विकासन्युज

उत्तर कोरिया-अमेरिका द्वन्द्वले सुन बजार तनावमा, के होला सुनको भाउ ?

काठमाडौं । अमेरिकी डलरमा केहि सकारात्मक संकेत देखिएपछि सुनको भाउ ओरालो लागेको छ । यद्दपी उत्तर कोरियाको आणविक परीक्षणले सम्भावित द्वन्द्वको सन्त्रास लगानीकर्तामा बढेको छ । रोयटर्सका अनुसार अमेरिका र उत्तर कोरियाबीच वार्ता हुने हल्ला बाहिर आएपछि बिहीबार अन्तराष्ट्रिय बजारमा सुनको भाउ प्रति आउन्स १० अमेरिकी डलरले घटेको छ । सुनको भाउ अन्तराष्ट्रिय बजारमा न्युनतम प्रति आउन्स १२३० डलरसम्म घट्ने पछिल्लो अनुमान छ । उत्तर कोरियाले मंगलबार जापानको होकाइडो टापुमाथि मिसाइल परिक्षण गरेपछि यसले अरु क्षेप्यास्त्र पनि प्रहार गर्ने विश्वमा त्रास बढेको हो । कोरियाले मिसाइल परीक्षण गरेपछि विश्व बजारमा त्यसको प्रभाव पहेलो धातु सुनको भाउ उकालो लागेको थियो । मिसाइल परीक्षणपछि उत्तर कोरियाको सबै किसिमका शक्ति प्रदर्शनको प्रत्योत्तर अमेरिकाले दिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएका थिए । दुई शक्तिशाली मुलुकबीच रस्साकस्सीका कारण विश्वबजार आतंकित भएका छन् । यस्तोमा लगानीकर्ताहरु लगानी सुरक्षित राख्न सुनमा लगानी गर्न चाहन्छन्। यसले सुनको माग बढेसँगे भाउ पनि एक्कासी बढेको हो । मंगलबार अन्तराष्ट्रिय बजारमा सुनको भाउ प्रति आउन्स २३ अमेरिकी डलरले बढेको थियो । सोमबार प्रति आउन्स १२९४ डलर रहेको सुनको भाउ मंगलबार एकै पटक १३१७.२० डलर प्रति आउन्समा पुगेको थियो । तत्काल अन्तराष्ट्रिय सञ्चारमाध्यमले सुनको भाउ अधिकतम प्रति आउन्स १३५० डलरसम्म पुग्ने प्रक्षेपण गरेको थियो । यद्दपी बिहीबारको गिरावटसँगै सुनको भाउ न्युनतम १२३० सम्म घट्ने पछिल्लो अनुमान छ । विश्व ईतिहासमा हरेक ठुला राष्ट्रबीचको द्वन्द्व तथा शक्तिशाली युद्धमा सुनको भाउ सधै बढ्ने गरेको पाइन्छ । सन् १९७१को भियतनाम र अमेरिका बीचको युद्धका समयमा सुनको भाउ अचानक मात्रामा वृद्धि भएको थियो । प्रति आउन्स ७५ अमेरिकी डलर रहेको सुनको भाउ युद्ध सुरु भएपछि ८०० अमेरिकी डलर पुगेको थियो । भियतनाम युद्ध पछि उकालो लागेको सुनको भाउ सन् २००२ मा चीनले विश्वबजार प्रवेश गरेसँगै वृद्धि हुँदै गयो । चीनको उच्च जनसंख्याले विश्व बजारमा प्रवेश पाएपछि सुनको माग बढ्न थाल्यो र सुनको भाउ आकाशिन थाल्यो। नेपाली बजारमा प्रभाव उत्तर कोरियाको मंगलबारको मिसाइल प्रहारपछि नेपाली बजारमा सुनको भाउ मंगलबार प्रति तोला एक हजार रुपैयाँले बढेर ५६ हजार पाँच सय प्रति तोला पुग्यो । सोमबार सुनको भाउ ५५ हजार ५०० रुपैयाँ प्रति तोलामा कारोबार भइरहेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ तोलामा ३०० रुपैयाँ घटेर प्रति तोला ५६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको भाउ तोलामा ५३ हजार ३०० रुपैयाँ पुगेको थियो । अन्तराष्ट्रिय बजारमा आएको गिरावट सँगै नेपालमा पनि सुनको भाउ पनि ओरालो लागिरहेको महासंघका पूर्वाध्यक्ष तेजरत्न शाक्यले बताए । सुनको माग सुनको भाउ तलमाथी हुँदा पनि नेपाली बजारमा सुनको माग भने यथावत नै रहेको उनले बताए । उनले भने, ‘अहिले दैनिक सुनको माग २५ देखि ३० किलोको हाराहारीमा छ ।’ गत वर्ष तीजमा दैनिक ४५ किलोसम्म कारोबार हुने गरेको सुन यसपाली बाढीपहिरोका कारण मुश्किलले ३५ किलो मात्र बिकेको उनले बताए । उनले भने, ‘नेपालको दुर्भाग्य भन्नुपर्छ – कहिले भुकम्प र नाकाबन्दी त कहिले बाढीपहिरोले नेपाली सुनबजारलाई प्रभावित पारिरहेको छ ।’ यसपाली दसैं तिहारमा सुनको माग ५० किलोसम्म पुग्नसक्ने अनुमान गरिएको छ ।

थापाखोला जलविद्युत्को परीक्षण उत्पादन शुरु

टुकुचे (मुस्ताङ) । मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेमा निर्माण भएको थापाखोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादन शुरु गरेको छ । माउन्ट कैलाश इनर्जी प्रालिले निर्माण गरेको १३.६ मेगावाट क्षमताको आयोजनाले विद्यु्त उत्पादन शुरु गरेको हो । परीक्षण सफल भएपछि उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने आयोजनाका साइट व्यवस्थापक सुदीप खड्काले बताए । “बाँध, सुरुङ, फोरवे, पेनस्टक, पावरहाउस निर्माण र उपकरण जडान सकिएपछि परीक्षण उत्पादन शुरु गरेका हाे” खड्काले भने “भदौ अन्तिममा केन्द्रीय लाइनमा बिजुली जोड्ने तयारी छ ।” आयोजनाले उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न टुकुचेदेखि म्याग्दीको दानासम्म प्रसारण लाइन र दुईवटा सवस्टेशन बनाएको छ । कोवाङ र दानामा सवस्टेशन बनाएको हो । यो आयोजना धौलागिरि क्षेत्रमा हालसम्म सञ्चालन भएकामध्ये दोस्रो ठूलो हो । चार वर्षमा आयोजना निर्माण पूरा भएको हो । टुकुचे हिमालको फेदीमा बाँध रहेको आयोजनाको एक हजार ८३३ मिटर सुरुङ र ७५० लामो पाइपमार्फत पानीलाई टर्बाइनमा खसालिएको छ । बेनी–जोमसोमसडकको टुकुचेखण्डभन्दा करिब ५०० मिटरभित्र आयोजनाको विद्युत्गृह छ । आयोजना निर्माणस्थल भौगोलिकरुपमा विकट क्षेत्रमा अवस्थित छ । २ अर्ब ५६ करोड रूपैयाँको लागतमा आयोजना निर्माण भएको प्रबन्ध निर्देशक भरत खड्काले जानकारी दिए । भौगोलिक विकटता, प्राविधिक पक्ष परिवर्तन हुनु, भूकम्प, नाकाबन्दीका कारण अनुमान गरेकोभन्दा १२ करोड रूपैयाँ लागत बढेको कम्पनीले जनाएको छ । भूकम्प, नाकाबन्दी र बैसरीको पहिरो तथा बेगखोलाको बाढीका कारण निर्माण सामग्री आपूर्तिमा समस्या हुँदा निर्माण अवधि एक वर्षपछि धकेलिएको प्रबन्ध निर्देशक खड्काले बताए । आयोजनाले सर्वसाधारणका लागि २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने जनाएको छ । शेयर निष्काशनका लागि कम्पनीले बिक्री प्रबन्धकमा एनआइबीएल क्यापिटल मार्केट्ससँग सम्झौता गरेको छ । थापाखोलाबाट उत्पादित विद्युत् म्याग्दी हँुदै केन्द्रीय प्रसारण लाइनमा जोडिने भएकाले म्याग्दीमा भइरहेको अनियमित विद्युत् आपूर्तिको समस्या समाधान हुने अपेक्षा गरिएको छ । मिलनचोक सवस्टेशनको क्षमताले माग धान्न नसकेर तथा पर्वत—बागलुङ क्षेत्रमा प्रसारण लाइनमा खराबी आउँदा विद्युत् कटौती हुने समस्या थापाखोला जोडिएपछि समाधान हुने नेपाल विद्युत् प्राधिकरण बेनी शाखाले जनाएको छ । हाल चार एमभिए क्षमताको ट्रान्सफर्मर रहेको मिलनचोक सव स्टेशनमा आठ एमभिए क्षमताको ट्रान्सफर्मर जडानको तयारी भइरहेको बताउँदै केन्द्रका प्रमुख सीताराम शाहले थापाखोलाको विद्युत् केन्द्रीय प्रसारणमा जोडिएपछि म्याग्दीमा विद्युत् आपूर्ति सहज हुने जानकारी दिए  । रासस

आसमान नेपालद्वारा तीनहजार बाढीपीडितलाई राहत

राजविराज । सप्तरीमा हालै आएको बाढीबाट विस्थापित एवं प्रभावित क्षेत्रमा आसमान नेपालले तीन हजारभन्दा बढी बाढीपीडितलाई राहत वितरण गरेको छ । वल्डवाईड कनसल्ट तथा पिपुल इन निडको सहयोगमा आसमान नेपालले सप्तरीकोे हनुमानगर कंकालनी नगरपालिकाको वडा नं ५, ६, ७, ८, ९ र वडा नंं २ सकरदही, राजविराज नगरपालिकाको वडा नं ९ मलेठ र तिलाठी कोइलाडी गाउँपालिकाको सकरपुरालगायतका ठाउँमा करिब तीनहजार २०० बाढीपीडितलाई विभिन्न खाद्यान्न सामग्रीसहित राहत वितरण गरिएको आसमान नेपाल सप्तरीका संयोजक श्रवणकुमार देवले जानकारी दिए । उनीहरुमा प्रतिपरिवारलाई ३० केजी चामल, पाँच केजी दाल, एक केजी नुन, दुई केजी खानेतेल, दुई केजी चिनी, एक-एक थान बाल्टिन र मग तथा एक थानका दरले झुल, दुई-दुई थानका दरले नुहाउने साबुन र लगाउने साबुन तथा एकथान सेनिटरी प्याडलगायतका सामग्री वितरण गरिएको बताइएको छ । यस्तै, दलित जनजागरण सेवा समितिले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका गर्भवती तथा प्रसूति महिलालाई राहत वितरण गरेको छ । दलित जनजागरण सेवा समितिको आयोजना तथा वातावरणीय कृषि तथा विकास केन्द्र केड काठमाडौँको सहयोगमा कोइलाडी बसाईन चौकीमा आयोजित कार्यक्रममा सो गाउँपालिका वडा नम्बर १ देखि ९ का गर्भवती तथा सुत्केरी महिलालाई एक बोरा मुरही भुजा वितरण गरिएको छ । त्यस्तै, एकथान प्लाष्टिक, एकथान बाल्टिन, एक थान सुपानेट झुल, एकथान साबुन, एक थान ब्रस र पेष्ट र बदामको सत्तु आधा किलो तथा एक थान तन्ना, एक थान गम्छा बच्चाको भोटो एक थान, बेबी ब्ल्यांकेट एक थान तथा १३ घरधुरी दलित परिवारलाई छ बोरा चामलसमेत वितरण गरिएको बताइएको छ । तिलाठी कोइलाडीका १३१ जना गर्भवती र ४० जना सुत्केरी महिला तथा एकजना अपांग बालिका गरी १७२ जनालाई राहत वितरण गरिएको दलित जनजागरण सेवा समितिका अध्यक्ष जितु रामले जानकारी दिए। रासस ––––––––––

राष्ट्र बैंकले डेढ अर्ब बैंक तथा वित्तीय संस्थाको मुद्धतिमा लगानी गर्न माग्यो प्रस्ताव

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफुसंग भएको रकम लगानी गर्नका लागि बैंक तथा वित्तीय संस्थासंग प्रस्ताव मागेको छ । बैंकले विभिन्न कोषमा भएको १ अर्ब ५२ करोड ६२ लाख रुपैयाँ १ वर्षका लागि मुद्धति लगानी गर्ने भएको छ । आउदो असोज १ गतेदेखि २०७५ भदौं ३१ गते सम्म १ वर्षे मुद्दती निक्षेपमा लगानी गर्ने राष्ट्र बैंकले जनाएको छ । कुल रकम मध्ये वाणिज्य बैंकले १ अर्ब २२ करोड १० लाख, विकास बैंकले २२ करोड ८९ लाख र वित्त कम्पनीले ७ करोड ६३ लाख रुपैयाा लगानी गर्ने राष्ट्र बैंकले जानकारी दिएको छ । प्रस्ताव पेश गर्ने मिति आउदो सोमबारलाई तोकिएको छ । बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ बर्ष पुरा गरेको, बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एनपीए) कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी रहेका बैंक तथा वित्तीय संस्थाले मात्र प्रस्ताव गर्न पाउने राष्ट्र बैंकले जनाएको छ । यस्तै सिघ्र सुधारत्मक कार्वाही फुकुवा भएको ६ महिना बितिसकेको हुनुपर्ने व्यवस्था गरिएको छ ।    

३२०२ को सेयर १४२५ मा झरेपछि नेपाल बैंकले डिप्रोक्सको सेयर लिलामीमा राख्यो, २२ करोड आम्दानी गर्ने लक्ष्य

काठमाडौं । नेपाल बैंक लिमिटेडले डिप्रोक्स लघुवित्त विकास बैंकको १ लाख ८० हजार ३७८ कित्ता सेयर लिलामीमा राखेको छ । सर्वसाधारण समूहको उक्त सेयरको न्यूनतम मूल्य १ हजार २०० तोकेर बढाबढ मूल्यमा लिलामीमा राखिएको छ । एक वर्षअघि करिव ३ हजार २०० मा कारोबार भएको यो सेयरको मूल्य आधाभन्दा कम भएपछि नेपाल बैंकले लिलामीमा राखेको हो । एक वर्षअघि अर्थात २०७३ भदौ १९ गते यस लघुबित्तको सेयर प्रतिकित्ता ३ हजार २०२ रुपैयाँसम्ममा कारोबार भएको थियो । उक्त सेयर बुधबार प्रतिकित्ता १४२५ रुपैयाँमा कारोबार भएको छ । डिप्रोक्सको सेयर बेचेर नेपाल बैंकले कम्तिमा २२ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ । सेयर आवदेनको लागि असोज ४ गतेसम्ममा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलमा आवेदन गर्न सकिने नेपाल बैंकले जनाएको छ । उक्त सेयर न्यूनतम १०० र अधिकत सबै किन्नको लागि आवेदन गर्न सकिने बैंकले जनाएको छ ।

सानिमा क्यापिटलले २५ प्रतिशत नगद लाभाँश दिने

काठमाडौं ।सानिमा क्यापिटल लिमिटेडले २५ प्रतिशत नगद लाभाँश वितरण गर्ने भएको छ । सानिमा बैंक अन्तर्गतको कम्पनीले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई लाभाँश वितरण गर्न लागेको हो । लाभाँश वितरणका लागि सानिमाले असोज ६ गते दोस्रो वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले चुत्तापुँजी पनि बढाउने भएको छ ।

समिट माइक्रोफाइनान्सको हकप्रद भदौ २९ गतेदेखि बिक्री खुला

काठमाडौं । पुँजी बढाउन समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले हकप्रद सेयर निश्कासन गर्ने भएको छ । वित्तीय संस्थाले भदौ २९ गतेदेखि शत् प्रतिशत हकप्रद सेयर निश्कासन गर्न लागेको हो । कात्तिक १ गते सेयर निश्कासन बन्द हुने छ । संस्थाले ७ करोड २५ लाख रुपैयाँ बराबरको ७ लाख २५ हजार कित्ता हकप्रद सेयर निश्कासन गर्ने छ । हकप्रद निश्कासनपछि संस्थाको चुक्तापुँजी साढे १४ करोड रुपैयाँ पुग्ने जानकारी दिएको छ ।

अरुण तेस्रो जलविद्युत आयोजनाकाे तेस्रो प्याकेजको काम सुरू

काठमाडौं । भारतीय लगानीमा निर्माण हुन लागेको ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाले हाइड्रोमेकानिकल उपकरणका लागि बोलपत्र आब्हान गरेको छ । प्रवद्र्धक एसजेवीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनीले आयोजनाको तेस्रो प्याकेज अन्र्तगत हाइड्रोमेकानिकल उपकरण आपूर्तिका लागि बोलपत्र आब्हन गरेको हो । भारतको एकल वा नेपाल र भारतीय कम्पनीको संयुक्त उपक्रम (जेभी) ले बोलपत्रमा भाग लिन पाउने एसजेवीएनले जनाएको छ । पहिलो प्याकेजअन्र्तगत आयोजनाको बाँध र डाइभर्सन सुरुङ संरचना निर्माणको ठेक्का भारतको जेपी कन्ट्रक्सन लिमिटेडले पाएको छ । प्याकेज १ अन्र्तगत आयोजनाको बाँध र ३ किलोमिटर लामो डाइभर्सन सुरुङ निर्माणलगायत संरचना बनाउने जेपीले ठेक्का पाएको हो । प्याकेज २ अन्र्तगत विद्युत्गृह निर्माणका लागि पनि बोलपत्र आब्हान गरिएको छ । ठेक्का सम्झौताको अन्तिम चरणमा पुगेको छ । दोस्रो प्याकेजमा विद्युतगृह र ८ किलोमिटर लामो सुरुङ निर्माण, तेस्रो प्याकेजमा इलेक्ट्रोमेकानिकल र चौथो प्याकेजमा हाइड्रोमेकानिकल र प्रसारणलाइनको अन्र्तगत काम हुनेछ । आयोजना निर्माणका लागि भारत सरकारले ९१ अर्ब रुपैयाँ बजेट उपलब्ध गराएको छ । आयोजनाको कुल लागत १ खर्ब १६ अर्ब अनुमान गरिएको छ । आयोजनाले हालै वनको जग्गा प्राप्त गरेको छ । वन विभाग, राष्ट्रिय वन्यजन्तु तथा निकुन्ज विभाग र आयोजनाको प्रवद्र्धक एसजेवीएनबीच त्रिपक्षिय सम्झौता भएको छ । सम्झौताअनुसार अरुण तेस्रो आयोजनाले ९६ रोपनी वनको जग्गा उपयोग गर्न पाएको छ । वनको जग्गा पाउन ढिलाइ भएका कारण आयोजनाको काम अघि बढेको थिएन् । भारत निकासीका लागि ९ सय मेगावाटको अरुण तेस्रो आयोजना बन्न लागेको हो । नेपालले आयोजनाबाट १९८ मेगावाट बिजुली सित्तैमा पाउने छ । आगामी २५ वर्षका लागि एसजेभीएनले अरुणको विद्युत् उत्पादन अनुमतिपत्र (लाइसेन्स) पाउनेछ । यो आयोजना बनेपछि नेपालले निःशुल्क बिजुली, करलगायतबाट २५ वर्षमा ३ खर्ब ४८ अर्ब रुपैयाँ लाभ पाउनेछ । आयोजना प्रभावित स्थानीयले ६ प्रतिशत (८० लाख कित्ता) सेयर पाउँदैछन् । प्रभावित ६ गाविसमा एसजेभीएनले निःशुल्क विद्युतीकरण गर्नेछ । अरुण तेस्रोबाट नेपालले वार्षिक ८६ करोड युनिट बिजुली सित्तैमा पाउनेछ । आयोजनाबाट वार्षिक ४ अर्ब १ करोड ९० लाख युनिट बिजुली उत्पादन हुने सतलजले तयार गरेको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर)ले देखाएको छ । प्रतिस्पर्धाबाट सबैभन्दा बढी बिजुली दिने प्रस्ताव गरेपछि सतलजले सन् २००८ मा यो आयोजना पाएको हो । आयोजना संखुवासभा र भोजपुर जिल्लाको सिमाना भएर बग्ने अरुण नदीमा पर्छ । बाँध नुम र पाथिभरा तथा विद्युत्गृह दिर्दिङ गाविसमा पर्छ । बाँधबाट विद्युत्गृहसम्म ११ किलोमिटर लामो सुरुङ खन्नु पर्नेछ । आयोजनाले जग्गा अधिग्रहण गरिसकेको छ भने हालसालै वनको जग्गा पनि उपयोग गर्न सरकारले स्वीकृति दिएको छ ।