माउन्ट कैलाश इनर्जीको २२ लाख ५० हजार कित्ता आईपीओ आउँदै
काठमाडौं । माउन्ट कैलाश इनर्जी कम्पनी लिमिटेडले सर्वसाधारणलाई सेयर (आईपीओ) निश्कासन गर्ने भएको छ । १३.६ मेगावाटको थापाखोला जलविद्युत आयोजना सम्पन्न गरेर परीक्षण उत्पादन थालेको माउन्ट कैलाशले आउदो २ महिनाभित्र आईपीओ निश्कासन गर्न लागको हो । कम्पनीले आयोजना प्रभावित स्थानियबासिन्दालाई १० र सर्वसाधारणलाई १५ गरी कुल २५ प्रतिशत आईपीओ निश्कासन गर्नका लागि आन्तरिक तयारी गरिरहेको कार्यकारी निर्देशक भरत खड्काले बताए । आयोजनाले असोज १ गतेदेखि व्यवसायीक रुपमा बिजुली उत्पादन थाल्ने र ढिलोमा २ महिनाभित्र आईपीओ निश्कासनका लागि प्रक्रिया अघि बढाईको उनको भनाई छ । कम्पनीले सर्वसाधारणलाई २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने छ । हाल प्रस्ताव गरिएको भन्दा सेयर संख्यामा थपघट हुन सक्ने उनको भनाई छ । शेयर निश्कासनका लागि कम्पनीले बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल मार्केट्स लिमिटेडसँग सम्झौता गरेको छ । धितोपत्र निश्कासन नियमावलीमा न्युनतम् १० प्रतिशत आईपीओ निश्कासन गरे हुने व्यवस्था भएपनि सर्वसाधारणको सहभागिता बढाउन थप १५ प्रतिशत सेयर निश्कासन गर्न लागेको उनले जानकारी दिए । २ अर्ब ५६ करोड रुपैयाँ लागतमा आयोजना निर्माण भएको हो । भौगोलिक विकटता, प्राविधिक पक्ष परिवर्तन हुनु, भूकम्प, नाकाबन्दीका कारण अनुमान गरे भन्दा १२ करोड रुपैयाँ लागत बढेको कम्पनीले जनाएको छ । आयोजनाले उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न टुकुचेदेखि म्याग्दीको दानासम्म प्रसारणलाइन र दुईवटा सवस्टेशन बनाएको छ । कोवाङ र दानामा सवस्टेशन बनाएको हो । चार वर्षमा आयोजना निर्माण पूरा भएको हो । टुकुचे हिमालको फेदीमा बाँध रहेको आयोजनाको १ हजार ८३३ मिटर सुरुङ र ७५० लामो पाइपमार्फत पानीलाई टर्बाइनमा खसालिएको छ । बेनी–जोमसोमसडकको टुकुचेखण्डभन्दा करिब ५०० मिटरभित्र आयोजनाको विद्युत्गृह छ । भूकम्प, नाकाबन्दी र बेसरीको पहिरो तथा बेगखोलाको बाढीका कारण निर्माण सामग्री आपूर्तिमा समस्या हुँदा निर्माण अवधि एक वर्षपछि धकेलिएको हो । थापाखोलाबाट उत्पादित विद्युत् म्याग्दी हँुदै केन्द्रीय प्रसारण लाइनमा जोडिने भएकाले म्याग्दीमा भइरहेको अनियमित विद्युत् आपूर्तिको समस्या समाधान हुने अपेक्षा गरिएको छ । हाल चार एमभिए क्षमताको ट्रान्सफर्मर रहेको मिलनचोक सव स्टेशनमा आठ एमभिए क्षमताको ट्रान्सफर्मर जडानको तयारी भइरहेको बताउँदै केन्द्रका प्रमुख सीताराम शाहले थापाखोलाको विद्युत् केन्द्रीय प्रसारणमा जोडिएपछि म्याग्दीमा विद्युत् आपूर्ति सहज हुने जानकारी दिए।
तीन करोडको मह उत्पादन
बागलुङ । जिल्लामा आर्थिक वर्ष २०७३/७४ मा ३० टन मह उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार किसानले करिब ३ करोड रूपैयाँको मह बिक्री गरेका छन् । व्यावसायिक मौरीपालन बढेसँगै मह उत्पादनमा वर्षेनी वृद्धि हुँदै गएको छ । अघिल्लो आवको तुलनामा गत आवमा मह उत्पादन ५ टन बढेको छ । मह प्रतिकिलो ९०० देखि १ हजार रूपैयाँ सम्ममा बिक्री हुन्छ । दुई वर्षअघि २० जना व्यावसायिक मौरीपालक किसानले १ लाख ८० हजार रूपैयाँका दरले सरकारी अनुदान पाएका थिए । युवा लक्षित कार्यक्रमअन्तर्गत अनुदान पाएपछि किसानले मौरीपालनलाई विस्तार गरेका हुन् । हरेक वर्ष जिल्ला कृषि विकास कार्यालयले अनुदानमा मौरीका घार वितरण गर्दै आएको छ । कृषि प्रसार अधिकृत विप्लवप्रसाद अधिकारीका अनुसार जिल्लाभर करिब ४ हजार उन्नत घारमा मौरीपालन भइरहेको छ । परम्परागत घारमा मौरी पाल्ने किसानको संख्या पनि उत्तिकै छ । “कार्यालयबाट वितरण भएका उन्नत घारमात्रै चार हजारभन्दा बढी छन्, स्थानीय घारको संख्या यकिन छैन”, उहाँले भने । गत आवमा उत्पादन भएको ३० हजार किलो महमध्ये अधिकांश जिल्लाभित्रै खपत भएको थियो । अनुदान पाएपछि माहुरीपालनलाई किसानले उद्यमको रुपमा अघि बढाएका छन् । कम लगानीमा मनग्य आम्दानी हुनथालेछि किसान मौरीपालनतर्फ आकर्षित हँुदै गएका छन् । अनुदानले किसान उत्साहित छन् । जिल्ला कृषि विकास कार्यालयले २५ प्रतिशत अनुदानमा यस वर्ष ५५० वटा घार वितरण गरिसकेको छ । किसानले २ हजार ६०० पर्ने घार अनुदान सहयोगमा १ हजार ९५० मा प्राप्त गरेका छन् । रासस
ओपल सेक्युरिटिजको सेयर कारोबार खुला
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले ओपल सेक्युरिटिज इन्भेष्टमेन्टलाई सेयर कारोबार खुला गरेको छ । ३ दिन कारोबार रोक्का गरेपछि बिहीबारदेखि खुला गरेको नेपाल स्टकले जनाएको छ ।
इन्जिनियर नआउँदा भूकम्पपीडितको आवास निर्माण प्रभावित
म्याग्दी । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले म्याग्दी जिल्लामा इञ्जिनियर नखटाउँदा भूकम्पपीडितको आवास निर्माण कार्य प्रभावित बनेको छ । प्राधिकरणले जिससमार्फत उपलब्ध गराएको पहिलो किस्ता बुझेका लाभग्राहीले इन्जिनियर नआउँदा चाहेर पनि आवास निर्माणको काम अघि बढाउन नपाएका हुन् । जिल्ला समन्वय समिति म्याग्दीले गत आव २०७३/७४ मा जिल्लामा ८६८ भूकम्पपीडितको पहिचान गरी पहिलो किस्ताबापत पहिलो चरणमा ६४५ पीडितलाई ५० हजार रूपैयाँका दरले निजी आवास निर्माणका लागि ३ करोड २२ लाख ५० हजार रूपैयाँ अनुदान वितरण गरेको थियो । अहिले पहिलो किस्ता लिन बाँकी रहेका र प्रक्रिया पुगेका लाभग्राहीका लागि भन्दै जिससलाई थप ३ तीन करोड रूपैयाँको अख्तियारी आए पनि नापजाँच गर्ने इन्जिनियर प्राधिकरणले पठाउन सकेको छैन । बेनी नगरपालिका–१० का भीमराज दर्जीले घर बनाउनका लागि पहिलो किस्ताबापतको अनुदान रकम पाए पनि घर बनाउने कामका लागि प्राविधिक सहयोग नपाएको गुनासो गरे । जिससका अनुसार, गत आवमा बेनी नगरपालिका क्षेत्रमा ३५९, रघुगंगा गाउँपालिकामा ३४, अन्नपूर्णमा ७३, मंगलामा १२६, मालिकामा ३५ र धौलागिरिमा १८ जना पीडितलाई अनुदान उपलब्ध गराइएको छ । लाभग्राहीलाई पायक पर्ने बैंकमार्फत अनुदान वितरण गरिएको थियो । अझै रघुगंगामा १११, अन्नपूर्णमा ४१, बेनी नगरपालिकामा ५८ र धौलागिरिमा १२ जना लाभग्राहीले पहिलो किस्ताबापतको अनुदान बुझ्न बाँकी छ । जिससका सूचना अधिकारी पदम भण्डारीले इञ्जिनियर खटाउन प्राधिकरणलाई पत्रमार्फत ध्यानाकर्षण गरिएको बताए ।जिससले सबै नगर तथा गाउँपालिकामा छुटेका भूकम्पपीडितको नाम समावेश गर्न वडा कार्यालयमार्फत काम गरिरहेको जनाएको छ । रासस
उत्तर कोरिया-अमेरिका द्वन्द्वले सुन बजार तनावमा, के होला सुनको भाउ ?
काठमाडौं । अमेरिकी डलरमा केहि सकारात्मक संकेत देखिएपछि सुनको भाउ ओरालो लागेको छ । यद्दपी उत्तर कोरियाको आणविक परीक्षणले सम्भावित द्वन्द्वको सन्त्रास लगानीकर्तामा बढेको छ । रोयटर्सका अनुसार अमेरिका र उत्तर कोरियाबीच वार्ता हुने हल्ला बाहिर आएपछि बिहीबार अन्तराष्ट्रिय बजारमा सुनको भाउ प्रति आउन्स १० अमेरिकी डलरले घटेको छ । सुनको भाउ अन्तराष्ट्रिय बजारमा न्युनतम प्रति आउन्स १२३० डलरसम्म घट्ने पछिल्लो अनुमान छ । उत्तर कोरियाले मंगलबार जापानको होकाइडो टापुमाथि मिसाइल परिक्षण गरेपछि यसले अरु क्षेप्यास्त्र पनि प्रहार गर्ने विश्वमा त्रास बढेको हो । कोरियाले मिसाइल परीक्षण गरेपछि विश्व बजारमा त्यसको प्रभाव पहेलो धातु सुनको भाउ उकालो लागेको थियो । मिसाइल परीक्षणपछि उत्तर कोरियाको सबै किसिमका शक्ति प्रदर्शनको प्रत्योत्तर अमेरिकाले दिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएका थिए । दुई शक्तिशाली मुलुकबीच रस्साकस्सीका कारण विश्वबजार आतंकित भएका छन् । यस्तोमा लगानीकर्ताहरु लगानी सुरक्षित राख्न सुनमा लगानी गर्न चाहन्छन्। यसले सुनको माग बढेसँगे भाउ पनि एक्कासी बढेको हो । मंगलबार अन्तराष्ट्रिय बजारमा सुनको भाउ प्रति आउन्स २३ अमेरिकी डलरले बढेको थियो । सोमबार प्रति आउन्स १२९४ डलर रहेको सुनको भाउ मंगलबार एकै पटक १३१७.२० डलर प्रति आउन्समा पुगेको थियो । तत्काल अन्तराष्ट्रिय सञ्चारमाध्यमले सुनको भाउ अधिकतम प्रति आउन्स १३५० डलरसम्म पुग्ने प्रक्षेपण गरेको थियो । यद्दपी बिहीबारको गिरावटसँगै सुनको भाउ न्युनतम १२३० सम्म घट्ने पछिल्लो अनुमान छ । विश्व ईतिहासमा हरेक ठुला राष्ट्रबीचको द्वन्द्व तथा शक्तिशाली युद्धमा सुनको भाउ सधै बढ्ने गरेको पाइन्छ । सन् १९७१को भियतनाम र अमेरिका बीचको युद्धका समयमा सुनको भाउ अचानक मात्रामा वृद्धि भएको थियो । प्रति आउन्स ७५ अमेरिकी डलर रहेको सुनको भाउ युद्ध सुरु भएपछि ८०० अमेरिकी डलर पुगेको थियो । भियतनाम युद्ध पछि उकालो लागेको सुनको भाउ सन् २००२ मा चीनले विश्वबजार प्रवेश गरेसँगै वृद्धि हुँदै गयो । चीनको उच्च जनसंख्याले विश्व बजारमा प्रवेश पाएपछि सुनको माग बढ्न थाल्यो र सुनको भाउ आकाशिन थाल्यो। नेपाली बजारमा प्रभाव उत्तर कोरियाको मंगलबारको मिसाइल प्रहारपछि नेपाली बजारमा सुनको भाउ मंगलबार प्रति तोला एक हजार रुपैयाँले बढेर ५६ हजार पाँच सय प्रति तोला पुग्यो । सोमबार सुनको भाउ ५५ हजार ५०० रुपैयाँ प्रति तोलामा कारोबार भइरहेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ तोलामा ३०० रुपैयाँ घटेर प्रति तोला ५६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको भाउ तोलामा ५३ हजार ३०० रुपैयाँ पुगेको थियो । अन्तराष्ट्रिय बजारमा आएको गिरावट सँगै नेपालमा पनि सुनको भाउ पनि ओरालो लागिरहेको महासंघका पूर्वाध्यक्ष तेजरत्न शाक्यले बताए । सुनको माग सुनको भाउ तलमाथी हुँदा पनि नेपाली बजारमा सुनको माग भने यथावत नै रहेको उनले बताए । उनले भने, ‘अहिले दैनिक सुनको माग २५ देखि ३० किलोको हाराहारीमा छ ।’ गत वर्ष तीजमा दैनिक ४५ किलोसम्म कारोबार हुने गरेको सुन यसपाली बाढीपहिरोका कारण मुश्किलले ३५ किलो मात्र बिकेको उनले बताए । उनले भने, ‘नेपालको दुर्भाग्य भन्नुपर्छ – कहिले भुकम्प र नाकाबन्दी त कहिले बाढीपहिरोले नेपाली सुनबजारलाई प्रभावित पारिरहेको छ ।’ यसपाली दसैं तिहारमा सुनको माग ५० किलोसम्म पुग्नसक्ने अनुमान गरिएको छ ।
थापाखोला जलविद्युत्को परीक्षण उत्पादन शुरु
टुकुचे (मुस्ताङ) । मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेमा निर्माण भएको थापाखोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादन शुरु गरेको छ । माउन्ट कैलाश इनर्जी प्रालिले निर्माण गरेको १३.६ मेगावाट क्षमताको आयोजनाले विद्यु्त उत्पादन शुरु गरेको हो । परीक्षण सफल भएपछि उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने आयोजनाका साइट व्यवस्थापक सुदीप खड्काले बताए । “बाँध, सुरुङ, फोरवे, पेनस्टक, पावरहाउस निर्माण र उपकरण जडान सकिएपछि परीक्षण उत्पादन शुरु गरेका हाे” खड्काले भने “भदौ अन्तिममा केन्द्रीय लाइनमा बिजुली जोड्ने तयारी छ ।” आयोजनाले उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न टुकुचेदेखि म्याग्दीको दानासम्म प्रसारण लाइन र दुईवटा सवस्टेशन बनाएको छ । कोवाङ र दानामा सवस्टेशन बनाएको हो । यो आयोजना धौलागिरि क्षेत्रमा हालसम्म सञ्चालन भएकामध्ये दोस्रो ठूलो हो । चार वर्षमा आयोजना निर्माण पूरा भएको हो । टुकुचे हिमालको फेदीमा बाँध रहेको आयोजनाको एक हजार ८३३ मिटर सुरुङ र ७५० लामो पाइपमार्फत पानीलाई टर्बाइनमा खसालिएको छ । बेनी–जोमसोमसडकको टुकुचेखण्डभन्दा करिब ५०० मिटरभित्र आयोजनाको विद्युत्गृह छ । आयोजना निर्माणस्थल भौगोलिकरुपमा विकट क्षेत्रमा अवस्थित छ । २ अर्ब ५६ करोड रूपैयाँको लागतमा आयोजना निर्माण भएको प्रबन्ध निर्देशक भरत खड्काले जानकारी दिए । भौगोलिक विकटता, प्राविधिक पक्ष परिवर्तन हुनु, भूकम्प, नाकाबन्दीका कारण अनुमान गरेकोभन्दा १२ करोड रूपैयाँ लागत बढेको कम्पनीले जनाएको छ । भूकम्प, नाकाबन्दी र बैसरीको पहिरो तथा बेगखोलाको बाढीका कारण निर्माण सामग्री आपूर्तिमा समस्या हुँदा निर्माण अवधि एक वर्षपछि धकेलिएको प्रबन्ध निर्देशक खड्काले बताए । आयोजनाले सर्वसाधारणका लागि २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने जनाएको छ । शेयर निष्काशनका लागि कम्पनीले बिक्री प्रबन्धकमा एनआइबीएल क्यापिटल मार्केट्ससँग सम्झौता गरेको छ । थापाखोलाबाट उत्पादित विद्युत् म्याग्दी हँुदै केन्द्रीय प्रसारण लाइनमा जोडिने भएकाले म्याग्दीमा भइरहेको अनियमित विद्युत् आपूर्तिको समस्या समाधान हुने अपेक्षा गरिएको छ । मिलनचोक सवस्टेशनको क्षमताले माग धान्न नसकेर तथा पर्वत—बागलुङ क्षेत्रमा प्रसारण लाइनमा खराबी आउँदा विद्युत् कटौती हुने समस्या थापाखोला जोडिएपछि समाधान हुने नेपाल विद्युत् प्राधिकरण बेनी शाखाले जनाएको छ । हाल चार एमभिए क्षमताको ट्रान्सफर्मर रहेको मिलनचोक सव स्टेशनमा आठ एमभिए क्षमताको ट्रान्सफर्मर जडानको तयारी भइरहेको बताउँदै केन्द्रका प्रमुख सीताराम शाहले थापाखोलाको विद्युत् केन्द्रीय प्रसारणमा जोडिएपछि म्याग्दीमा विद्युत् आपूर्ति सहज हुने जानकारी दिए । रासस
आसमान नेपालद्वारा तीनहजार बाढीपीडितलाई राहत
राजविराज । सप्तरीमा हालै आएको बाढीबाट विस्थापित एवं प्रभावित क्षेत्रमा आसमान नेपालले तीन हजारभन्दा बढी बाढीपीडितलाई राहत वितरण गरेको छ । वल्डवाईड कनसल्ट तथा पिपुल इन निडको सहयोगमा आसमान नेपालले सप्तरीकोे हनुमानगर कंकालनी नगरपालिकाको वडा नं ५, ६, ७, ८, ९ र वडा नंं २ सकरदही, राजविराज नगरपालिकाको वडा नं ९ मलेठ र तिलाठी कोइलाडी गाउँपालिकाको सकरपुरालगायतका ठाउँमा करिब तीनहजार २०० बाढीपीडितलाई विभिन्न खाद्यान्न सामग्रीसहित राहत वितरण गरिएको आसमान नेपाल सप्तरीका संयोजक श्रवणकुमार देवले जानकारी दिए । उनीहरुमा प्रतिपरिवारलाई ३० केजी चामल, पाँच केजी दाल, एक केजी नुन, दुई केजी खानेतेल, दुई केजी चिनी, एक-एक थान बाल्टिन र मग तथा एक थानका दरले झुल, दुई-दुई थानका दरले नुहाउने साबुन र लगाउने साबुन तथा एकथान सेनिटरी प्याडलगायतका सामग्री वितरण गरिएको बताइएको छ । यस्तै, दलित जनजागरण सेवा समितिले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका गर्भवती तथा प्रसूति महिलालाई राहत वितरण गरेको छ । दलित जनजागरण सेवा समितिको आयोजना तथा वातावरणीय कृषि तथा विकास केन्द्र केड काठमाडौँको सहयोगमा कोइलाडी बसाईन चौकीमा आयोजित कार्यक्रममा सो गाउँपालिका वडा नम्बर १ देखि ९ का गर्भवती तथा सुत्केरी महिलालाई एक बोरा मुरही भुजा वितरण गरिएको छ । त्यस्तै, एकथान प्लाष्टिक, एकथान बाल्टिन, एक थान सुपानेट झुल, एकथान साबुन, एक थान ब्रस र पेष्ट र बदामको सत्तु आधा किलो तथा एक थान तन्ना, एक थान गम्छा बच्चाको भोटो एक थान, बेबी ब्ल्यांकेट एक थान तथा १३ घरधुरी दलित परिवारलाई छ बोरा चामलसमेत वितरण गरिएको बताइएको छ । तिलाठी कोइलाडीका १३१ जना गर्भवती र ४० जना सुत्केरी महिला तथा एकजना अपांग बालिका गरी १७२ जनालाई राहत वितरण गरिएको दलित जनजागरण सेवा समितिका अध्यक्ष जितु रामले जानकारी दिए। रासस ––––––––––
राष्ट्र बैंकले डेढ अर्ब बैंक तथा वित्तीय संस्थाको मुद्धतिमा लगानी गर्न माग्यो प्रस्ताव
काठमाडौं । नेपाल राष्ट्र बैंकले आफुसंग भएको रकम लगानी गर्नका लागि बैंक तथा वित्तीय संस्थासंग प्रस्ताव मागेको छ । बैंकले विभिन्न कोषमा भएको १ अर्ब ५२ करोड ६२ लाख रुपैयाँ १ वर्षका लागि मुद्धति लगानी गर्ने भएको छ । आउदो असोज १ गतेदेखि २०७५ भदौं ३१ गते सम्म १ वर्षे मुद्दती निक्षेपमा लगानी गर्ने राष्ट्र बैंकले जनाएको छ । कुल रकम मध्ये वाणिज्य बैंकले १ अर्ब २२ करोड १० लाख, विकास बैंकले २२ करोड ८९ लाख र वित्त कम्पनीले ७ करोड ६३ लाख रुपैयाा लगानी गर्ने राष्ट्र बैंकले जानकारी दिएको छ । प्रस्ताव पेश गर्ने मिति आउदो सोमबारलाई तोकिएको छ । बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ बर्ष पुरा गरेको, बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एनपीए) कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी रहेका बैंक तथा वित्तीय संस्थाले मात्र प्रस्ताव गर्न पाउने राष्ट्र बैंकले जनाएको छ । यस्तै सिघ्र सुधारत्मक कार्वाही फुकुवा भएको ६ महिना बितिसकेको हुनुपर्ने व्यवस्था गरिएको छ ।