बिआईए फाउन्डेशनको नयाँ शाखा किर्तिपुरमा
काठमाडौं । बिआईए फाउन्डेशनले आफ्नो नयाँ शाखा किर्तिपुरमा विस्तार गरेको छ । शुक्रबार आयोजित एक विशेष कार्याक्रमका बिच यस संस्थाका संस्थापक अध्यक्ष छोग्याल रिम्पोछेले बिस्तारित शाखाको उद्घाटन गरेका छन् । उक्त शाखा बिस्तारको क्रममा लामो समयदेखि अपाङ्गता क्षेत्रमा काम गर्दै आएको करुणा फाउन्डेशनको सहकार्यमा सञ्चालन भएको छ । एक गैर सरकारी सामाजिक संस्था बि.आई.ए फाउन्डेशन विगत ३ बर्ष देखि बिभिन्न किसिमका अपाङ्गता भएका व्यक्तिहरुलाई बिभिन्न हस्तकला सम्बन्धि सीप सिकाई आत्मनिर्भर बनाउने संस्थाको मुल उद्देश्य रहेको छ । हाल जोरपाटिमा १०० जना भन्दा बढि अपाङ्गता भएका व्यक्तिहरुलाई बिभिन्न १२ वटा बिधामा सीप सिकाई रहेको छ । यस संस्थाले हालै बिस्तारित किर्तिपुर शाखामा भुकम्प पछि बिभिन्न किसिमका अपाङ्गता भएका व्यक्तिहरुलाई प्रथामिकताका साथ लिई अन्य बिभिन्न किसिमका अपाङ्गता भएका व्यक्तिहरु सहित ५ बिधामा जम्मा ६० जना अपाङ्गता भएका व्यक्तिहरुलाई सीप सिकाई आत्मनिर्भर बनाउने मुल लक्ष्य लिइको छ ।
गभर्नर नेपालद्धारा स्पर्स लघुवित्त वित्तीय संस्थाको उद्घाटन
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले शुक्रबार स्पर्स लघुवित्त वित्तीय संस्थाको उद्घाटन गरेका छन् । यस संस्थाको केन्द्रिय कार्यालय पोखरा लेखनाथ महानगरपालिका स्थित विजयपुरमा रहेको छ । उद्घाटन कार्यक्रममा बोल्दै नेपालले देशमा संख्यात्मक रुपमा धेरै लघुवित्त संस्थाहरु स्थापना भईरहेकोले अबका दिनहरुमा गुणात्मक बिकास गरी गुणस्तरीय सेवा दिनुपर्ने कुरा बताए । त्यसैगरी नेपालले लघुवित्त भनेको विशुद्ध नाफा कमाउने क्षेत्र नभई सामाजिक सेवा पनि भएकोले नाफा कमाउने मात्र उद्धेश्य राखेर काम नगर्न संचालकहरुलाई सुझाव दिएका छन् । वित्तीय संस्थाका अध्यक्ष प्रा. डा. शुशिलभक्त माथेमाले वित्तीय संस्था स्थापना गर्नुको उद्धेश्य बमोजिम काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । साथै नियमन निकायको निर्देशनहरुको पूर्ण रुपमा पालना गर्दै ग्रामीण क्षेत्रको गरिवि न्युनीकरण गर्न संस्थाले दुरदराजमा रहेका विपन्न वर्गलाई सेवादिने कुरा व्यक्त गरेका छन् । त्यसैगरी अध्यक्ष माथेमाले हाल लघुवित्तलाई प्रदान गर्ने विपन्न वर्गको कर्जालाई बैंक वित्तीय संस्थाहरुले अन्य कर्जा सरह ब्याजदर लिने कार्य गर्दै आएको हुँदा लघुवित्त संस्थाहरुलाई काम गर्न अप्ठ्यारो परेकोले त्यसतर्फ ध्यान दिन नेपाल राष्ट बैंकलाई अनुरोध गरेका छन् ।
ढल्केबर सव-स्टेसन कात्तिकभित्र बन्ने, भारतबाट थप बिजुली ल्याउन सुनिश्चित
काठमाडौं । भारतबाट थप बिजुली आयातका लागि धनुषाको ढल्केबरमा निर्माणधिन २२० केभी क्षमताको सव–स्टेशनको काम आउदो कात्तिकसम्म सम्पन्न हुने भएको छ । सव-स्टेसन निर्माण गरिरहेको सेन्ट्रल चाइना पावर ग्रिड (सिसिपिजी) ले कात्तिक १५ गते भित्र काम सक्ने प्रतिबद्धता जनाएको छ । सवस्टेशन निर्माण अन्तिम चरणमा प’गेको छ । ऊर्जामन्त्री महेन्द्रबहादुर शाही, ऊर्जासचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सव-स्टेशन निर्माण सक्न ४ बुँदे निर्णय गराएका छन् । सिसिपिजीले सव-स्टेसन निर्माण १७ कात्तिक (३१ अक्टोबर २०१७) भित्र सक्ने प्रतिबद्धता जनाएको हो । ठेकेदारको यस्तो प्रतिबद्धतापछि हिउँदमा लोडसेडिङ अन्त्यका लागि भारतबाट थप बिजुली ल्याउन सुनिश्चित भएको मन्त्री शाहीले बताए । सव-स्टेसन बनेपछि भारतबाट थप १ सय मेगावाट अन्य स्थानबाट भन्दा सस्तो दरमा ल्याउन सकिने छ । यो वर्षको हिउँदमा भारतबाट ५ सय मेगावाटसम्म बिज’ली आयातको गर्ने प्राधिकरणको तयारी छ । “एक वर्षमा सव-स्टेसन निर्माणको धेरै काम, लोडसेडिङस“ग जोडिएको यसलाई द्रुत गतिमा काम गरी जसरी पनि तोकिएकै समयमा सक्नु पर्छ”, उनले भने,“काम गर्दा आउने समस्या आयोजनाले समाधान गरेमा तत्काल खबर गर्नुहोस्, त्यसलाई समाधान गर्न हामी तयार छौं ।” प्राधिकरणले भरतपुर-बर्दघाट प्रसारण लाइनको ठेक्का तोडी करिब ३० करोड रुपैयाँ बैक ग्यारेन्टी जफत गरेपछि सिसिपिजीका आयोजना प्रवन्धक गेङ जैलिङले प्राधिकरणलाई ठल्केबर सव-स्टेसनको काम आंशिक रुपमा रोकिएको जानकारी गराएका थिए । आयोजनाको परामर्शदाता पावर ग्रिडले अन्तिम ड्रइङ तत्काल दिने, गरेको कामको भुत्तानीका बिल सिसिपिजीले उपलब्ध गराउने र त्यसको परामर्शमदाताले रुजु गरी भुत्तानीका लागि एक हप्ताभित्र सिफारिस गर्ने लगायतका निर्णय भएका छन् । गत वर्ष प्राधिकरणले हिउँदमा ढल्केबर–मुजफ्फपुर अन्तरदेशिय प्रसारण लाईनमार्फत १४० मेगावाटसम्म बिजुली आयात गरेको थियो । गत वर्ष भारतबाट झण्डै ३८५ समेगावाट बिजुली आयात भएको थियो । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बाँकी काम सबैतर्फबाट तत्काल सुरु गर्न निर्देशन दिए । ‘काम तत्काल सुरु गर्नुहोस्, गरेको कामको भुक्तानी परामर्शदाबाट सिफारिस भएर आउन साथ गछौं’,उनले भने,‘यो या त्यो बहाना बनाएर काम रोक्न मिल्दैन ।’ सव स्टेसनका उपकरण सम्पूर्ण आइसकेका छन् । सिभिलतर्फको ९० प्रतिशत काम सकिएको छ । इलेक्ट्रिकल उपकरण जडानको ९० प्रतिशत काम सकिएको छ । नियन्त्रण कक्ष रहने भवनको ‘फिनिसिङ, ‘कन्ट्रोल प्यानल’को जडान तथा सञ्चालन, बसबार कनेक्सन लगायतका काम बा“की छन् । सिसिपिजीका प्रवन्धक गेङले एक वर्षमा यति धेरै काम गरेको कम्पनीलाई बा“की रहेको काम गर्न धेरै समय नै नलाग्ने बताएका छन् । मुलुकको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत व्यापारका लागि ढल्केबरमा सव-स्टेसन निर्माण गर्न लागिएको हो । ढल्केबरमा सव-स्टेसन बनाउन नसकेपछि अहिले मुजफ्फपुर बिन्दुमा दुई वटा ट्रान्सफर्मर राखी बिजुली आयात भइरहेको छ । प्राधिकरण र कम्पनीबीच १२ जुन २०१४ मा १५ महिनाभित्र (२९ डिसेम्बर २०१५) काम सक्ने गरी ठेक्का सम्झौता भएको थियो । ठेकेदार तोकिएको समयका काम गर्न नसकेपछि चार पटकसम्म म्याद थप भइसकेको छ । यसले आयोजनाको लागत पनि बढाएको छ ।
मेगा बैंकलाई ६५ प्रतिशत हकप्रद निष्कासन गर्न बोर्डको अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले मेगा बैंकलाई ६५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले बैंकलाई साउन २६ गते सो मात्राको हकप्रद निष्कासन गर्न अनुमति दिएको हो । बोर्डले कम्पनीलाई दुई अर्ब ९७ करोड ८५ लाख रुपैयाँ बराबरको दुई करोड ९७ लाख ८५ हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने अनुमति दिएको हो । कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धकका रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।
विद्युत नियमन आयोग विद्ययेक संसदबाट पारित
काठमाडौं । लामो समयदेखि विचारधिन रहेको विद्युत नियमन आयोग व्यवस्थापिका संसदबाट पारित भएको छ । विद्युत उत्पादन वितरणलगायत ऊर्जा क्षेत्रको सम्प’र्ण पक्षको नियमन गर्न नयाँ आयोग गठन गरिएको हो । आयोग गठन भएपछि विद्युत ऐन ०४९ स्वतः खारेज भएको छ । विद्ययेक ऐनमा रुपान्तरण भएकाले अब विद्युत क्षेत्रको नियमन गर्न आयोग गठन हुने छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र पार्न गृहमन्त्रीको निर्देशन
काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले अविरल वर्षाका कारण सप्तरीको राजविराज नगरपालिका-१५ देवरी भरुवास्थित खाडो नदीमा आएको बाढी गाउँ पस्न थालेपछि उद्धार कार्य तीव्र पार्न निर्देशन दिएका छन् । उनले आज बिहान सडक डिभिजन कार्यालय इटहरीबाट दुईवटा ठूला चेन डोजर त्यसतर्फ उद्धारका लागि पठाउन निर्देशन दिएका गृहमन्त्री शर्माका प्रेस संयोजक लक्ष्मी पुनले जानकारी दिए । बाढीका कारण खाडो नदीले बहाव परिवर्तन गरेपछि त्यहाँ रहेको बाँध भत्किने सम्भावना भएकाले नदीलाई पुरानै धारमा फर्काउन चेन डोजर त्यसतर्फ लागिएको हो । प्रहरी नायब उपरीक्षक यादवराज उप्रेती र नेपाली सेनाका मेजर दिपेश राना मगरको नेतृत्वमा प्रहरी, सेना र सशस्त्र प्रहरीका जवान उद्धारमा खटेका छन् । बुधबार रातिदेखिको साउने झरीले खाडो खोलामा बाढी आएको हो । सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालका अनुसार बाढीका कारण एकजनाको मृत्यु भएको छ । जिल्लाकै तिरहुत गाउँपालिकाको मैनाकडेरी र भेडियामा पनि डुबानको समस्या आएपछि त्यहाँ पनि उद्धार कार्य जारी रहेको उनले बताए । रासस
श्रम विधेयक २०७४ पारित, औद्योगिक वातावरण बन्ने विश्वास
काठमाडौं । व्यवस्थापिका-संसद्को आजको बैठकले ‘श्रम विधेयक, २०७४’ लाई सर्वसम्मतिले पारित गरेको छ । श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुरले पेस गरेको उक्त विधेयकलाई शुक्रबार पारित गरेको हो । श्रम ऐन, २०४८ लाई एकीकरण र संशोधन गर्न आएको विधेयक समय सापेक्ष र व्यावहारिक रहेको, सरकारले तोकेकोभन्दा कम पारिश्रमिक दिन नपाउने, समान कामको समान ज्यालाको व्यवस्था गरेको, सामाजिक सुरक्षा कोषको व्यवस्था गरेको तथा सरकारले व्यवस्था गरेको अन्य सेवा तथा शर्तको व्यवस्था गरेको भन्दै विधेयक श्रमिकमैत्री रहेको सांसदहरुको भनाइ थियो । धेरै वर्षको प्रतिक्षापछि विधेयक आएको भन्दै उनीहरुले ट्रेड युनियन, रोजगारदाता र सरकारका प्रतिनिधि बसेर ल्याइएको ऐन विगतको भन्दा प्रगतिशील रहेको विश्वास व्यक्त गरेका छन् । यो ऐन कार्यान्वयनमा आएपछि सुमधुर श्रम सम्बन्ध विकास हुने र औद्योगिक वातावरण बन्ने भन्दै उनीहरुले सामाजिक सुरक्षा ऐनसँग जोडिएकाले पनि ऐन प्रभावकारी रहेको धारणा राखे । यस्तै विधयेकले मजदुर र रोजगारदाताबीचको समबन्धको विषयमा प्रष्ट नभएको भन्दै केही सांसदले रोजगारदाताले चाहेको सम्बन्धमा बर्खास्त गर्न पाउने भन्ने व्यवस्था गलत रहेको भन्दै सच्याउनुपर्ने बताए । बैठकमा सांसदहरुले श्रमिकको अधिकार कटौती गरिएको, श्रमिकलाई अधिकार सम्पन्न गराउने तर्फ ध्यान नदिइएको भन्दै गुनासो गरेका थिए । निजामती कर्मचारीमा पार्टीपिच्छे युनियन खडा गर्ने प्रवृत्ति देखिएकाले त्यसलाई खारेज गर्ने व्यवस्था गर्नुपर्ने उनीहरुको धारणा थियो । कानून कहिल्यै पूर्ण नहुने भन्दै केही सांसदले भने समयसापेक्ष सुधार गरेर जानुपर्ने र श्रमिकमैत्री बनाउनुपर्ने, कार्यान्वयनमा जाँदा केही समस्या आए सुधार गर्नेतर्फ जानुपर्ने बताए । यस्तै नयाँ विधेयकले श्रमसम्बन्धी विषयमा सरकारलाई परामर्श दिन श्रम सल्लाहकार समिति गठन गर्ने व्यवस्था गरिएको छ । सो समितिमा श्रम तथा रोजगार मन्त्री अध्यक्ष अर्थ, श्रम तथा रोजगार, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था, उद्योग, स्वास्थ्य मन्त्रालयका सचिव सदस्य, श्रम विभागका महानिर्देशक, सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक, व्यावसायिक सीप विकास तालिम केन्द्रका कार्यकारी निर्देशक सदस्य रहनेछन् । रोजगारदातामध्येबाट दुई महिलासहित पाँच यस्तै ट्रेड युनियन महासंघ मध्येबाट मन्त्रालयले तोकेबमोजिम कम्तीमा दुई महिलासहित पाँचजना सदस्य र श्रम तथा रोजगार मन्त्रालयका सहसचिव सदस्य–सचिव रहने व्यवस्था गरिएको छ । विधेयकमा सम्बन्धमा सांसदहरु पुस्कर आचार्य, रामनारायण बिडारी, मीना पुन, राधादेवी तिमिल्सिनाले आ–आफ्नो धारणा राखेका थिए । मन्त्री मन्सुरले सहज श्रमसम्बन्धी वातावरण बनाउन सरकारले यस ऐन ल्याएको भन्दै उनले नयाँ ऐनको कार्यान्वयनपछि श्रमिक र रोजगारदाताबीच सुमधुर सम्बन्धको विकास हुने बताए । रासस
नागरिक लगानी कोषको सेयर मूल्य समायोजन, प्रतिकित्ता ३८८२ रुपैयाँ मात्र
काठमाडौं । शुक्रबार नागरिक लगानी कोषको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको २१.८५ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ३८८२ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता ३३१८ रुपैयाँ रहने छ ।