सांसद र सचिवलाई थर्काएपछि पेट्रोलियम व्यवसायीको क्षतिपुर्ति बढ्यो,पेट्रोलमा १० र डिजेलमा ३ लिटर
काठमाडौं । पेट्रोलियम व्यवसायीहरुले सांसद र आपुर्ति मन्त्रालयका सचिवलाई थर्काएपछि नेपाल आयल निगमले व्यवसायीको क्षतिपुर्ति बढाएको छ । हालसम्म ४ हजार लिटर पेट्रोलमा ३५ लिटर र ४ हजार डिजेलमा २५ लिटर प्राबिधिक नोक्सानीको क्षतिपुर्ति दिँदै आएको निगमले क्रमशः १० र ३ लिटर क्षतिपूर्ति थपिदिएको हो । ‘उपभोक्तालाई भार नपर्ने गरि पेट्रोलमा १० र डिजेलमा ३ लिटर लस थपिदिने निर्णय गरेका छौं’, नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्काले विकासन्युजसँग भने । बिहिबार साँझ बसेको संसदको उपभोक्ता हित सम्बन्ध उप समितिमा पेट्रोलियम डिलर्स एसोसियसन र ढुवानी व्यवसायीले सांसद र आपुर्ति सचिवलाई थर्काएका थिए । ढुवानी व्यवसायी महासंघका महासचिव विश्व अर्यालले क्षतिपुर्ति वृद्धि नगरेसम्म प्रधानमन्त्रीले भनेपनि इन्धन नउठाउने घोषणा गरेका थिए । उप समितिले शुक्रबारदेखि इन्धन उठाउन व्यवसायीलाई आग्रह गरेको थियो भने १५ दिनभित्र दिर्घकालिन समाधानको बाटो निकाल्न आपुर्ति मन्त्रालयलाई निर्देशन दिएको थियो । तर व्यवसायीले समितिमै निर्देशन नमान्ने धम्की दिएका थिए । शुक्रबार राति बसेको नेपाल आयल निगम सञ्चालक समिति बैठकले पेट्रोलमा १० लिटर र डिजेलमा ३ लिटर क्षतिपुर्ति थपिदिने निर्णय गरेको हो । नापतौल तथा गुणस्तर विभागका महानिर्देशक विश्वबाबु पुडासैनी नेतृत्वको प्राबिधिक टोलीले पेट्रोलमा क्षतिपुर्ति बढाउनुपर्ने तर डिजेलमा नपर्ने रिपोर्ट दिएको थियो । निगमका प्राबिधिक दिपक बरालको नेतृत्वमा गठन भएको अर्काे समितिले तयार पारेको प्रतिवेदनले क्षतिपुर्ति बढाउनुपर्ने निष्कर्ष निकालेको थियो तर त्यसमा नापतौल विभागका प्रतिनीधी तिलक केसीले असहमति जनाउँदै हस्ताक्षर गरेका छैनन् ।
आन्तरिक वायुसेवाबीच चर्को प्रतिस्पर्धा सुरु, प्राइस वारले हवाई यात्रा सस्तो हुन सक्ने
काठमाडौं । नेपालका आन्तरिक वायुसेवा कम्पनीबीच थप जहाज भित्र्याउँने र बजार बढाउने आक्रामक रणनीतिका साथ सेवा विस्तार हुन थालेको छ । नियमति उडानमा एक दशकदेखि यति र बुद्ध एयरको मात्रै उल्लेख्य बजार हिस्सा रहेको भएपनि अब प्रतिस्पर्धामा नयाँ कम्पनी आउने भएका छन् । पछिल्लो ५ वर्षदेखि सिम्रिक एयरलाइन्स भित्रिएपछि यसले बजारमा हिस्सा बढाउन थालेको हो । गोमा र सौर्य एयरलले सेवा दिन थालेपछि बजार हिस्सा धेरै भएका कम्पनीलाई थप थक्का थाल्यो भने शुक्रबारबाटै सेवा सुरु गरेको श्री एयरलान्सको बजार रणनीतिले थप प्रतिस्पर्धी बनाउने भएको छ ।वायुसेवा कम्पनीबीच हुने प्रतिस्पर्धाले ग्राहकलाई सहजता प्रदान गर्ने वायुसेवा संचालक संघका सीईओ कमलेश वर्माले बताएका छन् । उनका अनुसार बायुसेवा कम्पनी थप हुनु, प्रतिस्पर्धा हुनु र बजार विस्तारले सेवाग्राहीले लाभ पाउँछन् । अब आन्तरिक वायुसेवाले दिने सस्तो सेवा ग्राहकको प्राथमिकतामा पर्ने भएकले अब टिकटमा प्रतिस्पर्धा हुने छ । आन्तरिक सेवा प्रदायक कम्पनीबीच यात्रु क्षमता बढी भएका ठूला जहाज भित्राउने होड चलेको पनि देखिन्छ । आन्तरिकमा ठूला जहाज भित्र्याउँने काम बुद्ध एयरबाट भएको हो । भर्खर भित्रीएको श्रीको पनि ३ वटै जहाजले ठूलाको क्याटगोरीमा रहेका छन् । ठूला जहाजमार्फत उडान भर्दा धेरै यात्रु बोक्न सक्ने र सञ्चालन खर्च कम हुने भएकोले सबै एयरलाइन्सहरू ठूला विमानमा केन्द्रित भएको श्री एयरलाइन्सका बजार कर्पोरेट निर्देशक अनिल मानन्धरको भनाइ छ । साना जहाजमार्फत उडान भर्दा सञ्चालन खर्च धेरै पर्दछ र यात्रुसमेत कम बोक्ने भएकोले नोक्सान पर्ने उनको बुझाई छ । त्यसैले हामीले सुरुमै ठूला जहाज रोजेका हौ, उनले भने । श्रीको योजना आन्तरिकसँगै अन्तर्राष्ट्रिय भएको पनि उनले जानकारी दिए । आन्तरिक उडान सुरु गर्दै अब हामी तुरुन्तै अन्तर्राष्ट्रियको पनि तयारी गर्ने जानकरी श्री एयरलाइन्सले दिएको छ । यो एयरलाइन्सले ५० सिट क्षमताको बम्बार्डियर सिआरजे–२०० सिरिजको जहाजमार्फत सोही कम्पनीको ७० सिटक् षमतको ईआरजे जहाज ल्याएर उडान सुरु गरको छ । बुद्धसँग २ वटा ४२ सिटर, ३ वटा ४७ सिटर र बाँकी ५ वटा ७२ सिट क्षमतका ठूला जहाज भैसकेको छ । करिब एक दशकसम्म आन्तरिकमा ठूला जहाजमार्फत उडान गर्ने एयरलाइन्स कम्पनी बुद्ध एयरको मात्रै रहे पनि अहिले भने सरकारी वायुसेवादेखि निजी सम्मले ठूला जहाजमार्फत सेवा दिइरहेका छन् । हाल नेपालमा एक दर्जन कम्पनीका साना र ठूला गरी ४ दर्जन विमानहरू निममित उडानमा रहेका छन् । यी जहाजमा डेड दर्जन जहाज भने ठूला र सुगम क्षेत्रमा उडान गर्ने क्षमताको रहेका छन् । पछिल्लो सयम यतिले पनि एउटा एटीआर ७२ जहाज ल्याएको छ । सरकारी वायुसेवा कम्पनी नेपाल एयरलाइन्सले पनि आन्तरिक उडानमा प्रतिस्पर्धाकै लागि धेरै क्षमताको जहाज भित्र्याएको छ । यो वायुसेवासँग पनि ५८ सिट क्षमतको २ वटा एमए ६० रहेको छ । यो वायुसेवाले दिने सेवा सुविधाले आन्तरिकलाई आफ्नो रणनीत बनाउन सहयोग पुग्ने गरेको छ । कुन वायुसेवासँग कति वटा ठूला जहाज ? विमान जहाज संख्या सिट क्षमता बुद्ध एयर एटीआर–४२/७२ ९ ४२ / ७२ यति एयरलाइन्स एटीआर–७२ १ ७२ सौर्य एयरलाइन्स सीआरजे–२०० २ ५० श्री एयरलाइन्स सीआरजे–२००/७०० ३ ५० /७० नेपाल एयरलाइन्स एमए–६० २ ५८ स्रोतः सम्वन्धित वायुसेवा कम्पनी ।
रिलायन्स फाइनान्सले कमायो १० करोड नाफा
काठमाडौं । रिलायन्स फाइनान्सले गत आवमा १० करोड ९८ लाख रुपैयाँ खुँद नाफा कमाएको छ । यो फाइनान्सको नाफा अघिल्लो वर्षको तुलनामा २ करोड ३३ लाख रुपैयाँले बढी हो । अघिल्लो वर्ष यसको नाफा ८ करोड ६५ लाख रुपैयाँ थियो । यो फाइनान्सले गत आवसम्ममा ३ अर्ब २३ करोड रुपैयाँ निक्षेप संकलन गरेर २ अर्ब ६५ करोड रुपैयाँ कर्जा सापटी दिएको छ । यसको सीसीडी रेसियो ६७ दशमलव ७४ प्रतिशत छ । यो फाइनान्सको चुक्ता पुँजी ५१ करोड २५ लाख रुपैयाँ छ । यसको जगेडा कोषमा १६ करोड ९९ लाख रुपैयाँ छ । यो फाइनान्सको खराव कर्जा १ दशमवल ६५ प्रतिशत रहेको छ । यो फाइनान्सको प्रति सेयर आम्दानी २१ रुपैयाँ ४४ पैसा छ । यसको प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ६१ पैसा छ ।
महालक्ष्मी विकास बैंकको नाफा ९४ प्रतिशतले बढ्यो
काठमाडौं । महालक्ष्मी विसका बैंकको नाफा ९४ दशमलब ४४ प्रतिशतले बढेको छ । बैंकले गत आर्थिक बर्षको चौथो त्रैमासिक अवधीमा आफ्नो नाफा ३४ करोडले बढाएर ७० करोड पुर्याएको हो । अघिल्लो आवको चौथो त्रैमासिक अवधीमा बैंकले जम्मा ३६ करोड नफा कमाउन सफल भएको थियो । यति डेभलपमेन्ट बैंकसँग मर्ज भएपछि बैंकको नाफा पनि ह्वात्तै बढेको देखिन्छ । महालक्ष्मीले २५ अर्ब १३ करोड निक्षेप संकलन गरेर २० अर्ब ७१ करोड कर्जा प्रवाह गरेको छ । बैंकले २ अर्ब ७७ करोड ब्याज आम्दानी गरेको देखिन्छ भने एक अर्ब ५२ करोड ब्याज खर्च गरेको छ । बैंकको नाफामा ५५ करोड रुपैंयाँ राइट ब्याकबाट प्राप्त भएको छ । बैंकको खराब कर्जा ४ दशमलब १४ प्रतिशतबाट घटेर ३ दशमलब ६३ प्रतिशतमा आइपुगेको छ । बैंकको प्रति सेयर आम्दानी २६ रुपैंयाँ ९२ पैसा छ भने प्रति सेयर नेटवर्थ १४० रुपैंयाँ ९० पैसा रहेको छ । २ अर्ब ६३ करोड चुक्ता पुँजी रहेको महालक्ष्मी विकास बैंकको जगेडा कोषमा एक अर्ब ७ करोड रुपैंयाँ रहेको छ । चुक्ता पुँजी, बजार सञ्जाल, प्रडक्ट, निक्षेप र नाफा लगायतका सूचांकका आधारमा महालक्ष्मी विकास बैंकले अब्बल संस्थाका रुपमा स्थापित हुँदै गएको छ ।
बिमस्टेक बैठकमा ‘पर्वतीय अर्थतन्त्र’को प्रस्ताव, ग्रीड कनेक्सन सम्झौतामा छिटो हस्ताक्षर गर्ने
काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) बैठकमा नेपालले ‘पर्वतीय अर्थतन्त्र’ (माउण्टेन इकोनोमी) को प्रस्ताव राखेको छ । बिमस्टेकको मन्त्रिस्तरीय बैठकअघि हुने उक्त संगठनको सदस्य मुलुकका विदेश/परराष्ट्र/बाह्य मामिला मन्त्रालयका उच्च अधिकारी (एसओएम) को १८औँ बैठकमा नेपालले सो प्रस्ताव राखेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उक्त बैठकपछि मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र सचिव शंकरदास वैरागीले एसओएम बैठक सबै सदस्य राष्ट्रको सहभागितामा सरलतापूर्वक सम्पन्न भएको बताए । उनले व्यापार, लगानी, प्रविधिलगायत विषयको क्षेत्रीय सहायता सन्दर्भमा पुनःविचार गर्दै छिटोभन्दा छिटो बिमस्टेक फ्रि ट्रेड एरियालाई टुंग्याउने सहमति भएको जानकारी दिए । ऊर्जासँग सम्बन्धित ग्रीड कनेक्सन सम्झौतामा छिटो हस्ताक्षर गर्ने र प्रविधि हस्तान्तरण टुंग्याउने सहमति भएको उल्लेख गर्दै उहाँले बैठकमा नेपालले माउण्टेन इकोनोमीको प्रस्ताव गरेको र त्यसबारेमा छलफल गर्न बनाइएको विज्ञ समूहको प्रस्ताव बैठकले स्वीकार गरेको सचिव वैरागीले बताए । सम्मेलनपछि नेपालले मानवबेचबिखन, लागुऔषध कारोवार नियन्त्रण तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा क्षेत्रीय सम्मेनलन आयोजना गर्ने भएको छ । बैठकमा बिमस्टेकलाई अर्थपूर्ण बनाउने सम्बन्धमा सदस्य राष्ट्रमा भएका विभिन्न कार्यक्रमका बारेमा समीक्षा गरिएको उनले बताए । बिमस्टेक व्यापार, लगानी, उद्योग, प्रविधि, मानव संसाधन, पर्यटन, कृषि, पूर्वाधार र यातायातजस्ता क्षेत्रमा सहायता परियोजना कार्यान्वयन गरी सदस्य मुलुकको द्रुत आर्थिक विकासका निम्ति २० वर्षअघि स्थापना भएको हो । एसओएम बैठकमा भारतको बाह्य मामिला मन्त्रालयका सचिव प्रीति शरण, भुटानको विदेश मन्त्रालयका सचिव सोनाम छोङ, बंगलादेशका विदेश सचिव मोहम्मद शहिदुल हक, म्यान्माको परराष्ट्र मन्त्रालयका अन्तर्राष्ट्रिय संगठन तथा आर्थिक विभागका महानिर्देशक क्वा मो तुन, श्रीलंकाका विदेश मन्त्रालयका अतिरिक्त सचिव ग्रेस आशिर्वाथन र थाइल्याण्डको विदेश मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक मामिला विभागका नायब महानिर्देशक इकसिरी पिन्टारुचीको सहभागिता थियो । रासस
बैंक अफ काठमाण्डूको नाफा ८९ प्रतिशतले वृद्धि
काठमाडौं । बैंक अफ काठमाण्डुको नाफा ८९ दशमलब २३ प्रतिशतले बढेको छ । गत आवको भन्दा ५८ करोडले नाफा वृद्धि गर्दै बैंक अर्ब कमाउने सूचिमा समेत प्रवेश गरेको छ । बैंक अफ काठमाण्डुले गत आवको चौथो त्रैमासिक अवधीमा एक अर्ब २३ करोड नाफा आर्जन गरेको हो । जबकी बैंकले अघिल्लो आवको सोही अवधीमा जम्मा ६५ करोड मात्रै नाफा कमाउन सफल भएको थियो । बैंकको नाफामा ब्याज आम्दानी कै हिस्सा अधिक रहेको देखिन्छ । बैंकले ६ अर्ब ११ करोड ब्याज आम्दानी गरेर ३ अर्ब ५५ करोड ब्याज खर्च गरेको छ । बैंकले १७ करोड रुपैंयाँ राइट ब्याकबाट आम्दानी गरेको छ । २ दशमलब ५१ प्रतिशतमा रहेको खराब कर्जालाई पनि बैंकले १ दशमलब ४६ प्रतिशतमा झारेको छ । बैंक अफ काठमाण्डुको प्रति सेयर आम्दानी २२ दशमलब शुन्य १ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १५८ रुपैंयाँ ९८ पैसा छ । ५ अर्ब ६२ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ३२ करोड रुपैंयाँ रहेको छ ।
नेपाल एसबिआई बैंकको नाफा डेढ अर्ब नाघ्यो
काठमाडौं । नेपाल एसबिआई बैंकको नाफा डेढ अर्ब नाघेको छ । अपरिस्कृत वित्तिय विवरण अनुसार बैंकले गत आर्थिक बर्षमा एक अर्ब ५२ करोड नाफा कमाउन सफल भएको हो । बैंकले अघिल्लो आर्थिक बर्षको सोही अवधीमा एक अर्ब ३३ करोड नाफा कमाएको थियो । ६ अर्ब ९२ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ५२ करोड रुपैंयाँ रहेको छ । बैंकले चौथो त्रैमासिकसम्ममा ८१ अर्ब ५६ करोेड निक्षेप संकलन गरेर ६३ अर्ब कर्जा प्रवाह गरेको देखिन्छ । नेपाल एसबिआईले ५ अर्ब ९१ करोड ब्याज आम्दानी गरेको छ भने २ अर्ब ९८ करोड ब्याज खर्च गरेको छ । बैंकको प्रति सेयर आम्दानी ३० रुपैंयाँ ६२ पैसा छ भने प्रति सेयर नेटवर्थ १५० रुपैंयाँ ६८ पैसा रहेको छ । बैंकको खराब कर्जा जम्मा शुन्य दशमलब १० प्रतिशत मात्रै देखिन्छ ।
मेगा बैंकले बढायो साढे ४३ प्रतिशतले नाफा, बैंकले कमायो ७९ करोड
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले गत वर्ष साढे ४३ प्रतिशतले नाफा बढाउन सफल भएको छ । यो बैंकले गत वर्ष अघि ७९ करोड १४ लाख रुपैयाँ नाफा कमाएको छ । यस्तो नाफा अघिल्लो वर्ष ५५ करोड १० लाख रुपैयाँ थियो । यो नाफा २४ करोड रुपैयाँले बढी हो । यो बैंकले गत असार मसान्तसम्ममा ३८ अर्ब ९३ करोड रुपैयाँ निक्षेप संकलन गरेर अर्ब ३४ अर्ब ५९ करोड रुपैयाँ कर्जा सापटी दिएको छ । यो बैंकले गरेको लगानी ४ अर्ब ४८ करोड रुपैयाँ छ । यसको सीसीडी रेसियो ७० दशमवल ०५ प्रतिशत रहेको छ । यो बैंकको गत असार मसान्तसम्मको चुक्ता पुँजी ४ अर्ब ५८ करोड रुपैयाँ छ । यसको जगेडा कोषमा १ अर्ब २८ करोेड रुपैयाँ छ भने यसको लगानी ४ अर्ब ४८ करोड रुपैयाँ छ । यो बैंकको प्रति सेयर आम्दानी १७ रुपैयाँ २७ पैसा छ । यसको खराब कर्जा १ दशमलव ३७ प्रतिशत छ । यो बैंकको नेटवर्थ प्रति सेयर १२७ रुपैयाँ ९७ पैसा रहेको पनि उल्लेख छ ।