जाँचपास भएका वस्तुको पुनः जाँच तथा अनुसन्धानका लागि कार्यविधि जारी
काठमाडौं । भन्सार जाँचपास भएका वस्तुको पुनः जाँच तथा अनुसन्धानका लागि भन्सार विभागले कार्यविधि जारी गरेको छ । भन्सार ऐनले गरेको व्यवस्थाअनुसार एक पटक जाँचपास भएको वस्तु नियन्त्रणमा लिई पुनः जाँच तथा अनुसन्धान गर्ने कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन भन्सार विभागले कार्यविधि बनाएको हो । कार्यविधिअनुसार अब एक पटक जाँचपास भएको वस्तु भन्सार अधिकृत अधिकृतले नियन्त्रणमा लिई पुनः जाँच तथा अनुसन्धान गर्न सक्नेछ । कुनैपनि निकासीकर्ता वा पैठारीकर्ताले भन्सार कार्यालयमा घोषणा गरी जाँचपास भइसकेको वस्तुको प्रकृति, भौतिक विशेषता, चारित्रिक गुण, नाप, आकार, वर्गीकरण उपशीर्षक, परिमाण, उत्पत्तिको मुलुक, ब्राण्ड, मोडेल र गुणस्तरमध्ये सबै वा कुनै विवरण फरक पारी महशुल छली गरेको, जालसाजी, कीर्ते, नक्कली कागजात पेश गरी महशुल वा राजश्वमा हानी नोक्सानी पुर्‍याएमा वस्तु जाँचपास गर्न भन्सार अधिकारीले अधिकार कार्यविधिअनुसार पाएको छ । कार्यविधिअनुसार प्रतिवन्धित वस्तु घोषणा गरेको, वस्तु नै घोषणा नगरेको, न्युन बीजकीकरण गरेको, अधिक बीजकीकरण गरेको भनी विभागमा प्राप्त हुन आएको सूचनालाई महानिर्देशकले व्यवस्थित र गोप्य रुपमा अभिलेखवद्ध गरी राख्न लगाउन सक्नेछ । वस्तुको पुनः जाँच तथा अनुसन्धान गर्दा भन्सार अधिकारीले प्रक्रिया भने पुर्याउनुपर्छ । कार्यविधिले अवलम्वन गर्नुपर्ने प्रक्रियालाई प्रष्ट पारेको छ । वस्तुको पुनः जाँच तथा अनुसन्धान गर्नको लागि तोकिएको अधिकृतले वस्तु नियन्त्रणमा लिई जाँच गर्नुपूर्व सम्बन्धित निकासीकर्ता वा पैठारीकर्ता वा भन्सार एजेन्टलाई सूचना दिने र त्यस्तो वस्तुको जाँच गर्दा मुचुल्का तयार गराउनुपर्नेछ । त्यस्तै, जाँचपास भएको वस्तुको पुनः जाँच तथा अनुसन्धान गर्दा सम्बन्धित व्यक्ति वा निकायबाट थप जानकारी, तथ्यांक वा कागजात माग गरी विश्लेषण गर्नुपर्नेछ । निकासीकर्ता, पैठारीकर्ता वा भन्सार एजेन्टको रोहवरमा वस्तुको जाँच गर्ने अधिकार कार्यविधीले भन्सार अधिकारीलाई दिएको छ तर निकासीकर्ता वा पैठारीकर्ता, निजको भन्सार एजेन्ट उपस्थित नभएकै कारणले मात्र वस्तुको जाँच गर्न बाधा नपर्ने कार्यविधिले प्रष्ट पारेको छ । भन्सार अधिकारीले पुनजाँच पछि प्रतिवेदन पेश गर्नुपर्ने कार्यविधिले उल्लेख गरेको छ । जाँचपास भएको वस्तुको पुनः जाँच तथा अनुसन्धान सम्पन्न भएपछि प्रतिवेदन पेश गरेपछि जाँचपास भएको वस्तुको पुनः जाँच तथा अनुसन्धानको प्रतिवेदन प्राप्त भएपछि महानिर्देशकले ऐनअनुसार भन्सार अधिकृतलाई भए सरहको अधिकार प्रयोग गरी प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिन सक्ने कार्यविधिमा व्यवस्था गरिएको छ । पुनः जाँचका लागि भन्सार अधिकारीले सहयोग माग गर्नसक्ने समेत कार्यविधिले प्रष्ट पारेको छ । कार्यविधिमा भनिएको छ–‘यस कार्यविधि बमोजिम जाँचपास भएको वस्तुको पुनः जाँच तथा अनुसन्धान गर्नको लागि महानिर्देशकले तोकेको अधिकृत वा भन्सार अधिकृतले आफ्नो कर्तव्य पालना र अधिकार प्रयोग गर्दा कुनै सरकारी कर्मचारी, प्रहरी, वित्तीय संस्था, निकासीकर्ता, पैठारीकर्ता, भन्सार एजेन्ट, ढुवानी साधनको धनी एवं चालकसँग कुनै प्रकारको सहयोग, सूचना वा मद्दत माग गर्न सक्नेछ ।’ त्यस्तो सहयोग, सूचना वा मद्दत दिनु त्यस्तो सरकारी कर्मचारी, प्रहरी वा वित्तीय संस्था, निकासीकर्ता, पैठारीकर्ता, भन्सार एजेन्ट, ढुवानी साधनको धनी एवं चालकको कर्तव्य हुने कार्यविधिमा उल्लेख छ ।
पहिलो पटक नेपाल फिटनेस एक्स्पो २०२५ हुँदै, फिटनेस जगतलाई नयाँ आयाम दिने
काठमाडौं । नेपाली फिटनेस जगतलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यका साथ नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको नेपाल फिटनेस एक्स्पो २०२५ को आयोजना गरिने भएको छ । आगामी भदौ १४ गते काठमाडौंको मल्ल होटेलको प्रांगणमा हुन लागेको यो भव्य कार्यक्रमको बारेमा बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । क्लासिक फिटनेस एकेडेमीको आयोजना र रिगल इभेन्ट्सको व्यवस्थापनमा हुन लागेको यस कार्यक्रममा फिटनेससँग सम्बन्धित विभिन्न गतिविधि, प्रदर्शनी र सम्मान कार्यक्रमहरू समावेश गरिने बताइएको छ । क्लासिक फिटनेस एकेडेमी नेपालका संस्थापक निर्देशक रोजल शाहीले यो कार्यक्रम नेपाली फिटनेस क्षेत्रका लागि एक कोशेढुंगा साबित हुने विश्वास व्यक्त गरे । उनले भने, 'नेपाली फिटनेस जगतलाई नयाँ आयाम दिने यो कार्यक्रमले स्वास्थ्य र व्यवसायलाई एउटै मञ्चमा ल्याउनेछ ।' यो एक्स्पोले नेपालमा फिटनेससम्बन्धी उत्पादन, सेवा र जानकारीको एउटा ठूलो हब सिर्जना गर्ने लक्ष्य राखेको उनको भनाइ छ । फिटनेसलाई केवल शरीरमात्र सीमित नराखी यसलाई जीवनशैलीसँग जोड्ने प्रयास स्वरूप यो कार्यक्रम आयोजना गरिएको हो । नेपाल फिटनेस एक्स्पोमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिटनेस सेलिब्रिटीहरूको सहभागिता रहनेछ । कार्यक्रममा भारत, मलेसिया लगायतका देशहरूबाट फिटनेस इन्फ्लुएन्सर, बिजनेस आइकन र प्रशिक्षकहरू सहभागी हुनेछन् । यसले गर्दा नेपाली फिटनेस प्रेमीहरूले अन्तर्राष्ट्रिय स्तरको अनुभव प्राप्त गर्नेछन् । एक्सपोमा फिटनेससम्बन्धी उपकरणहरू, सप्लिमेन्टहरू, र अन्य उत्पादनहरूको प्रदर्शनीका साथै फिटनेस फ्यासन शो, मिट एण्ड ग्रिट सेसन जस्ता रोचक कार्यक्रमहरू पनि समावेश गरिनेछन् । यसले गर्दा दर्शकहरूले मनोरञ्जनका साथै ज्ञान पनि प्राप्त गर्नेछन् । यस कार्यक्रममा पहिलो पटक फिटनेस क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिने भएको छ । 'राइजिङ स्टार', 'बेस्ट कोच अफ द इयर', 'बेस्ट एथलिट' जस्ता विधामा अवार्ड प्रदान गरिने जनाइएको छ । साथै फिटनेस क्षेत्रमा लामो समयदेखि योगदान दिइरहेका व्यक्तित्वहरूलाई 'लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मान गरिनेछ । यो एक्स्पोमा सबैका लागि प्रवेश निःशुल्क गरिएको छ । कुनै पनि उमेर समूहका व्यक्तिहरूले यस कार्यक्रममा सहभागी हुन सक्नेछन् । आयोजकका अनुसार यो कार्यक्रम केवल फिटनेस प्रेमीहरूका लागि मात्र नभएर स्वास्थ्यप्रति सचेत सबैका लागि खुला छ । वरिष्ठ फिटनेसकर्मीहरू सुरेश सुवेदी, दिनेश राजभण्डारी र नारायण प्रधानले यो कार्यक्रमको प्रशंसा गरे । उनीहरूले यो एक्स्पोले नेपाली फिटनेस जगतमा सकारात्मक परिवर्तन ल्याउने र युवाहरूलाई दुर्व्यसनबाट टाढा राख्न मद्दत गर्ने विश्वास व्यक्त गरे । क्लासिक फिटनेस एकेडेमीका म्यानेजिङ डिरेक्टर रचना राणाभाटले एकेडेमीले नेपालमा फिटनेस शिक्षालाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको बताइन् । उनका अनुसार कार्यक्रममा ७० लाखभन्दा बढी लगानी लाग्नेछ । ‘क्लासिक फिटनेस एकेडेमी’ को आयोजनामा र ‘रिगल इभेन्ट’ को व्यवस्थापनमा हुने एक्स्पोमा करिब ३ हजार व्यक्तिको सहभागिता रहने अनुमान गरिएको छ । आयोजकका अनुसार कार्यक्रमको उद्देश्य केवल ब्रान्ड प्रचार मात्र नभइ नेपाली फिटनेस उद्योगलाई व्यवस्थित र अन्तर्राष्ट्रिय बजारसँग जोड्नु पनि हो । कार्यक्रमका प्रमोटर सन्तोष श्रेष्ठका अनुसार नेपाल फिटनेस एक्स्पो २०२५ नेपाली फिटनेस क्षेत्रका लागि एक ऐतिहासिक कार्यक्रम हुने अपेक्षा गरिएको छ । यसले फिटनेसलाई व्यावसायिक र जीवनशैलीसँग जोड्दै सबैलाई स्वस्थ रहन प्रेरित गर्नेछ । मल्ल होटेलमा आयोजना हुने यो भव्य कार्यक्रममा सहभागी हुन आयोजकले सबैलाई आह्वान गरेको छ ।
गरिमा समृद्धि योजनाको लाभांश घोषणा
काठमाडौं । गरिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित गरिमा समृद्धि योजना (जीएसवाई) ले गत आर्थिक वर्षका लागि आफ्ना इकाईधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । साउन १५ गते बसेको यस योजनाको योजना व्यवस्थापक गरिमा क्यापिटलको सञ्चालक समितिको बैठकले ५.१० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । यसका साथै सो बैठकले लाभांश वितरण प्रयोजनार्थ साउन २७ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय पनि गरेको छ । यस अनुसार साउन २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले सो लाभांश प्राप्त गर्न सक्नेछन् ।योजनाको कोष प्रवर्द्धक गरिमा विकास बैंक लिमिटेड रहेको छ ।
सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प साउन १८ देखि सुरु, ३ जना ग्राहकलाई आकर्षक सर्भिस प्याकेज
काठमाडौं । नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङको अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले यही श्रावण १८ देखि २० गतेसम्म मनसुन फ्री सर्भिस क्याम्पको आयोजना गर्ने भएको छ । लगातार परिरहेको वर्षाका कारण सवारीसाधनहरूमा विविध प्रकारका समस्या देखिन सक्ने सम्भावना रहन्छ । यही सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुजुकीले आफ्नो ग्राहकको सुरक्षालाई प्राथमिकता दिँदै एक विशेष मनसुन सर्भिस क्याम्प सञ्चालन गर्न लागेको हो । यस क्याम्पमार्फत ग्राहकहरूलाई आफ्ना गाडीको निःशुल्क जाँच, विशेष छुटसहितको मर्मत सेवा र विशेषज्ञद्वारा मौसमको प्रकोपलाई कसरी कम गर्न सकिन्छ भनेर सल्लाह पनि उपलब्ध गराइनेछ । कम्पनीले सबै सुजुकी ग्राहकहरूलाई यो अवसरको लाभ लिन र वर्षायाममा आफ्नो सवारीलाई उत्तम अवस्थामा राख्न आग्रह पनि गरेको छ । सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पाउनको साथै ३ जना भाग्यमानी ग्राहकहरूले आकर्षक सर्भिस प्याकेज पनि जित्न सक्नेछन् । सर्भिस क्याम्पमा ग्राहकले निःशुल्क एसी/हिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउनुहुनेछ । त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा ५० प्रतिशत सम्मको छुट पाउनुहुनेछ भने लेवर चार्जमा २० प्रतिशतसम्मको छुट र स्पेयर पार्टस र इन्जिन आयलमा १० प्रतिशत सम्मको छुट पाउनेछन् । सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ । ५४ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ ।
बजेट खर्चमा काठमाडौं महानगरको बिजोग, २५ अर्बमा १३ अर्बमात्रै खर्च
काठमाडौं । काठमाडौं महानगरले गत आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्ममा कुल १३ अर्ब ३ करोड ८५ लाख १७ हजार रुपैयाँ खर्च गरेको छ । जुन कुल बजेटको ५२.१३ हो । महानगरले गत आवमा कुल २५ अर्ब ८६ लाख ५२ हजार रुपैयाँ बजेट छुट्याएको थियो । महानगरले असारसम्ममा पुँजीगततर्फ १५ अर्ब ६ करोड ५६ लाख १ हजार रुपैयाँ विनियोजन भएकोमा ६ अर्ब ७३ करोड १३ लाख रुपैयाँ पुँजीगत खर्च गरेको छ । जुन कुल बजेटको ४४.६८ प्रतिशत हुन आउँछ । त्यस्तै, आव २०८१/८२ मा चालुतर्फ ९ अर्ब ८२ करोड २० लाख ५० हजार विनियोजन भएकोमा ६ अर्ब २२ करोड ९१ लाख ९८ हजार रुपैयाँ खर्च गरेको छ । जुन कुल बजेटको ६३.४१ प्रतिशत हो । काठमाडौं महानगरको लागि मात्रै गत आवमा कुल २० अर्ब २७ करोड ५८ लाख ३२ हजार रुपैयाँ बजेट छुट्एको थियो । महानगरले कुल बजेटको ५०.२१ प्रतिशत खर्च गरेको छ । महानगरले चालुतर्फ ९ अर्ब ६ करोड ११ लाख रुपैयाँ र पुँजीगततर्फ ११ अर्ब ८ करोड ६७ लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा खर्च क्रमशः ५ अर्ब ६७ करोड ६ लाख रुपैयाँ र चार लाख ४४ करोड १ लाख रुपैयाँ भएको छ। काठमाडौं महानगर वडा न १ को लागि वार्षिक कुल १८ करोड ३ लाख ६८ हजार रुपैयाँ बजेट विनियोजन गरेकोमा ६ करोड ३७ लाख ३३ हजार रुपैयाँ खर्च भएको छ । जुन कुल बजेटको ३५.३४ प्रतिशत खर्च हो । उक्त वडाले पुँजीगततर्फ ५ करोड ४६ लाख ५६ हजार रुपैयाँ ५६ हजार रुपैयाँ खर्च गरेको छ । वडा नं १ को लागि गत आवमा पुँजीगतर्फ १६ करोड २९ लाख ५० हजार रुपैयाँ बजेट छुट्याएको थियो । त्यस्तै चालुतर्फ उक्त वडाको लागि १ करोड ७४ लाख १८ हजार रुपैयाँ विनियोजन गरेकोमा ९० लाख ७६ हजार रुपैयाँ खर्च गरेको छ । वडा नं २ ले गत आवमा कुल बजेटको ६२.३८ प्रतिशत खर्च गरेको छ । उक्त वडाको लागि महानगरले १३ करोड ४१ लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा ८ करोड ३६ लाख रुपैयाँ खर्च गरेको छ । वडा नं २ को लागि महानगरले चालुतर्फ एक करोड एक लाख रुपैयाँ बजेट विनियोज गरेकोमा ६९ लाख रुपैयौँ खर्च भएको छ । त्यस्तै पुँजीगतर्फ १२ करोड ४० लाख रुपैयाँ बजेट छुट्याएकोमा ७ करोड ६७ लाख रुपैयाँ खर्च भएको महानगरले जनाएको छ । वडा नं ३ ले आव २०८१/८२ मा कुल बजेटको ६३.८६ प्रतिशत खर्च गरेको छ । उक्त वडाको लागि गत आवमा १८ करोड २६ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
लहान नगरपालिकाले आगामी पाँच वर्षमा घरघरमा खानेपानी पुर्याउने
सिरहा । लहान नगरपालिकाले सन् २०३० भित्र नगरका सबै घरमा शुद्ध खानेपानी पुर्याउने महत्वाकाङ्क्‌षी योजना सार्वजनिक गरेको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले बिहीबार पत्रकार सम्मेलन गरेर खानेपानी र सरसफाइलाई प्रमुख प्राथमिकतामा राखिएकोे बताए । नगर प्रमुख चौधरीले भने, ‘हामीले २०३० सम्म २४ वटै वडामा पानी पुर्याउने योजना बनाएका छौं ।’ योजनाअनुसार प्रारम्भिक चरणमा वडा नम्बर १३, १४, १६ र २४ मा पाइपलाइन जडान गरिनेछ भने आगामी वर्षभित्र वडा नम्बर ११, १२, १८ र २० मा योजना विस्तार गरिनेछ । नगरका चार सय दलित तथा विपन्न परिवारलाई निःशुल्क धारा जडान गरिनेछ जनाइएको छ । खानेपानीसँगै लहानालाई खुला दिसामुक्त क्षेत्र सुनिश्चित गर्ने लक्ष्य सार्वजनिक गरिएको छ । आगामी वर्षभित्र तीन हजार शौचालय निर्माण गरिने नगरप्रमुख चौधरीले जानकारी दिए ।
रुपन्देही ३ मा हुने उपनिर्वाचनका लागि दल दर्ताको आह्वान
काठमाडौं । निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न सबै राजनीतिक दललाई आह्वान गरेको छ । आयोगले शुक्रबार एक सूचना जारी गर्दै यही साउन २१ देखि २७ गतेसम्म आयोगका केन्द्रीय कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सकिने जनाएको हो । आयोगले यसअघि उपनिर्वाचनका लागि निर्वाचन कार्यतालिका स्वीकृत गरिसकेको छ । आगामी असोज २१ गते बिहान १० देखि ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने र सोही दिन साँझ उम्मेदवारको सूची प्रकाशन हुनेछ । असोज २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । कात्तिक १७ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएको व्यक्ति उम्मेदवार हुन नपाउने आयोगले जनाएको छ ।
१५ प्रतिशत पूर्ण छात्रवृत्तिको व्यवस्था हटाइ न्यायोचित छात्रवृत्तिको व्यवस्था गर्न नेशनल प्याब्सनको माग
काठमाडौं। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसनले नेपालले शिक्षा नीति तथा कानून निर्माणमा निजी क्षेत्रको सहभागिता अनिवार्य र सुनिश्चित गर्न माग गरेको छ । शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेशनल प्याब्सनले यस्तो माग गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै नेशनल प्याब्सनका अध्यक्ष सुवास न्यौपानेले विद्यालय शिक्षा ऐनको प्रस्तावित विधेयक दूरदृष्टिका साथ सायसापेक्ष रूपमा परिमार्जित गरी यथाशिघ्र जारी गर्न माग गरे । उनले संविधानको अवधारणाअनुसार समुन्नत नेपालको मूल आधार सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिताको मर्म, उद्देश्य र लक्ष्यअनुरूप विद्यालय शिक्षा ऐन विभेदरहित रुपमा निर्माण गर्न माग गरे । नेशनल प्याब्सनले सरकारको कानुनबमोजिम हालसम्म कम्पनीअन्तर्गत रहेका निजी विद्यालयहरूलाई कम्पनी ऐन अन्तर्गत नै सञ्चालन हुने व्यवस्था गर्न पनि माग गरेको छ । त्यस्तै, कम्पनी ऐनको प्रकृति र उद्देश्यअनुरूप कम्पनी ऐनअन्तर्गत सञ्चालित विद्यालयहरु गैरनाफामुलक बन्न नसक्ने कुरालाई स्पष्ट रुपमा ऐनमा उल्लेख गर्न पनि माग गरेको छ । अध्यक्ष न्यौपानेले छात्रवृत्तिको समान अवसरबाट सबै तहमा नेपाली बालबालिका वञ्चित रहन नपर्ने गरी र निजी विद्यालयलाई अनियमित हिसाबले थोपर्न खोजिएको १५ प्रतिशत पूर्ण छात्रवृत्तिको व्यवस्था हटाइ न्यायोचित छात्रवृत्तिको व्यवस्था गर्न माग गरे । उनले विद्यालय शिक्षाको विश्व परिवेशलाई अध्ययन गर्दा राज्यकोषबाट सञ्चालन हुने विद्यालय बाहेकका अन्य निजी विद्यालयहरू निःशुल्क बन्न नसक्ने यथार्थतालाई गम्भीरताका साथ समीक्षा गर्न पनि माग गरे । उनले नेपालमा विद्यालय तहको ३४ प्रतिशत हिस्सा ओगटेको निजी शैक्षिक संस्थाहरूमा अहिले ८ खर्ब भन्दा बढी लगानी रहेको बताए । २ लाखभन्दा बढी शिक्षक कर्मचारीहरुमा ५५ प्रतिशत महिलाको रोजगारीको अवसर प्रदान गरिरहेको संगठनमा करिब ३० लाख विद्यार्थी अध्ययनरत रहेको बताए ।