यसकारण पाएनन् जिरीका भूकम्पपीडितले तेस्रो किस्ता
दोलखा । भूकम्प गएको दुई वर्षभन्दा बढी बितिसक्दा पनि सरकारी अनुदान लिएर एउटा पनि भूकम्पपीडितले जिरीमा स्थायी आवास निर्माण गर्न पाएका छैनन् । जिरी नगरपालिकामा पुनःनिर्माणको गति अत्यन्तै सुस्त देखिएको छ । दुई वर्ष तीन महिनाको अवधिमा एउटा पनि स्थायी आवास पुनःनिर्माण नहुँदा २०७५ असार मसान्तभित्र पुनःनिर्माणको काम सक्ने सरकारी योजना समेत अलपत्र पर्ने निश्चित देखिन्छ । अनुदान लिन ऋण लिए जस्तो प्रक्रिया पूरा गर्नुपर्ने, प्रक्रिया पूरा गर्नका लागि प्राविधिक बाधक बनेको जिरी नगरपालिकाका प्रमुख टंक जिरेलको दाबी छ । जिरेल भने, “कहिले लम्बाइचौडाइ नमिलेको भनेर अड्काउने, कहिले भनेजस्तो भूकम्पीय सुरक्षा नअपनाएको भन्ने, कहिले ठूलो घर बन्यो भनेर सिफारिस नदिनेजस्ता कारणले गति लिन नसकेको हो ।” पटकपटकका जनप्रतिनिधिको दबाबका कारण अहिले वडा/वडाबाट पुनःनिर्माण अघि बढेको प्रमुख जिरेलले बताए । भूकम्पपीडित लाभग्राहीले भने स्थायी आवास पुनःनिर्माण पूरा गरेर तेस्रो किस्ता माग गरे पनि पाउन नसकेको जिरी नगरपालिका–३ का भक्त केसीले गुनासो गरे । केसीजस्ता सयाँै भूकम्पपीडितको यस्तै गुनासो रहेको छ । खासगरी प्राविधिक गाउँघरमा नभेटिने र भेटिए पनि मूल्यांकनमा ढिलासुस्ती हुने गरेका कारण सरकारी अनुदान लिन कठिन भएर पुनःनिर्माण कार्य प्रभावित भएको पीडित जनप्रतिनिधिसमेतले गुनासो गरेका छन् । यता भूकम्पीय आवास पुनःनिर्माण आयोजना जिल्ला आयोजना कार्यान्वयन इकाई दोलखाका प्रमुख एकराज अधिकारी भने–“केन्द्रले खटाएका प्राविधिकलाई जिल्लाका नौवटै स्थानीय निकायमा बाँडेको छौँ , फिल्डमा रहेका कर्मचारीको व्यवस्थापन गरी गाउँमा काम लगाउने जिम्मेवारी स्थानीय जनप्रतिनिधिलाई दिएकाले पत्राचार समेत गरिसकेको छ ।” काम प्राविधिकले गरेनन् भन्ने, अनि तलब खान हाजिर प्रमाणित गरेर पठाउने जनप्रतिनिधिको गतिविधि आफैँमा पनि विरोधाभासपूर्ण रहेको प्रमुख अधिकारीले बताए । तीन हजारभन्दा बढी भूकम्पपीडितले पहिलो किस्ता लगिसकेकामा करिब तीन सयले मात्रै दोस्रो किस्ताको रकम लगेको जिल्ला आयोजना कार्यान्वयन इकाइ दोलखाले जनाएको छ । भूकम्पीय आवास पुनःनिर्माण आयोजना जिल्ला आयोजना कार्यान्वयन इकाइ दोलखाकाअनुसार साविकको श्यामा गाविसमा ५७१ र जिरीमा तीन हजार ६१० गरी नगरपालिकाभित्र कूल चार हजार १८१ परिवार लाभग्राही सूचीमा सूचीकृत भएकामा हालसम्म एकजना पीडितले पनि तेस्रो किस्ताको रकम लिएका छैनन् । जिरी नगरपालिकाका कूल चार हजार १८१ भूकम्पपीडित लाभग्राही सूचीमा समावेश भएकामा चार हजार १५५ परिवारसँग अनुदान सम्झौता भइसकेको छ । सम्झौता भएकामध्ये तीन हजार ७८९ ले सरकारबाट र ३० परिवारले गैरसरकारी संस्थाबाट गरी कूल तीन हजार ८१९ परिवारले पहिलो किस्ताको रकम बुझिसकेको नगरपालिकाले जनाएको छ । त्यसैगरी ३६१ जनाले सरकारी र २१ जनाले गैरसरकारी संस्था गरी हालसम्म ३८२ परिवारले मात्रै दोस्रो किस्ताको अनुदान रकम बुझेका छन् । जिरी नगरपालिकाअन्तर्गत साविक श्यामा गाविसका कूल ५७१ लाभग्राहीमध्ये ५६० जनासँग अनुदान सम्झौता भएकामा ५४९ जनाले पहिलो किस्ताबराबरको रु दुई करोड ७४ लाख ५० हजार र ८४ जनाले दोस्रो किस्ताबापतको रु एक करोड २६ लाख गरी कूल रु चार करोड ५० हजार रकम लिएका छन् । साविक जिरी नगरपालिकाका कूल तीन हजार ६१० भूकम्पपीडित लाभग्राहीमध्ये तीन हजार ५९५ जनासँग अनुदान सम्झौता भएकोमा तीन हजार २७० जनाले पहिलो किस्ताबापतको रु १६ करोड ३५ लाख र २९८ जनाले दोस्रो किस्ताबापतको रु चार करोड ४७ लाख गरी कूल रु २० करोड ८२ लाख रकम बुझेका छन् । जसमध्ये पहिलो किस्ता लिने ३० जना र दोस्रो किस्ता लिने २१ जनाले गैरसरकारी संस्थामार्फत अनुदान रकम लिएका हुन् । पीडितले भने सरकारी अनुदान प्रक्रिया निकै झन्झटिलो भएका कारण सरकारी अनुदान लिन नसकेको गुनासो गरेका छन् । पर्यटकीय नगरी जिरीमा भएको पुनःनिर्माणको सुस्तताले पर्यटन प्रवद्र्धनमा समेत असर गरेको छ । रासस
लुम्बिनी बिकास बैंकको थप तीन शाखा विस्तार
काठमाडौं । लुम्बिनी बिकास बैंक लिमिटेडले आफ्ना तीन शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले कास्कीको लामाचौरमा, काठमाडौंको नारायणटारमा र कात्यायनीमा गरी ३ स्थानमा शाखा कार्यालयहरु स्थापना गरी कारोबार शुरु गरेको छ । उक्त शाखा कार्यालयहरु मध्ये कात्यायनी शाखा, काठमाडौ र लामाचौर शाखा, पोखराको उद्घाटन बैंक संचालक समितिका अध्यक्ष सुशिलराज पराजुलीले गरेका हुन् । साथै, नारायणटार शाखा कार्यालयको उद्घाटन संचालक अशोकराज पाण्डले गरेका हुन् । त्यस क्षेत्रमा रहेका जनतामा सरल, सहज बैकिङ्ग पहुचको उद्देश्यले उक्त शाखाहरुलाई सञ्चालनमा ल्याइएको हो । बैंकले उक्त शाखा कार्यालयहरुबाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै एबीबीएस, मोबाइल बैंकिङ लगायतका बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आफ्नो सेवालाई आधुनिकीकरण रपरिमार्जन गर्दै लगेको छ । बैंकको केन्द्रीय कार्यालय काठमाडौंमा रही देशका विभिन्न भागमा रहेका यस शाखा सहित कुल ५४ वटा शाखा सञ्जालहरु र १२ वटा एटिएमबाट आफ्नो बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
यो दशैंमा मनिग्रामको स्कीम ‘१६ जनालाई दुइ गुणा पैसा दिने’
काठमाडौं । विश्वव्यापी र नवीनतम् शैलिमा वित्तीय सेवा प्रदान गर्ने संस्था मनिग्रामले दशैंको उत्सवमा आफ्ना ग्राहकहरुलाई कारोवारको दोब्बर रकम जित्न सक्ने स्कीम ल्याएको छ । दूई महिने विशेष कार्यक्रम देश भरी लागु हुने र यसले ग्राहकहरुले आफ्ना प्रियजनलाई दोब्बर रकम जिताउन सक्ने अवसर दिने जनाएको छ । दुई महिनामा १६ जना भाग्यशाली विजेतालाई पठाएको रकमको दोब्बर पैसा दिने जनाएको छ । भारत र सबकन्टिनेन्टल मनिग्रामका प्रमुख शेशगिरी मल्लैस भन्छन्–मनिग्रामको लागि नेपाल एक महत्वपूर्ण बजार हो र हामी प्रत्येक बर्ष विशेष योजनाका साथ दशैं उत्सवसंगै मनाउन एउटा अंग भएर आउँछौं । उनी भन्छन्–‘हामी बुझ्छौं परिवार सदस्य बीचको त्यो गाढा सम्बन्ध जसका लागि उनीहरु हाम्रो परिवारको मुहारमा मुस्कान ल्याउन धेरै दुःख गरेर काम गर्दछन् र यो वर्ष उनीहरुले आफना आफन्तलाई घर पठाउने पैसा दुई गुणा बनाउने निर्णय हामीले ल्यायौं । हामीलाई विश्वास छ यसले १६ जना भाग्यशाली विजेताको दशैं दोब्बरखुशी बनाईदिनेछ ।’ यो योजना सेम्टेम्बर १ देखि अक्टुबर ३० सम्म लागू हुनेछ कम्पनीले जनाएको छ ।
सोनीको ‘ब्राभिया ओएलईडी’ टिभी सार्वजनिक
काठमाडौं । सोनीको नेपालका लागि आधिकारिक विक्रेता नेपा हिमा ट्रेड लिंक प्रालिले फोरके एचडीआर ओएलइडी टिभीलाई ‘ब्राभिया ओएलईडी’का रुपमा सार्वजनिक गरेको छ । यसमा एक्सवान एक्स्ट्रिम साउण्ड सिष्टम उपलब्ध रहेको छ । यस टिभीमा रहेको ८० लाख सेल्फ ईल्लुमिनेटिङ पिक्सेलले अभूतपूर्व कालो, प्राकृतिक रंग, धमिलो रहित तस्विर र वाइड भ्यूविङ एंगलको मज्जा प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ । ब्राभिया ओएलइडीमा एकोस्टिक सर्फेस प्रविधिको सुविधा पनि उपलब्ध रहेको छ । यसले प्रयोगकर्तालाई स्क्रिनबाटै आवाज आइरहेको अनुभव दिनुका साथै दृष्य र आवाजको उत्कृष्ट समायोजनको मज्जाका लिन सघाउँछ । कम्पनीका अनुसार यी टिभीले पनि उपभोक्तालाई क्रिस्टल क्लियर गुणस्तर सहित दृष्यको मज्जा लिने अवसर प्रदान गर्छ । टिभीमा फोरके एचडीआर प्रोशेसर एक्सवानपनि उपलब्ध गरिएको छ । यसमा उपलब्ध अब्जेक्ट बेस्ड एचडीआर रिमास्टर र सुपर विट म्यापिङ फोरके एचडीआर प्रविधिले थप डेप्थ, टेक्चर र प्राकृतिक रंग सम्प्रेषण गर्ने कम्पनीले जानकारी दिएको छ । साथै, टिभीमा रहेको एक्स–टेन्डेड डायनामिक रेञ्ज प्रोले एचडीआर र नन् एचडीआर कन्टेण्टलाई ब्याकलाइट धमिल्याएर टीभीको हरेक कोणमा उत्कृष्ट दृष्य सम्प्रेषणमा सघाउँछ । कम्पनीद्धारा प्रदर्शित २०१७ लाइनअपमा ट्रिल्युमिनोस डिस्प्लेको माध्यमबाट जीवन्त रंगको सटिक सम्प्रेषणका लागि डिजाइन गरिएका छन् । साथै, यी टिभीमा एक्स-रियालिटी प्रो सुविधापनि उपलब्ध गरिएको छ । टिभी ब्रोडकास्ट, डीभीडी, ब्ल्यू–रे डिस्क, ईन्टरनेट भिडियो तथा डिजिटल फोटोलाई जिवन्तता प्रदान गर्न यिनमा सोनीको पृथक अल्गोरिदम डाटाबेसको प्रयोग गरिएको छ । एण्ड्रोइड टिभीले चलचित्र, संगित, तस्विर, गेम्स, सर्च, एप्स लगायतको संसार नियाल्न प्रयोगकर्तालाई सघाउँछ । त्यसैगरी, एक्स्ट्रा प्रोटेक्सन सिरिजमा डायनामिक कन्ट्रास्ट ईन्ह्यान्सरका साथै क्लियर रिजोल्यूशन ईन्हेन्सरको समेत प्रयोग गरिएको छ । साथै, ब्राभियाका टीभीलाई धुलो, चट्याङ, विद्युतिय झट्का तथा आद्र्रताबाट समेत सुरक्षा प्रदान गर्छ । ब्राभियाका टिभीमा रहेका पृथक ईमेज प्रोशेसर र डिस्प्ले डिभाइस प्रविधिले फोरके एचडीआर कन्टेण्टको उत्कृष्ट उपयोग गर्ने कम्पनीको दावी छ ।
सानिमा बैंकले शुरु गर्यो नयाँ कार्ड, २० वटा बैंकका एटिएममा कारोबार निशुल्क
काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुको लागि मासिक ३ वटा निशुल्क एटिएम कारोबारको नयाँ कार्ड योजना सुरुवात गरेको छ । यो योजनामा ग्राहकहरुले सानिमाको भिसा डोमेस्टीक डेबिट कार्ड प्रयोग गर्दा नेपाल भरि सानिमा सहित अन्य करिब ७३६ एटिएममा निशुल्क कारोबार गर्न सक्नेछन् । यो योजना अन्तर्गत करिब २० वटा बैंकका एटिएममा कारोबार निशुल्क हुनेछन् । ग्राहकहरुले यी बैंकका सुची सानिमा बैंकको वेव साइट तथा शाखाहरुबाट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यस योजनाले ग्राहकहरुलाई अझ बढी एटिएम कारोबारको पहुच पुरर्याउने बैंकको विश्वास छ ।
आजदेखि सुपथ मूल्यका पसल सञ्चालनमा, नुन, चिनी, चामल, पिठो, घिउ, पनिरमा छुट
काठमाडौं । सरकारले आजदेखि दशैं, तिहार र छठ लक्षित गरेर उपभोक्ताका लागि उपत्यकामा सहुलियत सुपथ मूल्य पसल सञ्चालन गरेको छ। शुक्रबारदेखि सञ्चालनमा आएको यी पसल छठसम्म चल्नेछन् । साल्ट ट्रेडिङ, नेशनल ट्रेडिङ, खाद्य संस्थान र दुग्ध विकास संस्थानको समन्वयमा सस्तो उपभोग्य सामान उपलब्ध गराउन पसल खोलिएको आपूर्ति मन्त्रालयले जनाएको छ। आगामी चाडपर्वमा उपभोक्ताको सहजताका लागि विभिन्न संस्थानमार्फत सहलियतमा दैनिक उपभोग्य वस्तु बिक्रीबितरण गर्न लागिएको आपूर्ति सचिव प्रेमकुमार राईले जानकारी दिए । उनका अनुसार यसपाली खाद्य संस्थानले उपत्यकाका ११ स्थान तथा मूलुकभरका गोदामबाट सहुलियत दरमा खाद्यान्न बिक्री सुरु गरेका छन् । साल्ट ट्रेडिङको उपत्यकाका ९ स्थान तीन वटा घुम्ति पसलबाट सेवा छ । साल्ट ट्रेडिङको उपत्यका बाहिर ३६ स्थानमा सहुलियत पसल रहेको मन्त्रालयले जानकारी दिएको छ । साल्ट ट्रेडिङले नुनमा प्रतिकिलो २ र चिनीमा प्रतिकिलो ५ रुपैयाँसम्म छुट दिएको मन्त्रालयका उपसचिव उर्मिला केसीले बताइन् । खाद्य संस्थानले बिक्री गर्ने बासमती चामल र फापरको पिठोमा प्रतिकिलो १० रुपैयाँका दरले छुट दिएको उनले जानकारी दिइन् । मोटा चामलमा प्रतिकिलो ५ रुपैयाँ छुट दिइएको छ । सुपथ मूल्य पसलमा घिउ र पनिरमा पनि छुट दिइएको छ । पसलमा दुग्ध विकास संस्थानले उत्पादन गर्ने घ्यू र पनिरमा १० रुपैयाँ छुट दिइएको छ ।आपूर्तिमन्त्री शिवकुमार मण्डलको उपस्थितीमा बसेको सुपथ मूल्य पसल सञ्चालन सम्बन्धि सरोकारवालाहरुको बैठकले यस्ताे निर्णय गरेको थियो । खाद्य संस्थानले बिक्री गर्ने खसी बोका तथा च्यांग्रामा पनि प्रतिकिलो १० रुपैयाँसम्म छुट दिने उनले बताइन् । संस्थानले पश्चिम नेपालबाट १ हजार ५ सय खसीबोका र मुस्ताङबाट १ हजार च्याङ्ग्रा गरेर २ हजार ५ सय साना चौपाया ल्याउने तयारी गरेको छ । प्रत्येक वर्ष संस्थानहरुले उपभोक्तालाई सहुलियत दरमा उपभोग्य वस्तु उलपब्ध गराउन सुपथ मूल्यका पसल सञ्चालन गर्दै आएको छ । यसपाली पनि बजारमा कालोबजारी तथा कृत्रिम अभाव नियन्त्रण गर्न कार्यक्रम ल्याउने उनले बताइन् । आयल निगमले दसैं तिहारमा पेट्रोलियम आपूर्तिमा कुनै समस्या नआउने जानकारी दिएको छ ।
खारेजीमा रहेको हिमालय फाइनान्सलाई पुनः सञ्चालनमा ल्याउने तयारी, लिक्विडेटरले लगानीकर्तासंग माग्यो सुझाव
काठमाडौं । खारेजीको प्रक्रियामा रहेको हिमालय फाइनान्स लिमिटेडलाई पुनः सञ्चालनमा ल्याउन तयारी थालिएको छ । लिक्विडेटरको कार्यलयले खारेजीमा परेको कम्पनीलाई दामासाही सम्बन्धि ऐनअनुसार पुनरसंरचना गरेर पुनःसञ्चालनमा ल्याउन सकिने प्रावधान रहेको भन्दै लगानीकर्ता र निक्षेपकर्तासंग सुझाव मागेको छ । कार्यलयले १५ दिनभित्र सुझाव दिन भनेको छ । लिक्विडेटरको कार्यलयले बैंकिङ कसुर तथा सजायमा मुद्धा चलिरहेका संस्थापक तथा साधारण सेयरधनी बाहेक पुनरसंरचनामा संलग्न हुनसक्ने कार्यलयले स्पष्टपारेको छ । पुनरसंरचनामा सहभागी हुने वा नहुने, गर्ने वा नगर्ने विषयमा प्रतिवद्धता १५ दिनभित्र उपलब्ध गराउन लिक्विडेटरको कार्यलयले अनुरोध गरेको छ । नेपाल राष्ट्र बैंक पनि पुनरसंरचना गरेर फाइनान्स सञ्चालन गर्न सकरात्मक भएपछि पुनःसञ्चालनको प्रक्रिया थालिएको लिक्विडेटरको कार्यलयले जनाएको छ । कार्यलयका अनुसार राष्ट्र बैंकले फाइनान्स सञ्चालनका लागि वित्तीय योजना (क्यापिटल प्लान) मागेको छ । हाल निक्षेप रकम फिर्ता र अन्य गरी संस्थाको दाइत्व ५० करोड रुपैयाँ छ । फाइनान्सको तरल र स्थिर सम्पत्ति गरी कुल २५ करोड रुपैयाँ दाइत्व भुक्तान गर्न नसकिने अवस्था देखिएपछि निक्षेपकर्ताको निक्षेप रकम सेयरमा परिणत गर्न योजना ल्याइएको हो । निक्षेपकर्ताको रकम सेयरमा परिणत गर्न सकरात्मक भएको कार्यलयको भनाई छ । २५ करोड रुपैयाँ दाइत्वलाई सेयरमा परिणत गर्न सके फाइनान्स सञ्चालन गर्ने वातावरण बन्ने देखिएको लिक्विडेटरको ठहर छ । राष्ट्र बैंकले फाइनान्सको इजाजतपत्र (लाइसेन्स) बन्द गरेको अवस्थामा पुरानो फाइनान्सलाई पुनरसंरचना गर्दा सहज हुने ठहर कार्यलयको छ । फाइनान्स कम्पनी सञ्चालन गर्न अहिले ८० करोड रुपैयाँ चुक्तापुँजी चाहिन्छ । वित्तीय संस्थाको अवस्था खराव भएपछि नेपाल राष्ट्र बैंकले संकटग्रस्त घोषणा गरी खारेजीका लागि तत्कालिन पुनरावेदन हालको उच्च अदालतमा मुद्धा दायर गरेको थियो । उसको निवेदनको सुनुवाई गर्दे पुनरावेदन अदालत पाटनले ०७२ असोज २१ गते दामासाही ऐनअनुसार लिक्विडेटर नियुक्त गरी खारेज प्रक्रिया अघि बढाउन आदेश दिएपछि हाल कार्यलयले खारेजीको काम गरिरहेको छ । वित्तीय अवस्था नाजुक भएपछि राष्ट्र बैंकले सन् २०१२ मा जुलाइमा खारेजी प्रक्रियामा लैजाने निर्णय गरेको थियो । कम्पनीको पुँजी पर्याप्तता अनुपात, खुद सम्पत्तिलगायत अन्य सुचक नियम भन्दा कमजोर भएपछि राष्ट्र बैंकले खारेजीको प्रक्रियामा लगेको हो । हिमालयको कुल सम्पत्ति १८ करोड रुपैयाँ रहेकोमा वित्तीय अवस्था खराब भएपछि दाइत्व बढेर ७३ करोड रुपैयाँ पुगेको थियो । फाइनान्सका पुर्वअध्यक्ष हिमालयभक्त प्रधानाङ लगायत १६७ जनालाई बैंकिङ कसुर ऐन अनुसार ५३ करोड २२ लाख ९० हजार रुपैयाँ दावी माग गरिएको छ । सन. १९९४ मा स्थापना भएको फाइनान्सको चुक्तापुँजी १४ करोड रुपैयाँ छ । ११ वित्तीय संस्था समस्याग्रस्त घोषणा भएकोमा अरुण फाइनान्स लिमिटेड र जनरल फाइनान्स लिमिटेड नयाँ लगानीकर्ताको प्रवेश भई सञ्चालनमा आइसकेका छन् । यस्तै ९ मध्ये केही संस्था पनि नयाँ लगानीकर्ताबाट सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । हालसम्म नेपाल सेयर मार्केटस् एन्ड फाइनान्स लिमिटेड, क्रिष्टल फाइनान्स लिमिटेड, कुवेर मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेड, क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेड, वल्र्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक र ललितपुर फाइनान्स लिमिटेड समस्याग्रस्त अवस्थामा रहेका छन् । ललितपुरले निक्षेप रकम फिर्ता लिन बोलाएको छ । ललितपुर पुनः सञ्चालनमा आउने तयारी रहेको बुझिएको छ । समस्याग्रस्त वित्तीय संस्थाको अझै ५ अर्ब ६७ करोड १६ लाख रुपैयाँ कर्जा असुली हुन बाँकी छ । यस्तै साढे २ अर्ब रुपैयाँ सर्वसाधारणको निक्षेप रहेको राष्ट्र बैंकले जनाएको छ । तरलताको अवस्था ५४ करोड २९ लाख रुपैयाँ छ । यी वित्तीय संस्थाको खराब कर्जा ९७.५९ प्रतिशत छ । चुक्तापुँजी २ अर्ब १४ करोड ९६ लाख रुपैयाँ छ ।
नेपाल ग्रामीण विकास बैंकको एफपीओ भदौ २७ देखि, प्रतिकित्ता १०० रुपैयाँ मात्र
काठमाडौं । नेपाल ग्रामीण विकास बैंकले भदौ २७ गतेदेखि एफपीओ निश्कासन गर्ने भएको छ । बैंकले प्रतिकित्ता १०० रुपैयाँमा एफपीओ बिक्री गर्न लागेको हो । बैंकले ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता एफपीओ निश्कासन गर्न लागेको छ । सेयर निश्कासन असोज १० गतेसम्म बन्द हुने छ । सेयर निश्कासनपछि पुँजी ५५ करोड ७५ लाख रुपैयाँ पुग्ने छ । संस्थापकको ७० र सर्वसाधरणको ३० प्रतिशत स्वामित्व हुने गरी लगानी संरचना तयार गरिएको छ ।