विकासन्युज

ललितपुर मोबाइल एक्स्पो सुरु, पहिलो दिनमै १० हजारद्धारा अवलोकन

ललितपुर । ललितपुर लगनखेलमा रहेको ललितपुर मल दोस्रो तल्लामा अवस्थित ललितपुर मोबाइल कम्प्लेक्सले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसर पारेर आयोजना गरेको मोबाईल मेला आजदेखि शुरु भएको छ । यस मोबाइल मेला २०७४ एक कार्यक्रमका बीच सांसद मदन बहादुर अमात्यले उद्घाटन गरेका हुन् । आजदेखि शुरु भएको मोबाइल मेलाको पहिलो दिन करिब १० हजार व्यक्तिले अवलोकन गरेका छन् । उक्त एक्स्पो यहि भदौ २६ गतेसम्म आयोजना हुने भएको छ । ललितपुर मोबाइल कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले नेपालमा नै पहिलो पटक नौलो अवधारणामा मल्टिब्राण्ड मोबाइल शोरुम संचालन गरिएको भन्दै कम्प्लेक्सको वार्षिकोत्सवको अवसर पारेर मोबाइल मेला गर्न लागिएको जानकारी दिए । अध्यक्ष बस्नेतले ग्राहकहरुलाई सूपथ मूल्यमा मोबाइल खरिद गर्ने वातावरण बनाउन मेला आयोजना गर्न लागिएको बताए । उनले कम्प्लेक्समा ग्राहकहरुलाई गुणस्तरीय मोबाइल फोनहरु तथा एसेसरिज मात्र बिक्री गरिने दाबी गरेका छन् । कार्यक्रममा ललितपुर मलका अध्यक्ष नेपाल डंगोलले आर्थिक गतिबिधि बढाउन यो मलले सहयोग गर्ने अपेक्षा गर्दै मल हरेक पुस्ताका ग्राहकहरुको लागि उपयुक्त रहेको बताए ।अन्तर्राष्ट्रियस्तरको नेपालको सबैभन्दा ठूलो मल्टिब्राण्ड मोबाइल शोरुम रहेको मोबाइल कम्प्लेक्सले ग्राहकहरुलाई मोबाइलसँग सम्बन्धित विभिन्न सेवा सुविधाहरु एकै स्थानबाट प्रदान गर्दै आएको छ । मोबाइल मेलामा न्यूनतम ९ सयदेखि १ लाख २५ हजार रुपैंयासम्मको ब्राण्डेड मोबाइल फोनहरु उपलब्ध हुनेछ । मेलाको अवधिभर कुनैपनि मोबाइल वा एसोसोरिज खरिदमा ५ देखि ७० प्रतिशतसम्मको नगद छुट ग्राहकले प्राप्त गर्नेछन् । मेलामा विभिन्न कम्पनीहरुले बजारमा आएका नयाँ स्मार्टफोनहरु पनि सार्वजनिक गरिने छ । यसअघिको एक्स्पोमा विभिन्न कम्पनीहरुले स्मार्टफोन लन्च गरेको र यो पटक पनि नेपालमा भित्रिएका विभिन्न नयाँ स्मार्टफोनहरु सार्वजनिक हुनेछन् । ललितपुर मलको दोस्रो तल्लामा कम्प्लेक्समा ४० भन्दा बढि मोबाइल शोरुम तथा आधिकारीक सर्भिस सेन्टर संचालनमा आईसकेएका छन् । त्यस्तै कम्प्लेक्समा सबैभन्दा ठूलो मल्टिब्राण्ड मोबाइल शोरुम संचालन गरिएको छ, जहाँ एकै पटक ४ हजारदेखि ५ हजार ग्राहकले सुविधा प्राप्त गर्न सक्नेछन् । मोबाइल मेलामा सामसुंग, हुवावे, जियोनी, आईफोन, एचटिसी, माइक्रोसफ्ट, डिटिसी, लाभा, कलर्स, ओप्पो, सोनी, वन प्लस ब्राण्डका फोनहरु उपलब्ध गराईनेछ ।

सेजनको अध्यक्षमा पुष्पराज आचार्य निर्वाचित, उपाध्यक्षमा प्रभात भट्टराई

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को १८ औं साधारणसभाले पुष्पराज आचार्यको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ। सो सभाबाट सेजनको उपाध्यक्षमा प्रभात भट्टराई, महासचिवमा भीम गौतम, सचिवमा सुजन ओली र कोषाध्यक्षमा भागवत भट्टराई निर्वाचित भएका छन् । त्यस्तै कार्यसमितिको सदस्यमा एलिजा उप्रेती, हिमाल पौडेल, सागर घिमिरे, कृष्ण रिजाल र शिव बोहरा चयन भएका छन् । यसअघि अध्यक्षमा निर्वाचित आचार्य सेजनका उपाध्यक्ष थिए । महासचिव गौतम कोषाध्यक्ष थिए । सचिव ओली र कोषाध्यक्ष भट्टराई कार्यसमितिका सदस्य थिए । निर्वाचित भएपछि सम्बोधन गर्दै आचार्यले सेजन सबैको सामुहिक संस्था भएकाले सबै समेटेर लैजाने प्रतिबद्धता व्यक्त गरे ।

दसैंको अग्रीम टिकट बुकिङ भदौ २२ गतेदेखि खुल्ने, २० किलोभन्दा बढी झिटीगुन्टा राखेमा कारबाही

काठमाडौं । दसैंका लागि बसको अग्रीम टिकट बुकिङ भदौ २२ गते खुल्ने भएको छ । यातायात व्यवस्थापन विभाग, ट्राफिक प्रहरी तथा यातायात व्यवसायीको समन्वयमा चाडपर्वमा उपत्यका बाहिरिने यात्रुका लागि अग्रीम टिकट बुकिङ खुल्ने भएको हो । दसैंको दुई साता अगाडीदेखि बसको अग्रीम टिकट बुकिङ खोल्ने यातायात व्यवस्थापन विभागका महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिए । लामो दुरीका सवारीसाधनको अग्रीम टिकट बुकिङका लागि नयाँ बसपार्क र पुरानो बसपार्कबाट सुविधा दिने उनले बताए । उपत्यकाभित्र टिकट बुकिङमा हुने कालोबजारी नियन्त्रणका लागि अनुगमन गर्न विभाग, ट्राफिक प्रहरी, व्यवसायी उपभोक्तावादी संस्थाका प्रतिनिधी लगायतका पाँच जना टोली खटाइने भट्टराईले बताए । उपत्यका बाहिर अञ्चल कार्यालयबाट नै अनुगमन थाल्ने उनले बताए । उनले भने, ‘विभागको नेतृत्वमा विशेष टोली फिल्डमा जानेछन् । जसले अनुगमन टोलीको पनि अनुगमन गर्नेछन् ।’ नाडा अटो मोबाइल एसोसिएसनले बुकिङ काउण्टरमा सहायता कक्षको प्रबन्ध मिलाउन सहयोग गर्ने भट्टराईले बताए । सडक विभागले डोजर र क्रेनको व्यवस्था गर्ने सरकारले दसैंमा सवारी आवगमनका समयमा आकस्मिक पहिरो व्यवस्थापन गर्नका लागि डोजर तथा क्रेनको व्यवस्था गर्ने भएको छ । नारायणगढ-मुग्लिन सडकखण्डमा व्यापक पहिरोको जोखिम भएकाले यसको तत्काल व्यवस्थापन गर्न सडक विभागले डोजर र क्रेनको व्यवस्था गर्ने प्रतिबद्धता देखाएको भट्टराईले जानकारी दिए । झीटीगुन्टा बढी राख्न नपाइने दसैंमा सरकारले प्रति यात्रु २० किलो भन्दा बढी सामान बोक्ने व्यवसायीको इजाजत पत्र खारेज गर्ने भएको छ । दसैंमा यात्रुको चापमा गाडीमा ओभरलोडलाई निरुत्साहित गर्न यो व्यवस्था ल्याएको विभागका महानिर्देशक भट्टराईले बताए । दसैंमा घर जाने यात्रुले प्रति व्यक्ति २० किलो भन्दा बढी सामान बोक्न नपाइने उनले जानकारी दिए । उनले भने, ‘चालिस जना यात्रु ओगट्ने सिट क्षमता भएको गाडीमा २०/२० किलोको दरले सामान बोक्दा ८०० किलो पुग्न जान्छ । त्यसैले हामीले ओभरलोडलाई निरुत्साहित गर्न खोजेका हौं ।’ यातायात व्यवसायीले भने छतमा सामान राख्न पाउनुपर्ने अडान कायम राखेका छन् । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष डोलनाथ खनालले भने, ‘सरकारले भदौ २२ गते खोल्ने प्रस्ताव गरेको हो,’ उनले भने, ‘ हामीले छतमा यात्रुको सामान राख्ने व्यवस्था नभएसम्म टिकट नखोल्ने विचार राखेका छौं । यसमा सरकार केहि हदसम्म सकारात्मक देखिएको छ।’ महासंघका अनुसार दसैंमा उपत्यकाबाट ७० प्रतिशत मानिसहरु काठमाडौं बाहिरिने गरेका छन् । फुलपातीदेखि अष्टमीसम्म दैनिक तीन हजारका दरले यात्रुवाहक बस काठमाडौंबाट वाहिर जाने गरेको खनालले जानकारी दिए । गाडी भाडा नबढाउने यातायात व्यवसायीले सरकारसँग दसैंको मुखमा बस टिकटमा भाडा नबढाउने सहमती गरेका छन् । खनालले भने, ‘हामीले यस अघि मूल्य समायोजनका लागि प्रस्ताव ल्याएका थियौं । तर अब दसैंको मुखमा भाडा तलमाथी नगर्ने सहमती भएको छ ।’

कमलपोखरीको सिटी सेन्टर बन्द, व्यापारी र व्यवस्थापनबीच बिबाद

काठमाडौं । राजधानीको चर्चित मल सिटी सेन्टर बन्द भएको छ । कमलपोखरीमा रहेको उक्त मल व्यापारी र व्यवस्थापन बिच भाडामा बिबाद हुँदा बन्द भएको हो । बिना सुचना र एग्रिमेन्टको बेवास्ता गर्दै मल व्यवस्थापनले १० प्रतिशत भाडा बृद्धि गरेपछि बिबाद सुरु भएको हो । मलका व्यापारीले बढेको भाडा तिर्न नस्कने बताएपछि व्यबस्थापनले बत्तीको लाईन काटिदिएको एक व्यापारीले बताए । व्यापारीका अनुसार बढेको भाडा हामी दशै पछिबाट तिर्न तयार छौ, भन्दा पनि व्यवस्थापनले गुण्डागर्दी शैली अपनाएको आरोप व्यापारीको छ । व्यवस्थापन र व्यापारीको बिबादका कारण सिटी मलका हजारौं ग्राहक भने मारमा परेका छन् ।

सिटी एक्सप्रेसले ल्यायो चाडपर्व लक्षित उत्सव एक्सप्रेस अफर, ९० दिनसम्ममा कार जित्ने अवसर

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालिले चाडपर्व लक्षित गरेर ग्राहकका लागि उत्सव एक्सप्रेस अफर ल्याएको छ । कम्पनीले उपभोक्तालाई लक्कि ड्र मार्फत ९० दिनसम्म उपहार दिने घोषणा गरेको छ । योजना अवधिभर सिटी एक्सप्रेस मार्फत मनी ट्रान्सफर गर्ने सम्पुर्ण सेवाग्राहीहरु सो योजनामा सहभागी हने कम्पनीले जनाएको छ । यो अफर भदौ १८ गतेदेखी मंसिर १५ गतेसम्म लागु हुने सिट एक्सप्रेसका प्रवन्ध निर्देशक चन्द्र टण्डनले जानकारी दिए । कम्पनीले लक्कि ड्र मार्फत दैनिक एक तोला चाँदीका सिक्का, क्याप, टी सर्ट, र किरिङ उपहार दिनेछ । साप्ताहिक रुपमा एकजना विजेताले ओप्पो मोबाइल र हरेक महिना लक्की ड्रमा विजयी हुने एक जनालाई एलजी रेफ्रिजेरेटर उपहार प्रदान गरिने रेमिटेन्स कम्पनीले जनाएको छ । योजनाको अन्तिम दिनमा विजेताले बम्पर उपहारका रुपमा रेनोल्टको क्विड आर.एक्स.एल कार जित्न सक्ने छन् । दैनिक, साप्तहिक तथा मासिक विजेताहरुसमेत बम्पर उपहारका लागि सहभागी गराउने कम्पनीले जानकारी दिएको छ । यो योजनाको विजेता छनौट गर्दा विद्युतिय प्रणाली अपनाउने कम्पनीले जनाएको छ ।

महिन्द्राको दशैं तिहार अफरमा सुनदेखि महिन्द्रा एक्सयूभी ५०० सम्म जित्न सकिने

काठमाडौं । दशैं–तिहारको अवसरमा महिन्द्राले आफ्ना ग्राहकहरुका लागि बिग, बिगर, बिगेस्ट अफर ल्याएको छ । यस अफर अन्तर्गत नेपालभरका जुनसुकै शोरुमबाट महिन्द्राको कुनै पनि गाडी किन्ने बित्तिकै ग्राहकले स्क्रयाच्मा एक तोलासम्म सुन र साथमा महिन्द्रा गस्टो १२५ स्कूटर जित्न सकिने छ । यसैगरी, ग्राहकले १५ दिने बम्परमामहिन्द्र मोजो ३०० सिसि अफ–रोड बाइक, इको–फ्रेण्डली बम्परमा महिन्द्रा ई२० र प्रिमियम बम्परमा महिन्द्रा एक्सयूभी ५०० जित्न सकिने कम्पनीले जनाएको छ । यो बम्पर अफर बाहेकग्राहकले नाडा अटो शो अवधिभर महिन्द्राको जुनसुकै सोरुमबाट गाडी किन्दा ई२० र महिन्द्रा गस्टो १२५ जित्ने मौका पाउने छन् । साथै, महिन्द्राको स्टलमा आएर गाडीमा राखेको क्यास गेस गरी लक्की ड्र बाट महिन्द्रा गस्टो १२५ जित्न सकिने कम्पनीले जनाएको छ । यो अफर भदौ १३ गते देखि लागू भएको छ । नेपालभर सीमित अवधिको लागिमात्र लागू गरिएको यो अफर महिन्द्रा एक्सयूभी र थारमा उपलब्ध छैन ।

एकैदिन तीन कम्पनीको सेयर मूल्य समायोजन, हेरौँ कुन कुनको भयो?

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जमा एकैदिन तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले एकैदिन एनआईसी एसिया बैंक र नेपाल इन्स्योरेन्स कम्पनीको बोनस सेयर पछिको र आरएसडिसी लघुवित्त वित्तीय संस्थाको हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । नेप्सेले एनआईसी एसिया बैंककोे २० प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ३६८ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य ४६५ रुपैयाँ रहने भएको छ । त्यस्तै, नेप्सेले नेपाल इन्स्योरेन्सको पनि ५ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १४२४ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य ८८६ रुपैयाँ रहने भएको छ । त्यसैगरी आरएसडिसीको २०० प्रतिशत हकप्रद पछिको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ११०७ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य ७४५ रुपैयाँ रहने भएको छ ।

डिशहोमले ल्यायो ‘खुसी अन गरौं’ नामक योजना, ग्राहकलाई तीन हजार रुपैयाँ छुट

काठमाडौं । नेपालको एक मात्र स्याटेलाइट प्रविधिमा आधारित डिशहोमले दशैं तथा तिहारको अवसरमा उपभोक्ताहरु माझ “खुसी अन गरौं” नामक योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले ५ हजार ९९९ रुपैयाँ पर्ने डिशहोमको हाइब्रिड एचडी कनेक्सन खरिद गर्दा ३००० रुपैयाँ छुट प्राप्त गरी २ हजार ९९९ रुपैयाँमै जोड्न सक्नेछन् । डिशहोमले हाल बजारमा बिक्री गरिरहेको हाइब्रिड एचडी सेट टप बक्समा भारी छुट प्रदान गरेको हो । कम्पनीका महाप्रवन्धक  कल्याण अधिकारीले भने “सर्वसुलभ मूल्यमा यति गुणस्तरीय डिजिटल सेवा पाउँदा ग्राहकहरु निकै उत्साहित हुनुहुन्छ । नेपाल सरकारले आउँदो कार्तिक १५ देखि नेपालभर सम्पूर्ण नगरपालिकाहरुमा डिजिटल टेलिभिजन सेवा अनिवार्य गर्न लागेकोले पनि अहिले डिशहोमको गुणस्तरीय डिजिटल सेवा जडान गर्न उपयुक्त समय हो ।” स्याटेलाइट प्रविधिमा आधारित नेपालको एक मात्र डिटीएच सेवा प्रदायक डिशहोमले नेपालमा रहेका ग्राहकहरुमाझ गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ । शहर बजारदेखि ग्रामिण भेगमा बस्ने नेपालीलाई आफ्नो रोजाई अनुसारको एचडी तथा एसडी प्याकेजहरु प्रदान गर्ने यो कम्पनी नेपालको भौगोलिक बनावटमा उपयुक्त रहेको हुनाले जुनसुकै ठाउँमा पनि सहजै जडान गर्न सकिन्छ । डिशहोमको सेवा सिधै स्याटेलाइटमा आवद्ध हुने प्रविधि भएको हुँदा यसको ध्वनी र दृश्य दुबै गुणस्तरीय हुन्छन् । डिशहोमले सम्पूर्ण नेपाली च्यानलका साथमा अति लोकप्रिय विदेशी च्यानलहरु प्रसारण गर्दै आएको छ ।