मुलुकको आर्थिक विकासका लागि पर्यटन क्षेत्रको विकास आवश्यकः सञ्चारमन्त्री बस्नेत
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मुलुकको आर्थिक विकासका लागि पर्यटन क्षेत्रको विकास हुनुपर्ने बताएका छन् । राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)को चौथो वार्षिक साधारणसभाका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा मन्त्री बस्नेतले पर्यटन प्रवद्र्धनको मुख्य आधार सूचना क्षेत्र भएकाले पर्यटन भित्र्याउन सही सूचना सम्प्रेषण गर्नुपर्ने बताए । उनले व्यापार प्रवद्र्धनका लागि विदेशमा नेपालको तर्फबाट वाणिज्यदूत नियुक्त गरेजस्तो विदेशमा सही सूचना सम्प्रेषण गर्नका लागि सूचनादूत नियुक्त गर्ने कार्यलाई मन्त्रालयले अगाडि बढाएको जानकारी दिए । उनले इमेल, इन्टरनेट लगायतका अत्यावश्यक सूचनाका सामग्री पर्यटन मार्गमा कसरी पुर्याउन सकिन्छ भन्नेबारेमा सञ्चार मन्त्रालय गम्भीर भएर लागेको बताए । मन्त्री बस्नेतले दूरसञ्चार क्षेत्रलाई सहज र सुलभ बनाउनका लागि आगामी हप्ता देशभरका टेलिकम क्षेत्रमा काम गर्ने कम्पनीको राष्ट्रिय गोष्ठी आयोजना गर्न लागिएको जानकारी दिए । अर्को फरक प्रसंगमा मन्त्री बस्नेतले नेपाली जनताको झण्डै सात दशक लामो प्रतिक्षापछि संविधान निर्माण भएको भन्दै यसलाई कार्यान्वयन गर्नका लागि तोकिएकै समयमा सबै तहको निर्वाचन गर्न सरकार लागेको बताए। उनले भने, “अब चाँडै मुलुकको राजनीतिक समस्यालाई समाधान गरेर आर्थिक समृद्धिमा लाग्नुपर्छ ।” नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य राजेन्द्रप्रसाद सापकोटाले आन्तरिक पर्यटन तथा बाह्य पर्यटनको विकासका लागि सञ्चारकर्मीको ठूलो भूमिका रहेको बताए । राष्ट्रिय पर्यटन व्यवसायी संघ (निट) नेपालका अध्यक्ष दीपक महत, नेपाल पर्यटन व्यवसायी संगठनका अध्यक्ष नवराज दाहाल लगायतले पर्यटन पत्रकारिताका क्षेत्रमा कलम चलाएको नाटोजको उच्च प्रशंसा गरे । देशभरका पर्यटन क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारलाई एकीकृत गर्दै विसं २०७० मा स्थापना भएको नाटोजले देशका विभिन्न ठाउँमा जिल्ला शाखा स्थापना गरी काम गरिरहेको नाटोजका अध्यक्ष शिव अधिकारीले जानकारी दिए । दुई पत्रकारलाई पुरस्कार, व्यवसायीलाई सम्मान सो अवसरमा दुई पत्रकारलाई ‘नाटोज पर्यटन पत्रकारिता’ पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा सञ्चारमन्त्री बस्नेतले रेडियो नेपालका समाचारवाचिका एवम् वरिष्ठ पत्रकार कृष्णा ताम्राकार र रातोपाटी डटकम अनलाइनका पत्रकार राजकुमार सिग्देललाई १० हजार रुपैयाँ नगदसहित ताम्रपत्रद्धारा सम्मान गरे । पुरस्कार प्रदान गर्दै सञ्चारमन्त्री बस्नेतले आफूले सानो छदै ताम्राकारले वाचन गरेको समाचार सुन्दा आनन्द लाग्ने गरेको स्मरण सुनाउँदैै ताम्राकारलाई सम्मान गर्न पाउँदा आफू ज्यादै खुशी लागेको बताए । यस्तै व्यवसायी मोहन लम्साल, अनिल लामा, गीता गुरुङ, दीपेन्द्र अधिकारी, दावा छिरी शेर्पा, पुष्प बाँस्कोटा, मीनप्रसाद सापकोटा नाटोजका सल्लाहकार मनोजकुमार श्रेष्ठ, , रामशरण कार्की, पत्रकारद्वय विष्णु निष्ठुरी, शरदराज सुवेदी कानुनी सल्लाहकार रामशरण थपलियालाई सम्मान गरिएको थियो । रासस
सिविआईएल क्यापिटलले ५ प्रतिशत नगद लाभांश दिने, आइपीओ जारी गर्ने प्रकृयामा
काठमाडौं । सिविआईएल क्यापिटलले सेयरधनीलाई ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बुधबार बसेको कम्पनीको एघारौं वार्षिक साधारण सभाले सो मात्रामा लाभांश दिने कम्पनीको निर्णयलाई पारित गरेको हो । साथै, सोही सभाले कम्पनीको हाल कायम चुक्ता पुँजी १० करोड रुपैयाँलाई शतप्रतिशत वृद्धि गर्ने भएको छ । सो प्रयोजनको निमित्त २० प्रतिशत सेयरलाई सार्वजनिक निष्कासन(आइपीओ) गर्ने प्रकृया अघि बढाउने साभाले जानकारी गराएको छ । त्यस्तै, साभाले सो मात्राको सेयर निष्कासन गरे पश्चात कम्पनीको संस्थापक समूहको ८० प्रतिशत तथा सर्वसाधारण समूहमा २० प्रतिशत स्वामित्व कायम रहने गरी कम्पनीको शेयर संरचना परिवर्तन गर्ने प्रस्ताव पारित गरेको छ । सिविआईएल क्यापिटल सिटिजन्स बैंकको सहायक कम्पनी हो । क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक, धितोपत्र प्रत्याभूति कर्ता (अण्डर राइटर) शेयर रजिष्ट्रार तथा लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट) को काम गर्ने साथै डि-म्याट खाता खोल्ने, शेयरहरु अभौतिकीकरण गर्ने, सामुहिक लगानी कोषको प्रर्वद्धन गर्ने जस्ता लगानीकर्ताहरुसँग प्रत्यक्ष सरोकारका कामहरु गर्न अनुमति प्राप्त गरिसकेको छ ।
साना किसान विकास बैंकको सीइअाेमा कोइराला
काठमाडौं । साना किसान विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा डा. शिवरामप्रसाद कोइराला नियुक्त भएका छन् । बैकको सञ्चालक समितिको बुधबारको बैठकले चार वर्षका लागि सिईओमा डा कोइरालालाई नियुक्त गर्ने निर्णय गरेको हाेे । व्यवस्थापनमा स्नातकोत्तर एवं बैंकिङको वित्तीय दिगोपनामा विद्यावारिधि गरेका डा कोइरालाले कृषि विकास बैंकमा २७ वर्ष सेवा गरेका थिए । उनी वित्तीय दिगो विकास एवं लघुवित्तका ज्ञाता पनि मानिन्छन् ।
३५ दिनभित्र काम सुरु नगरे जीएमआरको लाइसेन्स खारेज गर्ने ऊर्जामन्त्रीको चेतावनी
काठमाडौं । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले ९ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजनाले काम नगरे जीएमआर अपरकर्णाली हाइड्रोपावर लिमिटेडको अनुमतिपत्र (लाइसेन्स) खरोज गर्ने बताएका छन् । सरकारले आयोजनालाई जग्गा उपलब्ध भएको स्पष्ट पार्दे उनले भने “३५ दिनभित्र काम सुरु नगरे जीएमआरसंग भएको सम्झौता रद्ध हुने छ ।” सरकारले जीएमआरलाई दिएको समयसीमा आउदो दुई सातामा सकिने छ । उनले नेपालका खोला झोला बोकेर हिड्नेले विद्युतको नाममा धेरै कमाएको उल्लेख गर्दै ३५ दिनभित्र जिम्मा लिएका आयोजनाको यथाशिघ सुचारु नगरे सिधै सम्झौता रद्ध गर्ने चेतावनी दिए । रिपोटर्स क्लवले बुधबार आयोजना गरेको सात्क्षत्कारमा मन्त्री शाहीले भने, “जिम्मेवार कम्पनीलाई प्रत्येक महिनाको कार्यप्रगतिका बारेमा सरकारलाई जानकारी गराउन निर्देशन दिएको छु ।” मन्त्री शाहीले विद्युत प्राधिकरणका केही कर्मचारीले आफ्नो हैसियत चिन्न नसेको कारण जनतालाई सबै किसिमका सुविधा दिन नसकेको भन्दै समाजलाई सभ्यता सिकाउनको लागि सरकारी कर्मचारी सबै भन्दा पहिले कर्तव्यवान र अनुशासित हुनुपर्ने बताए । नयाँ विद्युत उत्पादनका काम देशैभर अघि बढेका र केही आयोजनाको काम सुरु भैसकेको बताउदै मन्त्री शाहीले यही ढंगबाट विद्युत उत्पादनको काम बढेर समयमै परियोजना सम्पन्न भएमा १ वर्षभित्र भारतबाट आयात गरिने विद्युत पूर्ण रुपमा कटौती हुने दावी गरे । २२ प्रतिशत चुहावटलाई शुन्यमा झार्न प्रभावकारी काम नभएसम्म भारतबाट आयात गरिने बिजुलीलाई प्रतिस्थापन गर्न नसकिने उनले स्पष्ट पारे । मन्त्री शाहीले नेपाल दक्षिण एसियामै सबैभन्दा बढी विद्युत चुहावट हुने मुलुकको सूचिमा रहेको र यसका लागि अहिलेसम्म भएका सरकारी प्रयास पूर्ण प्रभावकारी हुन नसकेकोले आफूले निजी क्षेत्रसँगको सहकार्यमा विद्युत चुहावट अन्त्य गर्ने योजनासहित काम गरिरहेको सुनाए । विद्युत प्राधिकरणको नाममा कमाउन पल्लेकेका माफियाहरुले सामग्री खरिदको नाममा अर्बौ रुपैयाँ राज्यको सम्पतिको दुरुपयोग गरेको आरोप लगाउँदै उनले विद्युत सामग्रीहरुको गुणस्तर र क्षमताको बारेमा आधिकारिक जानकारी दिनको लागि विज्ञ टोलि गठन गर्ने बताए । विद्युत प्राधिकरण निरन्तर घाटामा गएको भन्दै प्राधिकरणलाई नाफामा लैजान मन्त्रालयले हर कोसिस गरिरहेको बताए । मन्त्री शाहीले भने,“विद्युत प्राधिकरणलाई साच्चै जनताको बनाउँनको लागि हामी लागेका छौ,साना साना कामहरुले पनि सेवा अवरुद्ध बन्ने हुन्छन् ।”
बुधबारको सेयर बजारमा १४ अंकको गिरावट
काठमाडौं । बुधबारको सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सो दिन १४ दशमलब ५५ अंकले ओरालो लागेर १५९८ अंकमा झरेको छ । बजारमा परिसूचकमा ओरालो लागेता पनि सेयर कारोबारमा सुधार आएको छ । बुधबार ९७ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन रकम अघिल्लो कारोबारको तुलनामा ७ करोड रुपैयाँ बढी हो । अघिल्लो कारोबारमा ९० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । बुधबार बीमा समूहको परिसूचक सबैभन्दा बढी १०६ अंकले ओरालो लागेको छ । त्यस्तै, उत्पादनमूलक र अन्य समूहको परिसूचक बाहेक बाँकी समूहको परिसूचक ओरालो लागेका छन् । सो दिन सबैभन्दा बढी सिद्धार्थ इक्विटी ओरिन्टेड स्किमका लगानीकर्ताले १० प्रतिशत गुमाएका छन् । त्यस्तै, नबिल ब्यालेन्स फण्ड १, हिमालयन पावर पार्टनर र हिमालयन डिष्टीलरीको सेयर मूल्य ५ प्रतिशतले घटेको छ ।
महशुल नतिर्ने राष्ट्रपति र प्रधानमन्त्रीको बिजुली लाइन काटिन्छ-ऊर्जामन्त्री
काठमाडौं । उर्जामन्त्री महेन्द्रबहादुर शाहीले १० दिनभित्र विद्युत महसुल वक्यौता नतिर्ने कसैलाई पनि नछोड्ने घोषणा गरेका छन् । रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री शाहीले १० दिनभित्र विद्युत महसुल बक्यौता नतिरे राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीका क्वार्टर र सरकारी कार्यालयसहित कसैलाई पनि नछाड्ने घोषणा गरेका हुन्। उनले सो अवधी भित्र बक्यौता नबुझाए सबैको विद्युत लाईन काटिने स्पष्ट पारे । मन्त्री शाहीले भने,“मन्त्रालयले विद्युत वक्यौता नतिर्ने जो कोहीलाई कारवाही गर्ने निर्णय गरेको छ । जसले १० दिनभित्र वक्यौतासहितको महसुल तिर्दैन त्यस्ता मन्त्रालय र घर मालिकको लाइन काटिनेछ, यस कार्यमा कर्मचारीलाई निर्देशन दिएको छु ।” कर्मचारीले नसके आफै गएर लाइन काट्ने जानकारी दिए । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आफुबीच कुनै पनि मनमुटाव र मतभेद नभएको स्पष्ट पार्दै उनले भने, “मेरो र निर्देशकज्यू बीचमा कुनै प्रकारको मतभेद छैन, समाचारमा आएको कुरा झुठा छ, म यसैमार्फत सबै जनता र सब पक्षलाई स्पष्ट पार्न चाहन्छु ।” “हामी मुलुक र जनताको लागि खुट्टा बलिया बनाएर विद्युत उत्पादन वितरण र उज्यालो अभियानमा जुटिरहेका छौ।” उनले भने । गत वर्ष पनि जनार्दन शर्मा ऊर्जामन्त्री भएपछि पहिलो काम बिजुलीको महशुल उठाउन जोड दिएका थिए । त्यसबेला प्राधिकरणले करोडौ रुपैयाँ बिजुलीको बक्यौता उठाएका थिए ।
गरिमा विकास बैंकको अध्यक्षमा चन्द्रकान्त बराल नियुक्त
काठमाडौं । गरिमा विकास बैंकको अध्यक्षमा चन्द्रकान्त बराल नियुक्त भएका छन् । भदौ १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बराललाई कम्पनीको अध्यक्षमा नियुक्त गराएको हो । सोही बैठकले यसअघि कम्पनीको अध्यक्षको पदमा रहेका दिलिपप्रताप खाँडको राजीनामा स्वीकृत गरेको छ । साथै, कम्पनीको सञ्चालक हरिकुमार श्रेष्ठको राजीनामालाई पनि सोही बैठकले स्वीकृत गरेको छ ।
चितवन जिल्लामा दूध उत्पादनमा वृद्धि
चितवन । जिल्लामा वर्षेनी दूध उत्पादन बढ्दै गएको छ । जिल्ला पशुसेवा कार्यालयकाअनुसार पछिल्लो पाँच वर्षको अन्तरालमा जिल्लामा कूल १० हजार ६९६ मेट्रिक टन दूध उत्पादनमा वृद्धि भएको छ । गत आवमा मात्र चार हजार ४१४ मेट्रिक टन दूध उत्पादनमा वृद्धि भएको कार्यालय प्रमुख डा डिल्लीराम सेढाईंले जानकारी दिए । दूध उत्पादनका हिसाबले चितवन अब्बल बन्दै गएको छ । आव २०६९÷७० मा जिल्लामा ७९ हजार ५१५ मेट्रिक टन दूध उत्पादन भएको थियो । आव २०७३÷७४ मा दूध उत्पादन वृद्धि भएर ९० हजार २११ मेट्रिक टन पुगेको सेढाईंले बताए । आव २०७०÷७१ मा ८२ हजार ९३० मेट्रिक टन, आव २०७१/७२ मा ८४ हजार ७७ तथा आव २०७२/७३ मा ८५ हजार ७९७ मेट्रिक टन दूध उत्पादन भएको तथ्यांक छ । दैनिक करिब दुई लाख ५० हजार लिटर दूध उत्पादन हुने गरेको छ । यहाँ उत्पादित दूध अन्य जिल्लामा समेत बिक्रीका लागि पठाउने गरिएको छ । “चितवनमा उत्पादित अधिकांश दूध काठमाडाँैलगायत मुख्य शहरमा पठाउने गरिएको छ,” डा सेढार्इंले भने । उत्पादन वृद्धिदर वार्षिक ४ दशमलब ८९ प्रतिशत रहेको छ । तर दुग्ध उत्पादक किसान उक्त तथ्यांक सहि नभएको दाबी गर्छन् । उनीहरुकाअनुसार किसान दुग्ध पेशा छाड्ने क्रममा छन् । दुग्ध उत्पादक किसान आनन्द निउरे पछिल्लो समयमा किसान विभिन्न समस्यामा परेका कारण तथा राज्यले उचित संरक्षण नदिँदा पलायन हुने क्रम बढेको बताउँछन् । पशुसेवा कार्यालयले पुराना किसानले व्यवसाय छाड्दै गए पनि नयाँ किसान थपिँदै गएकाले दूध उत्पादनमा वृद्धि हुँदै गएको जनाएको छ । जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिहर सुवेदी चितवनमा पछिल्लो समयमा दूध उत्पादनमा ह्रास आउन थालेको बताउँछन् । आत्मनिर्भर घोषणाका लागि प्रक्रिया शुरु चितवनलाई दूधमा आत्मनिर्भर घोषणाका लागि आवश्यक प्रक्रिया शुरु भएको छ । केन्द्रबाटै कार्यविधिसमेत आइसकेकाले त्यही कार्यविधिमा टेकेर आवश्यक प्रक्रिया शुरु भएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा सेढार्इंले जानकारी दिए । जिल्लाका हरेक सेवा कार्यालयलाई ताजा तथ्यांक अध्यावधि गर्न निर्देशन दिइसकेको उनले बताए । सरकारले वार्षिक प्रतिव्यक्ति ९० लिटर दूध आवश्यक हुने जनाएको छ । जिल्लाको तथ्यांक हेर्दा प्रतिव्यक्ति १३७ लिटर दूध पुग्ने देखिन्छ । नब्बे लिटरभन्दा माथिको प्रतिव्यक्ति ४७ लिटर दूध बढी देखिएकाले जिल्लालाई आत्मनिर्भर घोषणाका लागि कार्यालयले काम थालेको उनको भनाइ छ । “सरकारी योजनाअनुसार मासु, अण्डा र दूधमा जिल्लालाई आत्मनिर्भर बनाउन लागि परेका छौँ,” उनले भने । रासस