विकासन्युज

नेपाल बङ्गलादेश बैंकको नाफामा झिनो अंकले बृद्धि, एक अर्ब २० करोड नाफा कमायो

काठमाडौं । नेपाल बङ्गलादेश बैंकको नाफामा गत वर्ष झिनो अंकमा मात्रै बृद्धि भएको छ । यो बैंकले गरेको नाफा १ अर्ब २० करोड भएपनि यो नाफा अघिल्लो वर्षको तुलनामा २० लाख ८४ हजार रुपैयाँ मात्रै बढी हो । यो नाफा अघिल्लो वर्षको तुलनामा गत आवमा शून्य दशमलव १७ प्रतिशत मात्रै रहेको छ । यो बैंकको नाफा अघिल्लो वर्ष १ अर्ब १९ करोड ८२ लाख रुपैयाँ थियो । यो बैंकले गत असार मसान्तसम्ममा ४३ अर्ब ७१ करोड रुपैयाँ निक्षेप संकलन गरेर ३७ अर्ब ४६ करोड रुपैयाँ कर्जा सापटी दिएको छ । यो बैंकले गरेको लगानी ७ अर्ब ९९ करोड रुपैयाँ छ । यसको सीसीडी रेसियो ६९ दशमवल ३६ प्रतिशत रहेको छ । यो बैंकले गत असार मसान्तसम्मको चुक्ता पुँजी ७ अर्ब २१ करोड रुपैयाँ छ । यसको जगेडा कोषमा ३ अर्ब ४९ करोेड रुपैयाँ छ । यो बैंकको प्रति सेयर आम्दानी २८ रुपैयाँ छ । यसको खराब कर्जा शून्य दशमलव ७६ प्रतिशत छ । यो बैंकको नेटवर्थ प्रति सेयर १४८ रुपैयाँ रहेको पनि उल्लेख छ ।

कर्ण शाक्यकै वाटरफण्ड रिसोर्ट अनुमतिविनै निर्माण, अग्रज व्यवसायीबाटै कानूनको धज्जी

काठमाडौै । पर्यटकीय आकर्षण केन्द्र फेवातालको किनारस्थित सेदी भन्ने स्थानमा पर्यटन ब्यवसायी कर्ण शाक्यको पार्क भिलेज वाटर फन्ट रिसोर्ट अनुमतिबिनै बनाईएको खुलेको छ। शाक्यको सो कामविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको प्रतिउत्तर दिँदै पर्यटन उद्योग महाशाखाले त्यहाँ रिसोर्ट सञ्चालनका लागि सिफारिस नगरेको उल्लेख गरेको छ । ‘पर्यटन ऐन, २०३५ को दफा १० बमोजिम पार्क भिलेज वाटर फन्ट रिसोर्ट पर्यटकीय स्थलमा रिसोर्टका रपमाा दर्ता गर्न यस महाशाखाबाट सिफारिस गरिएको अभिलेख छैन,’ महाशाखाले २०६८ भदौ १ गते सर्वोच्च अदालतमा दिएको प्रतिउत्तरमा उल्लेख छ। अधिवक्ता खगेन्द्र सुवेदी र बालकृष्ण भण्डारीले २०६८ असारमा कर्ण शाक्य, प्रधानमन्त्री कार्यालय र पर्यटन उद्योग महाशाखा, कम्पनी रजिष्टार कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र पर्यटन कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए। नागरिक दैनिकबाट ।

अनशनका १३६ दिन, नागरिकको स्वास्थप्रति वेवास्था: सम्झौता ९ पटक, कार्यान्वयन शून्य

काठमाडौं । माग एउटै ‘गुणस्तरीय चिकित्सा शिक्षा र सेवा आम नेपालीको पहुँचमा पुगोस्।’ तर त्यत्तिका लागि प्रा।डा। गोविन्द केसी ११ पटक गरी एक सय ३६ दिन आमरण अनसन बसिसकेका छन्। २०६९ असार २१ गते बाबुराम भट्टराईनेतृत्वको सरकारका पालामा सुरु भएको उनको अनशन खिलराज रेग्मी, सुशील कोइराला, केपी ओली, पुष्पकमल दाहाल हुँदै शेरबहादुर देउवासम्म आइपुगेको छ। प्रमुख तीन दलदेखि न्यायालयका प्रमुखका हरेक सरकारका पालामा सम्झौता भए तर चाँडै उल्लंघन पनि गरिए।   पछिल्लो ११औं अनशन शुक्रबार १९ दिन पुगेको छ। माग पूरा हुने वातावरण अझै बनेको छैन। अनशनका श्रृंखलासँगै यसका दिनहरूसमेत बढ्दै गएका छन्। बुद्धिजीवीहरूले सरकार ‘थेत्तरो’ हुँदै गएको र त्यसको परिणामस्वरूप केसीको जीवन जोखिममा पुगेको बताउँछन्। अघिल्लो पटकको सत्याग्रहमा उनी २२ दिन अनशन बसेका थिए। डा।केसीको पहिलोदेखि चौथोसम्मको अनशनमा प्रमुख माग वरिष्ठताका आधारमा चिकित्साशास्त्र अध्ययन संस्थानमा डिन नियुक्ति गरियो। त्यसताका संस्थानमा राजनीतिक भागबण्डाका आधारमा डिनलगायत पदाधिकारी नियुक्त हुन्थे। उनको आन्दोलनकै कारण संस्थानमा डिन नियुक्ति वरिष्ठता र स्वच्छताका आधारमा गर्न थालियो। बिच–बिचमा उल्लंघन गरिँदा केसीको त्यो माग अझै कायमै छ। कान्तिपुर दैनिकबाट ।

राष्ट्रिय राजमार्ग नै धरापजस्ता, उच्च जोखिम मोलेर यात्रा गनुपर्ने बाध्यता

चितवन ।  जताततै खाल्डा अनि तिनमा टनाटन पानी। सडक हो कि तलाउ, छुट्याउन मुस्किल छ। कालोपत्रे उप्किएर बगरझैं देखिन्छ। गाडीमा थोरै दूरी पार गर्न पनि घण्टौं लाग्छ। दुर्घटना जोखिम उत्तिकै छ। यो कुनै ग्रामीण सडकको वर्णन होइन, राजमार्गकै यस्तो हालत छ। पूर्वपश्चिम राजमार्ग र सहायक मार्ग कुनै ‘धराप’ भन्दा कम लाग्दैनन्। नवलपरासीस्थित मुख्य राजमार्ग र भित्री सडक हिलाम्मे छन्। व्यवस्थित ढल निकास नभएकाले वर्षामा सडक भत्किने गरेको छ। हिलोले यातायात अवरुद्ध भइरहन्छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने खण्डमा ठूल्ठूला खाल्डा छन्। पछिल्लो समय खाल्डाकै कारण दुर्घटना बढेको छ। यहाँ सामान्य वर्षामै दर्जनौं ठाउँमा पहिरो खस्छ। गैंडाकोट–रामपुर, भेडाबारी–बसेनी, दलदले–कोटथर, केउरेनी–बन्दीपुर, रजहर–बाहकोल, कावासोती–अर्खला हुँदै पाल्पा रामपुर, कावासोती–रकुवा, डण्डाख्पनौती, चोरमारा–रुचाङ, अरूणखोला–राँकाचुलीलगायत दुम्कीबास, बर्दघाट, सुनवलबाट उत्तरी पहाडी भेगका भित्री सडकमा आहाल जमेको छ। त्यसमाथि पहिरोको अवरोध उत्तिकै छ। बर्दघाट–त्रिवेणी, परासी–महेशपुर खण्डमा खाल्डाखुल्डीले पैदलयात्री र यातायात व्यवसायी मर्कामा छन्। सडक डिभिजन कार्यालय बुटवलका इन्जिनियर अमित बर्मा सामान्य वर्षामा समेत पटकपटक पहिरो झर्ने भएकाले सडक बिग्रँदै गएको बताउँछन्। पोखरी जत्रा खाडल सोमबार मध्याह्न वीरगन्जको बिर्ताबाट यात्रु बोकेर बाइपास सडक सिमरा विमानस्थल गइरहेका भ्यान चालक जगदीश साह संकटमा परे। मुख्य सडकमै ठूल्ठूला पोखरी थिए। ठूला गाडीलाई नै खाल्डा पार गर्न सकस देखिन्थ्यो। ‘बडेमानका पोखरी कसरी तर्ने होला रु’ साह चिन्ता गर्न थाले, ‘उता जहाज उड्ने बेला हुन लागिसक्यो, हामी वीरगन्जमै छौं।’ बाइपास हुँदै गुड्ने सवारीका हरेक चालकले अहिले यस्तै पीडा भोगिरहेका छन्। वीरगन्ज महानगरमा सवारी चाप घटाउन बनाइएको हो, बाइपास। तर, २ वर्षयता जीर्ण छ। नियमित मर्मत सम्भार छैन। नगवा चोकबाट बसपार्क नआउँदै, बसपार्क चोकको उत्तर र दक्षिण, भिस्वा होटल चोक र शुभलाभ पम्प गरी ५ ठाउँमा असाध्यै बिग्रिएको छ। साना–ठूला सबैजसो गाडी खाल्डोमा भासिने, बिग्रने गरेका छन्। त्रिभुवन राजपथको गण्डक चोकबाट सुरु भएर रजतजयन्ती चोकमा टुंगिने साढे ७ किमि लामो यो सडक विभागले २०५४ सालमा बनाएको हो। यहाँ दैनिक वीरगन्ज भन्सारबाट छुट्ने हजारभन्दा बढी मालवाहक सवारीसाधन गुड्छन्। ट्राफिक प्रहरीले मालवाहक तथा यात्रुवाहक सवारीसाधनलाई नगरको मुख्य सडक पस्न नदिने भएकाले चालकहरूलाई बाइपासको विकल्प छैन। सडकको दुरवस्था मकवानपुरको हेटौंडाबाट राजधानी प्रवेश गर्ने त्रिभुवन राजपथ, हेटौंडा–भीमफेदी–कुलेखानी–दक्षिणकाली र फाखेल–फर्पिङ सडकको अवस्था नाजुक छ। सवारीसाधन जोखिम मोलेर आउजाउ गर्छन्। मुग्लिन–नारायण खण्ड बिग्रिएपछि राजपथमा चाप बढेको छ। यसले गर्दा खाल्डाखुल्टी झन् बढदै छन्। विगतमा दैनिक मुस्किलले एक सयजति गाडी आउजाउ गर्ने यो सडकमा अहिले चौबीसै घण्टा ठूला सवारीसाधन चल्छन्। त्यस्तै हेटौंडाबाट दक्षिणकाली तथा फाखेल–फर्पिङ हुँदै राजधानी प्रवेश गर्ने वैकल्पिक मार्ग पनि सहज छैनन्। फर्पिङतर्फको बाटो फराकिलो बनाएर ओटासिल त गरिएको छ तर ठाउँठाउँमा पहिरो खसेको छ। ओटासिल उप्किएर ठूल्ठूला खाल्डा बनेका छन्। कुनै पनि बेला पहिरोले सवारी साधन पुर्ने जोखिम छ। दक्षिणकालीतर्फ विगतदेखि नै स्तरोन्नति र मर्मत चलिरहेको छ, अझै सकिएको छैन। पहिरो झरिरहन्छ। खाल्डाखुल्डी उत्तिकै छन्। गाडीका टायरै पुरिने गरी हिलो जमेको छ। जोखिम मोलेरै दैनिक झन्डै हजारवटा जति हलुका सवारीसाधन गुड्छन्। दोस्रो चरणको ओटासिल र मर्मत गर्न फर्पिङ तर्फको सडकमा मंगलबारदेखि भदौ मसान्तसम्मलाई अवागमन रोकिएको छ। जिल्ला समन्वय समितिबाट सञ्चालित ‘राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण’ अन्तर्गत ओटासिल गरी पहिरो पन्छाएर विभिन्न संरचना बनाउने तयारी छ। कान्तिपुर दैनिकबाट ।

कानुनविपरीत इन्धन आपूर्ति ठप्प पार्ने चेतावनी, सरकारले वेवास्था गरेको आरोप

काठमाडौं । पेट्रोलियम व्यवसायीले इन्धन आपूर्ति ठप्प पार्ने चेतावनी दिएका छन् । ग्यास व्यवसायीको छातासंगठन नेपाल एलपी ग्यास उद्योग संघले नेपाली नम्बर प्लेटका बुलेट परिचालनका विषयमा सरकारले कुनै चासो नदेखाएको भन्दै देशभर आपूर्ति ठप्प पार्ने चेतावनी दिएको हो । उता पम्प सञ्चालकको छातासंगठन नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनले पनि पेट्रोलियम पदार्थ बिक्री गर्दा हुने ‘प्राविधिक नोक्सानीु सरकारले समायानुकूल समायोजन नगरेको भन्दै मंगलबारदेखि पेट्रोल र डिजेलको बिक्री पूर्ण रूपमा ठप्प पार्ने चेतावनी दिएको छ । अत्यावश्यक वस्तुका रूपमा रहेको खाना पकाउने ग्यास र इन्धनको बिक्रीवितरणका सवालमा बन्दहडताल गर्न नपाइने व्यवस्था छ । तर ग्यास र पेट्रोलियम पदार्थ बिक्रेताले कानुनविपरीत आपूर्ति ठप्प पार्ने धम्की दिएका छन् । सरकारकै निर्देशनमा अर्बौं रुपैयाँ लगानी गरी भारतमा तयार पारिएका नेपाली नम्बर प्लेटका बुलेट परिचालनमा सरकारले सहयोग नगरेको व्यवसायीको भनाइ छ । भारतको इन्डो नेपाल ब्लक एलपीजी ग्यास ट्रान्सपोर्ट एसोसिएसन र नेपाल एलपीजी ग्यास उद्योगबीच एक वर्षअघि भएको सम्झौताअनुसार भारतीय बुलेटले आगामी कात्तिक १ गतेसम्म मात्रै भारतबाट नेपालसम्म ग्यास आयात गरिदिनेछ । अन्नपूर्ण पोस्टबाट ।

आन्दोलन जारी राख्ने पेट्रोलियम व्यवसायीको अडान, १५ दिनमा समाधान गर्न सरकारलाई संसदिय उपसमितिको निर्देशन

काठमाडौं । विहिबार बैठक बसेको उक्त उपसमितिले सरकारलाई १५ दिन भित्र पेट्रोलियम नोक्सानीको समस्याको दिर्घकालिन समाधान गर्न निर्देशन दिदै सो समयावधिसम्म पेट्रोलियम व्यवसायीलाई आन्दोलनका कार्यक्रम रोक्न निर्देशन दियो । पेट्रोलियम व्यवसायीलाई व्यवस्थापिका सांसद-उद्योग,वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध उपसमितिले भोलीदेखि पेट्रोल खरिद सूचारु गर्न दिएको निर्देशन नमान्ने पेट्रोलियम व्यवसायीले बताएका छन् । पेट्रोलियम नोक्सानीको क्षतिपूर्ति नबढाएको विरोधमा विहिबारदेखि आन्दोलनरत पेट्रोलिय डिलर्स एशोसिएशनले माग पुरा नभएसम्म आन्दोलन फिर्ता नलिने अडान दोहोराएका हुन् । ‘माग पुरा नभएसम्म प्रधानमन्त्रीले भने पनि आन्दोलन रोक्दैनौं,’ एशोसिएशनका अध्यक्ष लिलेन्द्र प्रधानले भने । पेट्रोल जस्तो अत्यावश्यक वस्तुमा हड्ताल गर्न नमिल्ने उपसमितिका संयोजक सुभाष चन्द्र ठकुरीले बताए । ठकुरीले थप अध्ययनका लागि सरकारसँग सहमती जनाएको दुई दिनपछि पेट्रोलियम व्यवसायीले आन्दोलन सुरु गरेको आरोप लगाए । उनले भने, ‘यसले देशका सेवा प्रदायक निकाय उपभोक्ताप्रति कति उत्तरदायी छन् भन्ने प्रष्ट हुन्छ ।’ ‘तापक्रमका कारण पनि इन्धनमा घटबढ हुने गरेकाले प्राविधिक लस भएको हुनसक्ने अनुमान छ,’ उनले भने, ‘मौसमका आधारमा स्थलगत अध्ययन गर्ने आयल निगमको सञ्चालक समितिले राखेको प्रस्तावमा हस्ताक्षर गरेको पाइएको छ । तर पनि निराधाररुपमा पेट्रोलियम व्यवसायीले आन्दोलन गरेका छन् ।’ सरकारले इन्धन ढुवानीका क्रममा प्राविधिक रुपमा हुने परिमाण नोक्सानीको क्षतिपूर्तिको माग पुरा नगरेको भन्दै नेपाल पेट्रोलियक डिलर्स राष्ट्रिय एशोसिएशनले माग पुरा नभए साउन ३१ गतेदेखि देशभरमा पेट्रोलियम पदार्थको बिक्री वितरणमा पनि बन्द गर्ने चेतावनी दिएको छ । आयल निगम सँग पटक–पटक अनुरोध गर्दा पनि समस्या समाधान नभएकाले आन्दोलन शुरु गरेको एशोसिएशनले जनाएको छ । एशोसिएशनले प्राविधिक कारणबाट हराउने पेटोलियम पदार्थको पनि क्षतिपूर्ति पाउनुपर्ने लगायतका माग राखेका थियो । खरिद बन्द गर्नेसम्मका आन्दोलन २० साउनदेखि पम्पमा कालो झण्डा गाडेर आन्दोलन सुरु गरेका व्यवसायीले २६ साउनदेखि पेट्रोल खरिद नगर्ने, २९ गतेदेखि डिजल तथा मट्टितेल खरिद नगर्ने र ३१ गतेदेखि बिक्री वितरण पनि बन्द गर्ने चेतावनी दिएका छन् । व्यवसायीले चार हजार लिटर पेट्रोल ढुवानी गर्दा करिब ९९ लिटर र डिजेलमा ६० लिटरसम्मको लस हुने गरेको दाबी गरेका छन् ।

देश भरिनै जग्गा प्लटिङ कार्य रोक्न सरकारको निर्देशन, पारिवारिक अंशबण्डा गर्न ढोका खुला

काठमाडौं । सरकारले कृषि योग्य जमिनमा जग्गा प्लटिङ गर्न रोक लगाएको छ । खाद्य सुरक्षा र खाद्य सम्प्रभुताको संवैधानिक प्रत्याभूत गर्न तथा भूमिलाई खन्डिकरण हुनबाट रोक्न कृषियोग्य जमिनको प्लटिङ गर्न रोक लगाएको भूमिसुधार तथा व्यवस्था सचिव कृष्णप्रसाद देवकोटाले बताए । मन्त्रालयले भूमिसुधार ऐन २०२१ ले प्रत्यायोजन गरेर अधिकारको प्रयोग गर्दै निर्देशिकका जारी गरी कृषियोग्य जमिनमा प्लटिङ रोकेको हो । अहिले देशभरिका सुगमस्थानहरूमा जग्गा प्लटिङ गर्न पाउने व्यवस्था छ । जग्गा प्लटिङका कारण कृषि योग्य जमिन मासिदै गएको र सो कारण कृषि उत्पादन घटेको र ठूलो मूल्यको कृषि वस्तु समेत आयात गर्नु परेकोले कृषि योग्य जमिन खण्डकरण रोक्न प्लटिङ कार्यमा रोक लगाएको देवकोटाले बताए । तर, पारिवारिक अंशबन्डा हुँदा भने कृषियोग्य जमिन भए पनि कित्ताकाट गर्न पाइने छ । यो निर्देशिका जारी हुनुभन्दा अगाडि पल्टिङको लागि अनुमति लिएको र ५० प्रतिशत जमिन बिक्री भएकोमा प्लटिङका लागि भने बाधा नहुने देवकोटाले बताए । मन्त्रालयले कृषियोग्य जमिनको व्याख्या जग्गा नामजाँच ऐन २०१९ बमोजिम पुनः नामजाँच भएको क्षेत्र जग्गा नामजाँच नियमावली २०५८ को नियम २० अनुसार कृषि क्षेत्र उल्लेख भएका जग्गाहरु र पुनः नामजाँच हुन बाँकी रहेको क्षेत्रमा साविकमा नामजाँच हुँदा फिल्डबुक तथा श्रेस्ता पुर्जामा धनहरतर्फ अब्बल, दोयम, सिम र भिरपाखो तर्फ अब्बल र दोयम कायम रहेको जग्गा सम्झनुपर्ने पर्ने गरी व्यवस्था गरेको छ ।

सिद्धार्थ बैंकको नयाँ शाखा भक्तपुरको कमल बिनायकमा, शाखा सङ्ख्या ७२ पुग्यो

काठमाडौं । सिद्घार्थ बैंकले आफ्नो नयाँ शाखा भक्तपुरको कमल बिनायकमा सञ्चालन गरेको छ । बैंकले बिहीबार एक विशेष समारोहका बीच उक्त शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । सो शाखाको उद्घाटन भक्तपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद अवाल र बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमले संयुक्त रुपमा गरेका हुन् । बैंकको सो शाखा कार्यालय मार्फत सम्पुर्ण बैंकिङ सेवाका साथमा एटिएम सेवा पनि उपलब्ध हुने छ । यस शाखा समेत बैंकले ७२ शाखा, २ एक्स्टेन्सन काउन्टर ९८ एटीएम, ७० शाखा रहित बैंकिङ्ग सेवा र ४५० भन्दा बढी पिओएस् मार्फत् ग्राहकहरुलाई बैंकिंग सेवा प्रदान गर्नेछ । आर्थिक वर्ष २०७३/०७४ को श्रावण मसान्तसम्म बैंकले १ अर्ब ४१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । सोहि अवधीमा बैंकको कुल निक्षेप ७७ अर्ब ३१ करोड रुपैयाँ र कर्जा लगानी ६७ अर्ब १७ करोड रुपैयाँ रहेको छ ।