधिकांश महिला शल्यक्रियामार्फत प्रसूति हुने गरेका छन् । पछिल्लो एक वर्षमा करिब ६९ प्रतिशत महिलाले शल्यक्रियामार्फत शिशु जन्माएको जिल्ला स्वास्थ्य कार्यालयकी नर्सिङ अधिकृत विद्या न्यौपानेले जानकारी दिएकी छन् । आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा १३ हजार १३८ जनाले बच्चा जन्माएका मध्ये ६८ दशमलव सात प्रतिशतले शल्यक्रियामार्फत शिशु जन्माएको उनले बताइन् । आव २०८०/८१ मा जिल्लामा ७० दशमलव पाँच प्रतिशतले शल्यक्रियामार्फत प्रसूति गराएको कार्यालयको तथ्याङ्क छ । चिकित्सकका अनुसार स्वास्थ्यमा जटिलता नआएसम्म शल्यक्रियाबाट प्रसूति गराउनु उचित हुँदैन । तर, पछिल्लो समय शल्यक्रियाबाट शिशु जन्माउने सङ्ख्या बढेको बढ्यै छ । प्रश्रव पीडा सहन नसक्नु/नचाहनु, जीवनशैली, ढिलो विवाहलगायत कारण शल्यक्रियामार्फत प्रसूति गराउने सङ्ख्या वृद्धि हुनुको मुख्य कारण भएको न्यौपानेको भनाइ छ । 'निजी अस्पतालमा शल्यक्रियामार्फत नै प्रसूति धेरै हुने गरेको छ', उनले भनिन्, 'सरकारी अस्पतालमा अलि कम छ ।' विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को मापदण्डअनुसार प्रसूति गराउने कुल सङ्ख्याको १० देखि १५ प्रतिशत शल्यक्रियामार्फत हुनुलाई सामान्य मानिने बताउँदै नर्सिङ अधिकृत न्यौपानेले भनिन्, 'अहिले महिलाले स्वेच्छाले नै शल्यक्रियामार्फत प्रसूति गराउन चाहन्छन् ।' ‘नर्मल डेलिभरी’बाट जन्मिएको शिशु चाँडै बाहिरी वातावरणमा घुलमिल हुने न्यौपानेले बताइन् । 'शल्यक्रिया गरेर निकालिएको शिशुलाई वातावरणमा घुलमिल हुन समय लाग्छ', उनले भनिन्, 'शल्यक्रियाबाट जन्मिएको शिशुलाई श्वासप्रश्वासमा समस्या हुँदा एनआइसीयूमा राख्नुपर्ने अवस्था आउने गरेको छ ।'

सिद्धार्थ प्रिमियरको नाफा ७१.३१ करोड रुपैयाँ, ईपीएस २५.४१ रुपैयाँ, यस्ता छन् अन्य सूचक

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको गत आर्थिक वर्ष २०८१/८२ खुद नाफा ३.६३ प्रतिशत बढेर ७१ करोड ३१ लाख ८० हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्षमा कम्पनीले ६८ करोड ८१ लाख ८९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  गत असारसम्ममा कम्पनीको खुद बीमा शुल्क ११.५८ प्रतिशत बढेर २ अर्ब ५ करोड ७६ लाख ३१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले १ अर्ब ८४ करोड ४० लाख ७३ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेका थिए ।  गत वर्ष कम्पनीको कुल बीमा शुल्क २९.८८ प्रतिशत बढेर २ अर्ब ७६ करोड ४० लाख २६ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कम्पनीले २ अर्ब १२ करोड ८१ लाख ४९ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।  समीक्षा वर्षमा कम्पनीको खुद दाबी भुक्तानी ५.२८ प्रतिशत घटेर १ अर्ब १३ करोड ४९ लाख ६९ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कम्पनीले १ अर्ब १९ करोड ८३ लाख ५१ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।  गत वर्ष कम्पनीको कुल आम्दानी २.०६ प्रतिशत बढेर ३ अर्ब ९ करोड ९३ लाख ३५ हजार रुपैयाँ र कुल खर्च ३.३६ प्रतिशत घटेर २ अर्ब ८ करोड ८३ लाख ३५ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कम्पनीले ३ अर्ब ३ करोड ६८ लाख ५९ हजार रुपैयाँ कुल आम्दानी गरेर २ अर्ब १६ करोड ८ लाख ५५ हजार रुपैयाँ कुल खर्च गरेको थियो ।  २ अर्ब ८० करोड ६५ लाख ४९ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको महाविपत्ति कोष १९.१९ प्रतिशत बढेर २२ करोड ४३ लाख ६५ हजार रुपैयाँ, सञ्चित नाफा १३.२१ प्रतिशत घटेर ९५ करोड ५० लाख ८८ हजार रुपैयाँ र बीमा कोष १६ प्रतिशत बढेर ५ अर्ब ७५ करोड २० लाख ८४ हजार रुपैयाँ रहेको छ । कम्पनीको नाफा बढेसँगै प्रतिसेयर आम्दानी (ईपीएस) ०.८९ रुपैयाँ बढेर २५.४१ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २७४.५६ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ३३.०७ गुणा रहेको छ ।

घोराही सिमेन्ट ६६ करोड रुपैयाँ नोक्सानीमा, यस्ता छन् अन्य सूचक

काठमाडौं । घोराही सिमेन्ट गत वर्ष ६६ करोड ३ लाख ७९ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ मा वित्तीय विवरण अनुसार अघिल्लो वर्षको तुलनामा गत वर्ष आफ्नो नोक्सानी घटाएको हो । अघिल्लो वर्ष कम्पनीले १ अर्ब ४४ करोड ७० लाख ८० हजार रुपैयाँ नोक्सानी बेहोरेको थियो ।  गत वर्ष कम्पनीको सञ्चालन आम्दानी ५ अर्ब ५ करोड ८ लाख ४३ हजार रुपैयाँ छ । अघिल्लो वर्ष ४ अर्ब ४७ करोड ७९ लाख ७० हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । गत वर्ष कम्पनीको कुल नाफा १ अर्ब २ करोड ५९ लाख ८० हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कम्पनीले ३० करोड ८५ लाख हजार रुपैयाँ कुल नाफा थियो । गत वर्ष कम्पनीको बिक्री लागत ४ अर्ब २ करोड ४८ लाख ६२ हजार रुपैयाँ, प्रशासनिक तथा वितरण खर्च २८ करोड ९० लाख २९ हजार रुपैयाँ, वित्तीय लागत ८९ करोड २० लाख ६९ हजार रुपैयाँ रहेको छ ।  अर्ब ५६ करोड ७६ लाख ८५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको सञ्चित नाफा अर्ब ३८ करोड २७ लाख ६६ हजार रुपैयाँ र सेयर प्रिमियम २ अर्ब ६५ करोड ८४ लाख ६८ हजार रुपैयाँ रहेको छ । 

नबिल बैंकको नाफा ७ अर्ब १२ करोड रुपैयाँ, लाभांश क्षमता १७.६४ प्रतिशत

काठमाडौं । नबिल बैंकको गत आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा १५.०१ प्रतिशत बढेर ७ अर्ब १२ करोड ७५ लाख ६६ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ६ अर्ब १९ करोड ७१ लाख ९ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।  गत वर्ष बैंकको खुद ब्याज आम्दानी ०.०६ प्रतिशत बढेर १६ अर्ब ३२ करोड ७२ लाख ९७ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १६ अर्ब ३१ करोड ७३ लाख १५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  गत वर्ष बैंकको वितरणयोग्य नाफा ५४.८७ प्रतिशत बढेर ४ अर्ब ७७ करोड ३० लाख ५९ हजार रुपैयाँ रहेको छ । सो आधारमा बैंकको लाभांश वितरण क्षमता १७.६४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८ करोड २९ लाख ४ हजार रुपैयाँ थियो । सो आधारमा अघिल्लो वर्ष बैंकको लाभांश क्षमता ११.३९ प्रतिशत थियो ।  गत वर्ष बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ५.३८ प्रतिशत बढेर ३ अर्ब ४१ करोड ६१ लाख ६३ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ३.४१ प्रतिशत बढेर २१ अर्ब ५१ लाख १० हजार रुपैयाँ, सञ्चालन नाफा २५.४४ प्रतिशत बढेर १० अर्ब ८४ करोड ७८ लाख ५० हजार रुपैयाँ गरेको छ ।   समीक्षा वर्षमा बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ र जगेडा कोष ११.८८ प्रतिशत बढेर मा ३१ अर्ब ९० करोड ९५ लाख १७ हजार रुपैयाँ पुगेको छ ।  बैंकको निक्षेप संकलन १३.५३ प्रतिशत बढेर ५ खर्ब २४ अर्ब ६२ करोड ५९ लाख ५९ हजार रुपैयाँ र कर्जा लगानी १०.४९ प्रतिशत बढेर ४ खर्ब १२ अर्ब ७९ करोड ५५ लाख ४७ हजार रुपैयाँ गरेको छ ।  अघिल्लो वर्ष बैंकले ४ खर्ब ६२ अर्ब ९ करोड ७४ लाख १९ हजार रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ७३ अर्ब ५७ करोड ४१ लाख ५७ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।  बैंकको नाफासँगै प्रतिसेयर आम्दानी ३.४४ रुपैयाँ बढेर २६.३४ रुपैयाँ पुगेको छ । यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ २३५.५८ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २०.५५ गुणा रहेको छ । गत वर्ष बैंकको खराब कर्जा घटेको छ । अघिल्लो वर्ष ४.४५ प्रतिशत रहेको खराब कर्जा गत वर्ष घटेर ४.२७ प्रतिशतमा झरेको छ । बैंकको रिटर्न अन इक्विटी ११.६४ प्रतिशत छ ।

कोशी प्रदेशको पहाडी भागमा भारी वर्षाको पूर्वानुमान

काठमाडौं । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर नेपालको तराई नजिक अवस्थित छ । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ ।  देशका पहाडी भू-भागका धेरै स्थान र मधेस प्रदेशलगायत अन्य प्रदेशका तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको पहाडी भागको एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । आज राति देशभर पूर्णता बदली रहने महाशाखाले जनाएको छ । मधेसलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भागका धेरै स्थान र अन्य प्रदेशका पहाडी र तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।  मधेस प्रदेशलगायत कोशी र बागमती प्रदेशको पहाडी र तराई भागका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा गण्डकी प्रदेशका पहाडी र तराई साथै लुम्बिनी प्रदेशका तराईको भागका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।