तिब्बत एअरलाईन्सको चेङदु काठमाण्डौं सीधा उडान शुरु, हप्तामा चार दिन उडान भर्ने
काठमाडौं । तिब्बतको ल्हासास्थित तिब्बत एअरलाईन्सले साउन २४ गतेबाट चेङदु ( काठमाण्डौंको लागि सीधा नियमित उडान संचालन गरेको छ । उक्त्त एअरलाईन्सको प्रारम्भिक उडान नम्बर टीभी ९८:९९ चेङदु सुनाग्लीउ अन्तराष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार साँझ १८:१६ मा प्रस्थान गरी काठमाण्डौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार साँझ १९:१५ मा अवतरण भएको थियो । फर्कने उडान टीभी९९०० काठमाण्डौं त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार साँझ १९:२५ मा प्रस्थानगरि चेङदुको विमानस्थलमा अर्को दिन बिहान ०० : ५० मा अवतरण हुनेछ कम्पनीले जनाएको छ । शुरुमा साताका चार दिन, प्रत्येक सोमबार, मंगलबार, बिहीबार र शानिबार उडान गर्नेछ । तिब्बत एअरलाईन्सले यात्रुहरुको सुविधालाई ध्यानमा राख्दै ८ वटा विजनेश क्लास र १२० वटा इकोनोमी क्लास, जम्मा १२८ सिट भएको एअरबस ए(३१९ विमानबाट सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ । तिब्बत एअरलाईन्सले नेपालमा यात्रुहरुको सिट आरक्षण गर्न र टिकट बेच्न तथा कार्गो ढुवानी गर्नको लागी हिमालय एअरलाईन्स प्रा. लिलाई आफ्नो आधिकारिक बिक्रेता नियुक्त गरेको छ । ल्हासा, गोनगार एअरपोर्ट, तिब्बत, चिनमा अबस्थित तिब्वत एअरलाईन्सले आफनो उडान २६ जुलाई २०११ मा शुरु गरेको हो र यो एअरलाईन्स कम्पनीले हाल चीनभित्र आन्तरिक उडानहरु गर्दै आईरहेको छ ।
नेपाल टेलिकमको सेयर मूल्य ९ वर्षयताको उच्चतम, बजार मूल्य १ खर्ब ६ अर्ब
काठमाडौं । नेपाल टेलिकमको सेयर मूल्य ९ वर्षयताको उच्चतम विन्दुमा पुगेको छ । सोमबार यस कम्पनीको सेयर प्रतिकित्ता ७१२ रुपैयाँमा कारोबार भयो । यो मूल्य २०६५ सालयताको अधिकतम मूल्य हो । सोमबार कम्पनीको पूँजीकरण १ खर्ब ६ अर्ब रुपैयाँ नाघेको छ । २०६५ भदौमा टेलिकमको सेयर प्रतिकित्ता करिव १४०० रुपैयाँमा कारोबार भएको थियो । २०६७ सालमा यस कम्पनीको सेयर मूल्य घटेर ३५० रुपैयाँसम्म झरेको थियो । गत वर्ष नेप्से परिसूचक १८८१ रुपैयाँ पुग्दा पनि नेपाल टेलिकमको सेयर मूल्य ७०६ रुपैयाँ भन्दा माथि जान सकेको थिएन । गत चैत १ गते यस कम्पनीको सेयर मूल्य ६२० रुपैयाँमा झरेको थियो । किन बढ्यो मूल्य कम्पनीको प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले गत साता संसदीय समिति बोल्दै टेलिकमले गत आर्थिक वर्षमा खुद नाफा १५ अर्ब ४२ करोड रुपैयाँ आर्जन गरेको बताएकी थिइन् । उनको भनाई सार्वजनिक भएपछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४२ रुपैयाँले बढेको छ । कम्पनीले गत वर्ष गरेको नाफा चुक्ता पुँजीभन्दा ४२ करोड रुपैयाँ बढी हो । यस कम्पनीले पहिलो पटक चुक्ता पुँजी भन्दा बढी खुद नाफा आर्जन गरेको हो । नेप्सेमा सूचिकृत कम्पनीमध्ये सेयर पुँजी, वार्षिक नाफा र संचित कोषमा बचत भएको रकमका आधारमा नेपाल टेलिकम सबैभन्दा ठूलो कम्पनी हो । टेलिकमको चुक्ता पूँजी १५ अर्ब रुपैयाँ रहेको छ । गत चैत मसान्तसम्ममा कम्पनीको संचित कोषमा ७४ अर्ब ८६ करोड रुपैयाँ रहेको छ र कम्पनीको इक्विटी करिब ९० अर्ब रुपैयाँ पुगेको छ । बजारमा अरु कम्पनीको तुलनामा नेपाल टेलिकमको सेयर सस्तो छ । कम्पनीका प्रतिसेयर आम्दानी १०३ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ ५९९ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थको ५ गुणा बढी मूल्यको सेयरलाई जोखिम मुक्त सेयर मानिने गरेको नेपाल स्टक एक्स्चेञ्जका सहायक प्रवक्ता मुराहरि पराजुली बताउँछन् । यस आधारमा टेलिकमको सेयर मूल्य सस्तो र कम जोखिमयुक्त मान्न सकिने उनको भनाई छ । नेपाल टेलिकमको सेयरमा बैंक तथा वित्तीय संस्थाले लगानी गर्न थालेको कालिका सेक्यूरिटीजका प्रबन्ध निर्देशक नरेन्द्रराज सिजापतिले बताए । बैंकिङ क्षेत्रमा तरलता वृद्धिसँगै सेयरमा लगानी वृद्धि हुन थालेको छ । ‘बैंकहरुले बैंक तथा फाइनान्सको सेयर किन्न पाउँदैनन्, बीमा क्षेत्रको सेयर मूल्य माथि हुनुको साथै धेरै परिमाणमा किन्नको लागि सेयर नै पाइदैन’ सिजापति भन्छन्–‘टेलिकम कम्पनी पनि राम्रो छ, धेरै सेयर किन्न पनि पाइन्छ ।’ कम्पनीले प्रत्येक वर्ष ४० देखि ५० प्रतिशत नगद लाभांश वितरण गर्दै आएको छ । गत गर्षको नाफाबाट कम्पनीले २० प्रतिशत संचित कोषमा जम्मा गरेर पनि सेयर धनीलाई ८० प्रतिशत लाभांश दिन सक्छ । तर कम्पनीले लाभांश दरमा क्रमिक वृद्धि गर्ने नीति लिएमा ६० देखि ७० प्रतिशत नगद लाभांश वितरण गर्न सक्छ ।
चन्द्रप्रसाद ढकालले चढे रेनिगेड३०० सीसी बाइक
काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले रेनिगेड३०० सीसी बाइक चढेका छन् । मंगलबार होटल र्याडीसनमा भएको रेनिगेड३०० सीसी बाइक लन्च कार्यक्रममा ढकालले उक्त बाइक चढेका हुन् ।
एनबीआई र एफएसएफएमबीच सम्झौता, बैंकिङ्ग क्षेत्रको क्षमता विकासमा सहयोग
काठमाडौं । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट(एनबीआई) र फैंकफर्ड स्कूल अफ म्यानेजमेन्ट(एफएसएफएम) बीच मानव संसाधन विकासका लागि शिक्षा, प्रशिक्षण एवं अन्वेषणका क्षेत्रमा साझेदारी गर्ने सम्झौतामा भएको छ । सम्झौता अनुसार यी दुई संस्थाले सम्मेलन, सभा, कार्यशाला तथा शैक्षिक भ्रमण जस्ता विषयमा सहकार्य गर्ने छन् । उक्त सम्झौता पत्रमा एफएसएफएमका तर्फबाट अन्तराष्ट्रिय परामर्स सेवाका निर्देशक फतमा डिरकेस एवं एनबीआईका तर्फबाट प्रमख र्कायकारी अधिकृत संजीब सुब्बाले हस्ताक्षर गरेका छन् । सुब्बा नेपालका १० उच्च पदस्थ बैंकिङ्ग कर्मचारीहरुसँग एफएसएफएमका आयोजन गरिएको ‘रिस्क म्यानेजमेन्ट, गोभरनेन्स एण्ड बैंक म्यानेजमेन्ट’ विषयक कार्यशालामा सहभागी हुन फैंकफर्डमा छन् । एनबीआई र एफएसएफएमको सहकार्यले नेपाली बैंकिङ्ग क्षेत्रको क्षमता विकासमा महत्वपूर्ण कोसेढुंगाको रुपमा रहने छ । यसबाट नेपाली बैंकिङ्ग समुदायलाई युरोपका विकसित आर्थिक प्रणालीका पहँच पुग्ने छ जसबाट बैंकिङ्ग समुदायले आफ्नो मानव संसाधनको विकास र रुपान्तरणको लागि अनुभव हासिल गर्न सक्ने छन् ।
प्रभु क्यापिटलले ल्यायो मोबाइल एप्स सेवा, लागानीका बारेमा जुनसुकै जानकारी लिन सकिने
काठमाडौं । प्रभु क्यापिटलले आफ्नो सेवा सम्बन्धी जानकारी गराउने उद्देश्यले मोबाईल एप्स ल्याएको छ । क्यापिटलले लगानीका बारेमा छिटो तथा सरल तरीकाबाट जानकारी लिनका लागि लगानीकर्तालाई सुबिधा दिने उद्देश्यले यो सेवा ल्याएको बताएको छ । यो सेवा हालमा एन्ड्रोईड मोबाईल प्रयोगकर्ताले डाउनलोड गरी उपयोग गर्न सक्ने छन् । जसबाट प्रभु क्यापिटलमा हितग्राही खाता खोलेका लगानीकर्ताले आफ्नो शेयर विवरण अनलाईनमा हेर्न मिल्ने, कारोबार बारे जानकारी लिन सक्ने क्यापिटले जनाएको छ । त्यस्तै,, आइपीओ तथा एफपीओको नतीजाका साथै सो मा परेको शेयर लगायत कम्पनीहरुको बोनश तथा हकप्रद शेयर खातामा जम्मा भए नभएको बारे जहाँ जुनसुकै स्थानबाट पनि सरल तरीकाले जानकारी लिन सक्नेछन् । यसका साथै हितग्राहीले दिएको अभौतिक निवेदन तथा कागजातमा कुनै किसिमको त्रुटि भई सम्बिन्धित शेयर रजिष्ट्रारबाट फिर्ता आएमा सो को जानकारी पनि यसै सुबिधा मार्फत लिन सक्नेछन् । यसका साथै प्रभु क्यापिटलले शेयर रजिष्ट्रारको सेवा दिईरहेको कम्पनीहरु सम्बन्धी प्रकाशित सुचना, जारी हकप्रद शेयरमा आफुले भर्न पाउने कित्ताबारे जानकारी तथा आफूले पाउने बोनश शेयरमा लाग्ने कर रकम सम्बन्धमा समेत जानकारी लिन सकिनेछ । यसका साथै नेपाल स्टक एक्सचेन्जको वेबसाईट पनि हेर्न सकिने क्यापिटलले बताएको छ ।
उर्जा मन्त्रीले भने-यसपाली हिउँदमा पनि लोडसेडिङ हुँदैन, उद्योगले पनि मागेजति बिजुली पाउँछन्
काठमाडौं । उर्जा मन्त्री महेन्द्र बहादुर शाहीले आगामी हिउँदमा पनि लोडसेडिङ नहुने स्पष्ट पारेका छन् । मंगलबार राजधानीमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री शाहीले हिउदमा लोडसेडिङ हुन नदिने कार्ययोजना बनिसकेको र सो अनुसार काम समेत अघि बढाई सकेको बताएका हुन् । ‘यसपालीको हिउँदमा पनि लोडसेडिङ हुन नदिने कार्ययोजना बनिसकेको छ, त्यस अनुसार अहिले काम भैरहेको छ, त्यस्तो कार्ययोजना भने केहि दिनभित्रै सार्वजनिक हुनेछ’, मन्त्री शाहीले भने । उनले हिउँदमा नागरिकका घरमा मात्रै नभएर उद्योगहरुमा समेत माग अनुसार विद्युत उपलब्ध गराउने दावी पनि गरे । ‘यसपाली नागरिकको घरमा लोडसेडिङ हुन्न नै, उद्योग धन्दाहरुले पनि मागे जति विद्युत पाउँछन्’, मन्त्री शाहीले भने । उनले लोडसेडिङ अन्त्य गर्न मन्त्रालय र नेपाल विद्युत प्राधिकरणले चालेका कदमहरुमा समाजका सबै तह र तप्काले सहयोग गर्नुपर्ने धारणा पनि राखे । ‘हामी मुलुकलाई लोडसेडिङ मुक्त बनाउन लागि परेका छौं, त्यसमा सबैको सहयोग चाहिन्छ, सहयोग भएन भने त फेरी लोडसेडिङ भैहाल्छ नी’, मन्त्री शाहीको भनाई छ । उनले विद्युत चुहावट नियन्त्रणका लागि स्मार्ट ग्रीड र स्मार्ट मिटरको कार्यान्वयन अघि बढाउने तयारी गरेको पनि जानकारी दिए । केहि समयभित्रै पाइलट प्रोजेक्टका रुपमा स्मार्ट ग्रीड र मिटर जडानको काम अघि बढाउने पनि बताए । उनले नयाँ प्रबिधीको प्रयोग गरेर लोडसेडिङ घटाउने बताए । उनले राम्रो काम गर्दा जेल जानु परेपनि आफु तयार रहेको समेत बताएका थिए ।
चेपाङ बालबालिकाका लागि विदेशी स्वयंसेवकबाट भवन निर्माण
चितवन । चितवनको रत्ननगरमा बस्दै आएका चेपाङ बालबालिकाका लागि पोर्चुगलका स्वयंसेवकले आफ्नै श्रम र लगानीमा भवन निर्माण गरिदिएका छन् । गामबेँसी चेपाङ संरक्षण केन्द्रमा झण्डै ५ लाख रुपैयाँको लगानीमा १५ दिनको अन्तरालमै उनीहरुले भवन निर्माण गरी आज हस्तान्तरण गरेका हुन् । सोन्हार पोर्चुगलका स्वयंसेवी समूहले यसरी भवन निर्माण गरी हस्तान्तरण गरेको केन्द्रका अध्यक्ष केपी किरण शर्माले जानकारी दिए । भवन हस्तान्तरण कार्यक्रममा बोल्दै स्वयंसेवक आना फेरारियाले विपन्न र शिक्षाबाट वञ्चित हुँदै आएका बालबालिकालाई ल्याएर पठनपाठन गर्न लागिएको जानकारी पाएपछि आफूमा सहयोग गर्ने उत्प्रेरणा जागेको बताए । पोर्चुगलमा गएर उनले आर्थिक जोहो गरी आफ्नै पहलमा ९ जना स्वयंसेवक ल्याएर काम गरेका हुन् । भवन बनेपछि चेपाङ बालबालिकालाई बस्न र कार्यालय सञ्चालनमा समेत सहयोग पुगेको केन्द्रले जनाएको छ । चेपाङ बालबालिकाको जीवनस्तर उकास्न र उनीहरुलाई शिक्षा दिलाउन वर्षौँदेखी विदेशी दाता र विदेशमा बस्ने नेपालीलाई प्रेरणा दिँदै आएका होटल पार्क साइड सौराहाका सञ्चालक शीरलाल परियारलाई गामबेँसी चेपाङ संरक्षण केन्द्रले मंगलबार सम्मान गर्यो । आफ्नै श्रम र लगानीमा छोटो समयमै भवन निर्माण गरेर हस्तान्तरण गरी महत्वपूर्ण सहयोग गरेको भन्दै आनालाई समेत यहाँ सम्मान गरिएको थियो । यस्तै, चेपाङ बालबालिकालाई सहयोग गरेकामा वृद्धा विष्णुमाया पौडेल र खगेन्द्र चौधरीलाई समेत सम्मान गरिएको थियो । चेपाङ बालबालिकालाई सहयोग यसैबीच, आजै चितवन घर भई इजरायलमा बस्ने निर्मला पौडेलले यहाँ रहेका चेपाङ बालबालिकालाई भोजन सेवासँगै लत्ताकपडा र आर्थिक सहयोग गरेका छन् । उनले आज केन्द्रमै आएर लत्ताकपडासहित ३४ हजार रुपैयाँ सहयोग गरेका हुन् । पौडेलले आगामी दिनमा समेत सहयोग जारी राख्ने प्रतिवद्धता व्यक्त गरे। यहाँ १४० चेपाङ बालबालिका आश्रय लिएर बसेका छन् । रासस
नेपालले पहिलो पटक विश्वका युवाहरुको संम्मेलनमा सहभागीता जनाउने
काठमाडौं । नेपालले पहिलो पटक विश्वका युवाहरुको सम्मेलनमा सहभागीता जनाउन लागेको छ । उक्त सम्मेलन संयुक्त राष्ट्र संघले आयोजना गरेको हो । उक्त सम्मेलनमा भाग लिन नेपाल बिद्यार्थी संघका केन्द्रिय अध्यक्ष नैन् सिंह महर मंगलबार बिहान अमेरिका प्रस्थान गरेका छन् । सो सम्मेलनमा अध्यक्ष महरले विश्वमा बढीरहेको शैक्षिक युवा बेरोजगारिको बिषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । नेपालमा बढीरहेको युवा बेरोजगारी देशको चुनौतीका रुपमा रहेको भन्दै सम्बेलनले नेपालको युवा बेरोजगारी हटाउन रोडम्याप तयार गर्न सजिलो हुने भन्दै यो सहभागीता ऐतिहासिक हुने बताईएको छ । नेपालको प्रतिनिधी मन्डलमा अध्यक्ष महरको नेत्रित्वमा महामन्त्री सरोज कुमार थापा, र बिदेश सल्लाहकार डम्बर बि। क। समेत शाहभागी रहेको नेबिसंघ मुख्य सचिब डिल्ली हमालले जानकारी गराए। अध्यक्ष महरको टिम अमेरिकामा रहँदा उक्त स्थानमा अवस्थित नेपाली कांग्रेस जनसंपर्क समितीका नेताहरु र नेपाल बिद्यार्थी संघ अमेरिकाका बिद्यार्थीहरुसंग भेटघाट गर्ने कार्यक्रम रहेको नेबिसंघ महामन्त्री सरोज कुमार थापाले जानकारी गराए ।