विकासन्युज

प्रभु बैंकको सहयोगमा बुढानिलकण्ठस्थित वृक्षारोपण कार्यक्रम सम्पन्न

काठमाडौं । प्रभु बैंकको संयुक्त आयोजनामा बुढानिलकण्ठ नगरपालिकास्थित बाँसवारी देखि गणेशचोकसम्म मुल सडकको दायाँ बायाँ दुवै किनारामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । क्लिन एण्ड ग्रीन बुढानिलकण्ठ भन्ने नाराका साथ उक्त कार्यक्रकमको आयोजना गरिएको हो । उक्त वृक्षारोपण कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका नगर प्रमुख उद्धवप्रसाद खरेल र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले संयुक्त रुपमा वृक्षारोपण गरी कार्यक्रमको उद्धघाट्न गरेका थिए । कार्यक्रममा स्थानीय वडा प्रतिनिधिहरु, नगरपालिकाका कर्मचारीहरु, प्रभु बैंक लिमिटेडका कर्मचारीहरु तथा स्थानीय बासिन्दाहरुको बाक्लो उपस्थिति रहेको थियो । वृक्षारोपण कार्यक्रममा नगर प्रमुख उद्धव प्रसाद खरेलले वृक्षारोपण कार्यक्रमको लागि प्रभु बैंकले उपलब्ध गराएको सहयोगप्रति हार्दिकता पुर्वक आभार प्रकट गरेका थिए । वृक्षारोपणले सुन्दर एवं पर्यटकीय नगरी बुढानिलकण्ठको वातावरणलाई हरियाली बनाई पर्यावरण स्वच्छ राख्न थप सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न खालका सामाजिक सहयोग तथा सद्भावयुक्त कार्यक्रमहरुमा योगदान गर्दै आईरहेको र आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्वलाई प्राथमिकताका साथ निरन्तरता दिने बताएको छ ।

तीन हजार मेगावाट क्षमताको आयोजनामा अध्ययन सुरु, एक वर्षभित्रै सम्पन्न गर्ने

काठमाडौं । मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि सरकारले स्थापना गरेको विद्युत् उत्पादन कम्पनीले करिब तीन हजार मेगावाट क्षमताका आयोजनाको अध्ययन सुरु गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनराज पन्तले कम्पनीले फुकोट कर्णाली ४२६ मेगावाट, जगदुल्ला ३०७ मेगावाट, किमाथांका अरुण ४५० मेगावाट, भेरी एक जलाशय ६१७ मेगावाट, बेतन कर्णाली ६८८ मेगावाट र नलगाड ४१० मेगावाट क्षमताका आयोजनाको अध्ययन शुरु गरेको जानकारी दिए । ती आयोजनाको कूल क्षमता दुई हजार ८९८ मेगावाट रहेको छ । कम्पनीले अध्ययन सुरु गरेको अधिकांश आयोजना अर्धजलाशय प्रकृतिका रहेका छन् । साँझको समयमा बढी विद्युत् माग हुने भएकाले सोही समयमा नै सञ्चालन गर्नेगरी निर्माण ढाँचासमेत तय गरिएका ती आयोजना आगामी एक वर्षभित्रै द्रुर्तमार्गबाट अध्ययन सम्पन्न गर्ने लक्ष्य राखिएको छ । ती आयोजनामध्ये बेतन कर्णाली जलविद्युत् आयोजना कर्मचारी सञ्चय कोषले निर्माण गर्न लागेको आयोजना हो । कोषमा रकम सञ्चय गर्ने अधिकांश कर्मचारीको लगानी रहनेछ । कोषले आर्थिक वर्ष २०७३/७४ मा गरेको मुनाफा एक अर्ब ५१ करोड रुपैयाँ रकम सो आयोजनामा लगानीका लागि जम्मा भइसकेको छ । आगामी छ वर्षभित्र सो आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । कोषका प्रमुख प्रशासक कृष्णप्रसाद आचार्यले जलविद्युत् उत्पादन कम्पनीले प्राविधिक अध्ययन गरिरहेको र अन्य काम भने कोषले आफै गरिरहेको जानकारी दिए । यस्तै फुकोट कर्णाली निजामती कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, सञ्चयकोषमा रकम सञ्चय गर्ने कर्मचारीको लगानीमा निर्माण हुन लागेको आयोजना हो । आगामी पाँच वर्षभित्र आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यस्तै नलसिंहगाडबाट नाम परिवर्तन गरी नलगाड नामाकरण गरिएको ४१० मेगावाट क्षमताको आयोजनाको चालु आवभित्र विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पार्ने र निर्माण सुरु गर्ने लक्ष्य कम्पनीले राखेको छ । जाजरकोटमा आयोजना स्थल रहेको नलगाड विकास समितिबाट कम्पनी मातहत आइसकेको छ । सरकारले आगामी सात वर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ परियोजना अगाडि बढाएको सन्दर्भमा कम्पनीबाट मात्रै करिब पाँच हजार जलाशय र अर्धजलाशय ढाँचाका आयोजना निर्माण गर्ने लक्ष्य राखिएको प्रमुख कार्यकारी अधिकृत पन्तले जानकारी दिए । कम्पनीमा ऊर्जा मन्त्रालय २० प्रतिशत, अर्थ र कानुन मन्त्रालयको पाँच÷पाँच प्रतिशत, नेपाल विद्युत् प्राधिकरण, कर्मचारी सञ्चय कोषको १०÷१० प्रतिशत, नागरिक लगानी कोषको पाँच प्रतिशत, जलविद्युत् लगानी तथा विकास कम्पनी चार प्रतिशत, नेपाल दूरसञ्चार कम्पनी १० प्रतिशत, राष्ट्रिय बिमा संस्थान दुई प्रतिशत, आम नेपाली नागरिकको १७ प्रतिशत, आयोजना प्रभावित क्षेत्रका लागि १० प्रतिशत र अति सीमान्तकृत समुदायका लागि दुई प्रतिशत सेयर रहने गरी संरचना तय गरिएको छ । रकम लगानी गर्न नसक्नेले आयोजनामा श्रम गरेर पनि लगानी गर्न सक्नेगरी शेयर संरचना तय गरिएको र त्यसले आर्थिकरुपमा विपन्नलाई समेत जलविद्युत् आयोजनाको मालिक बनाउने कम्पनीले लक्ष्य राखेको प्रमुख कार्यकारी अधिकृत पन्तको भनाइ छ । रासस

दसैंको मुखमा यातायात व्यवसायीको दादागिरी, भाडा बढाउन माग, अग्रीम टिकट बुकिङ अन्यौलमा

काठमाडौं । दसैंको मुखमा यातायात व्यवसायीले भाडा बढाउनका लागि सरकारसँग बार्गेनिङ गरेका छन् । भाडादर वृद्धि लगायत माग राख्दै व्यवसायीले टिकट बुकिङ नखुलाउने सरकारलाई चेतावनी दिएका छन् । व्यवसायीको बार्गेनिङका कारण आउदो दसैंका लागि बसको टिकट बुकिङ खुल्ने विषय अन्यौलमा परेको छ । दसैंको मुखमा यातायात व्यवसायीले भाडादर बढाउनुपर्ने र छतमा सामान राख्न दिनुपर्ने सरकारसँग माग राखेका छन् । दसैं आउन करिब एक महिना मात्र बाकी रहँदा पनि अग्रीम बुकिङको कुनै टुंगो लागेको छैन । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष डोलनाथ खनालका अनुसार सरकारले भाडादर बढाउन नदिएपछि टिकट बुकिङ खोल्ने टुंगो नलागेको हो । यातायात व्यवस्था विभागले व्यवसायीका माग पुरा नगरेकाले टिकट बुकिङको समय नतोकिएको उनले बताए । ‘२०५७ सालदेखि भाडा समायोजन गरिएको छैन, जसले गर्दा व्यवसायीहरु मारमा छन् ,’ उनले भने, ‘गत असारमा विभागले एक महिनामा भाडादर समायोजन गर्ने बताएको थियो । तर दुई महिना बितिसक्दा पनि सरकारले चासो दिएको छैन ।’ सरकारले बसको छतमा सामान राख्न दिनुपर्ने व्यवसायीको माग छ । दसैंमा काठमाडौंबाट बाहिरिने यात्रुको चापका कारण सामान छतमा राख्न दिनुपर्ने माग रहेको खनालले बताए । उनले भने, ‘बसभित्र यात्रुको चाप बढी हुन्छ सामान छतमा नराखी कसरी लान सकिन्छ ?’ देशका सबै अञ्चलहरुबाट जाँचपासको सुविधा दिनुपर्ने उनीहरुको माग छ ।  हाल काठमाडौं छोएर जाने सम्पूर्ण सवारीसाधनलाई एकै ठाँउबाट मात्र जाँचपासको सुविधा दिइएको छ । अघिल्लो वर्ष घटस्थापनाको १५ दिन अगाडीदेखि राजधानीबाट बाहिरिनेका लागि बसको अग्रिम टिकट बुकिङ खुलेको थियो । दसैंमा उपत्यकाबाट ७० प्रतिशत मानिसहरु काठमाडौं बाहिरिने गरेको उनले बताए । तर फुलपातीदेखि अष्टमीसम्म दैनिक तीन हजारका दरले यात्रुवाहक बस काठमाडौंबाट वाहिर जान्छन् । यातायात व्यवसायीले छतमा सामान राख्न पाउनुपर्ने, र देशभरी जाँचपासको सुविधा दिनुपर्ने लगायतका  एको भन्दै यातायात व्यवसायीले दसैंका लागि अग्रीम टिकट बुकिङ खोल्ने विषय अन्यौलमा परेको छ । त्यसै गरी सरकारले कुनैपनि मागको सम्बोधन नगरेकाले दसैंका लागि नयाँ गाडी नथप्ने पनि खनालले बताए । उनले भने, ‘सरकारले हाम्रो माग पुरा नगरेसम्म दसैंका लागि हाम्रो कुनै पनि योजना अगाडी बढ्दैन ।’

अब दसैं बजारमा घ्यू, पनिर, आलु र प्याजमा पनि छुट

काठमाडौं । सरकारले चाडपर्वको अवसरमा सञ्चालन गर्ने सुपथ मूल्य पसलमा घिउ र पनिरमा पनि छुट दिने भएको छ । आईतबार आपूर्तिमन्त्री शिवकुमार मण्डलको उपस्थितीमा बसेको सुपथ मूल्य पसल सञ्चालन सम्बन्धि सरोकारवालाहरुको बैठकले यस्ताे निर्णय गरेको हो । बैठकले दुग्ध विकास संस्थानले उत्पादन गर्ने घ्यू र पनिरमा १० रुपैयाँ छुट दिने निर्णय गरेको छ । उक्त छुट चाडपर्वमा सञ्चालन हुने सुपथ मूल्य पसलहरुमा दिईने छ । त्यसैगरी बैठकले नेपाल खाद्य संस्थान र साल्ट ट्रेडिङ्ग ले सञ्चालन गर्ने सुपथ मूल्य पसलहरुमा आलु र प्याज लगायतका तरकारी पनि सहुलियतमा उपलब्ध गराउने निर्णय गरेको छ । बजारमा खुद्रा मूल्य भन्दा सस्तोमा आलु र प्याज उपलब्ध गराउने नेपाल फलफूल तथा तरकारी बजार महासंघका अध्यक्ष खोम प्रसाद घिमीरेले बताए । ‘होलसेल मूल्यमा ढुवानी भाडा जोडेर थोरै मात्र नाफामा विक्री गर्ने व्यवस्था गरीने छ’ उनले भने ‘लसुन, अदुवा, खुर्सानी लगायतका तरकारी पनि उक्त बजारमा राख्ने प्रयास गर्ने छौँ ।’ मछामासु व्यवसायीले पनि चाडवाडमा माछामासु पसल सफा सुग्घर राख्ने र सहज तरीकाले उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् । छलफल गरेर सकेसम्म चाडवाड विशेष छुट दिने व्यवसायीले प्रतिवद्धता जनाएका छन् । शुद्धतालाई ध्यान दिन आपूर्तिमन्त्रीको निर्देशन आपूर्तिमन्त्री शिवकुमार मण्डलले दैनिक उपभोग्य वस्तुको शुद्धतालाई ध्यान दिन सरोकारवालालाई निर्देशन दिएका छन् । आपूर्ति मन्त्रालयमा भएको सुपथ मूल्य सम्बन्धि बैठकमा मन्त्री मण्डलले मन्त्रालय अन्तर्गतका विभाग, कृषि तथा पशुपंक्षि विकास मन्त्रालय अन्तर्गतका विभाग र उपभोक्ता अधिकारकर्मी र व्यावसायीहरलाई यस्तो निर्देशन दिएका हुन् । ‘अहिले अत्यधिक नाफा खाएर उपभोक्तालाई समस्या परेको छ तर अव होलसेलरले ७ देखि १० प्रतिशत सम्म नाफा खाने र खुद्रा व्यापारीले २० प्रतिशत नाफा खाएर विक्री गर्दा उपभोक्ताहरु लाभान्वित हुने अवस्था आउँछ ’ उनले भने । मन्त्री मण्डलले उपभोक्ताले अस्वस्थ खाने कुरा खाने अभ्यास बढेकोले त्यस्तो वानी परीवर्तन गर्नुपर्ने बताए । ‘बधशाला व्यवस्थीत गर्न र माछामासु र दुधमा हुने शुद्धतालाई विशेषगरी ध्यान दिनुपर्ने छ’ उनले भने ‘हाम्रो संस्कृतिले केही केही अस्वस्थ खाना खाने अभ्यास छ, हामीले त्यस्तो अभ्यास परीवर्ततन गर्न जरुरी छ ।’ मन्त्री मण्डलले खाद्यबस्तुमा आत्मनिर्भरताका लागि पनि ध्यान दिनुपर्ने उनले बताए ।  

दशै तिहारको अवसरमा जेनरल मार्केटिङ्गले ल्यायो नयाँ योजना, खरिदमा डिस्काउन्टका साथै नगद पुरस्कार

काठमाडौं । नेपालको लागि हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रा.लीले “ यो दशै र तिहारमा भाग्य मनी भए” नामक नयाँ योजना ल्याएको छ । मार्केटिङ्गले नेपालीहरुको महान चाड बडा दशै र तिहार २०७४को उपलक्ष्यमा उक्त योजना ल्याएको हो । यस योजना अन्र्तगत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले ६ हजार रुपैयाँ पक्का डिस्काउन्ट पाउने छन् । साथै, स्क्रयाच कार्ड मार्फत १ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म पाउन सक्ने र साप्ताहिक बम्पर लक्की ड्र उपहार स्वरुप एक जनाले १ लाख रुपैयाँ नगद पाउने कम्पनीले जनाएको छ ।

नयाँ स्थानमा विद्युत् उत्पादन सम्भाव्यता अध्ययन गरिने

सुर्खेत । ऊर्जामन्त्री महेन्द्र शाहीले ६ नं प्रदेश विद्युत्को भन्डार भएको बताएका छन् । नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय आज उद्घाटन गर्दै ऊर्जामन्त्री शाहीले ऊर्जाको विकास गर्न कर्णाली र भेरी करिडोरलाई प्राथमिकतामा राखिएको तथा ६ नं प्रदेशका नयाँ स्थानमा विद्युत् उत्पादन गर्न सम्भाव्यता अध्ययनलाई प्राथमिकतामा राखिएको जानकारी दिए । मन्त्री शाहीसहित मन्त्रालयका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको टोली कर्णाली र भेरी करिडोरको भम्रणमा छ । आज जाजरकोटमा ३३ केभी विद्युत् प्रसारण लाइनको औपचारिक उद्घाटन जाजरकोट सदरमुकाम हुँदैछ । रासस

मञ्जुश्री फाईनान्सको एघारौँ शाखा वीरगञ्ज

काठमाडौं । मञ्जुश्री फाईनान्स लिमिटेडले आफ्नो एघारौ शाखा कार्यालय पर्सा जिल्लाको वीरगञ्जमा सञ्चालन गरेको छ । फाईनान्सका सञ्चालक समितिका सदस्यहरु कमलकुमार वेगानी तथा चिन्तामणि गौतमले संंयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरेका छन् । काठमाडौंको नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको यस फाईनान्सको यस अघि नारायणगढ, न्युरोड-काठमाडौं, बुटवल, धनगढी, इटहरीे, बिराटनगर, नेपालगञ्ज, धरान तथा पोखरामा शाखाहरु रहेका छन् । हाल कम्पनीको चुक्ता पूँजी ७२ करोड ४३ लाख रुपैयाँ रहेको छ । फाईनान्सले हालसम्म निक्षेप ४ अर्ब ४६ करोड रुपैयाँ तथा कर्जा तर्फ ३ अर्ब ८९ करोड रुपैयाँ परिचालन गरेको छ । यसका साथै फाईनान्सले विप्रेशण, एटीएमसेवा लगायत निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिँदै आएको छ ।

नेप्सेमा ८१ करोडको सेयर कारोबार, पाँच कम्पनीका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी

काठमाडौं । आइतबार नेपाल स्टक एक्चेञ्ज(नेप्से)मा ८१ करोड ५१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । बजारमा १६५ कम्पनीको २७ लाख २६ हजार कित्ता सेयर किनबेच भएको छ । सो दिन नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि भएकोे छ । नेप्से पनि ४ दशमलब ५१ अंकले उकालो लागेर १६२२ अंकमा पुगेको छ । सो दिन सबैभन्दा बढी नबिल बैंकको सेयर कारोबार भएको छ । एकै दिन बैंकको ५ करोड ५२ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको हो । बैंकले आफ्ना लगानीकर्तालाई ३० प्रतिशत बोनस र १८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेपछि बैंकको सेयर कारोबार बढी भएको हो । त्यस्तै, बजारमा ५ कम्पनीका लागानीकर्ताले ९ प्रतिशत बढी कमाएका छन् । सिर्जना फाइनान्स, हिमालयन पावर पार्टनर र स्वरोजगार लघुवित्त विकास बैंकका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । त्यसैगरी, सुमीट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको ९.९७ र हिमालयन डिष्टीलरीको ९.९३ प्रतिशतले सेयर मूल्य बढेको छ । बजारमा उत्पादनमूलक समूहको परिसूचक ३२ अंकले बढेको छ । त्यस्तै, विकास बैंक र हाइड्रो समूहको परिसूचक क्रमशः१२ र ११ अंकले उकालो लागेका छन् । उता बीमा, फाइनान्स र अन्य समूहको परिसूचक क्रमशः ३४, १ र ६ अंकले ओरालो लागेका छन् ।