गुहेश्वरी मर्चेण्टकाे नाफा ८५ प्रतिशतले बृद्धि
काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ् एण्ड फाइनान्सले आ.व.२०७३/०७४ मा ८५ प्रतिशतले नाफा बढाएको छ । सो अवधिमा बैंकले २० करोड ३२ लाख रुपैयाँ संचालन मुनाफा आर्जन गरेको छ । फाइनान्सले गत आवमा २ अर्ब ४५ करोड रुपैयाँ निक्षेप र २ अर्ब ११ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । यस वित्तीय संस्थाको चुक्ता पूँजी ४९ करोड ३४ लाख रुपैयाँ तथा जगेडा कोषमा २० करोड ८० लाख रुपैयाँ रहेको छ । ४० प्रतिशत हकप्रद शेयर जारी गर्न स्वीकृतीको लागि नेपाल धितोपत्र बोर्ड आवेदन दिएको छ । कम्पनीले जारी गर्न लागेको हकप्रद र बोनस सेयर पश्चात संस्थाको चुक्ता पूँजी ८० करोड रुपैयाँ पुग्ने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । संस्थाले बैकिङ्ग सेवामा एटिएम सेवा सुविधाहरु प्रदान गर्दै एस.एम.एस बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग सेवा, विप्रेशन, डिपी अकाउन्ट तथा आश्वाको समेत सेवा सुविधा दिदै आइरहेको छ । साथै, निकट भविष्यमा नै थप शाखाहरु खोल्ने यस संस्था जनाएको छ ।
आयल निगम जग्गा खरिद प्रकरणः चार थरी छानविन
काठमाडौं । नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा बिभिन्न चार वटा निकायले छानविन गरिरहेका छन् । सात वटै प्रदेशमा ९० दिनका लागि पुग्ने इन्धन भण्डारण डिपो निर्माणका लागि भन्दै निगमले झापा, सर्लाही, चितवन र भैरहवामा जमिन खरिद गरेको थियो । जमिन अधिग्रहणको व्यवस्थालाई छलेर सार्वजनिक टेण्डर मार्फत जमिन खरिद गरेको निगमले एक अर्ब भन्दा बढि आर्थिक अनियमितता गरेको आरोप लागेपछि चार वटा निकायले छानविन थालेका हुन् । सुरुमा व्यवस्थापिका संसदको अर्थ समितिले जग्गा खरिद प्रकरणबारे आपुर्ति सचिव र निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई बोलाएर छलफल गरेको थियो । सो छलफलपछि करोडौं अनियमितताको आंशका गर्दै अर्थ समितिले उप समिति बनाएर छानविन अघि बढाएको थियो । आयल निगम हेर्ने संसदका अर्काे समिति उद्योग बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समिति अन्तर्गत रहेको उप समितिले आफ्नो क्षेत्राधिकार मिचेको भन्दै अर्थ समितिको निर्णय माथी आपक्ति समेत जनायो । सांसद सुभाषचन्द्र ठकुरी संयोजक रहेको सो उप समितिले जग्गा खरिद प्रकरणको छानविन तथा स्थलगत अध्ययन गर्ने निर्णय गरिसकेको छ । सोही अवधीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि जग्गा खरिद प्रकरणका सबै कागजात नियन्त्रणमा लिएर छानविन अघि बढाएको छ । उता, आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पनि जग्गा खरिद प्रकरणबारे छानविन गरेर १५ दिन भित्र प्रतिवेदन बुझाउन आपुर्ति मन्त्रालयलाई निर्देशन दिएको छ । ‘नेपाल आयल निगमले गरेको जग्जा खरिद सम्बन्धमा केहि साता यता विभिन्न समाचार माध्यमहरुमा आएका समाचारहरुको बारेमा छानविन गरि तथ्य सत्यसहितको यथार्थ प्रतिवेदन १५ दिन भित्र पेश गर्न आपुर्ति मन्त्रालयलाई निर्देशन दिइएको छ ।’, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यायले भनेको छ । लेखा समितिले जग्गा खरिद प्रकरणबारे छानविन गर्न अख्तियारलाई पत्र लेखेको छ । एउटै बिषयमा चार वटा निकायले छानविन थाल्दा पनि निगम प्रमुख खड्कालाई निलम्बन गरेर कारवाही थाल्न भने कसैले हिम्मत गरेका छैनन् । उपभोक्ता अधिकार कर्मी ज्योति बानियाँले भने–यो इतिहासको अर्काे ठुलो संस्थागत भ्रष्टाचार काण्ड हो, यसलाई छिनोफानो नगरे भावी पुस्ताले हामीलाई धिक्कार्ने छ । अर्थ समितिका सभापति प्रकाश ज्वालाले पनि आयल निगमको जग्गा खरिद प्रकरणमा करिब एक अर्ब अनियमितता भएको आंशका गर्दै कुनै हालतमा कारवाही हुने बताए ।
नेपाल एयरलाइन्सका एयर होस्टेजको उचाई २ इञ्च घट्यो
काठमाडौं । सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले एयर होस्टेजहरुको हाइट(उचाई) घटाएको छ । एयरलाइन्सले हालसम्म ५ फिट ४ इञ्च हाइट भएका एयर होस्टेज मात्रै लिँदै आएको थियो । अब भने एयरलाइन्सले ५ फिट २ इञ्च उचाई भएका एयर होस्टेजहरु पनि लिन लागेको हो । २ इञ्च उचाई घटाएर एयरलाइन्सले २० जना एयर होस्टेज मागेको छ । एयरलाइन्सका प्रवक्ता शैलेश कंसाकारले आवश्यकता अनुसार एयर होस्टेजको आवेदन नआएपछि उचाई घटाएको बताए ।‘हामीले मागे अनुसार एयर होस्टेजको आवेदन नपरेपछि उचाई घटाएका हौं’, कंसाकारले भने । एउटै एयरलाइन्समा २ थरी उचाई भएका एयर होस्टेजहरु राख्ने अभ्यास पनि हुन्छ र ? भन्ने प्रश्नको जवाफमा उनले भने–माग अनुसार आपुर्ति नभएपछि उचाई नै घटाएर पनि काम चलाउँनै पर्यो । एयरलाइन्सले पाँचौं तहका २० जना एयर होस्टेजका लागि आवेदन मागेको थियो । प्लस टु उतिर्ण गरेका १८ देखि २५ बर्ष उमेर समुहका युवतिहरुले आवेदन दिन सक्ने व्यवस्था थियो । नेपाल एयरलाइन्स श्रोतले भने लाखौंको आर्थिक चलखेलमा एयर होस्टेजहरुको उचाई घटाइएको आरोेप लगाएको छ ।‘एक जनासँग १० औं लाखसम्म असुलिएको सुनेका छौं, एउटै एयरलाइन्समा २ खाले उचाई भएका एयर होस्टेज राखेर कम्पनी डुबाउन खोजिँदैछ’, श्रोतले भन्यो । साउन १९ गतेसम्म आवेदन दिने म्याद रहेको थियो भने अब लिखित परिक्षाको तयारी भैरहेको छ । एयरलाइन्सको अर्काे श्रोतका अनुसार केहि व्यक्तिहरुका आफन्तलाई जागिर खुवाउने योजना अनुसार उचाई घटाउने काम भएको हो ।‘केहि मान्छेका आफन्तलाई जागिर खुवाउने योजना अनुसार उचाई घटाउने काम भएको सुनेका छौं, हामी व्यक्ति पत्ता लगाउने प्रयासमा छौं’, नेपाल एयरलाइन्स श्रोतले भन्यो । नेपाल वायु सेवा निगमको सञ्चालक समितिले नै एयर होस्टेजको उचाई घटाउने गरि कार्यबिधी संसोधन गरेको पनि प्रवक्ता कंसाकारले जानकारी दिए । अन्तराष्ट्रिय मान्यतालाई अघि सारेर एयर होस्टेजको उचाई घटाइएको पनि उनले दावी गरे ।
प्रतिव्यक्ति २० लाख रुपैयाँ खर्च गरेर वर्षेनी ३० हजार विद्यार्थी विदेश जान्छन्-प्रकाश पाण्डे
नेपाली युवाहरु रोजगारीको लागि मात्र होइन, अध्ययनको लागि पनि वर्षमा लाखौ विद्यार्थी विदेश जाने गरेका छन् । नेपाल शैक्षिक परामर्श संघको अध्यक्ष प्रकाश पाण्डेका अनुसार प्रतिव्यक्ति २५ लाख रुपैयाँसम्म खर्च गरेर वर्षमा ३० हजार विद्यार्थी विदेश जाने गरेका छन् । उनीहरु किन विदेश जान्छन् ? कति पैसा लैजान्छन् ? कति पैसा नेपाल पठाउँछन् ? पढ्न जानेहरु पढेर नेपाल फर्कन्छन् कि विदेशमै जीवन विताउँछन् ? रोजगारीको लागि खाडी मुलुक जाने नेपाली अध्ययनको लागि किन यूरोप, अमेरिका र अष्ट्रेलिया ? यिनै विषयमा प्रकाश पाण्डेसँग विकासन्यूजको लागि भूमिका तिमल्सिनाले गरेको कुराकानी । प्रकाश पाण्डे, अध्यक्ष–नेपाल शैक्षिक परामर्श संघ नेपालमा राम्रो शिक्षा नभएरै हो नेपाली विद्यार्थी विदेशमा जाने गरेको ? नेपालबाट शिक्षाका लागि विद्यार्थीलाई विदेश पठाउन थालिएको इतिहास ५० वर्ष पुरानो भईसक्यो । विद्यार्थीहरुको बाहिरिने क्रम पनि बढ्दो छ । शुरुका वर्षमा गुणस्तरीय शिक्षाको लागि विदेश जाने अभ्यास थियो भने अहिले पढाईको साथै राम्रो अवसर र सुखद भविष्यको खोजिमा विदेश जाने अभ्यास छ । नेपालबाट विदार्थी जाने भनेको पढ्न नै हो र पढिसकेपछि राम्रो रोजगारीको अवसर भएर नै हो । नेपालमा राम्रो शिक्षा नभएर विदेश गएका होइनन् विद्यार्थी, नेपालमा उपयुक्त सिटको व्यवस्था नभएर तथा पढाइपछि पनि राम्रो रोजगारीको अवसर सिर्जना नभएर विद्यार्थी बाहिर जान रुचाउँछन् । साथै, नेपालमा पढ्न इच्छाएको विषयहरु पढाई नहुने भएपछि पनि विद्यार्थीहरु ती विषय पढ्न विदेश जाने गरेका छन्। कोही विद्यार्थीहरु पढ्ने बाहानामा अन्यत्र काम पनि गर्ने गरेको पाइन्छ । विदेशमा काम गर्दै पढ्न पनि पाउने, काम गर्दा आम्दानी बढी हुने भएकोले उनीहरु विदेश गइरहेको पाइन्छ । नेपालमा पढ्न नपाइने मुख्य विषय कुन कुन हुन् ? रकेट साइन्स तथा अन्य धेरै विषयहरु नेपालमा पढ्न पाईँदैनन् । पछिल्लो समय नेपालमा पढ्ने विषय नै नपाएर भन्दा पनि पढाईको साथै राम्रो अवसरको खोजीमा युवाहरु विकशित देशमा जाने गरेका छन् । वार्षिक कति विद्यार्थी पढ्नको लागि बिदेश जाने गरेका छन् ? नेपालबाट वार्षिक करिव ३० हजारको हाराहारीमा विद्यार्थीहरु विदेश पढ्न जाने गरेका छन् । विदेश जानको लागि कति लाग्छ लगानी ? पढ्नका लागि विदेश जाँदा देश अनुसार तथा विषय अनुसार फरक फरक लगानी लाग्ने गरेको छ । युरोपको जर्मनी, डेनमार्क जस्ता देशमा निःशुल्क शिक्षा सेवा भएको देशमा जाने हो भने त्यहाँको निती नियम अनुसार करिब १० लाखदेखि १२ लाख खर्च हुन्छ । त्यसैगरी, अस्ट्रेलिया, अमेरिका, न्युजियल्याण्ड लगाएतका देशमा जानको लागि करिब २० देखि २५ लाख रुपैयाँ खर्च हुन्छ । धेरै मात्रामा कुन कुन देश गएका छन विद्यार्थी ? सबै भन्दा धेरै विद्यार्थी अस्ट्रेलियामा जान्छन् । अमेरिका दोस्रो स्थानमा पर्छ । त्यसैगरी जापान, युरोप लगायतका देशमा नेपाली विद्यार्थी जाने क्रम बढ्दो छ । गत आर्थिक वर्षमा जापानमा धेरै विद्यार्थी विदेश गएका छन् । गत वर्ष करिब ११ हजार विद्यार्थीले अस्ट्रेलियाको भिजा पाएका छन् भने जापानको लागि भिजा लाग्ने १० हजार थिए । त्यसैगरी, अमेरिकाको भिजा लाग्ने ३३ सयदेखि ३५ सयको हाराहारीमा थिए । नेपालीहरु पढ्न अष्ट्रिलिया, अमेरिका, यूरोपियन देशहरुमा जान्छन् , रोजगारीको लागि दुवई, कतार लगायत खाडी देशहरुमा जान्छन्, किन ? दुवई, कतार, कुवेत, साउदी अरब लगायतका देशमा पनि शिक्षाको अवसर राम्रै रहेको छ । धेरै लगानी गरेर विकसित मुलुक जान नसक्ने विद्यार्थी खाडी मुलुक गएर पनि राम्रै प्रगति गरेको देख्न सकिन्छ । विदेशमा पढ्न गएर नेपाल फर्कने क्रम कस्तो छ ? बिदेश पढ्न गएपनि पढाई सकेपछि नेपाल फर्कनै पर्ने देशमा भारत, चीन, बङ्लादेश, फिलिपीन्स लगायतका देशहरुबाट ९९ प्रतिशत नै विद्यार्थी नेपाल फर्कन्छन् । उक्त देशबाट आएर अन्य देश जान पाईन्छ तर त्यहीँ बस्न भने नमिल्ने हुन्छ । विद्यार्थीहरु विकसित मुलुक जस्तै अस्ट्रलिया, अमेरिका लगायतका मुलुक गएपछि फर्किने विद्यार्थीहरुमा १० देखि १५ प्रतिशत विद्यार्थीहरु मात्र भेटिएको छ । पढ्न जाने तर काम गर्ने विद्यार्थीले कमाएर नेपाल पैसा पठाउँछन कि पढाउँदैनन् ? नेपालबाट पढ्न जानेले पठाएको पैसाको आँकडा गर्न सकिँदैन किनकी नेपाली विद्यार्थीहरु बिदेश जाने भनेको पढ्न मात्रै भएकाले बाँच्न र पढ्न पुग्ने पैसा मात्र कमाउँछन् । कानुनमा चलेर जम्मा ४ देखि ५ घण्टा काम गरेर पैसा पठाउँछन् भन्ने परिकल्पना गरिएको छैन । विद्यार्थीहरु पढ्न जाँदा नेपालबाट वर्षेनी अर्बौ रुपैयाँ विदेशिने गरेको समाचारहरु आईरहेको छन्, वार्षिक कति पैसा विदेशिन्छ ? नेपालको तुलनामा अन्य देशको पैसा नै महंगो भएको हुनाले विद्यार्थीले धेरै पैसा बोक्न परेको हो । तर धेरै पैसा बोकेता पनि विद्यार्थीले पछि पढाई सकेर फिर्ता भने गर्न सक्ने निश्चित रहेको हुन्छ । विदेश पढ्न जाने विद्यार्थीबाट धेरै पैसा विदेशियो र अर्थतन्त्रलाई नै नकारात्मक असर परेको भन्ने भनाई सहि होइन ।
लुम्बिनी विकास बैंकले बढायो १७ प्रतिशतले नाफा, बैंकको नाफा ३७ करोड
काठमाडौं । लुम्बिनी विकास बैंकले गत आवमा १७ प्रतिशतले नाफा बढाउँदै ३७ करोड ६९ लाख रुपैयाँ कमाएकाे छ । यसको नाफा अघिल्लो वर्षको तुलनामा ५ करोड ५५ लाखले बढी हो । अघिल्लो वर्ष यो बैंकले ३२ करोड १३ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले गत आवसम्ममा १७ अर्ब ९२ करोड निक्षेप संकलन गरेर १५ अर्ब ६३ करोड रुपैयाँ कर्जा सापटी दिएको छ । यो बैंकको लगानी १ अर्ब १९ लाख रुपैयाा रहेको छ । यो बैंकको सीसीडी रेसियो ७५ दशमलव ६६ प्रतिशत छ । यो बैंकको गत असार मसान्तसम्मको चुक्त पुँजी २ अर्ब ८८ लाख रुपैयाँ रहेको छ । यो बैंकको जगेडा कोषमा ९४ करोड ९२ लाख रुपैयाँ रहेको छ । यो बैंकको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ७६ पैसा रहेको छ । यसको प्रति सेयर नेटवर्थ १४७ रुपैयाँ २५ पैसा रहेको छ । यसको खराब कर्जा २ दशमलव ७३ प्रतिशत छ ।
कैलाश विकास बैंकको नाफा ५१ प्रतिशतले बृद्धि, बैंकले कमायो ५० करोड २६ लाख
काठमाडौं । कैलाश विकास बैंकले गत आवमा ५१ प्रतिशतले नाफा बढाएको छ । यो बैंकले गत वर्ष ५० करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामाा १६ करोड ९७ लाख रुपैयाँले बढी हो । अघिल्लो वर्ष यो बैंकको यस्तो नाफा ३३ करोड २८ लाख रुपैयाा रहेको थियो । यो बैंकको गत असार मसान्तसम्ममा १७ अर्ब १७ करोड रुपैयाँ निक्षेप संकलन गरेर १५ अर्ब ४ करोड रुपैयाँ कर्जा सापटी दिएको छ । यसले ५७ करोड ७५ लाख रुपैयाँ लगानी गरेको छ । यो बैंकको सीसीडी रेसियो ७३ दशमलव ५९ प्रतिशत छ । बैंककाे खराब कर्जा शून्य दशमलव ८८ प्रतिशत छ । यसको चुक्ता पुँजी गत असार मसान्तसम्ममा २ अर्ब २९ करोड रुपैयाँ छ । यो बैंकको जगेडा कोषमा ९८ करोड ७३ लाख रुपैयाँ मात्रै रहेको छ । यो बैंकको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ९३ पैसा रहेको छ । यसको प्रति सेयर नेटवर्थ १४३ रुपैयाँ ९ पैसा रहेको छ ।
हाम्रो विकास बैंकको १ लाख ७१ हजार कित्ता सेयर लिलामिमा
काठमाडौं । हाम्रो विकास बैैंकले १ लाख ७१ हजार ३४१ कित्ता संस्थापक सेयरलाई लिलामीमा विक्री गर्ने भएको छ । बैंकको गत जेठ ७ गतेदेखि असार ११ गतेसम्म गरेको हकप्रद सेयरको विक्रीका लागि आवेदन नपरेको उक्त सेयर न्युनतम एक सय रुपैयाँ कबोल गर्नुपर्ने गरी लिलामीमा राखेको छ । यो बैंकले आगामी भदौ ६ गतेभित्रै आवेदन दिइसक्नुपर्ने गरी उक्त सेयरलाई लिलामीमा राखेको जानकारी दिएको छ । यसको विक्री प्रवन्धक एनआईबीएल क्यापिटल मार्केट्स हो ।
सिन्धु विकास बैंकले कमायो ३ करोड नाफा, ३६ प्रतिशतले वृद्धि
काठमाडौं । सिन्धु विकास बैंकले गत आवमा ३ करोड ७२ लाख रुपैयाँ नाफा कमाएको छ । यो बैंकले अघिल्लो वर्ष २ करोड ७२ लाख रुपैयाँ नाफा गरेको थियो । यो बैैंकको यस्तो नाफा गत आवमा ३६ दशमलव ६७ प्रतिशतले बढेको छ । यो बैंकले गत वर्ष ९९ लाख ९३ हजार रुपैयाँले नाफा बढाउन सफल भएको छ । यो वैकको गत असार मसान्तसम्ममा २६ करोड २१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ । यो बैंकले १ अर्ब ९० करोड रुपैयाँ करोड निक्षेप संकलन गरेर १ अर्ब ३९ करोड रुपैयाँ कर्जा सापटी दिएको छ । यसको जगेडा कोषमा ६ करोड ९९ लाख रुपैयाँ रहेको छ । यसले गत आवसम्ममा गरेको लगानी १ करोड ९३ लाख रुपैयाँ रहेको छ । यो विकास बैंकको प्रति सेयर आम्दानी १४ रुपैयाँ रुपैंयाँ २० पैसा रहेको छ । यसको खराव कर्जा शून्य दशमलव ८४ प्रतिशत रहेको छ । यसको प्रति सेयर नेटवर्थ १२६ रुपैंयाँ ६८ पैसा रहेको छ ।