आरएसडीसी लघुवित्तको हकप्रद सेयर असोज २ गतेदेखि बिक्री खुला हुदै
काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले पुँजी बढाउन हकप्रद सेयर निश्कासन गर्ने भएको छ । संस्थाले असोज २ गतेदेखि २३ करोड रुपैयाँ बराबरको २३ लाख कित्ता हकप्रद सेयर निश्कासन गर्न लागेको हो । हकप्रद निश्कासन कात्तिक ५ गते हुने छ । १ बराबर २ अनुपातमा हकप्रद सेयर निश्कासन गर्न लागेको हो । हकप्रद निश्कासनपछि संस्थाको चुक्तापुँजी साढे ३४ करोड रुपैयाँ पुग्ने छ ।
क्यान्सरको पूर्ण उपचार हुने, करिव ५ करोड रुपैयाँ खर्च हुने
काठमाडौं । अमेरिकी फूड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले क्यान्सरको उपचारमा प्रयोग गर्नका लागि नयाँ प्रकारको उपचार पद्धतिलाई स्वीकृति दिएको छ । सो पद्धति अनुसार बिरामीको आफ्नै स्वेत रक्तकोषलाई निकालेर ‘जेनेटिकल्ली रिप्रोग्राम’ गरि पुनः बिरामीलाई दिइन्छ, जसले बिरामीको शरिरमा रहेको क्यान्सरका कोषलाई निष्कृय बनाउँछ । यो उपचार पद्धतिले स्विकृति पाएसँगै विश्वभर क्यान्सर उपचारमा नयाँ युगको प्रारम्भ भएको मानिएको छ । औषधि उत्पादक कम्पनी नोर्भा्टिसले उत्पादन गरेको उक्त औषधिको प्रयोगबाट रक्तक्यान्सर लागेका ८३ प्रतिशत बिरामी पूर्णरुपमा निको हुने दाबी गरिएको छ । यद्दपि हाललाई उक्त पद्धतिको उपचार निकै महंगो हुने छ, जसको मुल्य ४ लाख ७५ हजार डलर (करिव ५ करोड रुपैयाँ) पर्नेछ । ‘लिभिङ ड्रग थेरापी’ भनिएको उक्त उपचार पद्धतिलाई ‘सीएआर–टी (कार्ट)’ पनि भनिन्छ जसले भविष्यमा किमोथेरापी र शल्यकृयालाई पूर्णरुपमा विस्थापित गर्ने सम्भावना रहेको चिकित्सहरुको बुझाइ छ । एफडीएका डा. स्कट गटलीभका अनुसार ‘लिभिङ ड्रग थेरापी’ प्रयोगमा आउनु भनेको उपचार पद्धतिमा नयाँ आयामको सुरुवात हो । ‘सेल र जीन थेरापी जस्ता नयाँ प्रविधिको प्रयोगबाट उपचार हुनु भनेको हाम्रो आफ्नै शरिरले उपचार नै हुन नसक्ने भनिएका रोगलाई निको पार्नसक्ने अवस्था आउनु हो,’ उनले भने । हाललाई यो उपचार पद्धति ‘एक्यूट लिम्फोब्लास्टिक ल्युकिमिया (एएलएल)’ (एकप्रकारको रगतको क्यान्सर)को उपचारका लागि बजारमा उपलब्ध हुने छ । ‘कार्ट’ प्रयोग गरेर पहिलो बिरामी बच्चाको उपचार गरेका अमेरिकाको फिलेडेल्फिया बाल अस्पतालका डा. स्टेफान ग्रुप्पका अनुसार यो निकै ‘उत्साहप्रद’ औषधि हो । ‘हामीले यस्तो पहिला कहिल्यै देखेका थिएनौं,’ उनको प्रतिकृया थियो, ‘बिरामी मृत्युको मुखमा थियो । तर अहिले पाँच वर्ष भयो उसमा क्यान्सर छैन ।’ स्विकृति पाउनु पूर्व ‘ट्रायल’ (प्रयोग)का रुपमा ६३ जना बिरामीको उपचार गरिएकोमा ८३ प्रतिशत बिरामी उपचार सुरु गरेको तीन महिनामा नै क्यान्सर मुक्त देखिएका थिए । यद्दपि लामो समयको तथ्यांक र विवरण भने अझै जम्मा भइरहेको छ । यस्तै, यो उपचार पूर्ण रुपमा जोखिम मुक्त भने छैन । ‘कार्ट’ कोषको वृद्धी सँगै शरिरले ज्यानलाई जोखिममा पार्नसक्ने ‘साइटोकिन रिलिज सिन्ड्रोम’ हुन सक्छ । तर यसलाई अन्य औषधिको प्रयोगबाट नियन्त्रण भने गर्न सकिन्छ । नयाँ युगको प्रारम्भ ‘कार्ट’ प्रविधिको प्रयोग एकप्रकारको क्यान्सरको उपचारमा मात्रै सिमित छैन । फ्रेड हच्किन्सन क्यान्सर अनुसन्धान केन्द्रका सेलुलर इम्यूनोथेरापीका मेडिकल डाइरेक्टर डा. डेभिड म्यालोनीका अनुसार एफडीएको स्विकृति ‘कोषेढुंगा’ हो । ‘हामीलाई लाग्छ यो चाँडै नै सबै प्रकारको क्यान्सरको उपचारमा नयाँ पद्धतिका रुपमा आउँछ,’ उनले भने । ‘कार्ट’ प्रविधिले विभिन्न प्रकारको रक्तक्यान्सरको उपचारमा राम्रो नतिजा दिएको छ । तर ‘सलिड ट्युमर(गाठो)’ जस्तै फोक्सो तथा छालाको क्यान्सरमा भने खासै राम्रो नतिजा दिन सकेको छैन । निजामति कर्मचारी अस्पतालका रक्तरोग तथा बोनम्यारो ट्रान्सप्लान्ट विशेषज्ञ डा. विशेष पौड्यालका अनुसार कार्ट सेलको प्रयोगबाट हाललाई एएलएलमा मात्रै प्रयोग गरिने भएपनि भविष्यमा यो सबै प्रकारका क्यान्सरको उपचारका लागि प्रयोग हुने सम्भावना अत्याधिक रहेको छ । उनको अनुसार बिरामीको रगतबाट स्वेत रक्तकणिका निकालेर त्यसमा एकप्रकारको क्यान्सरका कोषहरुलाई निष्कृय पार्ने भाइरस प्रवेश गराइन्छ । जसले स्वेत रक्तकणिकामा क्यान्सरसँग लड्ने क्षमता उत्पन्न हुन्छ र त्यो बिरामीलाई दिइन्छ । ‘कार्ट प्रविधिले भविष्यमा बोनम्यारो ट्रान्सप्लान्टलाई नै प्रतिस्थापन गर्न सक्छ,’ उनले भने, ‘नेपालमा यो प्रविधि भित्रिन केही नभए पनि अझै पाँच वर्ष लाग्ला । जबसम्म भारतीय वा अन्य जेनेरिक औषधि बनाउने अन्तर्रा्ष्ट्रिय कम्पनीले यसको उत्पादन सुरु गर्दैनन् नेपालीले यो उपचार पद्धतिलाई धान्न सक्दैनन् ।’ डा. पौड्याल थप भन्छन्– ‘आज अमेरिकी एफडीएले जेको लागि स्विकृति दिएको छ त्यसले पुरै विश्वको उपचार पद्धतिलाई परिवर्तन गर्न सक्ने क्षमता राख्छ । त्यसैले नेपालमा कहिले आउँछ भनेर हेर्नुभन्दा उपचारमा नयाँ युगको प्रारम्भ भएको रुपमा यसलाई हेर्नुपर्छ ।’ उनको अनुसार यसमा अझै धेरै अध्ययन र अनुसन्धान हुन बाँकी छ । तर अहिले विश्वले जे प्राप्त र्गयो त्यो चिकित्सा क्षेत्रलाई उत्साहित बनाउन पर्याप्त छ । कान्तिपुरबाट
काठमाडौंमा बिजुली करेन्टलाई भूमिगत गर्न एडीबीले दियो साढे १५ अर्ब
काठमाडौ । राजधानीमा विद्युतीय वितरण प्रणालीलाई भूमिगत तथा अटोमेसन (अण्डरग्राउन्ड) गर्न एसियाली विकास बैंक (एडीबी)ले साढे १५ अर्ब रुपैयाँ ऋण सहयोग गर्ने भएको छ । मन्त्रिपरिषदको बुधबारको बैठकले एडीबीको १५ अर्ब ४० करोड रुपैयाँ ऋण लिने निर्णय गरेको छ । एडीबीको ऋण लिने भएपछि नेपाल विद्युत प्राधिकरणले महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रमा बिजुली प्रावहलाई भूमिगत वितरण प्रणालीमा लैजाने योजना अघि बढ्ने भएको छ । दुबै क्षेत्रमा बिजुली वितरण प्रणालीलाई भुगित गर्न प्राधिकरणले अन्तराष्ट्रिय प्रतिस्पर्धा बोलपत्र (ग्लोबल टेण्डर) आब्हान गरिसकेको छ । बोलपत्रमा वितरण सञ्जाल क्षमता बढाउने, बिजुलीका तारलाई भुमिगत र वितरण प्रणालीलाई अटोमेशन गर्ने उल्लेख छ । रत्नपार्कको बोलपत्र पेश गर्ने मिति असोज १९ गतेलाई तोकिएको प्राधिकरणले जनाएको छ । विद्युत प्राधिकरणले पहिलो चरणमा उत्तरी क्षेत्र महाराजगञ्ज वितरण केन्द्रका लागि ग्लोबल टेण्डरको आब्हान गरिसकेको छ । पहिलो चरणको बोलपत्र पेश गर्ने मिति असोज ४ गते तोकिएको छ । बोलपत्रदाताले भूमिगत वितरण प्रणालीको खाका (डिजाइन) समान आपूर्ति, जडान र सञ्चालन गर्नुपर्ने बोलपत्रमा उल्लेख छ । पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रका मुख्य सडकमा ११ केभी र ४ सय भोल्टका प्रणालीलाई भुमिगत र अटोमेसन गरिने प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख मनोज सिल्वालले बताए । उनका अनुसार वितरण प्रणालीलाई भुमिगत गर्नुका साथै अप्टिकल फाइबर बिच्छाउने र बिजुली वितरणको तथ्याँक राख्न बेग्लै केन्द्र, दुई वितरण केन्द्रमा ९० हजार थान आधुनिक (स्र्माट मिटर) जडान गरिने योजना छ । भुमिगत प्रणाली जडान भएपछि विद्युत वितरण अझ बढी प्रभावकारी हुने अनुमान गरिएको छ । पहिलो चरणमा २ वटा वितरण केन्द्रका अतिरित्त काठमाडौ उपत्यकाका ९ वटै वितरण केन्द्रमा भूमिगत गर्ने र दोस्रो चरणमा अन्य महानगरपालिका र उपमहानगरपालिकामा भूमिगत लाइनलाई आधुनिकीकरण र स्मार्ट मिटर जडान गर्ने योजना रहेको सिल्वालले जानकारी दिए । विद्युत प्रसारण तथा वितरण क्षमता अभिवृद्धि योजनामार्फत भुमिगत गर्न लागेको हो । बाहिरी प्रणालीबाट विद्युत वितरण गर्दा जोखिम हुनुका, मानविय क्षतिका साथै सहरको सौन्दर्यमा ह्रास आएको भन्दै प्राधिकरणले यसलाई भूमिगत गर्न लागेको हो । काठमाडौ उपत्यका र देशका प्रमुख शहरहरुमा वितरण प्रणाली सुदृढीकरण गर्न दिर्घकालीन गुरुयोजना तयार भैरहेको छ । भूमिगत लाइन विस्तारको काम अघि बढाउन प्राविधिक तयारी भईरहेको समेत उनले बताए । २ वर्षभित्र यसलाई सक्ने गरी योजना तयारी भएको छ । यस्तै उपत्यका बाहिर विराटनगर, वीरगञ्ज, पोखरालगायत प्रमुख शहरमा भूमिगत प्रणालीबाट विद्युत वितरण गरिने योजना रहेको उनले जानकारी दिए ।
नाडा अटो शो: कार बिक्रीमा तीब्र प्रतिस्पर्धा, दुई दिनमै एक अर्ब २६ करोड बढीको बुकिङ
काठमाडौं । गाडीहरुको मेला नाडा अटो शोमा विभिन्न ब्राण्डका करिब एक अर्ब २६ करोड रुपैयाँ भन्दा बढी चार पाङ्ग्रे गाडीको बुकिङ भएको छ । मंगलबारदेखि सुरु भएको शोको दुई दिनमा ११ स्टलबाट २७२ वटा कार, जिप तथा ह्याचब्याक बिक्री भएका हुन् । मेलाका अवसरमा विभिन्न कम्पनीले कारमा बीमा, नगद छुट, निःशुल्क सर्भिसिङ, उपहार जस्ता आकर्षक योजना ल्याएका छन्। विभिन्न कम्पनीबीच ग्राहकलाई आकर्षित गर्न प्रतिस्पर्धा चलिरहेको छ । आकर्षक अफरसँगै मेलामा नयाँ मोडल तथा मनपरेको कार किन्न आउनेको भीड लागेको छ । मेलामा भाग लिने १६ वटा कम्पनीमध्ये लक्ष्मी इन्टरकन्टिनेन्टल प्राली, गो अटोमोबाइल्स प्राली, एमएडब्लू प्राली र अरुण कन्टिनेन्टल ट्रेडर्सले भने बुकिङ बारे गोप्य राखेका छन् । साँग्रीला मोटर्स प्रालीले भने बुकिङ नखुलाएको जानकारी दिएको छ । महिन्द्रा नाडा अटो शोमा महिन्द्राको जीप सेग्मेन्टका गाडीहरु बढी बिक्री भएका छन् । मेलामा करिब १५ वटा जिप सेग्मेन्टका गाडीहरु बिक्री भएका छन् । जिपमध्येमा आकर्षणको केन्द्रबिन्दुमा रहेको थार चारवटा बुक भएको म्यानेजर सुरज राजवंशीले जानकारी दिए । महिन्द्राले जिपलाई शोको पहिलो दिन सार्वजनिक गरेको थियो । हालसम्म पाँचवटा डबल क्याब र १५ वटा जिप सेग्मेन्टका गाडी बिक्री गरेको कम्पनीले तीनवटा एक्युभी मोडलको कार बुकिङ दर्ता गरेको छ । कम्पनीले करीब ९ करोड ४२ लाख ४० हजार रुपैयाँ बराबरको बुकिङ गरेको छ । टाटा मोटर्स टाटा मोटर्सको दुई दिनमा ५५ वटा गाडी बुकिङ भएको छ । जसबाट करिब १८ करोड दुई लाख ५० हजार रुपैयाँ बराबरको कारोबार हुनसक्ने कम्पनीको अनुमान छ । भर्खरै सार्वजनिक भएको टाटा टिगोर २० वटा बुकिङ भएका छन् भने टियागो १५ जनाले बुकिङका लागि दर्ता गराएका छन् । जेस्ट करिब दस वटा र बाकी सुमो र गोल्ड बुक भएको कम्पनीले जानकारी दिएको छ । होन्डा मेलामा होन्डाले करिब तीन करोड नौ लाख रुपैयाँ बराबरको बुकिङ गरेको छ । दुई दिनमा होन्डाका सातवटा गाडी बुकिङ भएका हुन् । बुकिङ हुनेमा होन्डाका बिआरभी, सिटी, अमेज र ज्याज मोडलका कार रहेको कम्पनीले जानकारी दिएको छ । रिनाल्ट मेलामा लञ्च भएको दुई दिन मै रिनाल्टको क्विड मोडलको कार सात जनाले बुकिङ गरेका छन् । रिनाल्टले दुई दिनमा करिब सात करोड २५ लाख रुपैयाँ बराबरको बुकिङ गरेको हो । रिनाल्टको जम्मा २० वटा बुकिङ मध्ये १३ वटा डस्टर रहेको कम्पनीले जानकारी दिएको छ । डाट्सन सुरुवाती दुई दिनमा डाट्सनले तीन करोड ६६ लाख रुपैयाँ बराबरको सवारीसाधन बुकिङ दर्ता गराएको छ । दुई दिनमा भएको १८ वटा गाडी बुकिङ मध्ये १४ वटा रेडी गो १ लिटर , दुईवटा रेडि गो ८०० लिटर र गो दुई वटा बुकिङ भएको कम्पनीले जानकारी दिएको छ । इसुजु मेलामा इसुजुका १२ वटा गाडी बुकिङ भएका छन् । जसबाट करिब सात करोड रुपैयाँ बराबरको कारोबार भएको कम्पनीको अनुमान छ । शोमा भी क्रस ११ वटा बुकिङ भएका छन् भने एउटा एस क्याब बुक भएको कम्पनीले जानकारी दिएको छ । भोक्सवागेन भोक्सवागेनले मेलाको दोस्रो दिनसम्ममा २८ वटा गाडी बुकिङ दर्ता गराएको छ। सो अवधिमा करिब २२ करोड ५३ लाख ३० हजार रुपैयाँ बराबरको कारोबार भएको कम्पनीको दाबी छ । कम्पनीका अनुसार १४ वटा क्रस पोलो र १४ वटा न्यु टिगुवान बुकिङ भएका छन्। निस्सान पायोनियर ग्रुपको निस्सानका ३० वटा गाडीहरु बुक भएका छन् । जसको मूल्य करिब आठ करोड ३० लाख हुन्छ । कम्पनीका अनुसार अधिकांश ग्राहकले नयाँ मोडलको सनी कार रुचाएका छन् । जम्मा बुकिङ मध्ये २५ प्रतिशत बुकिङ सनीको रहेको छ । बाकी ७५ प्रतिशत माइक्रा एक्टिभले लिएको कम्पनीले दाबी गरेको छ । किया कियाको विद्युतीय कार सोल इभीमा ग्राहकको विशेष आकर्षण पाइएको छ । ५६ लाख रुपैयाँ पर्ने उक्त कारमा डेढ लाख रुपैयाँ छुट दिइएको छ । दुई दिनमा उक्त कारमा २२ जनाले बुकिङ गरेका छन् । कम्पनीले करिब ३३ करोड ६० लाख रुपैयाँ बराबरको गाडी बुकिङ गराएको छ । विद्युतीय कारपछि सबैभन्दा बढी पिकान्टो कार बिक्री भएको कम्पनीको दाबी छ । सुबारु सुबारुले चार १३ लाख रुपैयाँ बराबरको कार बुकिङ गराएको छ । बुकिङ हुने चार गाडी मध्ये एउटा फरेस्टर मोडल र तीन वटा एक्सओभी मोडलका रहेको कम्पनीले जानकारी दिएको छ । स्याङयाङ आइएमएस मोटर्सको स्याङयाङ ब्राण्डका १५ वटा कारहरु बुकिङ भएका छन् । एक्सएलभी मोडका ६ वटा, टिवोलीका तीन वटा, एक्टन स्पोर्जका चार वटा पिकअप र कोर्यान्डोका दुई वटा गाडी बुकिङ भएका छन् । बुकिङ सँगै दुई दिनमा कारोबार ९ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको कम्पनीले जानकारी दिएको छ ।
दशैँका लागि दुई हजार ५ सय खसीच्याङग्रा ल्याइँदै
काठमाडाैं। नेपाल खाद्य संस्थानले दशैँका लागि करिब २ हजार ५०० खसीच्याङ्ग्रा काठमाडौँ ल्याउने भएको छ । उपभोक्तालाई लक्ष्य गरेर १ हजार ५०० खसी र १ हजार च्याङ्ग्रा ल्याइने संस्थानका विभागीय प्रमुख श्रीमणिराज खनालले जानकारी दिए । उनका अनुसार १ हजार खसी हेटौँडा र ५०० खसी दाङ तथा १ हजार च्याङ्ग्रा मुस्ताङबाट ल्याइनेछ । खसीच्याङ्ग्रा संकलन गर्न सम्बन्धित अञ्चल कार्यालयलाई निर्देशन दिइसकेको छ । संकलित खसीच्याङ्ग्रा काठमाडौँ उपत्यकाको थापाथलीस्थित संस्थानको अंचल कार्यालयबाट घटनास्थापनापछि बिक्रीवितरण गरिने खनालले बताए। यसैबीच शुक्रबारदेखि रामशाहपथस्थित नेशनल ट्रेडिङको कार्यालयमा सहुलियत पसल संचालन हुने भएको छ । यस वर्ष पनि संस्थान, नेशनल ट्रेडिङ, साल्ट टेडिङ र दुग्ध विकास संस्थानले दशैँतिहारका लागि चाहिने उपभोग्य वस्तुका लागि सहुलियत पसल सञ्चालन गर्नेछन् । यस पटक दशैँदेखि छठसम्मका लागि काठमाडाै उपत्यकाका टेकु, महाराजगञ्ज, सातदोबाटो, थापाथली, कलंकी, कोटेश्वर र पुरानो बानेश्वर गरी आठ ठाउँमा सुपथ पसल संचालन गरिनेछ । रासस
आशा लघुवित्तको वार्षिकोत्सवमा सरसफाइ
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रथम वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवका अवसरमा संस्थाले मदानपुर, नुवाकोटमा बजार सरसफाई गरेर मनाएको छ । बजार सरसफाई कार्यक्रममा स्थानियबासिन्दाले सक्रियताका साथ सहभागिता जनाएका थिए । स्थापना भएको १ वर्षमा संस्थाले २३ जिल्लामा ३६ वटा शाखा कार्यालय मार्फत न्युन आय तथा विपन्न वर्गका महिलालाई विनाधितो कर्जा प्रदान गरेर उद्यमशिल बनाएको जानकारी दिएको छ । संस्थाले आधुनिक प्रणालीका माध्यमबाट सरल, सहज लघु वैकिङ्ग सेवा ग्रामिण, दुर्गम तथा पिछडिएको वर्गहरुको आर्थिक, सामाजिक उन्नतीमा टेवा पुर्याउन शाखा कार्यालय स्थापना गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले जानकारी दिए ।
दशैंअघिका लागि विमानको ९० प्रतिशतभन्दा बढी सीट बुकिङ
काठमाडौँ । दशैँलाई मध्यनजर गर्दै निजी वायुसेवा कम्पनीले ९० प्रतिशतभन्दा बढी सीट बुकिङ भइसकेको जनाएका छन् । दशैँमा गन्तव्यमा जाने यात्रुलाई लक्षित गरेर वायुसेवा कम्पनीले यतिखेर धमाधम टिकट बुकिङ गरिरहेका हुन् । सडक सवारीसाधन जस्तो अग्रिम बुकिङ भनेर नखुलाउने वायुसेवा कम्पनीले दसैँ आउनु तीन साताअघि नै लगभग सीट बुकिङ सकिएको जनाएका छन् । एयरलाइन्स अपरेटर एसोसिएसन अफ नेपालका प्रवक्ता घनश्याम आचार्यका अनुसार दशैँका लागि ९० प्रतिशतभन्दा बढी सीट बुकिङ भइसकेको छ । लामो गन्तव्यका बुद्ध, यति, तारा, सौर्य, श्रीलगायत एयरलाइन्सको अधिकांश टिकट सकिएको छ । “दशैँका लागि गाडीजस्तो विमानको अग्रिम बुकिङ हुँदैन, जुनसुकै समयमा टिकट बुकिङ हुनेहुँदा चाडैँ टिकट सकिएको हो । सेवाग्राहीको मागअनुसार वायुसेवा कम्पनीले दशैँमा उडान थप गर्नेछन्”–उनले भने । सामान्य अवस्थामा १०० वटा उडान हुने गर्थे भने दशैँमा १५ देखि २० प्रतिशत उडान थपिने प्रवक्ता आचार्यको भनाइ छ । उहाँले दशैँमा यात्रु चाप बढी हुने भए पनि एकतर्फी मात्रै यात्रु भरिने हुँदा विमान कम्पनीले थोेरै मात्र उडान थप्ने गरेको बताए । विभिन्न आठ गन्तव्यमा उडान भर्दै आएका यति एयरलाइन्सको दशैँका लागि ७० प्रतिशतभन्दा बढी सीट बुकिङ भइसकेको जनाएको छ । कम्पनीका व्यवस्थापक भीमराज राईले दशैँका लागि करिब करिब टिकट बुकिङ सकिएको र मागअनुसार उडान थप्ने योजना रहेको बताए। यतिले एक एटीआर र छ जेटस्ट्रिम विमानबाट उडान भर्दै आएको छ । बुद्ध एयरकी बजार व्यवस्थापक बिनिता थापाका अनुसार कम्पनीको पनि अधिकांश टिकट बुकिङ भइसकेको छ । बुद्धले एटीआर ४२–३२० र एटीआर ७२–५०० सहित नौ वटा विमानले विभिन्न १० गन्तव्यमा उडान भर्दै आएको छ । तुम्लिङटार, जनकपुर, सिमरा, भरतपुरमा शत प्रतिशत र विराटनगरलगायत छोटा गन्तव्यमा ७० प्रतिशतको हाराहारीमा टिकट बुकिङ भएको बुद्ध एयरले जनाएको छ । केही महँगो भए पनि सुलभ र छिटो यातायातका रुपमा रहेको विमान चढेर गन्तव्यमा पुग्ने यात्रुको औधी चाहना हुन्छ, धेरैको त बाध्यता नै पर्छ । तर, दशैँको मुखमा विमानबाटै गन्तव्यमा जानुपर्ने बाध्यतामा रहेका यात्रुले टिकट पाउन सास्ती हुने गरेको छ, यो नयाँ समस्या भने हैन । हरेक वर्ष दशैँका बेला यस्तै समस्या आउने गरेको व्यवसायी तथा सेवाग्राही बताउँछन् । वायु सेवा जस्तै सडक यातायातका साधनको पनि समस्या उही छ । अहिले हेलिकोप्टरसहित २० वटा निजी वायुसेवा कम्पनीले अन्तरिक उडान भर्दै आएका छन् । रासस
महाकाली पुलले अर्थतन्त्र विकासमा मद्दत पुग्छ : प्रम
भीमदत्तनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले महाकाली नदीमा निर्माण हुने चार लेनको पक्की पुलको आज शिलान्यास गरेका छन् । शिलान्यासपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले पुल बनेपछि सुदूरपश्चिमको मुहार फेरिनाका साथै मुलुककै अर्थतन्त्र विकासमा मद्दत पुग्ने बताए । प्रधानमन्त्री देउवाले महाकाली नदी पारि दोधारा चाँदनीमा पनि सुख्खा बन्दरगाह निर्माण थालिने बताउँदै आफू भारत भ्रमण गएका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि बन्दरगाह बनाउने विषयमा कुराकानी भएको जानकारी दिए। “महाकाली पुलसँगै पश्चिमको आर्थिक नाकाका रुपमा कञ्चनपुर नाका विकास हुने छ, सुख्खा बन्दरगाह बने युरोप र अरबको सामान ढुवानीमा समेत सहज हुनेछ” उनले भने । पञ्चेश्वर परियोजनाको विस्तृत परियोजना प्रतिवेदन पनि एक महिनाभित्र तयार गरिने र छिट्टै पञ्चेश्वरको पनि शिलान्यास हुने उनले बताए। पञ्चेश्वर बने मुलुकलाई नै फाइदा पुग्ने बताउँदै उनले परियोजना बने सुदूरपश्चिमलाई अझ बढी फाइदा पुग्ने भनाइ राखे । दार्चुला, डडेल्धुराको पर्शुराममा पनि महाकाली नदीमा पुल निर्माण हुने बताउँदै प्रधानमन्त्री देउवाले सुदूरपश्चिममा प्राविधिक शिक्षालय स्थापनाका लागि पहल भइरहेको जानकारी दिए । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले सुदूरपश्चिममा अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउने प्रक्रिया अघि बढेको जानकारी दिए । कैलालीको गेडामा रहेको विमानस्थललाई आगामी छ महिनाभित्र अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाइने उनकाे भनाइ थियो । साथै सुदूरपश्चिमसँग जोडिएको चीनका नाका सञ्चालन गराउने विषयमा आफूले चिनियाँ पक्षसित वार्ता गरिरहेको उहाँले बताए । मेचीमा पनि छ लेनको पुल निर्माणका लागि भारतसँग सम्झौता भएको मन्त्री बलायरले जानकारी दिए। सडक सुधार आयोजनाका प्रमुख सुशीलबाबु ढकालले महाकाली नदीमा निर्माण हुने पुलका विषयमा प्रतिवेदन पेश गर्दै आगामी तीन वर्षभित्र निर्माण गर्ने लक्ष्य लिइएको ८०० मि लम्बाइको पुलसँगै महाकाली नदी वारिपारि गरी झण्डै आठ किमी छ लेनको सडकसमेत निर्माण हुने जानकारी दिए । तेइस दशमलव आठ मि चौडाइको उक्त पुल निर्माणका लागि ३ अर्ब २७ करोड रूपैयाँको ठेक्का सम्झौता भएको छ । रासस