विकासन्युज

उन्नती माइक्रोफाइनान्सले आइपीओ निष्कासन गर्ने, अनुमतिका लागि पुग्यो धितोपत्र बोर्ड

काठमाडौं । उन्नती माइक्रोफाइनान्स वित्तीय संस्थाले एक करोड ६५ लाख रुपैयाँको आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँको दरले एक लाख ६५ हजार कित्ता सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएको हो । कम्पनीले साउन २२ गते धितोपत्र बोर्डमा निवेदन दिएर सो मात्राको आइपीओ निष्कासन गर्ने अनुमति मागेको हो । कम्पनीले सिद्धार्थ क्यापिटल मार्फत आइपीओ निष्कासन गर्ने भएको छ ।

१२ वटा बाणिज्य बैंकको नाफा ३२ दशमलब ८८ प्रतिशतले बढ्यो(सूचि सहित)

काठमाडौं । १२ वटा बाणिज्य बैंकहरुको नाफा ३२ दशमलब ८८ प्रतिशतले बढेको छ । १२ वटा बाणिज्य बैंकहरुले आर्थिक बर्ष २०७२/७३ को तुलनामा गत आव २०७३/७४ मा आफ्नो नाफा वृद्धि गरेर १९ अर्ब २७ करोड ५३ लाख ४६ हजार पुर्याएका हुन् । २०७२/७३ मा यी बैंकहरुले जम्मा १४ अर्ब ५० करोड ५२ लाख ३ हजार मात्रै नाफा कमाउन सफल भएका थिए । गत आवमा भने यी बैंकहरुको नाफा ४ अर्ब ७७ करोड १ लाख ४७ हजारले बढेको देखिन्छ । चौथो त्रैमासिकका अपरिस्कृति वित्तिय विवरण बुझाएका १२ वटा बाणिज्य बैंकहरु सबैले एक अर्ब नाफा नघाएका छन् । सबै भन्दा धेरै नविल बैंकले ३ अर्ब ६२ करोड नाफा पुर्याएको छ भने लक्ष्मी बैंक पहिलो पटक एक अर्ब कमाउने सूचिमा प्रवेश गरेको छ ।  

अघि बढ्यो पूर्वाधार विकास बैंक स्थापना कार्य

काठमाडौं । नेपाल राष्ट्र बैंक संचालक समितिको बैठकले पूर्वाधार विकास बैंक संचालन लाइसेन्स नीति पारित गरेको छ । यससँगै बैंक स्थापनाको लागि बाटो खुलेको छ । ठूला विकास आयोजनामा लगानी गर्ने उद्देश्य सहित स्थापना गर्न लागिएका पूर्वाधार विकास बैंकको लाइसेन्स दिने सम्बन्धि नीति पारित गरेको राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले बताए । नीतिमा बैंकको चुक्ता पुँजी २० अर्ब रुपैयाँ हुनै पर्ने व्यवस्था गरिएको छ । विदेशी साझेदारीमा पूर्वाधार विकास बैंक स्थापना गर्ने चाहेमा कम्तिमा ५१ प्रतिशत र बढीमा ७० प्रतिशतसम्म विदेशी लगानीकर्ताको सेयर राख्न पाउने व्यवस्था नीतिले गरेको छ । राष्ट्र बैंकका अनुसार स्वदेशी लगानीकर्ताले लगानी गरेर पूर्वाधार विकास बैंक स्थापना गर्न एउटा लगानीकर्ताको बढीमा १५ प्रतिशतसम्म मात्रै लगानी गर्न पाउने छन् । पूर्वाधार विकास बैंकको संचालकको योग्यता बाणिज्य बैंक सरहनै हुने नीतिगत व्यवस्था छ ।  

२० करदाताले तिरे पौने ८१ अर्ब कर, बढी कर तिर्नेमा एनसेलदेखि एभरेष्ट बैंकसम्म

काठमाडौं । गत आर्थिक वर्ष २०७३/७४ मा २० ठूला करदाताले सरकारलाई करिब पौने ८१ अर्ब कर तिरेका छन् । सबैभन्दा बढी कर तिर्नेमा अघिल्लो आर्थिक वर्षको जस्तै एनसेल बनेको छ । १० बाणिज्य बैक पनि उच्च करदाताको सूचिमा सूचिकृत भएको अर्थ मन्त्रालयका प्रवक्ता रामशरण पुडासैनीले बताए । एनसेलले गएको आर्थिक वर्षमो ३० अर्ब १५ करोड ८२ लाख रुपैयाँ भन्दा बढी कर तिरेको छ । सरकारले गएको आवमा कुल ६ खर्ब ९ अर्ब राजस्व संकलन गरेको छ । २० ठूला करदाताबाट संकलन गरिएको कर कुल करको करिब साढे १३ प्रतिशत हो । टेलिकम सेवा प्रदायक कम्पनी एनसेलले तिरेको करमध्ये १३ अर्ब ६० करोड रुपैयाँ पुँजीगत लाभकर हो । उसले २२ अर्ब २३ करोड रुपैयाँ आयकर तिरेको छ भने ५ करोड घरवहाल कर तिरेको छ । ३ अर्ब ८५ करोड मूल्य अभिवृद्धि कर तिरेको आन्तरिक राजस्व विभागले जानकारी दिएको छ । लाभकर घटाउँदा पनि एनसेलले गत आवमा सरकारलाई १६ अर्ब ५५ करोड रुपैयाँभन्दा बढी कर तिरेको छ । धेरै कर तिर्ने दोस्रो सूचिमा नेपाल टेलिकम परेको छ । नेपाल टेलिकमले गएको आवमा सरकारलाई १३ अर्ब ७२ करोड रुपैयाँ कर बुझाएको छ । तेस्रो सूर्य नेपाल प्रालिले ७ अर्ब १८ करोडरुपैयाँ कर तिरेको छ । गत आर्थिक वर्षमा धेरै कर तिर्ने करदाताको चौथो स्थानमा नेपाल आयाल निगम छ । निगमले ५ अर्ब ६९ करोड रुपैयाँ कर तिरेको छ । यस्तै गोर्खा ब्रुअरीले ४ अर्ब १९ करोडरुपैयाँ कर तिरेको छ । बाणिज्य बैंकतर्फ सबैभन्दा धेरै कर तिर्नेमा नबिल बैंक परेको छ । नबिल बैंकले २ अर्ब २१ करोड ४७ लाख ९४ हजार रुपैयाँ कर तिरेको छ । बाणिज्य बैंकतर्फ बढी करतिर्नेको सूचिमा बैंक नेपाल इन्भेष्टमेन्ट बैंक स्थापित भएको छ । इन्भेष्टमेन्ट बैंकले गएको आवमा २ अर्ब ३ करोड रुपैयाँ कर तिरेको छ । बैंक कृषि विकास बैंकले १ अर्ब ६४ करोड कर तिरेको बढी कर तिर्ने बैंकको सूचिमा परेको छ । धेरै कर तिर्ने सुचीको ९औं स्थानमा रहेको सिप्रदी ट्रेडिङ प्रालिले १ अर्ब ४२ करोड ५५ लाख १८ हजार रुपैयाँ कर तिरेको छ । नेपाल बैंकले भने १ अर्ब ३९ करोड रुपैयाँ कर तिरेको छ । अर्काे अर्बपति करदाता हिमालयन बैंकले १ अर्ब ३८ करोड ३० लाख ५८ हजार रुपैयाँ कर तिरेको छ । सेयर कारोबार गराउने नियमक निकाय नेपाल धितोपत्र विनिमय बजार लि. (नेप्से) ले गत आर्थिक वर्षमा राज्यलाई १ अर्ब ३१ करोड रुपैयाँ कर राज्यलाई तिरेको छ । सरकारी पूर्ण स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले गत आर्थिक वर्षमा राज्यलाई १ अर्ब २९ करोडरुपैयाँ कर तिरेको छ । हवाइ क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले १ अर्ब २५ करोड रुपैयाँ कर तिरेको छ । ग्लोबल आइएमई बैंक बढी कर तिर्नेको १५औं स्थानमा परेको छ । सो बैंकले गत आर्थिक वर्षमा १ अर्ब २५ करोड रुपैयाँ कर तिरेको छ । त्यस्तै अग्नी इन्कर्पोरेट प्रालि गत आवमा १ अर्ब २० करोड रुपैयाँ कर तिरेको छ । नेपाल एसविआई बैंकले गत आर्थिक वर्षमा १ अर्ब १० करोड ३ लाख ४४ हजार रुपैयाँ कर तिरेको छ । अर्काे बाणिज्य बैंक एनआईसी एशिया बैंकले १ अर्ब ८ करोडरुपैयाँ कर तिरेको छ । बढी कर तिर्ने करदाताको १९औं स्थानमा जगदम्बा स्टिल्स परेको छ । सो प्रालिले गत आर्थिक वर्षमा १ अर्ब ६ करोड रुपैयाँ कर तिरेको छ । अर्बभन्दा बढी कर तिर्ने २० करदाताको अन्तिम सुचीमा एभरेष्ट बैंक छ । एभरेष्टले गत आर्थिक बर्षमा १ अर्ब ४ करोड ५१ लाख ४५ हजार रुपैयाँ कर तिरेको छ ।  

१३ औँ सागः पाँच खेल पोखरामा

पोखरा । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले आगामी १३ औँ दक्षिण एसियाली खेलकुद सागका लागि पोखरा उच्च प्राथमिकतामा परेको बताएका छन् । पोखरा रंगशालाको आज यहाँ निरीक्षणका क्रममा उनले पर्यटकीय नगरीका रुपमा अन्तरराष्ट्रिय स्तरमा पहिचान बनाइसकेको पोखरालाई खेलकुद माध्यमबाट पनि उत्कृष्ट गन्तव्य बनाउन सकिने बताए। मन्त्री केसीले आउँदो सागका लागि पोखरालाई गुरुयोजनाभित्र राखिएको जानकारी दिँदै निर्धारित समयावधिभित्र रंगशाला बनाउन निर्देशन दिए। सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले १३ औँ सागमा पाँच–छ खेल पोखरामा सञ्चालन गर्ने लगभग तय भइसकेको जानकारी दिँदै त्यही रुपमा तयारी पनि अगाडि बढाइएको बताए। पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका उपाध्यक्ष सुनिलकुमार गुरुङले खेल क्षेत्रलाई भ्रष्टाचारमुक्त गरिनुपर्नेमा जोड दिए । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यमबहादुर गुरुङले खेलकुदको विकासका लागि पोखरा उर्वर भूमि भए पनि प्रशिक्षकका अभाव जस्ता समस्या भोग्नुपरेको गुनासो गरे । जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले पोखरा रंगशाला ४१७ रोपनी क्षेत्रफलमा फैलिएको र यहाँ पछिल्ला समयमा बहुउद्देश्यीय कबर्ड हल लगायत संरचना निर्माण भइरहेको जानकारी दिए। रासस

भाइरलका बिरामी बढे

इलाम । भाइरल ज्वरोका कारण अस्पतालमा बिरामीको चाप बढेको छ । बर्खायाममा फैलिने भाइरलका कारण स्वास्थ्य संस्थामा आउनेको भीड पनि बाक्लिँदै गएको छ । प्रकोप बढेपछि साविक भन्दा दोब्बरको संख्यामा स्वास्थ्य संस्थामा उपचारका लागि बिरामी आएका छन् । इलाम अस्पताललगायत चारवटा प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा पनि दिनहुँ भाइरलका बिरामीको चाप बढ्दै गएको स्वास्थ्यकर्मी बताउँछन् । स्वास्थ्य संस्थामा रुघाखोकी, ज्वरो आउने, घाँटी दुख्ने लगायतका भाइरलका बिरामीको चाप बढेको हो । इलाम अस्पतालमा मात्र उपचारका लागि दैनिक १५० बिरामी आउन थालेको हेल्थ असिस्टेन्ट गणेश रिजाल बताउाछन्। “आकस्मिक उपचारका लागिमात्र दैनिक ५०/६० जना आइरहेका छन्”, उनले भने, “ओपिडीमा त्यसको दोब्बर बिरामी आउँछन् ।” स्वास्थ्यकर्मी र औषधिको अभाव नभए पनि बिरामीलाई राखेर उपचार गराउन शय्याको अभाव भएको छ । “पचास शय्याको अस्पताल भए पनि बिरामीको चापले शय्यामा राखेर उपचार गर्न गाह्रो परेको छ”, मेडिकल अधिकृत विजय फुयाँलले भने, “प्रसूतिका बिरामी पनि उत्तिकै हुने र शय्या पनि भरिएकाले धेरैलाई उपचार गराउँदै घर पठाउनुपरिरहेको छ, बिरामीले आराम गर्नसमेत पाएका छैनन् ।” मौसम परिवर्तन, खानपान र दूषित पानीका कारण रोग लाग्ने स्वास्थ्यकर्मीको भनाइ छ । हावा, पानी लगायतबाट रोग सर्ने भएकाले एउटा परिवार वा समूहमा बस्ने एकजनामा रोग देखापरे अरूलाई पनि सर्छ । यस्ता बिरामीले पानी उमालेर मात्र पिउनुपर्ने, मुख छोप्नुपर्ने र झोलिलो पदार्थ धेरै खानुपर्ने स्वास्थ्यकर्मीले सुझाव दिन थालेका छन् । इलाम अस्पतालसहित प्याङ, मंगलबारे, फिक्कल र पशुपतिनगरका प्राथमिक स्वास्थ्य केन्द्रसहित स्वास्थ्य संस्थामा पनि भाइरलका बिरामीको चाप बढेको छ । रासस –––––––

ख्यालठट्टासहित मृतात्माको शान्तिको कामना गर्ने पर्व गाईजात्रा

भक्तपुर । हास्यव्यंग्य र ख्यालठट्टासहित मृतात्माको शान्तिको कामना गर्दै आज काठमाडौँ उपत्यका र नेवार समुदायको बाक्लो उपस्थिति रहेका मुलुकका मुख्य मुख्य शहरमा धुमधामका साथ गाईजात्रा पर्व मनाइँदैछ । गाईजात्रा धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पर्व हो । भक्तपुरमा गाईजात्राको औपचारिक शुरुवात जनैपूर्णिमाको साँझ नै गरिन्छ । गाईजात्राको पूर्व सन्ध्यामा जनैपूर्णिमाको साँझ गुठी संस्थानले सुकुलढोका स्थित नाट्येश्वरीको पूजा गरी निकालेको घिन्ताङ्घिसी नाचले नगर परिक्रमा गरेसँगै भक्तपुरमा गाईजात्रा शुरु भएको गुठी संस्थान भक्तपुरका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए। भक्तपुरमा गाईजात्रा जनैपूर्णिमाको साँझ शुरु भए पनि सर्वसाधारणले मुख्यरुपमा आजमात्र गाईजात्रा निकालिन्छ । सर्वसाधारणले गाईजात्रा निकाल्नुअघि आजै बिहान सबेरै दरबार स्क्वायरस्थित तलेजु भवानीको गाईजात्रा निकाल्ने परम्परा रहेको छ । सोअनुसार आज बिहान कुखुरा नबास्दै तलेजुको गाईजात्रा निकालिएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए। भक्तपुरको गाईजात्रालाई मुलुकका अन्य भागमा मनाउने गाईजात्राभन्दा भिन्न र मौलिक शैलीका रुपमा लिइन्छ । यहाँको मुख्य आकर्षण घिन्ताङ्घिसी नाच हो । त्यससँगै मृतात्माको प्रतीकस्वरुप नगर परिक्रमा गरिने तहामचा अर्को आकर्षण हो । तहामचा बाँसबाट बनाइन्छ । हरियो, करिब १५ फिट लामा चारवटा बाँसलाई ठाडो पारेर आयताकारमा बाँधेर त्यसलाई कपडाले बेरेर तहामचा बनाइन्छ । तहामचाको शिरमा गाईको चित्र, परालको सिङ राख्ने र त्यसलाई छाता ओढाइन्छ । तहामचालाई बाँसको नोल लगाएर मृतकका आफन्तले काँधमा बोकेर नगर परिक्रमा गराइन्छ । तहामचामा मृतकको तस्बिरसमेत राखिन्छ । त्यसले जात्रा हेर्न आएकाहरुलाई कसको तहामचा निकालेको त्यो स्पष्ट हुने गर्छ । तहामचालाई नगर परिक्रमा गराउनु पूर्व मृतकको घरको मूलढोका अगाडि पुरोहितले किरियापुत्रीद्वारा संकल्प गराई विधि बमोजिम पूजा गर्ने प्रचलन रहेको छ । भक्तपुरकै तालाकोस्थित कुमालेहरुले भने मृतात्माको शान्तिका लागि माटोको गाई बनाएर नगर परिक्रमा गराउँछन् । कुमालेहरुको पुख्र्यौली पेशा माटोका भाँडा बनाउनु हो । त्यसैले उनीहरुले आफ्नै मौलिक पुख्यौली पेशाअन्तर्गतको माटोको आकर्षक गाई बनाएर नगर परिक्रमा गराइने गरेको संस्कृतिकर्मी प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठ बताउेँछन्। गाईसँगै मृतकको स्मृति झल्काउने करुण रस प्रधान गीति लीला, रामायण र श्रीकृष्ण लीलासमेत प्रदर्शन गरिन्छ । साथै, केटाकेटीलाई आकर्षक तवरले महादेव–पार्वती, कृष्ण–राधिकाका रुपमा सिंगारी बाजागाजाका साथ ‘वासा लुइके’ गरेर प्रदर्शन गर्ने प्रचलनसमेत रहेको छ । गाईजात्राको दिन विधिवत्रुपमा गाईलाई नगर परिक्रमा गराएमा मृतात्माहरु सजिलैसित स्वर्गलोकमा पुग्छन् भन्ने धार्मिक विश्वास रहेको छ । गाईजात्राको दिन स्वर्गमा ढोका खुल्ने र मृतात्माले गाईको पुच्छर समातेर वैतरणी नदी पार गरी स्वर्गलोकमा पुग्छ भन्ने जनविश्वास रहेको छ । गाईजात्रा विशेष गरी नेवार समुदायले मनाउने पर्व हो । राजा प्रताप मल्लले गाईजात्रा पर्व चलाएको किंवदन्ती भएपनि नेवार समुदायबाहेकले गाईजात्रा गर्ने प्रचलन रहेको पाइँदैन । मल्लकालमा नेपाल मण्डल विशेष गरी काठमाडौँ उपत्यकामा नेवार समुदायको मात्र बसोबास भएको स्थान भएकाले गाईजात्रा नेवार समुदायले मात्र मनाउने पर्वका रुपमा विकास भएको प्रा डा श्रेष्ठ बताउँछन् । नेवार समुदायमा पनि भक्तपुरको गाईजात्रा भिन्न र विशेष खालँको हुनुमा तत्कालीन नेपाल मण्डलको राजधानी भक्तपुर हुनु प्रमुख कारण भएको प्रा डा श्रेष्ठ बताउँछन् । किंवदन्तीअनुसार राजा प्रताप मल्लको छोराको मृत्युपश्चात् रानी धेरै शोकमा डुबेपछि उनलाई नगरका जनताका घरमा पनि कसै न कसैको मृत्यु भएको हुन्छ भन्ने देखाउन गाई निकाल्ने प्रचलन शुरु भएको मानिन्छ । यतिले पनि रानीको मन शान्त नभएपछि रानीको मनलाई शान्त पार्न हास्य व्यंग्य, ख्यालठट्टासमेत प्रदर्शन गर्न राजाले आदेश दिए बमोजिम गाईजात्राको अवसरमा हास्य व्यंग्यसमेत प्रदर्शन गरिन्छ । प्रा डा श्रेष्ठ भने राजा जयस्थिति मल्लभन्दा पहिल्यै भक्तपुरमा गाईजात्रा मनाउँदै आएको दाबी गर्छन् । राजा जयस्थिति मल्लले सम्पादन गरेको गोपालवंशावलीमा साँःयात भन्ने उल्लेख भएको प्रमाण प्रस्तुत गर्दै लिच्छविकालको अभिलेखमा गौ युद्ध उत्सव भनी लेखिएको पाइएकाले लिच्छविकालमा पनि गाईजात्रा मनाइन्थ्यो भन्ने मान्न सकिने उनको भनाइ रहेको छ । उनले विक्रमको १४औँ शताब्दीभन्दा अगाडि लिच्छविकालको अन्त्यतिर गाईजात्रा पर्व शुरु भएको मान्न सकिने आधारहरु भएको बताए । गाईजात्राकै अवसरमा भक्तपुरमा माक प्याखं, नागाचा प्याखं, लाखे प्याखं, देवी नाचलगायतका नाच प्रदर्शन गर्ने प्रचलन रहेको छ । यस वर्ष मध्यपुर थिमिमा लाय्कु भैल, अप्सरा नाच, सलँचा प्याखः महाकाली प्याखः प्रदर्शनको तयारी भइरहेको छ । आठदिने गाईजात्राकै अवसरमा मध्यपुरथिमिको बोडेमा निलबाराही नाचसमेत प्रदर्शन गरिन्छ । रासस –––––––

मेलम्चीमा पुनः झमेला, सुरुङ खन्न छाडेर ४० करोड माग्दै लोकल ठेकेदार आन्दोलनमा

काठमाडौं । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनामा पुनः झमेला देखिएको छ । आगामी पुस महिना भित्रै राजधानी बासीका धारामा मेलम्चीको पानी उपलब्ध गराउने संसोधित कार्य तालिका अनुसार धमाधम काम भैरहेको आयोजनामा लोकल ठेकेदारहरुले आन्दोलन थालेका छन् । निर्माण सामग्री सप्लाई गर्ने, मेसिन तथा उपकरण भाडामा उपलब्ध गराउने १७ वटा लोकल ठेकेदारहरुले समयमै भुक्तानी नपाएको, गुणस्तरिय सुरुङ नखनेको लगायतका माग राख्दै तीन दिनसम्म सुरुङ खन्ने काम नै रोकेका हुन् । उनीहरुले साउन २१, २२ र २३ गतेसम्म इटालियन ठेकेदार कम्पनी सिएमसीको कार्यालय र सुरुङ मार्गमा ताला लगाएर काम रोकेका हुन् । मंगलबारदेखि पुनः काम थालेका उनीहरुले आफ्ना माग पुरा नभएमा बिहिबारदेखि अनिश्चित कालसम्मका लागि काम रोक्ने चेतावनी दिएका छन् । सिएमसीले ४० करोड भुक्तानी नदिएको आरोप लगाउँदै लोकल ठेकल ठेकेदारहरुले आन्दोलन गरेका हुन् । मेलम्ची खानेपानी आयोजनाका इञ्जिनियर रमाकान्त दुवाडीले मंगलबारदेखि भने काम सुरु भएको तर बिहिबारदेखि फेरी समस्या आउन सक्ने बताए । ‘हामीले सहजीकरण गरेर मंगलबारदेखि काम सुरु गराएका छौं, बिहिबारसम्ममा भुक्तानी चाहिने भनेर लोकल ठेकेदारहरुले माग गरेका छन्, त्यतिञ्जेलमा समस्याको समाधन गर्ने प्रयास हुन्छ’, दुवाडीले विकासन्युजसँग भने । सिएमसीले लापरवाही गर्यो मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले सिएमसीले भुक्तानी दिन ढिला गरेकाले समस्या उत्पन्न भएको बताए । सिएमसीले पहिले देखि नै लोकल ठेकेदारलाई भुक्तानी दिन ढिलाई गर्दै आएको बताउँदै देवकोटाले भने–यो सिएमसीको पुरानै रोग हो, यसपाली फेरी बल्झिएको छ, हामीले लोकल ठेकेदारलाई भुक्तानी दिएर काम अघि बढ्ने वातावरण बनाउँछौं । आयोजनाले सिएमसीलाई आवश्यक रकम भुक्तानी दिइसकेको बताउँदै भने–हामीले दिनुपर्ने रकम समयमै दिँदै आएका छौं, काम गरिरहेका नेपाली कम्पनीहरुले पनि समयमै भुक्तानी पाउनु पर्छ ।